शनिबार, साउन १२ गते २०८१    
images
images
images

बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम

images
सोमबार, मंसिर १८ २०८०
images
images
बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : एटो थ्रीको आयात पनि शंकास्पद, किन हुन्छ लटैपिच्छे लाखौँ मूल्य कम

'ई-सिक्स' आयातमा बदमासी गरेको साइमेक्स इंकले गरेको 'एटो-थ्री'को आयात पनि शंकास्पद। ६ महिनाको अन्तरालमा आयात मूल्यमा ६ लाख रुपैयाँभन्दा बढी अन्तर। भन्सारले सुरु गर्‍यो अनुसन्धान।

images

काठमाडौं- 'ई-सिक्स' आयातमा बदमासी गरेको बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले 'एटो-थ्री'को आयातमा पनि बदमासी गरेको देखिएको छ। कम्पनीले एटो थ्री कार आयात गर्दा प्रत्येकपटक मूल्य कम गरेर ल्याएको पाइएको छ। 

images
images

त्यसरी मूल्य कम गरेर आयात गर्दा कर छली भएको आशंका भन्सार प्रशासनले गरेको छ। हरेक पटक 'एटो थ्री विद्युतीय एसयूभी' आयात हुँदा साइमेक्स इंकले कम मूल्यमा आयात गरेको छ। 

images

यसरी कर छली गरेर आयात गर्नमा विद्युतीय कार उत्पादक कम्पनी बीवाईडी अटो इन्डस्ट्रीकै मिलेमतोसमेत हुन सक्ने भन्दै भन्सार विभागले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। भन्सार विभागले साइमेन्स इंकले आयात गरेको बीवाईडी एटो थ्रीको कागजात विशेष निगरानीमा राखेर अनुसन्धान सुरु गरेको हो। 

६ महिनाको अन्तरालमा आयात मूल्यमा ६ लाख रुपैयाँभन्दा बढी अन्तर देखिएपछि भन्सारले अनुसन्धान सुरु गरेको हो। त्यसरी कम मूल्यमा आयात गरिएका कारको उपभोक्ता मूल्यमा भने खासै कटौती गरिएको छैन।

images

यसरी घटेर आएको मूल्य उपभोक्तामा ट्रान्सफर नभएको विषयलाई अनुसन्धान गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई समेत आकर्षित गरिएको छ। 

सुरुमा कार आयात गरेबापतको भुक्तानी गर्न अमेरिकी डलरमा एलसी खोल्दै आएको साइमेक्स इंकले पछिल्लोपटक चिनियाँ युआनमै एलसी खोलिरहेको छ। बीवाईडी अटो इन्डस्ट्रीले नेपाली बजारमा आफ्ना दुईजना प्रतिनिधि राखेर करमा विभिन्न तिकडमबाजी गरिरहेको छ।

साइमेक्स इंक र यसको नेतृत्वले कम्पनीको योजनाअनुसार काम गर्न नसकेको भन्दै बीवाईडी अटो इन्डस्ट्रिजले नेपालको नीतिगत छिद्र खोजी गर्न दैनिक कार्य व्यवस्थापनमै हस्तक्षप गरेको हो।

साइमेक्सले बीवाईडी एटो थ्री आयात गर्दा घटाइएको मूल्य चक्रबारे भन्सार विभागले अध्ययन गरिरहेको भन्सार स्रोतले बतायो।

‘यसअघि ई सिक्स आयात गर्दा पनि उल्लेख्य रुपमा मूल्य घटाएर ल्याएको थियो। जसको अनुसन्धान अहिले निष्कर्षमा पुगिसकेको छ,’ भन्सार स्रोतले भन्यो, ‘अहिले अलि बढी संख्यामा बिक्री हुन थालेपछि एटो थ्रीमा भन्सारलाई झुक्याउन सकिन्छ कि भनेर स्मार्ट तरिकाले हरेक पटक आयात गर्दा मूल्य कम गराएको पाइएपछि अनुसन्धान सुरु भएको छ।’ 

