शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

भन्सार विभागको विशेष टोली अनुसन्धान गर्न रसुवा पुग्यो

मंगलबार, जेठ १९ २०८३
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

कागजमा मात्र जाँचपास भएका ती गाडी जेठ १८ गते साँझ पाँच बजेसम्म भन्सार नाकावरपर नै आइपुगेका छैनन्। यसले साइमेक्सको ‘कर चोरी’ कार्यमा भन्सार कार्यालयको संलग्नता रहेको देखिएको छ।

काठमाडौं- बजेटमा करको दर हेरफेर हुनुअघि सयौँको संख्यामा विद्युतीय कार जाँचपास भएको पाइएको छ। रसुवा भन्सार कार्यालयले बजेटको ठीकअघि बीवाईडीलगायत ब्रान्डका विद्युतीय कार भन्सार नाका नआइपुग्दै कागजका भरमा जाँचपास गरेको पाइएको हो। 

बजेटमा कर बढ्न सक्नेलगायत कारणले त्यसअघि नै गाडी जाँचपास गराउँदा कम कर लाग्ने भएकाले गाडी नै भन्सार नाका नआइपुग्दै सयौँ विद्युतीय गाडी रसुवा भन्सार कार्यालयले जाँचपास गरेको थियो।

जेठ १५ गते शुक्रबार बजेट आउनुअघि बुधबार र बिहीबार रसुवा भन्सार कार्यालयले नाकामा गाडी नआउँदै बीवाईडीका विद्युतीय कार जाँचपास गरिदिएको देखिएको छ। 

बीवाईडीले जेठ १३ र १४ वा त्यसभन्दा अघि प्रज्ञापनपत्र जारी गर्न लगाएको थियो। बाटोमा गाडी आउँदै छ भनेर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट १ सय ८७ वटा गाडीको प्रज्ञापनपत्र बनाइ करसमेत तिरेको थियो। त्यसरी प्रज्ञापनपत्र जारी भएकामध्ये २०/३० वटा मात्र बीवाईडीका विद्युतीय कार भन्सार पास भएका छन् भने बाँकी कार चीनतर्फ नै छन्। 

करिब १ सय ५० भन्दा बढी कागजमा जाँचपास भएका ती गाडी जेठ १८ गते साँझ पाँच बजेसम्म नेपाली भन्सार नाका वरिपरी नै आइपुगेका छैनन्। यसले साइमेक्सको ‘कर चोरी’ कार्यमा भन्सार कार्यालयको गम्भीर संलग्नता रहेको देखिएको छ। 

रसुवा भन्सारले कागजमा मात्र गाडी जाँचपास गरेको थाहा पाएपछि भन्सार विभागले यस विषयमा गम्भीर चासो राखेर छलफल गरेको थियो। त्यसलगत्तै विभागले आइतबार दिउँसो नै विशेष अनुसन्धान टोली रसुवागढी पठाएको हो। टोलीले आइतबार नै रसुवा पुगेर सोमबार बिहानैबाट अनुसन्धान थालेको थियो।

अनुसन्धान टोलीले रसुवा भन्सारबाट जारी भएका प्रज्ञापनपत्र, भन्सार यार्डमा भएका गाडीको संख्या, सीसीटीभी फुटेज, भन्सार यार्डबाट छुटाउँदा जारी भएको गेटपासलगायत सबै विषय केलाएर अध्ययन गरिरहेको छ। अध्ययन टोली भन्सार विभाग फर्किएर अध्ययन प्रतिवेदन विभागसमक्ष पेस गर्नेछ। 

भन्सार ऐनअनुसार सवारीसाधन जाँचपास गराउँदा त्यस्ता सवारीसाधन भौतिकरूपमा सम्बन्धित भन्सार नाकामा उपस्थित गराउनु पर्ने व्यवस्था छ।

ऐनको दफा २२ मा शीघ्र जाँचपास गर्न/गराउन सकिने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार कुहिने, सड्ने, जीवित वस्तु, औषधि, अनुसन्धानलगायत सामान भन्सार नाका नआइपुग्दै प्रज्ञापनपत्र बनाएर सहजीकरण गर्न सकिने व्यवस्था छ। सवारीसाधनसहित अन्य तत्कालै नबिग्रिने सामान भने भन्सार नाकामा नआइपुग्दै प्रज्ञापनपत्र जारी गरी जाँचपास गराउन पाइँदैन। 

साइमेक्स इंक प्रालिले ‘आउँदै छ’ भनेर सयौँको संख्यामा प्रज्ञापनपत्र लिइ कर तिरेर बजेटमा बढ्न सक्ने कर बचाउन कागजमा मात्र गाडी जाँचपास गराएको हो।

रसुवा भन्सार कार्यालयमा यसअघि पनि बीवाईडी बिक्रेता साइमेक्सले अवैध काम गराउँदै आएको छ। सवारी बिक्री गर्ने कम्पनी साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा ल्याउँदा रसुवा भन्सार कार्यालयले कुनै सोधीखोजीबिनै जाँचपास गरेको थियो। 

अहिले पनि रसुवा भन्सारले बजेटमा बढ्ने कर जोगाइदिन बीवाईडीका गाडी पासमा गम्भीर लापरबाही गरेको हो। यसरी रसुवाले गाडी भन्सार नाका नआइपुग्दै कागजमा जाँचपास गरेको विषयमा भन्सार विभागमात्र होइन अर्थ मन्त्रालय तथा अन्य अनुसन्धान निकायसमेत जानकार रहेका छन्। 

बीवाईडीका १ सय ८७ वटा गाडीको प्रज्ञापनपत्र लिएको तर ती सबै कार आइनपुगेको देखिएको रसुवा भन्सार कार्यालय स्रोतले बताएको छ।

‘बजेटअघि प्रज्ञापन पत्र लिइ जाँचपास प्रक्रिया सकिएका र आयात भएका गाडीको संख्या भने निकै कम रहेको छ,’ ‘कार्यालय स्रोतले भन्यो, ‘पार्किङमा बीवाईडीका अलिकतिमात्र गाडी देखिन्छ। यकिन संख्या त गनिएको छैन। तर जति आयात गर्ने भनेर प्रज्ञापनपत्र साइमेक्सले लिएको थियो त्यो संख्यामा गाडी आयात भने भएको देखिएन।’

साइमेक्सले बीवाईडीका एटो वान, एटो टू, एटो थ्री, सिलायन सेभेन तथा डलफिन कार आयात गर्दै आएको छ। पछिल्लो पटक एटो वान र एटो टू धेरै आयात भइरहेकाले रसुवा भन्सारले कागजमा मात्र जाँचपास गरेको विद्युतीय कार कुन मोडल हो, खुलेको छैन।

साइमेक्स इंक प्रालि त्यो कम्पनी हो, जसले विगतदेखि नै करछली हुँदै अवैध सिम कार्ड आयातसम्म गरिरहेको छ। हालसम्म अनुसन्धान निकायले साइमेक्सले अवैधरूपमा आयात गरेको सिम कार्डको विषयमा कुनै अनुसन्धान गरेको छैन। 

रसुवा भन्सार बीवाईडीको ‘कब्जामा’ रसुवा भन्सार बीवाईडीको ‘कब्जामा’

भन्सारमा साइमेक्सको 'सेटिङ' : जफत गर्नुपर्ने सामान गुपचुप चीन फिर्ता, १ करोड ६६ लाख करछली भन्सारमा साइमेक्सको 'सेटिङ' : जफत गर्नुपर्ने सामान गुपचुप चीन फिर्ता, १ करोड ६६ लाख करछली

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१३:०६
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend