काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेकस इंक प्रालिले धरौटीमा ल्याएका गाडी फिर्ता नलगेको पाइएको छ। धरौटीमा आयात गरेका सवारी दर्ता तथा बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ। बीवाईडी बिक्रेता साइमेक्स इंक प्रालिले उक्त कानूनी व्यवस्था उल्लंघन गरेको हो।
रसुवा भन्सार कार्यालयबाट सवारीसाधन धरौटीमा छुटाएर ल्याएको साइमेक्सले हालसम्म फिर्ता लगेको छैन। २०८२ असार १७ गते ५ वटा सिलायन सेभेन विद्युतीय कार धरौटीमा भन्सार जाँचपास गराएको थियो। त्यसअघि पनि साइमेक्सले केही मोडलका कार धरौटीमा ल्याएको थियो। धरौटीमा ल्याइएको कुनै पनि सवारीसाधन बिक्री गर्न पाइँदैन।
तोकिएको समयअवघि सकिएपछि धरौटीमा ल्याइएका सवारीसाधन जुन भन्सार नाकाबाट ल्याइएको हो सोही भन्सार नाकाबाट फिर्ता लैजानु पर्ने कानूनी व्यवस्था रहेको छ।
साइमेक्स इंकले यातायात व्यवस्था विभागलाई दबाब दिएर सिलायन सेभेनको आयात अनुमति लिन खोजेको थियो। विभागले कागजात अध्ययन नगरी अनुमति नदिएपछि साइमेक्सले धरौटीमा ५ वटा सिलायन सेभेन कार जाँचपास गरएको थियो। सो कार हालसम्म साइमेक्सले रसुवा भन्सार कार्यालयबाट फिर्ता लगेको देखिएको छैन।
'भन्सार महसुल ऐन २०८१' को अनुसूची ४ को दफा १० (५) मा भन्सार कार्यालयले औचित्य हेरी पछि फिर्ता लैजाने सर्तमा बढीमा एक वर्षको अवधि तोकी लाग्ने कर, महसुल तथा शुल्कबापत नगद धरौटी वा बैंक जमानत लिइ जाँचपास गर्न स्वीकृति दिन सक्ने व्यवस्था रहेको छ। त्यसरी तोकिएको अवधिमा वस्तु फिर्ता गरेमा सो वस्तु पैठारी हुँदाका बखत नगद धरौटी वा बैंक जमानतमा राखेको महसुल रकमको एक प्रतिशत रकम असुल गरी नगद धरौटी फिर्ता वा बैंक जमानत फुकुवा गरिने व्यवस्था छ।
तोकिएको अवधिमा वस्तु फिर्ता नगरेमा सो वस्तु जफत गरी बैंक जमानत वा नगद धरौटीबाट महसुलबराबरको रकम राजस्वमा आम्दानी बाँधिने भन्सार ऐनमा स्पष्ट व्यवस्था छ।
साइमेक्स इंकले आर्थिक वर्ष २०८१/८२ मा धरौटीमा भन्सार जाँचपास गरेको बीवाईडीका कार फिर्ता नलगेको पाइएको छ। साइमेक्सले धरौटीमा ल्याएको गाडी जफत गरेर राज्यलाई ४ करोड ४ लाख रुपैयाँभन्दा धेरै बुझाउनु पर्ने देखिएको छ।
‘रसुवा भन्सार कार्यालयले साइमेक्सले पछि फिर्ता लैजाने गरी निश्चित अवधिको उल्लेखित प्रयोजनको लागि धरौटीमा पैठारी गरेको मालवस्तु उक्त प्रयोजन तथा अवधि समाप्त भएपछि पनि निकासी गरेको छैन,’ स्रोतले भन्यो, ‘ऐनको व्यवस्थाअनुसार स्वीकृत अवधिभित्र वस्तु फिर्ता नगरेमा सो वस्तु जफतको प्रकृया अगाडि बढाइ सोसमेत नगद धरौटी राजस्व असुल गर्नुपर्ने हो तर त्यसो भएको पाइएन।’
पछि फिर्ता लैजाने गरी आयात गरेको मालवस्तु अवधि सकिएपछि सामान जफत तथा धरौटी सदरस्याहा गर्ने काम भन्सार कार्यालयले गर्नुपर्ने थियो। तर रसुवा भन्सार कार्यालयले साइमेक्सले ल्याएका सवारीसाधन फिर्ता नजाँदा धरौटी सदरस्याहा नगरेको पाइएको हो।
कम्पनीले बिक्री प्रयोजनकै लागि बीवाईडी सिलायन सेभेन आयात गर्दै थियो। साइमेक्सले आयात अनुमतिका लागि यातायात व्यवस्था विभागमा निवेदन दिएको तर कागजात विभागले अध्ययन गरिरहेकै बखतमा धरौटीमा सिलायन सेभेन छुटाएको बारेमा बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।
साइमेक्स इंकले २०८२ असार १७ मंगलबार ५ वटा सिलायन सेभेन धरौटीमा भन्सार छुटाएको थियो। नेपालमा सवारीसाधन आयात गर्न यातायात व्यवस्था विभागबाट अनिवार्यरूपमा आयात अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ। तर साइमेक्सले विभागमा कागजात अध्ययन भइरहँदा आफ्नो ‘लन्च कार्याक्रम’ राखेकाले धरौटीमा छुटाएको थियो।
साइमेक्स इंक प्रालिले बीवाईडीको कारमा प्रयोग गर्नेगरी सिम कार्डसमेत आयात गर्दै आएको छ। यसबारेमा बिजनेस न्युजले यसअघि नै समाचार प्रकाशित गरिसकेको छ। सवारीसाधन मेकानिकल उपकरण भएको र सिम कार्ड टेलिकम्युनिकेसन प्रयोजनका लागि आयात हुने भएकाले यस विषयमा नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग तथा यातायात व्यवस्था विभागले बीवाईडी आयातकर्ता साइमेक्स इंकलाई हालसम्म कुनै एक्सन लिएको छैन।
गाडी बिक्री गर्ने कम्पनीले सिम कार्ड आयात गर्न पाउँदैन। साइमेक्स इंकले सिम कार्ड आयात गर्न अनुमति नै लिएको छैन। एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको छ। जुन अस्वाभाविक मूल्य हो। यसरी सिम कार्डका नाममा लाखौँ डलर विदेशी मुद्रा निर्यात भइरहँदा सरकार मौन छ।
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।