हरेक १५/२० दिनमा आयात भएका गाडीमा मूल्य फरक हुन कठिन भएको र यस्तो गरिनु जालसाजी भएको अटोमोबाइल व्यवसायीहरू नै बताउँछन्। मुख्यगरी यसमा दुईवटा पक्ष राजस्व छली गर्ने अभिप्राय र कस्टमाइज गरेर कार ल्याउने अनि अतिरिक्त नाफा आर्जन गर्ने ध्येय देखिएको उनीहरूको भनाइ छ। 

ई सिक्समा कर छलेको निष्कर्ष 

चिनियाँ सवारी उत्पादक बीवाईडीको बिक्रेता साइमेक्सले आयात गरेको २० वटा ई सिक्समा राजस्व छली भएको भन्सारले प्रारम्भिक निष्कर्ष निकालको छ। कर छली भएको विषयमा बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो। 

ई सिक्स आयातमा राजस्व छली गरेको निष्कर्षसँगै बीवाईडी बिक्रेता साइमेक्सलाई भन्सार विभागअन्तर्गतको भन्सार जाँचपास परीक्षण कार्यालयले सक्कल कागजात पेश गर्न पत्र काटेको थियो। लामो समयपछि परीक्षण कार्यालयले ई सिक्स आयातमा कर छलीको अध्ययन गरेर छली भएको कर र जरिबानासमेत असुल गर्ने प्रक्रिया सुरु गरेको हो।  

साइमेक्सले बीवाईडीले २०१५ मै बनाएको ई सिक्स विद्युतीय कार दुईपटक ल्याउँदा भिन्दाभिन्दै मूल्यमा ल्याएको तथ्य फेला परेको थियो। साइमेक्सले २०१९ मार्च १९ मा ल्याएको ई सिक्सको प्रज्ञापन पत्रअनुसार प्रतिकार ४० हजार अमेरिकी डलर बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडलाई पठाएको थियो। साइमेक्सले नै २०२२ अप्रिल १८ मा ल्याएको २० वटा समान क्षमताको ई सिक्सको प्रज्ञापन पत्रअनुसार भने सो कार प्रत्येकको १० हजार डलरमात्र बीवाईडीलाई चीन पठाएको थियो। 

तीन वर्षभन्दा कम समयमा एउटै विद्युतीय कारको मूल्य कसरी ३० हजार अमेरिकी डलर घट्न सक्छ? भन्ने विषयमा परीक्षण कार्यालयले अध्ययन थालेको थियो।

त्यस्तै कार्यालयले साइमेक्सले १० हजार डलरमा खरिद गरेर आयात गरेको ई सिक्समा मूल्य निर्धारण गर्दा अस्वभाविक खर्च देखाएर ४५ लाख रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको बारेसमेत अनुसन्धान गरेको थियो। यसबारे वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पनि अनुसन्धान गरेको छ।

भारतमा पनि बीवाईडीको बदमासी 

बीवाईडीले भारतमा समेत कर छली गरेको पाइएको छ। बीवाईडीले भारतमा सीकेडी (कम्प्लिटली नक्ड डाउन) आयात गरेर विद्युतीय कार एसेम्बल गरी बिक्री गरिरहेको छ। बीवाईडीको एसेम्बल प्लान्ट चेन्नइनजिकै श्रीपेरुमबदुरमा रहेको छ।

चीनबाट एसेम्बलका लागि सीकेडी आयात गरेर कार बनाएर बिक्री गर्दा बीवाईडीले कर छली गरेको भेटिएको हो। भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले कर छली गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। डीआरआईले बीवाईडीले सीकेडी ल्याएर कार एसेम्बल गर्दा ९० लाख अमेरिकी डलर कर छली गरेको पाइएको दाबी गरेको छ। 

डीआरआईको उक्त निष्कर्षपछि बीवाईडीलाई जानकारी गराएसँगै कम्पनीले धरौटीस्वरुप रकम जम्मा गरिसकेको छ। डीआरआईले बीवाईडीको कर छलीबारे अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। बीवाईडीले थप कर तिर्नुपर्ने हुनसक्ने र कर छली गरेको प्रमाणित भएमा त्यति नै रकम जरिबानासमेत तिर्नुपर्ने छ।

बीवाईडीमा साइमेक्सको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१७:१६
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend