सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नयाँ एपीआई प्रणाली कार्यान्वयनमा, एकैदिनमा सेयर खरिदपछि बिक्री गर्न सकिने

मंगलबार, असार १७ २०८२
नयाँ एपीआई प्रणाली कार्यान्वयनमा, एकैदिनमा सेयर खरिदपछि बिक्री गर्न सकिने

नयाँ नीति अनुसार अब लगानीकर्ताले सेयर आफ्नो खातामा आएको दिनमै बिक्री गर्न सक्नेछन्, तर यसका लागि ब्रोकर कम्पनीले नयाँ एपीआई प्रणालीमा अपग्रेड गरेको हुनुपर्छ।

काठमाडौं- सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबार प्रक्रिया थप सहज बनाउन नयाँ एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति कार्यान्वयनमा ल्याएको छ।

नयाँ नीति अनुसार अब लगानीकर्ताले सेयर आफ्नो खातामा आएको दिनमै बिक्री गर्न सक्नेछन्, तर यसका लागि ब्रोकर कम्पनीले नयाँ एपीआई प्रणालीमा अपग्रेड गरेको हुनुपर्छ।

हाल यो सुविधा नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) लिएका केही ब्रोकरहरुले प्रयोग गरिरहेका छन्। सीडीएससीका अनुसार पुराना टीएमएस प्रयोग गर्दै आएका ब्रोकरहरुले पनि यदि नयाँ एपीआईमा प्रविधिगत अपग्रेड गरेमा उनीहरुका ग्राहकले पनि सोही सुविधा प्राप्त गर्न सक्नेछन्।

अहिलेको प्रणालीमा लगानीकर्ताले सेयर खरिद गरेपछि करिब दुई दिनपछि मात्र बेच्न पाउँछन्। उदाहरणका लागि, आइतबार सेयर किन्ने लगानीकर्ताको नाममा उक्त सेयर मंगलबार मात्र डिम्याट खातामा देखिन्छ। त्यसपछि मात्रै बुधबारबाट बिक्री प्रक्रिया थाल्न पाइन्छ। तर, नयाँ एपीआई प्रणालीले यो समयसीमा घटाउँदै खातामा सेयर आएको दिनमै बिक्री गर्न सक्ने सम्भावना खुला गरेको हो।

नयाँ प्रणालीअनुसार यदि डीपी (डिपोजिटरी पार्टिसिपेन्ट) ले दिउँसो ३ बजेसम्ममा सेयर लगानीकर्ताको खातामा ट्रान्सफर गरिदियो भने त्यसै दिन साँझबाटै सेयर बेच्न सकिनेछ। यसले सेटलमेन्ट प्रक्रिया छिटो बनाउने मात्र होइन, बजारमा तरलता व्यवस्थापनमा पनि सहजता ल्याउने अपेक्षा गरिएको छ।

सीडीएससीले यस सुविधालाई नयाँ टीएमएसमा मात्र सीमित नराखी पुराना प्रणाली प्रयोगकर्ताले पनि प्रविधिगत उन्नयन गरेपछि प्रयोग गर्न सक्ने स्पष्ट पारेको छ। त्यस्तै, पहिले धितो (प्लेज) मा राखिएको सेयर रिलिज भएपछि अर्को दिन कुर्नुपर्ने बाध्यता पनि अब हट्नेछ। अब प्लेजबाट रिलिज भएको सेयर पनि सोही दिनमा बिक्री गर्न सकिनेछ।

नयाँ प्रणालीको पूर्ण कार्यान्वयनपछि सेयर कारोबार प्रक्रिया थप चुस्त र समयमै सेटलमेन्ट सुनिश्चित हुने अपेक्षा गरिएको छ। यसका लागि ब्रोकर कम्पनीहरूले चाहिने प्रविधिगत संरचना तयार गर्नुपर्नेछ। सीडीएससीले यो व्यवस्था चरणबद्ध रूपमा लागू गर्दै लगानीकर्तालाई लचिलो र द्रुत कारोबार प्रणाली उपलब्ध गराउने जनाएको छ।


प्रकाशित : मंगलबार, असार १७ २०८२१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend