काठमाडौं- रसुवा भन्सार कार्यालयले गएको असार १९ गते चिनियाँ गाडी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिको नाममा छुट रकम दाखिला गरी सवारीसाधन छुटाएर लैजान पत्र काट्यो। भन्सार कार्यालयले काटेको पत्रमा गएको जेठ १४ गतेसम्म जाँचपासको सबै प्रक्रिया पूरा भएको भनिए पनि सशस्त्र प्रहरी बल टिमुरेले रजिष्टरमा राखेको हस्तलिखित अभिलेखमा केही संख्याका गाडी जेठ १४ गतेसम्म सीमा प्रवेश नभएको पाइएको उल्लेख छ।
जेठ १४ मै सबै प्रक्रिया पूरा भएपनि कतिपय गाडी जेठ १५ गतेपछि इन्ट्री भएको सशस्त्रको अभिलेखमा देखिएको हो। सोहीकारण आर्थिक विधेयक २०८३ ले करका दरहरु परिवर्तन गर्दा छुट हुन गएको राजस्व रकम भन्सार महसुल ऐन २०८१ को दफा २३(१) बमोजिम थप दस्तुर बुझाइ भन्सार होल्डिङमा रहेका सवारीसाधन छुटाइ लैजान पत्र काटिएको थियो।
भन्सार कार्यालयले काटेको पत्रमा ६० वटा एटो वान र ३५ वटा सिलायन सेभेनको छुट रकम बुझाउन भनियो। जसमा ६० वटा एटो वानको हकमा ३ करोड ३१ लाख ४९ हजार ५ सय ४५ रुपैयाँ र ३५ वटा सिलायन सेभेनको हकमा १५ करोड ९३ लाख ८७ हजार ४ सय ५४ रुपैयाँ छुट रकम बुझाउन भन्दै पत्र काटिएको थियो। समग्रमा ९५ वटा बीवाईडीका गाडीबाट १९ करोड २५ लाख ३६ हजार ९ सय ९९ रुपैयाँ छुट रकम बुझाउन कार्यालयले पत्र काटेको हो।
कार्यालयले छुट रकम बुझाइ भन्सार क्षेत्रको होल्डिङमा रहेका सवारी लैजान भने काटेको पत्रउपर साइमेक्स इंक प्रालिले असार ३१ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। साइमेक्सले रसुवा भन्सार कार्यालयबाट भन्सार जाँचपास भइसकेका कुल ४७२ वटा सवारीसाधनमध्ये ढुवानी गर्न बाँकी रहेका १६५ वटा सवारीसाधन पनि ढुवानी गर्न नदिइ भन्सार बिन्दुमै रोक्का/होल्ड गरिएको विषय रिटमा उल्लेख छ।
कम्पनीले उक्त सवारीसाधनहरु फुकुवा गरिदिन अनुरोध गरी विपक्षी भन्सार विभाग तथा विपक्षी रसुवा भन्सार कार्यालयलाई पत्राचार गर्दा पत्रसमेत बुझ्न इन्कार गरेपछि इमेलमार्फत पत्र पठाएका विषय रिटमा उल्लेख गरेको छ।
यही क्रममा असार ४ गते भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट कतिपय सवारीसाधन भन्सारमा भौतिकरूपमा आइनपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेको विषय साथै सोबमोजिम साइमेक्सलगायतलाई कानूनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखि पठाइएको व्यहोरा सार्वजनिक भएको विषयसमेत रिटमा समावेश छ।
मुस्ताङ भन्सार कार्यालयबाट होल्ड गरिएका सवारीसाधन जेठ ३० मै फुकुवा भएको थियो भने रसुवा भन्सार कार्यालयले होल्ड गरेका सवारीसाधनहरु भने फुकुवा नभएको विषयको जानकारी रिटमा गराइएको थियो।
यही क्रममा ९५ वटा सवारीसाधनको छुट राजस्व १९ करोड २५ लाख ३६ हजार ९ सय ९९ रुपैयाँ धरौटी माग गरेको विषयमा साइमेक्स अदालत गएको हो। कानूनअनुसार सवारी जाँचपास गरेको र राजस्व तिरेको हुँदा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रोक्का गरिएको सवारी फुकुवा गरिदिनुपर्ने माग साइमेक्सको थियो। तर उच्च अदालत पाटनका न्यायाधीशद्वय स्वीकृती पराजुली र अच्युत कुइकेलको संयुक्त इजलासले साउन २१ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
आदेश भनिएको छ, 'अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा, निवेदकले आयात गरेका सवारीसाधनको भन्सारको जाँचपास सम्पन्न पश्चात सवारी आयात भइ, सवारी नेपाल प्रवेश गरे नगरेको यकिन भइ नसकेको भन्ने प्रतिवेदन समेतलाई मध्यनजर राख्दा, प्रस्तुत निवेदनको पछि अन्तिम निरोपण हुँदाको अवस्थामा सम्वोधन हुन सक्ने नै हुँदा तत्काल अन्तरिम आदेश जारी गरी रहनु पर्ने देखिएन। कानूनबमोजिम गर्नू।'
यो घटनाक्रम यहाँसम्म कसरी आइपुग्यो?
अर्थमन्त्री स्वर्णिम वाग्लले संघीय संसदको संयुक्त वैठकमा चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटसँगै विद्युतीय सवारी आयातमा लाग्दै आएको करको दरमा हेरफेर गरे।
मन्त्री वाग्लले आर्थिक विधेयक २०८३ मार्फत किलोवाटमा लाग्दै आएको करलाई सीआईएफ भ्यालु (खरिद मूल्य, बीमा र भाडा) आधारमा कर लाग्ने व्यवस्था बजेटमार्फत गरे।
आर्थिक ऐन २०८३ मार्फत सबै विद्युतीय कारमा २० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ। त्यसपछि मूल्यका आधारमा २० लाख रुपैयाँसम्म सीआईएफ भ्यालु भएका विद्युतीय कारमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र २.५ प्रतिशत नै सडक मर्मत दस्तुर, २० देखि ३० लाख रुपैयाँसम्मका गाडीमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था गरियो।
त्यस्तै ३० देखि ४० लाख रुपैयाँ सीआईएफ मूल्य भएका कारमा २० प्रतिशतमा १५ प्रतिशत थपगरी ३५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर र ४० देखि ५० लाख रुपैयाँ सीआईएफ मूल्यको विद्युतीय कारमा २० प्रतिशतमा ७० प्रतिशत थपगरी ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था भयो।
तर बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्सले भने बजेट अगाडिको एक महिनामा अस्वाभाविक गाडी चाँचपास गराएको विषय उठान भयो।
बजेटअघिको एक महिनामा साइमेक्सले १३ सय ९६ वटा गाडी जाँचपास गराएको थियो। त्यसमा पनि जेठको ११ दिनमै ११ सय २१ वटा गाडी जाँजपास भएको तथ्यांक सार्वजनिक भयो।
यस विषयमा सदनदेखि सडकसम्म गम्भीरताका साथ प्रश्न उठ्न थाल्यो। संसदीय समितिदेखि प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले यो विषयमा प्रश्न उठाए। साइमेक्सले भन्सार नाकामै आइनपुगेको गाडी कागजमा मात्रै जाँचपास गराएको विषय सबैतिर उठ्यो।
हेर्नुहोस् साइमेक्सले ल्याउने बीवाईडीको मोडलअनुसार बढेको कर
सिलायन सेभेन
साइमेक्सले बजेट अगाडिको एक महिनामा १ सय ४५ वटा सिलायन सेभेन गाडी नेपाल ल्याएको छ। एउटा सिलायन सेभेनको सीआईएफ (कस्ट, फ्रेड एन्ड इन्स्योरेन्स) भ्यालु १ लाख ९० हजार ४ सय २५ चिनियाँ युआन रहेको छ।
१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा सिलायन सेभेनको भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ हुन्छ।
नयाँ करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ
- सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन
- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ
- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ८ लाख ५६ हजार ९ सय १२
- २० प्रतिशत भन्सार पछिको मूल्य ५१ लाख ४१ हजार ४ सय ७४ रुपैयाँ
- ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम ४६ लाख २७ हजार ३ सय २७ रुपैयाँ
- ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य ९७ लाख ६८ हजार ८ सय १ रुपैयाँ
- ५ प्रतिशत सडक सम्भार तथा मर्मत शुल्कलाग्दाको रकम ४ लाख ८८ हजार ४ सय ४० रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य १ करोड २ लाख ५७ हजार २ सय ४१ रुपैयाँ
- १३ प्रतिशत भ्याट लाग्दाको रकम १३ लाख ३३ हजार ४ सय ४१ रुपैयाँ
- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट १ करोड १५ लाख ९० हजार ६ सय ८२ रुपैयाँ
पुरानो करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ
- सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन
- १ युआनबराबर २२।५० रुपैयाँको हिसाबमा ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ
- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ८ लाख ५६ हजार ९ सय १२
- २० प्रतिशत भन्सार पछिको मूल्य ५१ लाख ४१ हजार ४ सय ७४ रुपैयाँ
- १५ प्रतिशत अन्तःशुल्क लाग्दाको रकम ७ लाख ७१ हजार २ सय २१ रुपैयाँ
- १५ प्रतिशत अन्त:शुल्क शुल्कपछि गाडीको मूल्य ५९ लाख १२ हजार ६ सय ९५ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम २ लाख ९५ हजार ६ सय ३४ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ६२ लाख ८ हजार ३ सय २९ रुपैयाँ
- १३ प्रतिशत भ्याट लाग्दाको रकम ७ लाख ७१ हजार ६ सय ६ रुपैयाँ
- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ६९ लाख ७९ हजार ९ सय ३५ रुपैयाँ
नयाँ र पुरानो कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी ४६ लाख १० हजार ७ सय ४६ रुपैयाँ कर कम हुने थियो।
एटो टू
साइमेक्सले बजेटअघिको एक महिनामै ८ सय ४० वटा एटो टू नेपाल ल्याएको छ। एउटा एटो टू को सीआईएफ भ्यालु १ लाख ९ हजार ६१ चिनियाँ युआन रहेको छ।
१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा एटो टू भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ हुन्छ।
नयाँ करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ
- एटो टू प्रतिगोटा १ लाख ९ हजार ६१ युआन
- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ
- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ४ लाख ९० हजार ७ सय ७५ रुपैयाँ
- २० प्रतिशत भन्सार पछिको मूल्य २९ लाख ४४ हजार ६ सय ५४ रुपैयाँ
- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम ५ लाख ८८ हजार ९ सय ३० रुपैयाँ
- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य ३५ लाख ३३ हजार ५ सय ८४ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम १ लाख ७६ हजार ६ सय ७९ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ३७ लाख १० हजार २ सय ६३ रुपैयाँ
- १३ प्रतिशत भ्याट लाग्दाको रकम ४ लाख ६१ हजार १ सय ३२ रुपैयाँ
- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ४१ लाख ७१ हजार ३ सय ९५ रुपैयाँ
पुरानो करका दरअनुसार गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ
- एटो टू प्रतिगोटा १ लाख ९ हजार ६१ युआन
- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ
- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ४ लाख ९० हजार ७ सय ७५ रुपैयाँ
- २० प्रतिशत भन्सारपछिको मूल्य २९ लाख ४४ हजार ६ सय ५४ रुपैयाँ
- अन्त:शुल्क १५ प्रतिशत लाग्दा ४ लाख ४१ हजार ६ सय ९८ रुपैयाँ
- अन्त:शुल्क १५ प्रतिशत पछिको मूल्य ३३ लाख ८६ हजार ३ सय ५२ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख ६९ हजार ३ सय १७ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुरपछिको मूल्य ३५ लाख ५५ हजार ६ सय ६९ रुपैयाँ
- १३ प्रतिशत भ्याट लाग्दाको रकम ४ लाख ६२ हजार २ सय ३७ रुपैयाँ
- १३ प्रतिशत भ्याटपछिको गाडीको ल्यान्डिङ कस्ट ४० लाख १७ हजार ९ सय ६ रुपैयाँ
नयाँ र पुरानो कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी १ लाख ५३ हजार ४ सय ८८ रुपैयाँ कर कम भएको थियो।
एटो वान
साइमेक्सले बजेट अगाडिको एक महिनामै ४ सय ९ वटा एटो वान नेपाल ल्याएको छ। एउटा एटो वानको सीआईएफ भ्यालु ८९ हजार ९ सय ९१ चिनियाँ यूआन रहेको छ।
१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा एटो वान भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु २० लाख २४ हजार ८ सय १३ रुपैयाँ हुन्छ।
नयाँ करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ
- एटो वान प्रतिगोटा ८९ हजार ९ हजार ९१ युआन
- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा २० लाख २४ हजार ८ सय १३ रुपैयाँ
- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ४ लाख ०४ हजार ९ सय ६२ रुपैयाँ
- २० प्रतिशत भन्सार पछिको मूल्य २४ लाख २९ हजार ७ सय ७५ रुपैयाँ
- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम ४ लाख ८५ हजार ९ सय ५५ रुपैयाँ
- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य २९ लाख १५ हजार ७ सय ३० रुपैयाँ
-५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम १ लाख ४५ हजार ७ सय ८६ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ३० लाख ६१ हजार ५ सय १६ रुपैयाँ
- १३ प्रतिशत भ्याट लाग्दाको रकम ३ लाख ९७ हजार ९ सय ९७ रुपैयाँ
- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ३४ लाख ५९ हजार ५ सय १३ रुपैयाँ
पुरानो करका दर अनुसार गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ
- एटो वान प्रतिगोटा ८९ हजार ९ हजार ९१ युआन
- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा २० लाख २४ हजार ८ सय १३ रुपैयाँ
- १५ प्रतिशत भन्सार लाग्दाको मूल्य ३ लाख ३ हजार ७ सय ७१ रुपैयाँ
- १५ प्रतिशत भन्सारपछिको मूल्य २३ लाख २८ हजार ५ सय ३४ रुपैयाँ
- अन्त:शुल्क ५ प्रतिशत लाग्दा १ लाख १६ हजार ४ सय २६ रुपैयाँ
- अन्त:शुल्क ५ प्रतिशतपछिको मूल्य २४ लाख ४४ हजार ९ सय ६०रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख २२ हजार २ सय ४८ रुपैयाँ
- ५ प्रतिशत सडक मर्मत मर्मतपछिको मूल्य २५ लाख ६७ हजार २ सय ८ रुपैयाँ
-१३ प्रतिशत भ्याट लाग्दाको रकम ३ लाख ३३ हजार ७ सय ३७ रुपैयाँ
-१३ प्रतिशत भ्याटपछिको गाडीको ल्यान्डिङ कस्ट २९ लाख ९ सय ४५ रुपैयाँ
नयाँ र पुरानो कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी ५ लाख ५८ हजार ५ सय ६७ रुपैयाँ कर कम हुने थियो।
०००
माथिकै हिसाबको आधारमा कम्पनीले अस्वाभाविक रुपमा गाडी नेपाल भित्र्याउनु र कर बढ्नुबाट सूचना चुहावट भएको विषयसँगै भन्सार बिन्दुमै नआइपुगेका गाडी कागजमा मात्र पास भएको विषय पनि जोडतोडका साथ उठेको थियो।
सबैतिरबाट विरोध सुरु भएपछि अर्थ मन्त्रालयले अध्ययनका लागि भन्दै एक टिम रसुवा भन्सार पठायो। अर्कोतिर मुस्ताङ नाकाबाट जाँचपास भएर आएका बीवाईडीका ७ सय ७४ गाडी सशस्त्र प्रहरीले नियन्त्रणका लियो। मुस्ताङबाट जाँचपास भएका सवारी १५ दिनपछि सरकारले फकुवा गरिदियो।
यता रसुवा भन्सारबाट कागजमै सवारी जाँचपास भएको विषयमा अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई फिर्ता बोलायो।
नयाँ भन्सार अधिकृत रसुवा पठाएर अर्थ मन्त्रालयले कागजमा मात्र बीवाईडीका गाडी जाँचपासको विषयमा छड्के अनुसन्धान गर्न उपसचिव सुरेन्द्र पाण्डे र अधिकृत गोविन्द अधिकारीलाई पनि रसुवा पठायो। छड्के अनुगमनका लागि बनाइएको समितिले २०८३ असार ३ गते भन्सार विभागका महानिर्देशकसमक्ष प्रतिवेदन पेस गरेको थियो।
त्यसको केही समयपछि अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई महानिर्देशकको जिम्मेवारीबाट मुक्त गराइ अर्थ मन्त्रालयको जगेडामा लगेर राखेको थियो।
रसुवा भन्सार कार्यालयले कागजमा गाडी जाँचपास गराउँदा भण्डारीले विषय ढाकछोप गर्न सहयोग गरेको पाइएपछि अर्थ मन्त्रालयले उनलाई जिम्मेवारी मुक्त गराएको हो।
भण्डारीले आफूनिकट एक अधिकृतलाई रसुवाबाट फिर्ता नबोलाएर विषय मिलाउन खोजेको भन्सारकै कर्मचारीहरुले बताएका छन्। ती अधिकृतलाई पनि भण्डारीलाई जिम्मेवारी मुक्त गरेकै दिन सरुवा गरिएको थियो।
