काठमाडौं- बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपाल आधिकारिक कम्पनी बोटलर्स नेपालले चारवटा ट्यूबवेलमार्फत वार्षिक ८० हजार रुपैयाँमात्र तिरेर उपत्यकामा भूमिगत पानीको दोहन गरिरहेको छ। बोटलर्स नेपाललाई भूमिगत पानी दोहनमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डकै सहयोग मिलिरहेको छ।
बोटलर्स नेपालले २०६७ सालदेखि काठमाडौंको बालाजुमा चारवटा ट्यूबवेल राखेर भूमिगत पानी तानिरहेको छ। बोटलर्स नेपालले एउटा ट्यूबवेलबाट दैनिक १ लाख २० हजार लिटर पानी तान्ने अनुमतिसहितको लाइसेन्स पाएको छ। यसरी बोटलर्स नेपालले चारवटा ट्यूबवेलमा दैनिक १ लाख २० हजार लिटरका दरले ४ लाख ८० हजार लिटर भूमिगत पानी तान्न अनुमति लिएको छ।
यसरी बोटलर्स नेपालले ३ सय ६५ दिनमा दैनिक ४ लाख ८० हजार लिटर क्षमताको दरमा १७ करोड ५२ लाख लिटर भूमिगत पानी तानिरहेको छ।
तर उसले एउटा ट्यूबवेलको वार्षिक २० हजार रुपैयाँको दरले चारवटा ट्यूबवेलबाट पानी तान्दा वार्षिक ८० हजार रुपैयाँ मात्रै तिरिरहेको छ।
यही हिसाबमा बोटलर्स नेपालले २ सय १९ रुपैयाँमा दैनिक ४ लाख ८० हजार लिटर पानी तानिरहेको छ। यही हिसाबमा बोटलर्स नेपालले १ रुपैयाँमा २ हजार १ सय ९१ लिटर भूमिगत पानी तानिरहेको छ।
बोटलर्स नेपालले अहिले कोक, फेन्टा, स्प्राइट र पानीसमेत बिक्री गरिरहेको छ। तर काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले भूमिगत पानी तानेर पानीजन्य वस्तुको व्यापार गरेर वार्षिक अर्बभन्दा बढी नाफा कमाउनेलाई पनि व्यावसायिक तथा व्यतिगत रुपमा पानी प्रयोग गर्नलाई जस्तै समान शुल्क लिएको छ।
उदाहरणका लागि सामाजिक हितमा सक्रिय संस्था नेपाल रेडक्रस सोसाइटीले एउटा ट्यूबवेलबाट दैनिक ६ हजार लिटर पानी तान्दा जति रकम लिएको छ, दैनिक एउटा ट्यूबवेलबाट १ लाख २० हजार लिटर पानी तानेर व्यापार गर्ने बोटलर्स नेपाललाई पनि समान शुल्क लिएको छ।
नेपाल रेडक्रस सोसाइटीले दैनिक ६ हजार लिटर पानी तान्दा वर्षमा २१ लाख ९० हजार लिटर भूमिगत पानी तान्छ। यस वापत उसले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई वार्षिक २० हजार रुपैयाँ तिर्छ। तर दैनिक एउटा ट्यूबवेलबाट वर्ष दिनमा ४ करोड ३८ लाख लिटर भूमिगत पानी तान्ने बोटलर्स नेपाललाई पनि २० हजार रुपैयाँमात्रै लिने गरेको छ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई भूमिगत श्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धी निर्देशिकामा भूमिगत श्रोतको पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क लगाउन सकिन अधिकार दिएको छ। तर बोर्डले धेरै पानी प्रयोग गर्नेहरूसँग आर्थिक लाभ लिएर ८ वर्षदेखि भूमिगत श्रोतको पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क निर्धारण नगरी भूमिगत पानीको दोहनमा सहयोग गरिरहेको छ।
विभिन्न प्राविधिक कारणले गर्दा निर्देशिका अनुसार भूमिगत श्रोतको पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क निर्धारण हुने नसकेको बोर्डको भनाइ छ। अहिले निर्देशिकाअनुसार ट्यूबवेल खन्दा सुरुमा २० हजार र वार्षिक नवीकरणमा २० हजार रुपैयाँ मात्रै लिने गरेको बोर्डको तर्क छ। भूमिगत पानीको अनियन्त्रित दोहनको विषय उजागर भएसँगै बोर्डले अहिले भूमिगत श्रोतको पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क लगाउने गरी गृहकार्य सुरु भएको बोर्डका सूचना अधिकारी सन्तोष बराल बताउँछन्।
उनले निर्देशिकामा जति भूमिगत पानी तानिएको छ त्यति नै पुनर्भरण गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा नआएको बताए।
भूमिगत पानीको विषयमा हामीले बोटलर्स नेपालसँग पनि सूचना मागेका थियौँ। तर एकसाता भन्दा बढी समयसम्म पनि कम्पनीले कुनै सूचना दिएन। कम्पनीलाई हामीले बोटलर्स नेपाल प्राली काठमाडौं पानीको व्यवस्थापन कसरी गरिरहेको छ? दैनिक पानी खपत कति हो? कतिवटा बोरिङ तथा ट्यूबवेलबाट पानी व्यवस्थापन भइरहेको छ? दैनिक/ मासिक/ वार्षिक कति पेयपदार्थ (सफ्ट ड्रिंक्स) उत्पादन गरिरहनु भएको छ? भूमिगत पानी प्रयोगिसँगै भूमिगत पानी पुनर्भरण कसरी काम गरिरहनु भएको छ र कहाँबाट कुन स्रोतको पानी पुनर्भरण गर्नुभएको छ? भनेर आधिकारिक इमेलमार्फत प्रश्न गरेका थियौँ। तर कम्पनीबाट कुनै पनि जवाफ आएन।
यता बोर्डकै लापरबाहीका कारण काठमाडौं उपत्यकामा अनियन्त्रित भूमिगत पानीको दोहन भइरहेको छ। बोर्डले २०७१ मै जारी गरेको भूमिगत श्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धी निर्देशिकाअनुसार पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क निर्धारण नगर्दा व्यवसायिक घरानाहरूले भूमिगत पानीको अनियन्त्रित दोहन गरिरहेको पुष्टी भएको छ।
निर्देशिकाको बुँदा नम्बर १८ मा स्पष्ट रुपमा नै भूमिगत श्रोतको पानी उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क लगाउन सकिने व्यवस्था गरेको थियो। तर बोर्डले व्यावसायिक प्रभावमा परेर उपयोग प्रयोजन तथा परिमाणको आधारमा उपभोग शुल्क निर्धारण नगरी अनियन्त्रित पानी दोहनमा सहयोग गरिरहेको छ।
३ सय ८४ रुपैयाँमा दैनिक १० लाख ५५ हजार लिटर भूमिगत पानी तान्दै सिभिल होम्स यी १३ खानेपानी उद्योग जसले प्रतिट्यूबवेल वार्षिक २० हजार तिरेर गरिरहेका छन् भूमिगत पानीको दोहन व्यावसायिक प्रयोजनका लागि कौडीको भाउमा भूमिगत पानीको अनियन्त्रित दोहन भूमिगत पानीको अनियन्त्रित दोहन : न प्रभावको मूल्यांकन न त न्यूनीकरणको उपाय जलस्रोत नीतिविपरित निर्देशिका बनाएर भूमिगत पानीको दोहन भूमिगत पानीको अनियन्त्रित दोहन : पुनर्भरणको कानूनी व्यवस्था भएन लागु, नियामक नै मौन भूमिगत पानीको अनधिकृत दोहन अपराध हो