काठमाडौं- साइमेक्स इंकले बजेटमा कर बढ्ने सूचना पाएसँगै बजेटअघि एक महिनामै १ हजार ३ सय ९६ वटा विद्युतीय कार जाँचपास गराएको विषय लुकाउन खोज्दा थप अर्को गल्ती गरेको छ।
भन्सारमा गाडी नआइपुग्दै सयौँको संख्यामा बीवाईडी गाडी कागजका भरमा जाँचपास गराएको साइमेक्सले त्यसरी गाडी ल्याएको विषय तोडमोड गर्न खोजिरहेको छ।
साइमेक्सले बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा गाडी छुटाएमध्ये जेठको १३ दिनमा मात्र रसुवा भन्सार र मुस्ताङ भन्सार कार्यालयबाट ११ सय २१ वटा बीवाईडीका विद्युतीय कार छुटाएको भन्सारको तथ्यांक छ। यसमध्ये मे महिनामा रसुवा भन्सारबाट ७ सय ८७ वटा र मुस्ताङ भन्सारबाट ६ सय ४९ वटा बीवाईडीका कार साइमेक्सले छुटाएको तथ्यांक छ।
साइमेक्स इंक प्रालिले गाडी आयात भएको मिति, भन्सार नाका र संख्यासहित बिहीबार बेलुका प्रष्टीकरण सार्वजनिक गरेको छ। उक्त प्रष्टीकरणमै साइमेक्सले जाँचपास भएको मितिमा छलकपट गरेको पाइएको हो।
साइमेक्सले सार्वजनिक गरेको मुस्ताङ भन्सारबाट जाँचपास भएका गाडीको मिति र प्रज्ञापनपत्र नम्बर तथा भन्सारको आसिकुडा प्रणालीमा भएको मिति, प्रज्ञापन पत्र नम्बर र गाडी आयात संख्या मिलेको देखिन्छ। तर रसुवा भन्सार कार्यालयबाट बजेटअघिको १५ दिनमा जाँचपास भएको मितिमा साइमेक्सले छलकपट गरेको हो।
भन्सारको आसिकुडा सिस्टममा भएको तथ्यांकमा रसुवा भन्सारबाट मे १८ तारिखमा बीवाईडीका कुनै गाडी जाँचपास भएको छैनन्। तर साइमेक्सले तथ्यमा समाचार लेख्न ‘सचेत’ गराउँदै बिहीबार सार्वजनिक गरेको विवरणमा मितिमा छलकपट गरेको छ।
साइमेक्सले मे १८ मा ३ वटा प्रज्ञापन पत्रमा नम्बर क्रमशः ५४०१, ५४००, ५३०९ मा २० वटा एटो वान, ३० वटा एटो वान र १५ वटा सिलायन सेभेन जाँचपास भएको उल्लेख गरेको छ। तर भन्सारको आसिकुडा सिस्टममा हेर्दा ५३०९ नम्बरको प्रज्ञापनपत्रबाट १५ मेमा १५ वटा सिलायन सेभेन पास भएको छ। साइमेक्सले प्रष्टीकरणमा लेखेको प्रज्ञापनपत्र नम्बर र गाडी संख्या तथा मोडल मिलेपनि मिति भने ढाँटेको छ।
साइमेक्सले मे १८ मै छुटाएको भनेको प्रज्ञापनपत्र नम्बर ५४०१, ५४०० मा भन्सारको सिस्टममा भने मे १७ मा जाँचपास भएको देखिन्छ।
साइमेक्स इंकले कागजमात्रै ल्याएर गाडी चीनस्थित बीवाईडीको प्लान्टबाट नहिँड्दै बजेटमा बढ्ने कर नतिर्नका लागि भन्सार जाँचपास गराएको हो। साइमेक्सले कागजमा जाँचपास गराएर गेटपास समेत जारी गराइसकेको बीवाईडीको सयौँ गाडी बिहीबारसम्म पनि रसुवा भन्सार नाका आइपुगेका छैनन्।
त्यही प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ जनालाई भन्सार विभागले काठमाडौं तानेर अनुसन्धान गरिरहेको छ। त्यस्तै मुस्ताङ भन्सारबाट जाँचपास भएका ७ सय ७४ वटा बीवाईडीका विद्युतीय कार सरकारको निर्देशनपछि बुधबार राति र बिहीबार बिहानसम्ममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारलाई जिम्मा लगाएको छ।
कागजमा मात्र बीवाईडीका गाडी जाँचपास भएको र बजेटअघि सूचना लिक गराएर भन्सार छली भएको आशंकमा अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागले पनि छानबिन समिति बनाएको छ। घटनालाई गम्भीररूपमा लिँदै अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागले बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको हो।
