काठमाडौं- भन्सार कार्यालयले कम्पनी विशेषलाई काखी च्याप्दा करोडौँ करछली भइरहेको पाइएको छ। रसुवा भन्सार कार्यालयले फिर्ता लैजोनगरी धरौटीमा आयात भएका सामान अवधि सकिएपछि खुसुक्क फिर्ता पठाइदिँदा कानूनको उल्लंघन त भएको छ नै यसबाट राज्यको करोडौँ राजस्वसमेत गुमेको छ।
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले पछि फिर्ता लैजानेगरी धरौटीमा छुटाएको सामान अवधि गुज्रिएपछि गुपचुप फिर्ता लगेको पाइएको हो। त्यसरी गुपचुप फिर्ता लैजाने काममा रसुवा भन्सार कार्यालयका कर्मचारीले साथ दिएका छन्।
फिर्ता लैजानेगरी धरौटीमा ल्याइएको सामान निश्चित समयपछि फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ। त्यसरी समय सकिनुअगावै या त पुनः समय थप गराउनु पर्छ या त फिर्ता लैजानु पर्छ। समय सकिएपछि सामान फिर्ता नलगी पछि फिर्ता लैजान लागेमा भन्सार कार्यालयले त्यस्तो सामान जफत गरी धरौटीबाट राजस्व असुल्नु पर्ने कानूनी व्यवस्था छ।
बीवाईडी बिक्रेता साइमेक्स इंक प्रालिले भने सामान फिर्ता लैजानेगरी धरौटीमा छुटाएर अवधि सकिएपछि मात्र फिर्ता लगेको पाइएको हो। यसरी समय सकिएपछि सामान फिर्ता लैजाँदा रसुवा भन्सार कार्यालयले सामान जफत नगरी गुपचुपमै सामान फिर्ता लान दिएको हो।
रसुवा भन्सारले जफत गरेर धरौटीबाट राजस्व असुल नगर्दा १ करोड ६६ लाख २५ हजार ४ सय ८९ रुपैयाँ करछली भएको छ। यसमा रसुवा भन्सारका कर्मचारीहरुले गम्भीर लापरबाही गरेको पाइएको छ।
भन्सार महसुल ऐन, २०८१ को अनुसूची ४ को दफा १० (५) मा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता लैजाने सर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्कबापत नगद धरौटी वा बैंक जमानत लिइ जाँचपास गर्न स्वीकृति दिन सक्ने, त्यसरी तोकिएको अवधिमा वस्तु फिर्ता गरेमा सो वस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैंक जमानतमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैंक जमानत फुकुवा गरिने तर तोकिएको अवधिमा वस्तु फिर्ता नगरेमा सो वस्तु जफत गरी बैंक जमानत वा नगद धरौटीबाट महसुलबराबरको रकम राजस्वमा आम्दानी बाँधिने व्यवस्था छ।
रसुवा भन्सार कार्यालयले पैठारीकर्ता साइमेक्स इंक प्रालिले धरौटी सदस्याहा गर्दा निजले प्राप्त गरेको अवधिभित्र सामान निकासी नगरे पनि धरौटी फिर्ता गरेर निकासी गरिदिएको हो। ऐनको व्यवस्थाअनुसार स्वीकृत अवधिभित्र वस्तु फिर्ता नगरेमा सो वस्तु जफत गरी नगद धरौटीबाट महसुलबराबरको रकम राजस्व आम्दानीमा ल्याउनु पर्नेमा थियो।
रसुवा भन्सार कार्यालयले सो नगरेकोले धरौटी फिर्ता गर्ने भन्सार अधिकारी र निकासी गर्ने कम्पनी साइमेक्स इंक प्रालिलाई जिम्मेबार बनाइ धरौटी रकम र सामानको मूल्यसहित राजस्व दाखिला गराइ भन्सार अधिकारी तथा साइमेक्स इंकलाई कारबाही गर्नुपर्ने देखिएको छ।
यसअघि बिजनेस न्युजले साइमेकस इंक प्रालिले धरौटीमा ल्याएका गाडी फिर्ता नलगेको तथ्य बाहिर ल्याएको थियो। धरौटीमा आयात गरेका सवारी दर्ता तथा बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ। बीवाईडी बेच्ने साइमेक्सले उक्त कानूनी व्यवस्थाको उल्लंघन गरेको हो।
साइमेक्सले २०८२ असार १७ गते ५ वटा सिलायन सेभेन विद्युतीय कार धरौटीमा भन्सार जाँचपास गराएको थियो। त्यसअघि पनि साइमेक्सले केही मोडलका कार धरौटीमा ल्याएको थियो।
बीवाईडी बिक्रेता साइमेक्सले धरौटीमा ल्याएका गाडी : न जफत न त धरौटी सदरस्याहा
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।