काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘बीवाईडी जस्तो प्रतिष्ठित ब्रान्ड’ले यस्तो काम गर्न सक्छ? भनेर सांसदहरुलाई नै प्रति प्रश्न गरे। बीवाईडीका कार बजेटअघि कर वृद्धिको सूचना चुहाएर अस्वभाविक संख्यामा आयात भएको विषयमा सडकदेखि सदनसम्म प्रश्न उठिरहेको छ।
सांसदहरुले बारम्बार अर्थमन्त्री तथा बजेट निर्माण प्रक्रियाबाट कर चुहाएर एउटा कम्पनीलाई लाभ हुने काम गरेको भनेर प्रश्न उठेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार अर्थ समिति र बिहीबार सार्वजनिक लेखा समितिमा सांसदहरुको प्रश्नको उत्तर दिन उपस्थित भएका थिए। सो बैठकमा प्रश्न उठाउने सांसदहरुलाई नै प्रति प्रश्न गर्दै अर्थमन्त्री वाग्लेले ‘बीवाईडी जस्तो ब्रान्डले त्यस्तो गर्छ होला? बरु आयातकर्ता कम्पनीले गरेको होला?’ भनेका थिए।
बीवाईडी ब्रान्डले बजेटअघि करको सूचना थाहा पाएर गाडी छुटाएको विषयमा सञ्चार माध्यममा आएको विषयले ब्रान्ड इमेजमा देखिएको ड्यामेजलाई अर्थमन्त्री वाग्लेले संसदीय समितिमा बीवाईडी जस्तो प्रतिष्ठित ब्रान्डले यस्तो गर्न सम्भव छैन भनेर ‘ड्यामेज कन्ट्रोल’ गर्न ब्रान्ड एम्बास्डरकै रुपमा बोलेको प्रष्टै हुन्छ।
नेपाल सरकारको अर्थमन्त्रीले एउटा ब्रान्ड विशेषलाई त्यो पनि कागजाकै भरमा जाँचपास भएको र बजेटअघि कर वृद्धिको सूचना पाएर धेरै गाडी छुटाएको आरोप लागेर अनुसन्धान भइरहेको विषयमा त्यही ब्रान्डको बचाउमा उत्रनुले सांसदहरु नै चकित गरेका छन्। एउटा विवादास्पद कम्पनीको बचाउमा अर्थमन्त्री नै लाग्नुले अनियमितता र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालि त्यस्तो कम्पनी हो जसले कम मूल्यमा कार आयात गरेर महँगो मूल्यमा बिक्रीबारे बिजनेस न्युजले समाचार लेखेको र त्यसबारेमा साइमेक्सले राजस्व न्यायाधीकरणबाट मुद्दा हारिसकेको छ। यसमा साइमेक्समात्र नभइ बीवाईडीको संलग्नताबिना सम्भव छैन।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबारको अर्थसमिति बैठकमा भनेका थिए- अर्थ समिति भनेको अर्थ मन्त्रालयसँग सम्बन्धित, हामीलाई निगरानी गर्ने, सचेत गराउने, निर्देशन दिन सक्ने संवैधानिक हैसियत राख्ने समितिमै आएर यति कुरा मैले स्पष्ट पारेँ। एउटा मलाई अलिकति चिन्ता पनि लागेको छ। बीवाईडी भनेको असाध्यै प्रतिष्ठित ब्रान्ड, हाम्रो मित्र राष्ट्र चीनको पहिचानसँगै पछिल्लो समय गाँसिएको छ। चार/पाँच मिनेटमा एउटा गाडी नै तयार हुने खालको त्यस्तो अत्याधुनिक प्रविधि देखाएको हजुरहरूले फेसबुकमा पनि देख्नुभएको छ। त्यो आयात गर्ने कम्पनीको दोष होला नि त। त्यो ब्रान्डलाई किन बद्नाम गरिँदै छ? बीवाईडी बीवाईडी यो यो भनेर। यहाँ अर्काे चलखेल भइराछ कि छैन?’
अर्थमन्त्री वाग्लेले बोलेका दुई वाक्य ‘बीवाईडी भनेको असाध्यै प्रतिष्ठित ब्रान्ड र त्यो ब्रान्डलाई किन बद्नाम गरिँदै छ? बीवाईडी बीवाईडी यो यो भनेर’ गम्भीर छन्। समान्यतया सार्वजनिक कार्यक्रमहरुमा राखिने पानीको बोतलमा समेत ब्रान्ड खुल्नेगरी राख्न नहुने मान्यता संसारभर छ। सरकारले कुनै अमुक ब्रान्डलाई लाभ हुनेगरी काम गर्दैनन् र गर्नु हुँदैन।
अर्थमन्त्रालयबाट बजेटअघि कर चुहिएर एउटा कम्पनीले अस्वभाविक रुपमा कार आयात गरेर राज्यको करोडौँ कर गुमेको विषयमा उठेको प्रश्नमा अर्थमन्त्री वाग्लेले अन्य धेरै वटा ब्रान्ड आएको र ती सबैले नयाँ बजेटबाट लगाइएको कर भन्दा धेरै कर तिरेर आएको जिकिर गरे। अर्थमन्त्री वाग्लेले यस विषयमा पनि सांसदहरुलाई त ढाँटे नै तथ्यांकसमेत तोडमोड गरे।
नयाँ बजेटबाट एकाध ब्रान्डका केही मोडल बाहेक सबैमा कर बढेको छ। अर्थमन्त्री वाग्लेले बचाउन गरेको बीवाईडी ब्रान्डका सबै गाडीको(भन्सारमा घोषणा गरिएको सीआईएफ मूल्यअनुसार) नयाँ बजेटअनुसार कर बढेको छ। यस विषयमा शुक्रबार नै बिजनेस न्युजले तथ्य भन्छ ७० वटा सिलायन सेभेनबाट मात्रै ३२ करोड २७ लाख गुम्यो शीर्षकमा समाचार प्रकाशित गरेको छ। यतिमात्र होइन बीवाईडीका ४ वटै मोडलको नयाँ करअनुसार धेरै कर लाग्ने प्रष्ट छ। तर अर्थमन्त्रीले भने बीवाईडी ब्रान्डका गाडीमा बजेटअघि छुटाउँदा धेरै कर तिरेको भन्दै बचाउमै उत्रिए।
संसारभर कुनै पनि ब्रान्ड विवादमा परेपछि त्यसबारेमा छानबिन हुन्छ र त्यस्ता ब्रान्डको ‘ब्रान्डिङ’ हुनेगरी कुनै पनि सरकारी निकायले अनुसन्धानकै क्रममा वा त्यसलाई बचाउन गर्नेगरी अभिव्यक्ति दिँदैनन्। तर विश्व बैंकदेखि विश्वका प्रतिष्ठित संस्थामा काम गरेका डाक्टर स्वर्णिम वाग्लेले सिधै ब्रान्डलाई संसदीय समितिमा प्रश्न उठ्ने वित्तिकै ‘धोइपखाली’मा लाग्नु आश्चर्यको विषय हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेमात्र होइनन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले पनि अर्थमन्त्रीकै भाषाशैलीमा बचाउ गरे। अर्थ समितिका सदस्यसमेत रहेका आचार्य र अर्थमन्त्रीको आशय बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’ जस्तै थियो।
‘विवाईडी जस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई लक्षित गरी बिना प्रमाण आरोप लगाउँदा विश्वव्यापी रूपमा कम्पनीको प्रतिष्ठामा आँच आउनुका साथै भविष्यको वैदेशिक लगानी मा असर पर्न सक्छ। केही कमजोरी भएमा त्यो स्थानीय आयातकर्ताको हुन सक्छ, तर सिंगै ग्लोबल ब्रान्डलाई बदनाम गर्नु गलत हो,’ आचार्यले बुधबारको अर्थसमितिमा भनेका थिए।
अर्थमन्त्री र रास्वपा सांसदले नै यसरी बदमासी गर्ने कम्पनी र त्यो ब्रान्डलाई अस्वभाविक रुपमा बचाउमा लाग्नुले समग्र व्यवसायिक जगतमै संसय पैदा गरेको छ। एउटा ब्रान्डको मात्र बचाउमा अर्थमन्त्री र सत्ताधारी दलका सांसद लाग्नुले अन्य ब्रान्डलाई व्यापार व्यवसायमै अप्ठेरो पर्ने अवस्था आउन सक्छ।
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु
बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन
करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट
एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार?
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।