उपसचिव भुपालराज शाक्यको संयोजकत्वमा गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरू सहभागी छन्। समितिलाई सवारीसाधन कानूनसम्मत रूपमा आयात तथा भन्सार जाँचपास गरिएको हो वा होइन, गाडी भन्सार नाका नआइपुग्दै कागजमा मात्र जाँचपास भएकोलगायत विषयमा स्थलगत अध्ययन, मूल्यांकन तथा अनुसन्धान गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।
विभागबाट गएको अनुसन्धान टोलीले रसुवा भन्सारमा अनुसन्धान जारी राखेको छ भने प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको निर्देशनमा अर्को विशेष छानबिन समिति गठन भएर अनुसन्धान सुरु भइसकेको छ।
साइमेक्सले प्रष्टीकरणमार्फत दाबी गरेको जाँचपास मिति र भन्सारको आसिकुडा सिस्टममा रेकर्ड भएको रसुवा भन्सारबाट बीवाईडीका गाडी जाँचपास भएको मितिको विवरण :
साइमेक्स इंकले बिहीबार जारी गरेको विज्ञप्तिमा रसुवा भन्सारबाट
१८ मेमा प्रज्ञापन पत्र नम्बर ५४०१ बाट २० वटा एटो वान
१८ मेमा प्रज्ञापन पत्र नम्बर ५४०० बाट ३० वटा एटो वान
१८ मेमा प्रज्ञापन पत्र नम्बर ५३०९ बाट १५ वटा सिलायन सेभेन
२० मेमा प्रज्ञापन पत्र नम्बर ५६७९ बाट २० वटा सिलायन सेभेन
२१ मेमा प्रज्ञापन पत्र नम्बर ५७३३ बाट १०० वटा एटो टू
२२ मेमा प्रज्ञापन पत्र नम्बर ५६७७ बाट १०० वटा एटो टू
२६ मेमा प्रज्ञापन पत्र नम्बर ५९८९ बाट ५० वटा एटो टू
२६ मेमा प्रज्ञापन पत्र नम्बर ५९५५ बाट १७ वटा एटो वान
२७ मेमा प्रज्ञापन पत्र नम्बर ६१२७ बाट ३५ वटा सिलायन सेभेन
२७ मेमा प्रज्ञापन पत्र नम्बर ६११८ बाट २३ वटा एटो वान
२७ मेमा प्रज्ञापन पत्र नम्बर ६११४ बाट ६० वटा एटो वान
२७ मेमा प्रज्ञापन पत्र नम्बर ५९९९ बाट २ वटा एटो थ्री
रसुवा भन्सारको आसिकुडा सिस्टममा दर्ता भएको मिति
१५ मेमा प्रज्ञापन पत्र नम्बर ५३०९ बाट १५ वटा सिलायन सेभेन
१७ मेमा प्रज्ञापन पत्र नम्बर ५४०१ बाट २० वटा एटो वान
१७ मेमा प्रज्ञापन पत्र नम्बर ५४०० बाट ३० वटा एटो वान
२० मेमा प्रज्ञापन पत्र नम्बर ५७३३ बाट १०० वटा एटो टू
२० मेमा प्रज्ञापन पत्र नम्बर ५६७७ बाट १०० वटा एटो टू
२० मेमा प्रज्ञापन पत्र नम्बर ५६७९ बाट २० वटा सिलायन सेभेन
२५ मेमा प्रज्ञापन पत्र नम्बर ५९५५ बाट १७ वटा एटो वान
२५ मेमा प्रज्ञापन पत्र नम्बर ५९९९ बाट २ वटा एटो थ्री
२५ मेमा प्रज्ञापन पत्र नम्बर ५९९८ बाट ५० वटा एटो टू
मे महिनाको १५ तारिखअघि रसुवा भन्सारबाट जाँचपास भएका बीवाईडीका कार
४ मेमा प्रज्ञापन पत्र नम्बर ४९२७ बाट २८ वटा सिलायन सेभेन
५ मेमा प्रज्ञापन पत्र नम्बर ४९४७ बाट २० वटा एटो वान
५ मेमा प्रज्ञापन पत्र नम्बर ४९४८ बाट २० वटा एटो वान
५ मेमा प्रज्ञापन पत्र नम्बर ४९४० बाट ७५ वटा एटो टू
११ मेमा प्रज्ञापन पत्र नम्बर ५०३९ बाट ४७ वटा सिलायन सेभेन
११ मेमा प्रज्ञापन पत्र नम्बर ५०३५ बाट २५ वटा एटो टू
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु
बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


