काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ईभीमा कर बदलिने सूचना बजेट आउनुअघि नै प्राप्त गरेको विषय उसले छुटाएको गाडी संख्याबाट प्रष्ट हुने देखिएको छ। यसअघि बजेटको ठीक अघि साइमेक्सले कुनै पनि वर्ष यति धेरै संख्यामा गाडी छुटाएको थिएन।
साइमेक्स इंक प्रालिले बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा बीवाईडीका कार भन्सार जाँचपास गराएको छ। भन्सार विभागको तथ्यांकअनुसार साइमेक्सले बजेटअघिको १५ दिनमा मात्र १ हजार १ सय २१ वटा गाडी छुटाएको पाइएको हो।
अन्य कम्पनीहरूले पनि विद्युतीय कार आयात गर्दै आएका छन्। बजेटअघिको एक महिनामा ती कम्पनीले ३ सय वटाआसपास विद्युतीय कार भन्सार छुटाएका छन्। साइमेक्सले मात्र यति ठूलो संख्यामा विद्युतीय कार छुटाउन र बजेटमार्फत केही कर बढ्नु तथा नयाँ कर लाग्नु संयोगमात्र हुन सक्दैन।
अर्थ प्रशासनबाट कर बढ्ने र नयाँ शीर्षकमा कर लाग्ने कुरा कुनै न कुनै रूपमा साइमेक्सले पाएरै उक्त संख्यामा विद्युतीय कार छुटाएको देखिन्छ। यसैले साइमेक्सले भन्सार नाकामा गाडी नै नआउँदै कागजका भरमा गाडी जाँचपाससमेत गरेको छ। कर बढ्ने कुराले उनीहरूले रसुवा भन्सारलाई प्रभावमा पारेर गाडी नै नआइपुग्दै १ सय ५० भन्दा बढी गाडी कागजका भरमा छुटाएका हुन्।
साइमेक्सले २०२५ को १२ महिनामा ३ हजार २ सय २० वटा गाडी आयात गरेको थियो। उक्त संख्यामध्ये स्टक आउट नै भएको हो भने पनि साइमेक्सले एक वर्षमा बिक्री गर्ने ३२ सय विद्युतीय कार हो। त्यसमा वार्षिक २० प्रतिशत नै बिक्री बढ्दा पनि करिब ४ हजार गाडी २०२६ मा बिक्री गर्नसक्ने अनुमान गर्न सकिन्छ। तर एक महिनामै वर्षभरी बिक्री हुने कुल गाडीको एक तिहाइ आयात गर्नुले बजेटबाट हुने कर वृद्धिबाट बच्नु रहेको देखिन्छ। यसबाट साइमेक्सलाई अर्थ प्रशासनबाट कुनै न कुनै रुपमा बजेटमा कर वृद्धि हुने सूचना पुगेको अनुमान गर्न कठिन छैन।
२०२६ को जनवरीदेखि अप्रिलसम्मको मासिक आयात तथ्यांक हेर्ने हो भने पनि साइमेक्सले एकै महिना यति धेरै कार आयात गर्ने आधार देखिँदैन। बजेटमा कर बढ्ने सूचना पाएपछि नै साइमेक्सले १३ सय ९६ वटा बीवाईडीका कार जाँचपास गराएको देखिन्छ। साइमेक्सले २०२६ को जनवरीमा १ सय १७ वटा, फेब्रअरीमा शून्य, मार्चमा ३ सय ४ वटा र अप्रिलमा १ सय ५० वटा बीवाईडीका कार भन्सार जाँचपास गराएको थियो।
बजेटअघिको एक महिना (२०२६ मे) मा १ हजार ३ सय ९६ वटा गाडी भन्सार जाँचपास गराउनुले अर्थ प्रशासनबाट साइमेक्स इंकलाई बजेटमा कर बढ्ने सूचना लिक भएको प्रष्ट हुन्छ। यसअघिका कुनै पनि महिनामा साइमेक्सले यति धेरै संख्यामा गाडी आयात गरेको छैन।
बजेटअघि कम करमा गाडी आयात गरेर क्रमिकरूपमा मूल्य बढाउँदै उपभोक्तालाई महँगो मूल्यमा गाडी बिक्री गर्न साइमेक्स इंकले कर वृद्धिको सूचना पाएपछि ठूलो संख्यामा आयात गरेको हो। बीवाईडीका दुईवटा मोडलका विद्युतीय गाडीको माग केही बढेको भएपनि वृद्धि भएको कर जोगाउनैका लागि बजेटअघि नै गाडी जाँचपास गराएको देखिन्छ।
बीवाईडीले एउटै भन्सार नाकाबाट नभइ दुईवटा भन्सार नाकाबाट यी गाडी आयात गरेको छ। अधिकांश बीवाईडीका कार रसुवा भन्सार कार्यालयबाट जाँचपास भएका छन् भने केही कार मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएका छन्।
रसुवा भन्सारबाट जाँचपास हुन नभ्याउने भएकाले साइमेक्सले तत्काल रिरुट गरी केही गाडी मुस्ताङ भन्सारबाट पाँचपास गरेको हो। बजेटअघि बढेको कर बचाउन जसरी पनि जाँचपास गर्नुपर्ने भएकाले गाडी नआइपुग्दै रसुवा भन्सारले कागजका भरमा जाँचपास गर्दा साइमेक्सले भन्सार कार्यालयलाई समेत फन्दामा पारिदिएको छ।
बजेटअघिको एक महिनामा साइमेक्सले जाँचपास गराएको मिति र कार संख्या :
मे ४ मा ७८ वटा
मे ५ मा १२५ वटा
मे ११ मा ७२ वटा
मे १५ मा १५ वटा
मे १७ मा ५० वटा
मे २० मा २२० वटा
मे २५ मा ६९ वटा
मे २६ मा ४७५ वटा
मे २७ मा २९२ वटा
२०२५ को १२ महिनामा
३२ सय २० वटा
२०२६ लागेपछि महिनागत रुपमा साइमेक्सले आयात गरेका बीवाईडीका कार
जनवरी- ११७ वटा
फेब्रुअरी- शून्य
मोर्च- ३०४ वटा
अप्रिल- १५० वटा
बजेटअघिको महिना मे- १३९६ वटा
बजेटअघि जेठ १ देखि १३ गतेसम्ममा ११२१ वटा
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।