सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भारतीयका लागि नेपालमा अनलाइनसँगै नगद कारोबार खुकुलो हुँदै

सोमबार, असार १५ २०८३
भारतीयका लागि नेपालमा अनलाइनसँगै नगद कारोबार खुकुलो हुँदै

यो व्यवस्था लागु भएमा नेपालमा आउने भारतीयका लागि नगद उपकरण पनि खुकुलो हुनेछ।

काठमाडौं- नेपालमा भुक्तानीमा गरिएको सहजीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डलर खर्च नगर्न आफ्ना नागरिकलाई गरेको आह्वानका कारण ‍नेपालमा भारतीय पर्यटक बढेका छन्।

पछिल्लो समय काठमाडौंबाहिर पनि धेरैतिर भारतीय पर्यटकले भरिन थालेका छन्। प्रमुख पर्यटकीय सहर पोखरामा त भारतीयहरूको ठूलै संख्या पुग्ने गरेको छ। भारतीय पर्यटकको आगमनले गर्दा नेपालका होटल तथा रेष्टुरेन्टले पनि राम्रो व्यापार पाइरहेका छन्। 

पछिल्लो समय भएका कतिपय भुक्तानीको नीतिगत सहजीकरण तथा अन्य भौतिक पूर्वाधार पनि राम्रो बन्दै गएपछि भारतीयहरू बढेका हुन्। धार्मिक तथा पारिवारिक प्रायोजनले मात्र घुम्न आउने भारतीयहरू पछिल्लो समय घुम्ने प्रयोजनका लागि धेरै आइरहेका छन्। 

भदौमा भएको युवा विद्रोह तथा बालेन शाहको उदयपछि नेपालप्रति भारतमा चर्चा बढेको छ। यसको कारणले पनि नेपालमा भारतीयहरू बढिरहेको पर्यटन व्यवसायीहरूको भनाइ छ। 

भारतीय बढ्नुको मुख्य कारण भुक्तानीमा सहजीकरण पनि हो। भारतीयहरूले घरेलु मुद्रामै नेपालमा खर्च गर्न पाउँछन्।

विगतमा नगद बोक्नुपर्ने र त्यसमा पनि सयभन्दा माथिका नोट बोक्न नपाइने व्यवस्थाले गर्दा खर्चमै अंकुश थियो तर अहिले भने अनलाइन भुक्तानीका लागि सहज गरिएको छ।

भारतीयहरूले नेपालमा आफ्नो वालेटबाट सिधै भुक्तानी गर्न सक्छन्। नेपालका होटल रेष्टुरेन्टदेखि सपिङ सेन्टरसम्म वालेटबाट सिधै क्वूआर गरेर भुक्तानी गर्न सक्छन्। यसले गर्दा धेरै युवाहरूलाई नेपाल आउन उत्प्रेरित गरिरहेको छ। 

त्यस्तै अब नगदमा पनि सहजीकरण हुने भएको छ। गएको मंसिरदेखि भारतको केन्द्रीय बैंकले नेपालमा पनि सयभन्दा ठूला दरका नोट पठाउन मिल्ने व्यवस्था गरेको थियो।

२५ हजार रुपैयाँसम्म भारतीयहरूले नेपालमा ल्याउन सक्ने भएपनि त्यसको प्रभावकारी कार्यान्वयन अझै भएको छैन। भारतले नेपालमा जान दिने तर फिर्ता ल्याउनका लागि बाटो नखोल्दा नेपालका होटलहरूले सयभन्दा माथिको नोट लिन सकिरहेका थिएनन्। 

२५ हजारभन्दा माथि ल्याउन मिलेपनि त्यसलाई नेपाली बैंकले स्वीकार नगर्दा लिन सक्ने अवस्था नभएको होटल व्यवसायी शशिकान्त अग्रवालले बताए।

अनलाइन भुक्तानीको सुविधा भएपनि कतिपय अवस्थामा नगदको पनि उत्तिकै आवश्यकता पर्ने र शतप्रतिशत अनलाइनमै भर परेर हिँड्न सक्ने अवस्था अहिले पनि धेरैमा छैन। यही कारणले यात्रुको आत्मविश्वासका लागि पनि नगद अनिवार्य रहेको उनको भनाइ छ। 

सयभन्दा माथिका नोट २५ हजारसम्मको क्याप निकै थोरै भएको र त्यही पनि कार्यान्वयन नभएको उनको भनाइ छ। 

अब भने यसको प्रभावकारी कार्यान्वयन हुने भएको छ।

भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मलोहत्रा छिटै त्यसका लागि नीतिगत व्यवस्था गर्न नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग सहमत भएका छन्।

स्वीट्जरल्याण्डमा भएको भेटमा उनले अन्य अनलाइनसँगै नगद कारोबारमा आवश्यक सहजीकरणका लागि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्। 

भारतीयहरूले सयबाहेकका ठूला नोट बोकेर ल्याउन पाउने क्याप बढाउने तथा नेपाली होटलले बुझेको रकम सहजै बैंकले बुझ्नसक्ने व्यवस्था मिलाउन उनले प्रतिबद्वता गरेको गभर्नर विश्वनाथ पौडेलले जानकारी दिए।

भारतीय गभर्नले छिटै सर्कुलर जारी गरेर यो अवरोध हटाउने वाचा गरेका छन्। 

यो व्यवस्था लागु भएमा नेपालमा आउने भारतीयका लागि नगद उपकरण पनि खुकुलो हुनेछ। यसबाट होटलहरूलाई फाइदा पुग्ने अग्रवालको भनाइ छ। 


प्रकाशित : सोमबार, असार १५ २०८३१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend