काठमाडौं- पछिल्लो १६ महिनादेखि नेपाल एफएटीएफको ग्रे-लिस्टमा छ। यो सूचीमा रहेपछि नेपालको अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा सामान्य अवरोध भएपनि उल्लेखनीय असर देखिएको छैन।
यो सूचीमा भएका कारण नेपालमा बसेर प्रविधिको क्षेत्रमा काम गर्नेहरूलाई भने निकै सास्ती थपिएको छ। नेपालमा बसेर उद्यम गर्ने र विदेशमा सेवा बिक्री गर्ने प्रविधि उद्यमीहरूले यसअघि अमेरिकामै भुक्तानी लिने प्रयोजनका लागि बैंकिङ कारोबार गर्ने गरेका थिए।
यो सूचीमा परेपछि भने नेपालीहरूका लागि भौतिकरूपमा उपस्थित नभइ अमेरिकामा यस्तो सुविधा पाउन कठिन भएको छ। यस्तो भएपछि धेरै यस्ता उद्यमीहरूले दुबई तथा सिंगापुरलाई नयाँ गन्तव्य बनाउन थालेका छन्।
नेपालबाट सेवा बिक्री गरेर नेपालमै भुक्तानी लिन सकिने भएपनि नेपालको प्रणाली विश्वासनीय तथा सहज नभएको भन्दै उनीहरूले अमेरिकी बैंकिङ प्रणालीबाटै भुक्तानी लिने, त्यसपछि सुविधाअनुसार भित्र्याउने गरेका थिए। यस्तो रकम कतिपय अवस्थाम रेमिट्यान्सको रूपमा आउँदा अमेरिकाबाट आउने रेमिट्यान्स धेरै देखिन्थ्यो। तर नेपाल ग्रेलिस्टमा परेपछि नेपालीका लागि थप भेरिफिकेसन थपिएको छ। गैरआवासीय नेपालीका सन्दर्भमा भौतिक उपस्थित अनिवार्य गरिएको छ।
यही कारणले गर्दा नेपाली उद्यमी पछिल्लो समय धेरैजसो दुबईमा सरिरहेका छन्। केही भने सिंगापुरमा पनि सरेका छन्।
भुक्तानीका लागि नेपाल सरकारले सहजीकरण गरेको भनेर नीतिगत व्यवस्था गरेपनि त्यसको विश्वासनीयता अझै पनि छैन। विदेशमा जानै नसक्ने खालकाले लिने भएपनि अधिकांशले विदेशमै बुझ्ने गरेका छन्। तर कानूनी कारबाही तथा नियमनको डर भएकाले यसलाई लुकाउने गरेका छन्।
गुमनाम भइरहेको एउटा सहज भुक्तानीको प्रणालीमा अवरोध भएपछि नेपालीले नयाँ गन्तव्यको खोजी गरेका हुन्।
नेपालमा संस्थागत र व्यक्तिगत गरी हजारौँले यो क्षेत्रबाट आम्दानी गर्दै आएका छन्। बर्सेनि एक खर्बमाथिको विदेशी मुद्राको आम्दानी गर्ने यो क्षेत्रका लागि अन्तर्राष्ट्रिय भुक्तानीको संयन्त्र नहुँदा झन्झटिलो र महँगो संयन्त्रमा भर पर्दै आएका छन्।