काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।
नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १९ वाणिज्य बैंकहरुले दोस्रो बजारमा कारोबार गरिरहेको छन्। प्रमुख वाणिज्य बैंकहरूबीच व्यावसायिक प्रतिस्पर्धा रोचक देखिएको छ।
नेपालको बैंकिङ क्षेत्रका ३ स्थापित बैंकहरु नबिल बैंक लिमिटेड, सानिमा बैंक र एभरेस्ट बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार समग्र बैंकिङ क्षेत्रमा देखिएको समष्टिगत आर्थिक दबाबका बीच पनि बैंकहरूको नाफा, जोखिम व्यवस्थापनमा प्रष्ट भिन्नता देखिएको छ।
कुल नाफा आर्जनलाई हेर्दा नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यही अवधिमा एभरेस्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने सानिमा बैंकको खुद नाफा २ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ।
रकमका आधारमा नबिल निकै अगाडि देखिए पनि सेयरधनीहरूले पाउने वास्तविक प्रतिफल अर्थात् प्रतिसेयर आम्दानीका आधारमा भने एभरेस्ट बैंकले अन्य २ वटै बैंकलाइ पछाडि पारेको छ। एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३२ रुपैयाँ ३५ पैसा कायम भएको छ।
सानिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा रहेको छ भने नबिल बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १६ पैसा छ।
बैंकहरूको लाभांश वितरण गर्न सक्ने क्षमता अर्थात वितरणयोग्य नाफामा नबिल बैंकको कुल वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ रहेको छ। त्यसैगरी एभरेस्ट बैंकले ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा सञ्चित गरेको छ। यता सानिमा बैंकको वितरणयोग्य नाफा भने २ अर्ब १४ करोड १५ लाख रुपैयाँ पुगेको छ। यसले आगामी दिनमा आफ्ना सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिनका लागि एभरेस्ट बैंक निकै बलियो देखिएको छ।
एभरेष्ट बैंकको प्रतिसेयर वितरणयोग्य नाफा वार्षिक ३९.३४ प्रतिशतसम् वितरण गर्न सक्ने देखिन्छ। जसको अर्थ बैंकले ३९ प्रतिशतसम्म लाभांस दिन सक्ने देखिन्छ। त्यसैगरि नबिल बैंकले २१.१६ प्रतिशतसम्म लाभांस दिनसक्ने क्षमता देखिन्छ भने सानिमा बैंकको लाभांस दिनसक्ने क्षेमता १८. ५७ प्रतिशतसम्म देखिन्छ।
पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रले भोगिरहेको सबैभन्दा ठूलो टाउको दुखाइको विषय खराब कर्जा अर्थात् निष्क्रिय कर्जाको व्यवस्थापन हो। देशको आन्तरिक आर्थिक गतिविधिमा आएको सुस्तताका कारण ऋणीहरूको भुक्तानी क्षमता कमजोर बन्दा धेरैजसो बैंकहरूको खराब कर्जामा दबाब परेको छ। कतिपय बैंकको खराब कर्जा त ८ प्रतिशतभन्दा माथी पुगेको छ।
यस्तो समयमा पनि एभरेस्ट बैंकले आफ्नो पुरानो साखलाई जोगाउँदै खराब कर्जालाई घटाउन सफल भएको छ। एभरेस्टको निष्क्रिय कर्जा मात्र ०.६१ प्रतिशत छ। जुन गत वर्षको यसै अवधिको तुलनामा समेत सुधार हो। यता नबिल र सानिमा बैंकमा भने खराब कर्जाको राष्ट्रिय औसत अनुरुपकै दबाब देखिएको छ। सानिमा बैंकको खराब कर्जा ३.९९ प्रतिशतमा स्थिर रहँदा नबिल बैंकको खराब कर्जा गत वर्षको ३.९६ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ।
कर्जा जोखिम बढेसँगै नबिलले सम्भावित नोक्सानी व्यवस्था प्रोभिजनिङ बनाउँदा कुल कर्जा नोक्सानी व्यवस्था १०८.२० प्रतिशत पुगेको छ भने एभरेस्टले आफ्नो खराब कर्जाको २५३.५१ प्रतिशत बराबरको बलियो सुरक्षा कोष खडा गरेको छ।
बैंकहरूको व्यवसाय सञ्चालनको लागत र ब्याजदरको अन्तर (स्प्रेड दर)मा नबिल बैंकले बजारमा ३.५७ प्रतिशतको स्वस्थ ब्याजदर स्प्रेड कायम राखेर आफ्नो कोर मार्जिनलाई सुरक्षित राखेको छ भने बजारबाट सबैभन्दा सस्तो अर्थात् ३.२५ प्रतिशतको कोष लागतमा निक्षेप परिचालन गरिरहेको छ।
सानिमा बैंकले बजारमा सबैभन्दा महँगो ३.७५ प्रतिशतको कोष लागत झेलिरहेको छ भने उसको स्प्रेड दर ३.४८ प्रतिशत छ। एभरेस्ट बैंकले भने आफ्नो स्थापित नीति अनुरुप निकै सुरक्षित र ठूला कर्पोरेटमा केन्द्रित भएर लगानी गर्दा सबैभन्दा कम ३.१२ प्रतिशतको स्प्रेड दरमा काम गरिरहेको छ। जसका कारण कोष लागत ३.३१ प्रतिशत रहेको छ।
कर्जा लगानी गर्न पाउने क्षमता अर्थात् सीडी रेसियो र पुँजीकोष अनुपातका आधारमा भने तीनवटै बैंकहरू नेपाल राष्ट्र बैंकको नियमनकारी सीमाभित्र निकै सुरक्षित र बलियो स्थितिमा देखिएका छन्। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाको तुलनामा नबिलको सीडी रेसियो ७९.५० प्रतिशत, सानिमाको ८२.७६ प्रतिशत र एभरेस्टको ८५.८८ प्रतिशत रहेकाले यी बैंकहरू आगामी दिनमा सुरक्षित रूपमा थप अर्बौँ रुपैयाँ कर्जा विस्तार गर्न सक्ने वित्तीय हैसियतमा छन्।
चालु आर्थिक वर्षको बाँकी अन्तिम त्रैमासमा यी बैंकहरूले आफ्नो कर्जा प्रवाहलाई कसरी बढाउँछन् र बजारबाट खराब कर्जा असुलीमा कस्तो रणनीति अपनाउँछन्। त्यसैले नै आर्थिक वर्ष २०८२/८३ को अन्तिम वित्तीय अवस्था र सेयरधनीले पाउने वास्तविक लाभांशको आकार तय गर्नेछ।