बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

कलंकी-बसुन्धारा सडकको अध्ययन सकियो, ओभरपाससहित विस्तार गर्न १० अर्ब खर्च हुने

images
बुधबार, असार २५ २०८२
images
images
कलंकी-बसुन्धारा सडकको अध्ययन सकियो, ओभरपाससहित विस्तार गर्न १० अर्ब खर्च हुने

१६ मिटर लम्बाइको सानो पुल, ३ वटा कल्भर्ट र ४ वटा पैदल यात्री ओभरपास, विष्णुमती नदीमा एउटा साधारण इन्टरचेन्ज र ५६० मिटर लम्बाइको ओभरपास निर्माण हुनेछ।

images
images

काठमाडौं- चक्रपथ (कलंकी-बसुन्धारा) सडक विस्तारका लागि डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। चीन सरकारले ‘डिजाइन, सर्भे र मेनेजमेन्ट’का लागि छनोट गरेको कम्पनी अध्ययनको काम अन्तिम चरणमा पुर्‍याएर स्वदेश फर्किन लागेको हो।

images
images

चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोगमार्फत् चक्रपथ विस्तारको दोस्रो खण्ड अनुदान सहयोगमा विस्तार गर्न अध्ययन भइरहेको छ। चीन सरकारले सीसीसीसी फस्ट हाइवे कन्सल्टिङ कम्पनी र सियान फाङझाउ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीको जोइन्ट भेन्चर कम्पनी (जेभी) लाई चक्रपथ विस्तारको ‘डिजाइन, सर्भे र मेनेजमेन्ट’का लागि छनोट गरेको थियो। 

images
images

उक्त कम्पनीले सन् २०२५ अप्रिल ११ (वि.सं. २०८१ चैत २९ गते) १२ जना व्यावसायिक अध्ययन र ९ जना इन्जिनियरिङ अध्ययनका लागि गरेर २१ जनाको टोली नेपाल पठाउने निर्णय गरेको थियो। बैशाखमा (मे महिनाको पहिलो साता) नेपाल आइपुगेर प्राविधिक टेलीले सडक विभागका इन्जिनियरहरुसँग बैठक बसेर स्थलगत अध्ययन, इन्जिनियरिङ सर्वेक्षण र भूगर्भीय अनुसन्धान सुरु गरेको थियो।

images
images
images

हाल उक्त काम लगभग सकिएको छ। ‘फिल्ड सर्भे’को काम सकेर धेरै प्राविधिकहरु चाइना फर्किसकेको सडक विभागले जनाएको छ। अहिले नेपालमा ९ जना माटो परीक्षण र दुईजना डिजाइनका गरी ११ जना प्राविधिकमात्रै बसेका छन्।

chakrapath (2).JPG

‘सबै इन्जिनियर सधैँ बस्नुपर्दैन, अरुले आफ्नो काम सकेर फर्किए, साउन पहिलो सातासम्म सबै प्राविधिकहरु चीन फर्किन्छन् होला’, विभाग स्रोतले भन्यो।

चीन सरकारले सीसीसीसी र सियान कम्पनीसँग सन् २०२६ अगस्टसम्म डिजाइन तयार गर्ने गरी सम्झौता गरेको थियो। तर नेपालमा काम गर्दा कागजी प्रक्रिया धेरै हुने भएकाले तोकिएको समयमा डिजाइन तयार गर्न नसकिने चिनियाँ प्राविधिकहरुले गुनासाे गरेका छन्।

बिजनेस न्युजसँग विभागका एक कर्मचारी भन्छन्, ‘नेपालमा पेपरको काम धेरै हुन्छ, फेरि दुई देशबीचको कुरा भयो। तोकिएको समयमा गर्न सजिलो नहुने रहेछ भन्ने कुरा उनीहरुको छ।’

तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं वैदेशिक सहायता महाशाखा प्रमुख सुशीलबाबु ढकाल अगस्टसम्म डिजाइन तयार गर्ने जानकारी आफूले प्राप्त गरेको बताउँछन्। त्यहीअनुसार काम भइरहेकाे हुनसक्ने उनकाे आकलन छ।

के-के छ डिजाइनमा? 

चक्रपथको दोस्रो खण्डकाे लम्बाइ ८.२ किलोमिटर छ। सडक आठ लेनमा विस्तार हुन्छ। जसमा १६ मिटर लम्बाइको सानो पुल बन्नेछ। १३ वटा कल्भर्ट र ४ वटा पैदल यात्री ओभरपास, विष्णुमती नदीमा एउटा साधारण इन्टरचेन्ज र ५६० मिटर लम्बाइको ओभरपास निर्माण हुनेछ।

सवारीसाधन र पैदलयात्रीले यात्राको गन्तव्य परिवर्तनका लागि ११ वटा इन्टरसेक्सन बनाउने गरी डिजाइन तयार हुँदैछ। ती इन्टरसेक्सनबाट सवारीसाधनले यात्राको गन्तव्य परिवर्तन गर्न सक्छन्। बालाजु, स्वयम्भु, सितापाइला, चक्रपथजस्ता महत्वपूर्ण चोकमा क्रसिङ पोन्टहरु राख्ने गरी डिजाइन तयार हुँदैछ।

चीनको सहरी रोड स्याण्डर्डमा विस्तार हुने उक्त सडकको ११ ठाउँमा सार्वजनिक बसस्टप रहने बताइएको छ। साथै सवारी गति प्रतिघण्टा ५० किलोमिटर रहने छ।

सडकको कुल चौडाइ ३८.५ मिटर हुन्छ। जसमध्ये दुवै छेउमा २.७५ मिटर फुटपाथ, दुवै छेउमा ४ वटा सवारीसाधन लेनहरू र सडकको बीचमा तीन मिटर मध्य भाग रहनेछ। जसमा फूल एवं अन्य बिरुवा रोप्ने तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न सकिन्छ।

अहिले फिल्डमा अध्ययन गरेको विवरणबाट चिनियाँ टोलीले ४ देखि ५ महिनामा परियोजनाको ‘डिटेल फिजिविलिटी स्टडी’ (डीपीआर) तयार गर्ने जनाएको छ। डीपीआरमा सेन्टरलाइन डिजाइन, प्रोफाइल डिजाइन, क्रस-सेक्शन, पुल र कल्भर्ट डिजाइन, ड्रेनेज डिजाइन, शाखा सडक रहने स्थान, ओभरपास र ट्राफिक सुविधा डिजाइन समावेश हुने प्राविधिकहरु बताउँछन्।

प्राविधिकहरुको प्रारम्भिक अध्ययनले चक्रपथ विस्तार सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने र १० अर्ब खर्च हुने सम्भावना देखिएको सडक विभाग स्रोत बताउँछ। यद्यपि डीपीआर तयार नभएकाले यसलाई आधिकारिक भन्न नसकिने ती कर्मचारीले बताए।

‘१० अर्बभन्दा बढी लागत र तीन वर्षमा विस्तारको काम सकिन्छ भन्ने प्रारम्भिक आकलन छ। फाइनल रिपोर्ट बनेपछि यकिन विवरण भन्न सकिन्छ’, विभाग स्रोत भन्छ, ‘लागत चाहिँ योभन्दा बढ्दैन बरु घट्छ। तर सडक विस्तारको सयम तीनदेखि चार वर्ष रहन्छ रहन सक्ने देखिन्छ।’

कहिले सुरु हुन्छ सडक विस्तार?

सीसीसीसी र सियान कम्पनीको जिम्मेवारी डिजाइन, सर्भे र मेनेजमेन्टसम्म मात्रै हो। उक्त कम्पनीले सडकको डिजाइन र डीपीआर चीन सरकारलाई हस्तान्तरण गरेपछि नेपालको भौतिक मन्त्रालयलाई पनि प्राप्त हुनेछ। डिजाइनमा मन्त्रालयले आवश्यक सुझाव दिएपछि सोही आधारमा चीनले नयाँ ठेक्का आह्वान गर्नेछ।

त्यसपछि सडक विस्तारका लागि कम्पनी छनोट गरी नेपाल पठाउनेछ। जसका लागि अझै ५ महिना लाग्न सक्ने बताइएको छ। यसरी हेर्दा सन् २०२६ बाट चक्रपथ विस्तारको काम सुरु हुन्छ।

के गर्दैछ सडक विभाग?

सडक विस्तार चीनले अनुदान सहयोगमा गरेपनि आवश्यक सहजीकरण र सर्भिस ट्रयाक निर्माणको जिम्मेवारी सडक विभाग मातहतको चक्रपथ विस्तार आयोजनाको हो। सोहीअनुसार २०७९ असार ३० गते वर्ल्ड वाइड पीआर सुसन जेभीसँग सर्भिस लेन निर्माण गर्ने सम्झौता भएको विस्तार आयोजनाका इन्जिनियर सुरेन्द्र सिंह बताउँछन्।

स्वयम्भूदेखि विष्णुमतीसम्म दायाँबायाँ दुईवटा र विष्णुमतीदेखि बसुन्धारासम्म दायाँबायाँ दुईवटा गरेर चार प्याकेजमा ठेक्का लगाइएको छ। सर्भिस लेन बनाउन करिब ६० करोड रुपैयाँमा खर्च भएको इन्जिनियर सिंहले बताए। विष्णुमती खोलादेखि बसुन्धारासम्मको बाहिरी सर्भिस ट्रयाकको कालोपत्र भइसकेको छ।

स्वयम्भूदेखि विष्णुमतीसम्मको दायाँ र बायाँको एक किलोमिटर कालोपत्र भइसकेको छ। उक्त खण्डको मात्रै भौतिक प्रगति ७० प्रतिशत भएको इन्जिनियर सिंहको भनाइ छ। वर्ल्ड वाइड पीआर सुसन जेभीसँग आगामी मंसिरसम्म म्याद बाँकी रहेकाले सर्भिस लेनको काम सम्पन्न हुने आयोजनाले दाबी गरेको छ।

‘लगभग काम सकिएको छ, अहिले फिल्डमा पनि सन्तोषजन काम भइरहेकाले म्यादभित्रै सम्पन्न हुनेमा हामी ढुक्क छौँ’, इन्जिनियर सिंहले भने। कोटेश्वर-कलंकी पहिलो खण्डको काम २०६९ मा सुरु भइ २०७५ मा सकिएको थियो।

सन् २००९ मा चिनियाँ राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणको क्रममा नेपाली पक्षले आधिकारिकरूपमा चक्रपथको स्तरोन्नति र विस्तारको आवश्यकता प्रस्ताव गरेको थियो।

सन् २०२४ जुलाईमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीन र नेपालबीच कुल १२ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। जसमध्ये यो चक्रपथमा दोस्रो चरणको स्तरोन्नति र विस्तार परियोजना पनि एक हो।


प्रकाशित : बुधबार, असार २५ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend