मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

रसुवा भन्सार बीवाईडीको ‘कब्जामा’

अन्यलाई छैन बीवाईडीजस्तो सुविधा, भन्सार विभाग साइमेक्सप्रति नतमस्तक

बुधबार, जेठ ६ २०८३
रसुवा भन्सार बीवाईडीको ‘कब्जामा’

ल्हासाको वायरहाउस शुल्क जाँचपास पछिको कस्टिङमा पेस गर्दा रसुवा भन्सारले आँखा चिम्लिएर दर गरेको थियो। २०७८ मा साइमेक्सले चीनबाट बीवाईडीका ईसिक्स आयात गर्दा कयौँ यस्तो खर्चका शीर्षकहरु देखाएको छ जुन खर्च नै हुँदैन।

काठमाडौं- बीवाईडीका विद्युतीय कार रसुवा भन्सार नाका हुँदै आउने गरेका छन्। रसुवा नाकामा समस्या आयो भनेमात्र अन्य नाकाबाट आउने गरेको छ।

रसुवा भन्सार नाकामा रहेको रसुवा भन्सार कार्यालय बीवाईडीको कब्जामा नै रहेकोजसरी काम भइरहेको छ। त्यसलाई पुष्टि गर्ने विभिन्न आधार छन्। 

चीनबाट बीवाईडीका मात्र होइन अन्य दर्जनौँ ब्रान्डका विद्युतीय कार आयात हुँदै आएको छ तर बीवाईडीका कारलेजस्तो सुविधा र ‘शून्य सोधनी’ अन्य कम्पनीका कारले पाउँदैनन्।

अन्य कम्पनीले रसुवा नाकामात्र होइन तातोपानी नाका पनि प्रयोग गर्छन् तर बीवाईडीले रसुवा नाकामा अप्ठेरो परेको बेलामा मात्र अन्य नाका प्रयोग गर्दै आएको छ। 

रसुवा भन्सार कार्यालयमा बीवाईडीले जे ल्याएपनि र जेसुकै ‘कस्ट लिस्ट’ बुझाए पनि भन्सार प्रशासनले आँखा चिम्लिएर पास गरिदिने गरेको छ।

यहाँ केही मुख्य उदाहरणहरु छन् जसले बीवाईडी रसुवा भन्सार कार्यालय र त्यहाँको प्रशासन संयन्त्रलाई नियन्त्रणमा लिएको पुष्टि गर्छ। 

हुँदै नभएको र ल्हासामा भएको खर्च देखाउँदा पनि मौन

ल्हासाको वायरहाउस शुल्क जाँचपास पछिको कस्टिङमा पेस गर्दा रसुवा भन्सारले आँखा चिम्लिएर दर गरेको थियो। २०७८ मा साइमेक्सले चीनबाट बीवाईडीका ईसिक्स आयात गर्दा कयौँ यस्तो खर्चका शीर्षकहरु देखाएको छ जुन खर्च नै हुँदैन।

बिजनेस न्युजले प्राप्त गरेको साइमेक्सले भन्सार कार्यालयमा बुझाएको खर्चको ‘ब्रेकडाउन’मा खर्च शीर्षक संख्या नै ३/४ ठाउँमा उल्लेख गरिएको थियो। जसमा हुँदै नहुने खर्च देखाइएको थियो।

उदाहरणका लागि फ्रि एक्ससरिज/होमचार्जर शीर्षकमा ७ लाख रुपैयाँ खर्च देखाइएको छ। सो खर्च शीर्षकअनुसार साइमेक्स इंकले उपभोक्ताका लागि जारी गरेको बिक्री बिजकमा चार्जर दिएको समावेश नै थिएन।

त्यस्तै साइमेक्सले वायरहाउस चार्ज (ल्हासा) शीर्षकमा २ लाख २० हजार रुपैयाँ खर्च देखाएको छ।

यस्तो खर्च सवारी रोकिएको खण्डमा दैनिक प्रतिसवारी ८० रुपैयाँमात्र लाग्ने गरेको छ तर साइमेक्सले ल्याएको बीवाईडी ई सिक्स त्यहाँ रोकिएको थाहा नभएको र त्यति धेरै पैसा खर्चका रुपमा देखाउनु भनेको उपभोक्ता माथि अन्याय र राज्यलाई गुमराहमा राख्ने काम भएको थियो। यस्तो शुल्क भन्सार तिरिसकेपछि देखाउन पाइँदैन।  

यस्तो खर्च विवरण पेस गर्दा पनि रसुवा भन्सार कार्यालयले त्यो समयमा साइमेक्स इंकलाई कुनै प्रश्नै नगरी वा कुनै दण्डजरिवाना गरेको थिएन। बिजनेस न्युजले त्यसबारेमा समाचार प्रकाशित गरेपछि भन्सार जाँचपास परीक्षण कार्यालयले जरिवाना गरेको र त्यसविरुद्ध साइमेक्स राजस्व न्यायाधीकरण गएको थियो। राजस्व न्यायाधीकरणबाट ‘केही उल्टी’को फैसला भएपछि कार्यालय ‘केही उल्टी’ विरुद्ध सर्वोच्च अदालत भएको थियो। यो मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन नै छ। 

ल्याउनै नमिल्ने र महँगोमा चीनको सक्रिय सिम कार्ड ल्याउँदा सोधीखोजीबिनै जाँचपास

साइमेक्स इंक प्रालिले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको बीवाईडी (एचके) लिमिटेडले २०२५ अप्रिल २९ मा साइमेक्स इंक प्रालिका नाममा काटेको बिलबिजकमा उल्लेख छ। यसअघि नेपालमा आयात भएको कुनैपनि सिम कार्डको मूल्य यति धेरै रहेको पाइएको छैन।

सामान्यतः सिम कार्डको आयात मूल्य (करसमेत) औषतमा ६० देखि ७० रुपैयाँ रहने गरेको भन्सारको तथ्यांकले देखाएको छ। तर साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा नेपाल भित्रँदा प्रतिसिम कार्ड ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ।

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको देखिन्छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।

सवारीसाधन आयात गर्ने कम्पनीले सिम कार्ड आयात गर्नै नपाउने व्यवस्था छ। त्यसमाथि एउटै सिम कार्डलाई २ हजार ३ सय (४४ हजार २२ रुपैयाँमा) मा आयात गरेको छ।

यस्तो गम्भीर विषयमा रसुवा भन्सार कार्यालयले साइमेक्स इंकले ल्याएको सिम कार्ड कुनै सोधीखोजी नै नगरी जाँचपास गरिदिएको हो।

एकै एचएस कोडमा आउने सामानको मूल्य १/२ सय रुपैयाँ फरक पर्नेवित्तिकै केरकार गर्ने भन्सार कार्यालयले साइमेक्सले सिम कार्डको एचएस कोर्डमा २ हजार ३ सय चिनियाँ युआनमा सिम ल्याउन आँखा चिम्लिएर जाँचपास गरिदिएको हो।

धरौटीमा ल्याएको गाडी र सामान फिर्ता नलाँदा साथै अवधि सकिएपछि लाँदा जफतको साटो कम राजस्वमा फिर्ता

धरौटीमा आयात गरेका सवारी दर्ता तथा बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ। बीवाईडी बिक्रेता साइमेक्स इंक प्रालिले उक्त कानूनी व्यवस्था उल्लंघन गरेर धरौटीमा ल्याएको गाडी फिर्ता नगरेको र समय सकिएपछि जफत गर्नुपर्ने सामान भन्सारले गुपचुप चीन फिर्ता गर्न दिएको पाइएको छ।  

रसुवा भन्सार कार्यालयबाट सवारीसाधन धरौटीमा छुटाएर ल्याएको साइमेक्सले फिर्ता लगेको थिएन। तर पछि रसुवा भन्सारको सेटिङमा गत वर्ष आएको बाढीको बहानामा फिर्ता गएर फेरि नेपाल ल्याइएको देखाइएको अनुमान छ।

२०८२ असार १७ गते ५/६ वटा सिलायन सेभेन विद्युतीय कार धरौटीमा भन्सार जाँचपास गराएको थियो। त्यसअघि पनि साइमेक्सले केही मोडलका कार धरौटीमा ल्याएको थियो। धरौटीमा ल्याइएको कुनै पनि सवारीसाधन बिक्री गर्न पाइँदैन।

भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को दफा १० (५) मा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता लैजाने सर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्कबापत नगद धरौटी वा बैंक जमानत लिइ जाँचपास गर्न स्वीकृति दिन सक्ने व्यवस्था रहेको छ।

त्यसरी तोकिएको अवधिमा वस्तु फिर्ता गरेमा सो वस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैंक जमानतमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैंक जमानत फुकुवा गरिने व्यवस्था छ। तर साइमेक्सले धरौटीमा ल्याएको गाडी फिर्ता नजाँदा र समय सकिएपछि लैजाँदा रसुवा भन्सार कार्यालयले जफत गर्नुको साटो लिनुपर्नेभन्दा कम राजस्व लिएर फिर्ता जान दिएको पाइएको छ। 

यी तीन उदाहरणले साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालय 'कब्जा' गरेको देखिन्छ। सिम कार्ड आयातको विषयमा परेको उजुरीबारे हालसम्म कुनै कमद चालिएको छैन।

साइमेक्सले सिम कार्ड आयात गरेकोमा भन्सारलाई लेखेको जवाफमा स्मार्ट कार्ड (सिम कार्ड) उल्लेख छ। एचएस कोड नै सिम कार्डका छ जुन भन्सार प्रशासनले जारी गरेको प्रज्ञापनमै लेखिएको छ। त्यस्तो जवाफ बुझेर भन्सारले अनुसन्धान फाइल दराजमा थन्क्याएर बसेको छ। 

रसुवा भन्सार कार्यालयको यस्ता काम र भन्सार विभागको मौनताबारे अर्थ मन्त्रालय र अन्य अनुसन्धान निकायको चासो हुनुपर्ने हो। सिम कार्डका नाममा २३ सय चिनियाँ युआन विदेश निर्यात भइरहेको, सवारीसाधन र सवारीसाधनजन्य वस्तु आयातका लागि लिइएको सटही सुविधा दुरुपयोग गरेर आयात अनुमति नभएको सिम कार्ड आयात गर्दै विदेशी मुद्रा अपचलन गरेको, सिम कार्डको एचएस कोडमा जाँचपास हुँदा राज्यले करोडौँ राजस्व गुमाइरहेको छ।

यसबारेमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सीआईबी, नेपाल राष्ट्र बैंकलगायत निकायले अनुसन्धान नगर्ने हो भने थप राजस्व गुम्ने, भन्सारका कर्मचारीले ‘जे गरेपनि भइहाल्छ’ भन्ने मान्यता स्थापित भइ साइमेक्स जस्ता कम्पनीले भोलिका दिनमा जे पनि गर्ने अवस्था कायमै भइरहनेछ।

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : बुधबार, जेठ ६ २०८३१७:३३
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend