काठमाडौं- एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसहितको लगानीमा रुपन्देहीमा करिब ११ अर्ब रूपैयाँको लागतमा ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ निर्माण भइरहेको छ।
विश्वप्रसिद्ध होटल शृंखला म्यारियट इन्टरनेसनलको ब्रान्डअन्तर्गत सञ्चालनमा आउने यस परियोजनालाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ५ अर्ब ४९ करोड ६९ लाख रूपैयाँबराबरको बैंकिङ सुविधामा दीर्घकालीनतर्फ ‘आईआरएन डबल बी’ र अल्पकालीनतर्फ ‘आईआरएन ए-४’ रेटिङ प्रदान गरेको छ।
इन्फोमेरिक्सका अनुसार परियोजना विकासकर्ता लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले म्यारियट इन्टरनेसनलसँग दीर्घकालीन होटल सञ्चालन तथा व्यवस्थापन सम्झौता गरिसकेको छ।
परियोजना सम्पन्न भएपछि होटल ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ नामबाट सञ्चालन हुनेछ। म्यारियटको विश्वव्यापी आरक्षण प्रणाली, अन्तर्राष्ट्रिय ग्राहक सञ्जाल, सेवा मापदण्ड तथा व्यवस्थापकीय अनुभवले होटललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले रुपन्देहीको सियारी गाउँपालिकामा अनुमानित १० अर्ब ९९ करोड ७० लाख रूपैयाँ लागतमा रिसोर्ट निर्माण गरिरहेको छ। पहिलो चरणमा २०० कोठा सञ्चालनमा ल्याइनेछ भने सम्पूर्ण परियोजना सम्पन्न भएपछि होटलको क्षमता ४५० कोठा पुग्नेछ। सन् २०२७ जनवरीदेखि व्यावसायिक सञ्चालनमा ल्याउने र सम्पूर्ण परियोजना आर्थिक वर्ष २०३० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इन्फोमेरिक्सका अनुसार सन् २०२६ मेसम्म परियोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशत र वित्तीय प्रगति करिब ३५ प्रतिशत पुगेको छ। कम्पनीले आवश्यक ऋणको सम्पूर्ण व्यवस्थापन अझै पूरा गर्न बाँकी रहेकाले वित्तीय स्रोत सुनिश्चित गर्नु आगामी प्रमुख चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
रेटिङ प्रतिवेदनले कम्पनीको नेतृत्वलाई पनि प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ। कम्पनीका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट दीपक पाण्डे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का पूर्वअध्यक्ष हुन् भने सञ्चालकमध्ये रोशनकुमार न्यौपाने एनआईसी एसिया बैंकका पूर्वसीईओ हुन्। बैंकिङ, वित्त, आतिथ्य तथा व्यवसाय व्यवस्थापन क्षेत्रमा अनुभव भएका सञ्चालकहरूको नेतृत्वले परियोजनाको कार्यान्वयन र सञ्चालनमा सकारात्मक योगदान पुग्ने इन्फोमेरिक्सको निष्कर्ष छ।
इन्फोमेरिक्सले परियोजनाको रणनीतिक अवस्थिति पनि बलियो पक्षका रूपमा औँल्याएको छ। लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपाल-भारतको सुनौली सीमा नाकासँग नजिक भएकाले धार्मिक, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सहज हुने अपेक्षा गरिएको छ।

.jpeg)