छड्के अनुगमन समितिले तयार पारेको प्रतिवेदनको निष्कर्ष र सुझावहरु -
रसुवा भन्सार कार्यालयमा गेट इन्ट्री मोड्युल कार्यान्वयनमा रहेको भएपनि यात्रु शाखाको गेटमा डियुटिमा खटिएका कर्मचारीहरूले सवारीसाधनको च्यासिस नम्बर वा अन्य कुनै संकेत नस्बरको रियल टाइम गेट इन्ट्री गरेको नपाइको विषय प्रतिवेदनमा उल्लेख छ।
यसैगरी प्रतिवेदनमा २०८३ जेठ १२ गतेदेखि १४ गतेसम्म जाँचपास भएका बीवाईडीलगायत ब्रान्डका गाडीहरु भन्सार बिन्दुबाट पूर्णरुपमा बाहिरिएको भएपनि सशस्त्र प्रहरी बलको अभिलेख रजिष्टरबाट २०८३ जेठ १५ देखि १९ गतेसम्म गाडी प्रवेश गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ। सोही आधारमा कारबाहीका लागि समितिले सिफारिस गरेको थियो।
छड्के प्रतिवेदनपछि भन्सार विभागले गाडी भौतिकरूपमा नआउँदै कागजमा मात्र जाँचपास गर्ने कार्यमा संलग्न रसुवा भन्सारका १३ जना कर्मचारी, कागजमा जाँचपास गराउने साइमेक्स इंकलगायत कम्पनी र भन्सार एजेन्टहरुलाई कारबाहीका लागि २०८३ असार ५ गते सिफारिस भयो।
त्यसलगत्तै छड्के अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै रसुवा भन्सार कार्यालयले २०८३ असार ५ गते नै करविर गैरेको संयोजकत्वमा प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्ध समिति गठन भयो।
समितिले २०८३ को असार १८ गते रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसमक्ष प्रतिवेदन पेस गर्यो। समितिले २०८३ जेठ १४ गतेसम्म जाँचपास भएका सवारीसाधनहरु नेपाल प्रवेश गरेको मिति यकिन हुन नसकेको हुँदा पछि ठहरेबमोजिम हुनेगरी हाललाई आर्थिक विधेयक २०८३ को करका दरहरुमा गरेको व्यवस्थाबमोजिम छुट हुन गएको राजस्व रकम भन्सार महसुल ऐन २०८१ को दफा २३ को उपदफा १ बमोजिम सम्बन्धित पैठारीकर्तालाई धरौटी दाखिला गर्न लगाउने सिफारिस गर्यो।
साथै समितिले राजस्व रकम दाखिला भएपपछि जाँचपास भइ भन्सार क्षेत्रको पार्किङमा रहेका गाडीहरु सम्बन्धित पैठारीकर्तालाई छुटाइ गन्तव्यतर्फ लैजाने दिन सिफारिस गरेको थियो।
सोही आधारमा रसुवा भन्सार कार्यालयले २०८३ को असार १९ गते साइमेक्सलाई भन्सारबाट जाँचपास भएको भनिए पनि सशस्त्र प्रहरीको हस्तलिखित रजिष्टरमा मेल नखाएको ६० वटा बीवाईडी एटो वान र ३५ वटा सिलायन सेभनको हकमा १९ करोड २५ लाख ३६ हजार ९ सय ९९ रुपैयाँ छुट रकम बुझाउन पत्र काटेको थियो।
उक्त निर्णयउपर साइमेक्स उच्च अदालत गयो। उच्चले सबै पक्षसँगको छलफलपछि साइमेक्सको नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
अब साइमेक्सले बजेटअघि भन्सारमा नआइपुगेको गाडीको नयाँ बजेटपछि लाग्ने कर तथा राजस्व सरकारी खातामा राखेपछि मात्र गाडी भन्सार यार्डबाट ल्याउन पाउने छ। रकम दाखिला नगरेको खण्डमा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गाडी ल्याउन पाउने छैन।
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट
सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ
करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट
बीवाईडी गाडी प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्न सांसदहरुको माग
बीवाईडी प्रकरणमा संसदीय छानबिनको माग चर्कियो, संसददेखि समितिसम्म सांसदहरूको दबाब
अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’?
मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा
बजेटअघि बीवाईडीका कार ‘कागजमा मात्र जाँचपास’ भएको पुष्टि, संख्या भने अझै खुलाइएन
बजेटअघि कागजमा गाडी जाँचपास : बीवाईडीले थप महसुल नतिरी गाडी छुटाउन नपाउने, उच्चले दिएन अन्तरिम आदेश