काठमाडौं- करिब ६ वर्षदेखि रोकिएको सडक उपभोग दस्तुर संकलन कार्य पुनः सुरू गर्ने तयारी सडक बोर्डले गरेको छ। कोरोना भाइरस (कोभिड–१९) महामारी र राष्ट्रिय राजमार्गमा भइरहेको विस्तार तथा स्तरोन्नतिको कारण स्थगित दस्तुर संकलन अब पुनः सुरू गर्न लागिएको हो।
सडक बोर्डले २०७६ साल बैशाखमा राजपत्रमा प्रकाशित सूचनाअनुसार १५ वटा सडक खण्डमा दस्तुर संकलन गर्ने निर्णय गरेको थियो। त्यसपछि थप ७ वटा सडक खण्ड पहिचान गरी दस्तुर संकलनको प्रस्ताव सम्बन्धित मन्त्रालयमा पेश गरिएको बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले जानकारी दिए।
कोभिडअघि बोर्डले ७–८ वटा सडक खण्डबाट दस्तुर संकलन गरिरहेको थियो। तर महामारीपछि देश ठप्प हुँदा यो कार्य स्थगित भएको थियो। ‘कोरोनापछि पनि सडक विस्तार र स्तरोन्नतिको काम भइरहेकाले हालसम्म दस्तुर उठाउन रोकिएकोले अब फेरि उठाउन लागिएको हो’, केसीले भने।
अब दस्तुर संकलन प्रविधिमार्फत गरिने भएको छ। पहिले बाँसको लाठी राखेर वा ठेक्का प्रणालीमार्फत दस्तुर उठाइन्थ्यो। अब भारतमा जस्तै इलेक्ट्रोनिक टोल गेटमार्फत शुल्क उठाइनेछ। जसमा गाडीलाई ३० देखि ५० सेकेन्डभन्दा बढी रोकिनुपर्ने छैन। स्क्यान, मोबाइल बैंकिङलगायत प्रविधिबाटै भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको समेत केसीले जानकारी दिए।
प्रारम्भमा भैरहवा–भूमही सडकखण्डमा यस्तो प्रणाली लागु गरिनेछ। उक्त खण्डका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहसँग छलफल गरेर आवश्यक तयारी थालिएको हो। अरु सडकखण्डमा पनि इलेक्ट्रोनिक टोल प्रणालीका लागि विस्तृत अध्ययन भइरहेको छ।
यसअघि बुटवलपूर्वका सडकमा मात्र दस्तुर उठाइएकामा अब बुटवलपश्चिम हुँदै गड्डाचौकीसम्मका सडकखण्डमा पनि दस्तुर संकलन विस्तार गरिने योजना बोर्डको छ। दस्तुर संकलनबाट संकलित रकममध्ये दुई तिहाइ सोही सडकको मर्मत–सम्भारमा खर्च गरिनुपर्ने कानूनी व्यवस्था छ।
२०७६ सालमा सरकारको निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ बमोजिम पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन, पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल र भैरहवा–भुमही सडक खण्डमा दस्तुर संकलन गरिँदै आएको थियो।
त्यसपश्चात २०७७ साल भदौ ८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नारायणगढ–मुग्लिन सडक खण्डलाई थप गर्दै दस्तुर संकलन गर्ने निर्णय गरेको थियो। ३६ किलोमिटर लामो उक्त खण्डमा भारी सवारी साधन (बस, मिनीबस, ट्रक, मिनी ट्रक र हेभी मेशिनरी उपकरण)लाई ५५ रुपैयाँ र हलुका सवारी साधनलाई २५ रुपैयाँ दस्तुर तोकिएको छ।
सडक बोर्डले हालै भौतिक तथा अर्थ मन्त्रालयमा दस्तुर संकलनका लागि प्रस्ताव पेश गरेका थप ७ सडकखण्डमा मुग्लिन–पोखरा, बुटवल–लमही, लमही–कोहलपुर, कोहलपुर–अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी, काठमाडौं–तराई द्रुतमार्ग रहेका छन्।
आयोजनामा दस्तुर लगाउने मापदण्डअनुसार सवारीले कम्तिमा ५० किलोमिटर दूरी पार गरेको र सो सडक खण्डमा दैनिक ९०० सवारी साधनको आवागमन भएको हुनुपर्नेछ।
सडक खण्ड |
ठूला सवारी (रु.) |
हलुका सवारी (रु.) |
मोटरसाइकल/टेम्पो (रु.) |
हेटौंडा–नारायणघाट |
१०० |
४० |
१० |
नारायणघाट–बुटवल |
१३० |
६० |
१० |
नौबिसे–मुग्लिन |
१२० |
५० |
१० |
भैरहवा–भुमई |
३० |
२० |
१० |
काकडभिट्टा–दमक |
७५ |
३० |
१० |
दमक–इटहरी |
१२५ |
५० |
१० |
विराटनगर–धरान |
७० |
२५ |
१० |
कोशी–चैहर्वा |
१४० |
५५ |
१० |
चैहर्वा–पथलैया |
१२५ |
८५ |
१० |
हेटौंडा–बिरगञ्ज |
८५ |
३५ |
१० |
बिरगञ्ज–पथलैया |
५० |
२० |
१० |
धुलिखेल–खुर्काेट |
१२५ |
५० |
१५ |
खुर्काेट–सिन्धुली–बर्दिबास |
११४ |
४५ |
१५ |
पाँचखाल–मेलम्ची |
५० |
१५ |
५ |
नारायणगढ–मुग्लिन (२०७७ भदौमा थप) |
५५ |
२५ ५ |
५ |