मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

विश्व पौडेल बने राष्ट्र बैंकको १८औँ गभर्नर

मंगलबार, जेठ ६ २०८२
विश्व पौडेल बने राष्ट्र बैंकको १८औँ गभर्नर

बैंकिङ तथा निजी क्षेत्रको विकासमा पनि विश्वनाथ पौडेलको सक्रिय भूमिका देखिन्छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्यीय गभर्नर सिफारिस समितिको बैठकले गभर्नरका लागि पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। 

समितिले पौडेलको नाम १ नम्बरमा सिफारिस गरेको थियो। समितिबाट सिफारिस तीनमध्येबाट पौडेललाई गभर्नरमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। यसअघि गभर्नर सिफारिस समिति सदस्यसमेत रहेका पौडेललाई सरकारले गभर्नर बनाउने आश्वासन दिएसँगै उनले समितिबाट राजीनामा दिएका थिए। पौडेलको राजीनामा स्वीकृत गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्य पोषराज पाण्डेलाई सरकारले सिफारिस समितिमा ल्याएको थियो।

विश्व पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन्। प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र आर्थिक इतिहास उनका प्रमुख अध्ययन र अनुसन्धान क्षेत्र हुन्। हाल उनी काठमाडौं विश्वविद्यालयको व्यवस्थापन स्कुलमा प्राध्यापकका रूपमा कार्यरत छन्।

सन् २०२१ मा उनले नेपाल सरकारको राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। यसअघि उनले जिनेभास्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा कार्य गर्दै श्रम बजार सुधार र सामाजिक सुरक्षासम्बन्धी नीतिगत सुझावहरू प्रदान गरेका थिए। त्यस्तै, नेपाल मिलेनियम च्यालेन्ज एकाइमा अर्थशास्त्रीको भूमिकामा रही उनले ठूला पूर्वाधार परियोजनाहरूको आर्थिक विश्लेषणमा संलग्नता जनाएका थिए।

बैंकिङ तथा निजी क्षेत्रको विकासमा पनि डा. पौडेलको सक्रिय भूमिका देखिन्छ। उनी सानिमा बैंकको सञ्चालक समितिमा आबद्ध रहँदै नीति निर्माण तहमा योगदान पुर्‍याउँदै आएका छन्। साथै, उनी नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको थिंक ट्यांकमा पनि आबद्ध थिए।


प्रकाशित : मंगलबार, जेठ ६ २०८२१८:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend