मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१८औँ गभर्नरमा नियुक्त विश्व पौडेल : सेयर लगानीकर्ता संरक्षणदेखि वित्तीय सुपरिवेक्षण सुदृढीकरणसम्मको घोषणा

मंगलबार, जेठ ६ २०८२
१८औँ गभर्नरमा नियुक्त विश्व पौडेल : सेयर लगानीकर्ता संरक्षणदेखि वित्तीय सुपरिवेक्षण सुदृढीकरणसम्मको घोषणा

काठमाडौं- नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

गभर्नरको रूपमा नियुक्ति पाएका पौडेलले आफूले सेयर बजारमा संलग्न लाखौं लगानीकर्ताको हित सुरक्षित गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, बैंक तथा वित्तीय क्षेत्रको नियमनभन्दा पनि सुपरिवेक्षण क्षमतालाई सुदृढ बनाउँदै समग्र आर्थिक प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले सेयर बजारमा देखिएका समस्याहरूलाई राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राख्ने स्पष्ट पारे।

'नियमहरू कम गरिनुपर्छ तर सुपरिवेक्षण क्षमता धेरै बढाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ', पौडेलले भने, 'त्यसैले नियमनको बोझ कम गर्दै नियामक संयन्त्रलाई दक्ष बनाउने खालको नीति मेरो प्राथमिकता हुनेछ।' उनका अनुसार यस्तो नीतिले बैंक तथा वित्तीय संस्थाहरूलाई लचकता दिने मात्र होइन, पारदर्शिता र जवाफदेहिता पनि सुनिश्चित हुनेछ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्यीय गभर्नर सिफारिस समितिको बैठकले गभर्नरका लागि पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। 

पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। यसअघि गभर्नर सिफारिस समिति सदस्यसमेत रहेका पौडेललाई सरकारले गभर्नर बनाउने आश्वासन दिएसँगै उनले समितिबाट राजीनामा दिएका थिए। पौडेलको राजीनामा स्वीकृत गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्य पोषराज पाण्डेलाई सरकारले सिफारिस समितिमा ल्याएको थियो।

विश्व पौडेल बने राष्ट्र बैंकको १८औँ गभर्नर विश्व पौडेल बने राष्ट्र बैंकको १८औँ गभर्नर

 


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend