काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक 'बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेड'को नेपालका लागि आधिकारिक बिक्रेता साइकेक्स इंकले ई- सिक्स आयातमा करछली गरेको थप पुष्टि भएको छ।
यससँगै साइमेक्स इंकले बीवाईडी ई-सिक्स आयातमा करछली गरेको विषयमा बिजनेस न्युजले बाहिर ल्याएको तथ्य पुन: पुष्टि भएको हो।
उक्त तथ्य बाहिर आएसँगै भन्सार विभागअन्तर्गतको भन्सार पाँचपास परीक्षण कार्यालयले अनुसन्धान गरेर साइमेक्सले बीवाईडी ई-सिक्स आयातमा करछली भएको ठहर गरेको थियो। करछली गरेको ठहर गरेर कार्यालयले साइकेक्स इंकलाई छली भएको कर र जरिवानासमेत निर्धारण गरेर छली भएको कर र जरिवाना तिर्न पत्र काटेको थियो।
कार्यालयले साइमेक्स इंकलाई २०८० मंसिर २२ गते छली भएको कर र त्यसको जरिवानासमेतको रकम गरी कुल १ करोड १२ लाख २९ हजार ५ सय २० रुपैयाँ निर्धारण गरेर सोबमोजिम गर्नु नपर्ने कुनै ठोस प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ दिनभित्र पेश गर्न भनेको थियो।
साइमेक्सबाट चित्तबुझ्दो जवाफ नआएपछि भन्सार जाँचपास परीक्षण कार्यालयले साइमेक्स इंकलाई छली भएको कर र जरिवानासमेत गरी कुल १ करोड १२ लाख २९ हजार ५ सय २० रुपैयाँ तिर्न आउन २०८० पुस १३ गते पत्र पठाएको थियो।
कार्यालयको उक्त निर्णय चित्त नबुझेपछि साइमेक्स इंकले २०८० फागुन ३ गते राजस्व न्यायाधीकरणमा पुनरावेदनका लागि निवेदन दिएको थियो। साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले कम्पनीका तर्फबाट राजस्व न्यायाधीकरणमा निवेदन दिएका थिए। त्यसउपर न्यायाधीकरणले २०८१ बैशाख २३ गते फैसला गरेको थियो।
उक्त फैसलाको पूर्णपाठ न्यायाधीकरणले एक साताअघि प्रकाशित गरेको थियो। फैसलामा केही उल्टी हुने भनिएको थियो। सोहीकरण पूर्णपाठ आएपछि मात्र साइमेक्स इंकले मुद्दा हारेको स्पष्ट भएको छ।
साइमेक्सले आफूले नियमसम्मत ई-सिक्स आयात गरेर सबै कर तिरी उचित बिक्री मूल्य कायम गरेको जिकिर गरेको थियो। तर न्यायाधीकरणले साइमेक्सले करछली गर्ने उद्देश्यले वायर हाउस शुल्क (ल्हासा)लाई गाडीको कस्ट लिस्टमा खर्चका रुपमा देखाएको ठहर गरेको छ।
साइमेक्स इंकले १० हजार अमेरिकी डलरमा आयात गरेको ई-सिक्सलाई अनावश्यक खर्च देखाएर ५० लाख रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरेको थियो। चर्को नाफा आर्जन गर्न हुँदै नभएको खर्चलाई ल्हासामा प्रतिगाडी २ लाख २० हजार रुपैयाँ लागत परेको देखाएको थियो। यसबारेमा बिजनेस न्युजले समाचार लेखेको थियो।
यो कुरालाई न्यायाधीकरणले सिधै अस्वीकार गरेर साइमेक्सले करछली गर्ने उद्देश्य राखेको प्रमाणित गरिदिएको छ। न्यायाधीकरणको फैसलाको पूर्णपाठमा भनिएको छ- ‘पुनरावेदक पैठारीकर्ताले कस्ट सिटमा उल्लेख गरेको वायर हाउन चार्ज(खर्च) ल्हासा शीर्षकका सम्बन्धमा भन्सार जाँचपास परीक्षण कार्यालयले उक्त खर्च प्रति कार २ लाख २० हजार रुपैयाँ कारोबार मूल्यमा समावेश नगरेको भनी सोमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुरसमेत निर्धारण गरेको देखिन्छ। सो सम्बन्धमा पुनरावेदक पैठारीकर्ताले कस्ट सिटमा वायर हाउस खर्च उल्लेख गरेको खर्च नियमित प्रकृतिको खर्च होइन। पुनरावेदक पैठारीकर्ताले आयात गरेको विभिन्न सवारीसाधनहरू कोभिड १९ को विशेष परिस्थितिमा उक्त सवारीसाधनहरूको वायरहाउस ह्यान्डलिङ, मेन्टेनेन्सको जिम्मा दिएको, उक्त खर्च नियमित खर्च नभइ परिस्थितिमा आधारित खर्च भएकाले सो प्रकृतिको खर्चलाई कारोबार मूल्यमा समावेश गर्नुपर्दैन भनी जिकिर लिएको देखिन्छ। भन्सार ऐन २०२४ को दफा २ को उपदफा 'ख'मा ‘कारोबार मूल्य भन्नाले पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वास्तविक रुपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा लाग्ने सक्ने भाडा, बीमा तथा अन्स सम्बद्ध खर्च जोडी हुन आउने कुल रकम सम्झनु पर्छ’ भन्ने कानूनी व्यवस्था रहेको छ।'
पूर्णपाठमा भनिएको छ- 'त्यस्तैगरी सोही ऐनको दफा १३ को उपदफा ४ मा ‘पैठारीकर्ताले उपदफा 'घ' बमोजिम घोषणा गरेको कारोबार मूल्य उपदफा १ अनुरुपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ। त्यस्तो कारोबार मूल्यमा भाडा, बीमा तथा अन्य सम्बद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ’ भन्ने कानूनी व्यवस्था रहेको छ।'
अघि भनिएको छ, 'पुनरावेदक पैठारीकर्ताले पैठारी गरी ल्याएको विद्युतीय कारहरूको वायरहाउस खर्च नेपालको सीमासम्म अर्थात भन्सार बिन्दुसम्म आइपुग्दा लागेको देखिन्छ। तर भन्सार ऐन २०६४ ले नेपालको सीमासम्म अर्थात भन्सार बिन्दु आइपुग्दा कोभिड १९ लगायत अरु विशेष परिस्थितिका कारण लाग्ने खर्चहरू कारोबारसम्बद्ध खर्च होइन भनी उल्लेख गरेको देखिँदैन। ऐनले नै पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वास्तविक रुपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको सम्बद्ध खर्चहरू कारोबार मूल्य भनी उल्लेख गरेको अवस्थामा नेपालको सीमासम्म अर्थात भन्सार बिन्दुसम्म आइ नपुग्दै ल्हासामा भुक्तानी गरेको वायरहाउस खर्चलाई कारोबार मूल्यमा समावेश गर्नुपर्ने नै देखियो।'
पूर्णपाठमा भनिएको छ- 'तसर्थ भन्सार जाँचपास परीक्षण कार्यालयले पैठारीकर्ताको वायरहाउस खर्चलाई सवारीसाधनको कारोबार मूल्यमा समावेश गरी सोमा १० प्रतिशतका दरले भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर प्रयोजनको लागि कारोबार मूल्यमा थप हुने रकममा भन्सार महसुल र मूल्य अभिवृद्धि करसमेत थप गरी सोमा ५ प्रतिशतका दरले सडक निर्माण दस्तुरसमेत निर्धारण गरी भन्सार ऐन २०६४ को दफा ३४ को उपदफा २ बमोजिम सोको शतप्रतिशत जरिवाना लगाएको मिलेकै देखियो। यसमा पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन।’
साइमेक्सले गरेको पुनरावेदनमा न्यायाधीकरणले चार्जर तथा अन्य एशोसिरिज आयात अलग्गै प्रज्ञापनपत्रमार्फत गरेकाले त्यसमा करछली नभएको र जरिवाना नलाग्ने उल्लेख गरेको छ।
पूर्णपाठको १५ नम्बर बुँदामा भनिएको छ, ‘अतः माथि उल्लेखित तथ्य, आधार एवं कारणसमेतबाट पुनरावेदक पैठारीकर्ताले पैठारी गरेको गाडीको सम्बन्धमा भन्सार जाँचपास परीक्षण कार्यालयबाट २०८० पुस १३ मा भएको निर्णयको हकमा पुनरावेदकले छुट्टै प्रज्ञापनपत्रमार्फत आयात गरेको चार्जरबापतको खर्चलाई समेत गाडीको कारोबार मूल्यमा समावेश गरी भन्सार महसुल निर्धारण गरेको र जरिवाना रकममा समेत मूल्य अभिवृद्धि कर लगाउने गरी भएको हदसम्म मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ। यसदेखि बाहेकको अन्य विषयमा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन। अरुमा तपसिल बमोजिम गर्नू।’
न्यायाधीकरणको पूर्णपाठसँगै अब भन्सार जाँचपास परीक्षण कार्यालयले जरिवानामा लागेको मूल्य अभिवृद्धि कर र चार्जरको लागत बाहेकको रकम घटाएर साइमेक्स इंकलाई ई-सिक्स आयातमा छली गरेको कर र जरिवानासमेत निर्धारण गरेर पत्र पठाउने छ।
साइमेक्स इंकले जरिवानामा लागेको मूल्य अभिवृद्धि कर र चार्जरको लागत कटाएर ७० देखि ८० लाख रुपैयाँ छली भएको कर र जरिवानासहितको रकम बुझाउने छ।
साइमेक्स इंकले २०२१ अक्टोबर १ देखि २०२२ अक्टोबर ३० सम्म रसुवा भन्सारबाट प्रतिगाडी १० हजार अमेरिकी डलरमा २० वटा बीवाईडी ई-सिक्स आयात गरेको थियो। कमर्सियल इन्भ्वाइस नम्बर पीभी-२१-६०००४६ को प्रतिकार १० हजार डलरका दरले प्रज्ञापन पत्रमा घोषणा गरेको नाम बीवाईडी ई-सिक्स (इयर २०१५ भर्सन) विद्युतीय कार रहेको र कमर्सियल इनभ्वोइस नम्बर सीआई-पीभी-२१-६००२८०-२ को प्रतिकार २७ हजार डलरका दरले आयात गरेको साइमेक्सले नै पेश गरेको प्रष्टीकरणमा उल्लेख छ।
समान स्पेसिफिकेसनको विद्युतीय कारमा जथाभावी खर्च देखाएर साइमेक्सले अत्याधिक नाफा आर्जन गर्ने नियत राखेर आयात अघि नै योजना बनाएको न्यायाधीकरणको फैसलामा उल्लेख छ।
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा
सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण
ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स?
ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान
२०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री
स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू
ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै
२०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?
बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं'
ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित
बीवाईडीले सीकेडी ल्याएर कार एसेम्बल गर्दा कर छलेको भन्दै भारतले थाल्यो अनुसन्धान
ई-सिक्स आयातमा राजस्व छलेको भन्सारको प्रारम्भिक निष्कर्ष, सक्कल कागजात पेश गर्न साइमेक्सलाई पत्र
बीवाईडी ई-सिक्समा साइमेक्सले राजस्व छलेको पुष्टि, थप १ करोड १५ लाख तिर्न भन्सारको पत्र
करछली गरेको पुष्टि भएसँगै २२ लाखको ई सिक्समा उपभोक्ताबाट असुलेको २८ लाख नाफाबारे के हुन्छ?
एटो थ्री : कर छल्न आयात मूल्य कम तर उपभोक्ताबाट असुलिँदै अकुत नाफा
बीवाईडीको नेपाल आगमन : आरब्धबाट नै बदमासी
करछली गरेको बीवाईडीका आयातकर्ताबीच दुष्टता : एकअर्काविरुद्ध मुद्दा हालेर पुगे अदालत
भन्सारको कारबाहीपछि राजस्व अनुसन्धान र आन्तरिक राजस्वले थाले थप अनुसन्धान
भन्सारले छली गरेको कर र जरिबाना तिराएको बीवाईडी बिक्रेता साइमेक्स भन्छ - भ्रम छरियो