काठमाडौं- नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली जडानका लागि भएको टेन्डरको मूल्यांकन सकिएर हुवावेलाई दिने तयारी अन्तिम भइरहेको छ। टेन्डर स्पेसिफिकेसनदेखि नै हुवावेअनुकूल हुनेगरी काम गर्दै आएको व्यवस्थापनले अन्तिममा उसलाई मात्र योग्य बनाउँदै अन्तिम चरणमा पुर्याएको छ।
टेलिकमले सर्वोच्च अदालतको आदेशविपरीत हुवावेलाई सहज हुने गरी टेन्डर निकालेको थियो। सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको संयुक्त इजलासले नेपालमा विभिन्न प्रणालीबीचको सन्तुलन कायम हुनेगरी नियन्त्रणको व्यवस्था गर्न निर्देशनात्मक आदेश गरेको थियो।
कोर, र्यान र बिलिङमा समेत एउटै कम्पनीको नियन्त्रण हुँदा भेन्डर म्यानुपुलेसन बढ्ने जोखिम हुन्छ। यसबाट एउटा प्रणालीको कमजोरी अर्कोमा डिटेक्ट हुनसक्ने सम्भावित अवस्थालाई पनि रोक्छ। सर्वोच्चको यो आदेशले हुवावेको बिलिङमा छिर्ने सम्भावना टारिदिएको थियो तर सेटिङमा टेलिकमले हुवावेलाई सहज हुने गरी टेन्डर गर्यो।
टेलिकमले अदालतको आदेश लत्याउँदै फेजआउट हुन लागेको प्रविधिलाई समेत स्वीकार गर्ने गरी टेन्डर गरेको थियो। जुन हुवावेका लागि नै थियो।
अहिले नै प्रयोग भइरहेकोभन्दा कमसल हार्डवेयरलाई पनि बिलिङमा मान्यता दिने व्यवस्था गरिएको छ। अहिलेकै बिलिङमा इन्टेलको २.४ र रिस्कको ५ गिगाहर्ज क्षमताको हार्डवेयर प्रयोग भइरहेको छ। तर अब दुबै क्याटोगरीमा २.४ लाई नै मान्यता दिने व्यवस्था गरिएको छ। जब कि बजारमा अहिले अपग्रेड भएर इन्टेलको २.७ पुगिसकेको छ।
त्यस्तै रिस्ककै पनि अबदेखि ५ नभइ २.४ मै सीमित पारिएको छ। सामान्यत: १० वर्षको अवधि हुने यस्ता हार्डवेयर हुवावेसँग २०१९ पछिको नयाँ उपकरणमा पहुँच छैन। अमेरिका, युरोपले हुवावेमाथि प्रतिबन्ध लगाएका छन्। त्यसैले हुवावेसँग २०१९ अघिकै उपकरणमात्र रहेका छन्। उसैलाई सहज हुनेगरी यो व्यवस्था राखिएको छ।
यसले गर्दा सस्तो मूल्यमा कमसल उपकरण हालेर टेन्डर जित्नेमात्र होइन संवेदनशील प्रणालीमाथि एकाधिकार हुने भएको छ।
नेपाल टेलिकमका मुख्य प्रणालीमा हुवावेकै प्रविधि थियो, त्यसमध्ये हुवावेसँग बिलिङको प्रविधि थिएन जुन यही टेन्डरबाट दिएर भेन्डर लकको अवस्थामा पुर्याउने खेल टेलिकम व्यवस्थापनबाट भएको छ।
हुवावेले जति पनि टेलिकमको प्रणालीमा पहुँच बनाएको छ त्यो सबै यस्तै प्रतिस्पर्धाबाटै हो। यसमा मिलेमतो तथा चलखेल रहेको छ। यसअघि फोरजीमा जुन अनियमित बाटोबाट हुवावेले काम पाएको थियो बिलिङमा पनि सोही प्रवृत्ति दोहोरिएको छ।
टेन्डर स्पेसिफिकेसनदेखि नै उसलाई अनुकूल हुनेगरी बनाउने, बिड दर्ता हुँदा मापदण्ड परीक्षण नगर्ने एकैपटक प्राविधिक मूल्यांकनमा गएर गर्ने र त्यसपछि हुवावेलाई मात्र योग्य बनाएर टेलिकमको नेगोसिएसनलाई कमजोर बनाइ महँगो लागत भिडाउने तयारी फेरि यसपालि पनि भएको छ।
फोरजीको विभिन्न प्रणालीमा भएको टेन्डरमा तीनवटा कम्पनीका प्रस्ताव परेका थिए। दुईवटा चिनियाँ हुवावे र जेडटीई र अर्को मुनिभर भन्ने कम्पनीको प्रस्ताव थियो। तर प्राविधिक मूल्यांकनमा मुनिभरलाई अयोग्य बनाएर दुईवटा चिनियाँ कम्पनीलाईमात्र अघि बढाइएको थियो। यसमा ठूलो प्याकेजको काम हुवावेले पाएको थियो भने सानो काम जेडटीईले पाएको थियो। १९ अर्बभन्दा धेरै लागतको यो परियोजनामा भ्रष्टाचार भएको भन्दै संसदीय समितिदेखि विभिन्न ठाउँमा छलफल भएपनि यसमा अख्तियारले पनि अग्रसरता खासै देखाएन। यद्यपि यसमा अनुसन्धान भने भइरहेको भनिएको छ।
चीनको कम्पनी जोडिएकाले राजनीतिक विरोध छिटै मत्थर हुने कुटनीति देखाएर अन्य अनुसन्धान पनि पाखा लाग्ने भएकाले हुवावेले फोरजीको भ्रष्ट मार्गलाई बिलिङमा पनि रोजेको छ। व्यवस्थापनमा पनि उही पात्र, राजनीतिमा पनि उही पात्र र उही मार्गबाट फेरि बिलिङको काम पनि हुवावेले पाउने भएको छ।
फोरजीको लागत धेरै भएको भन्दै संसदमा प्रश्न उठ्दा त्यतिबेला फाइभजीको प्रविधि पनि भएकाले महँगो पर्न गएको जवाफ दिइएको थियो। जब कि निजी अपरेटरले त्यही काम आधा रकममा गरेको थियो।
टेलिकमले भने फाइभजीका लागि ठूलो उपकरण भाग फोरजीमै हुने भन्दै लागत जस्टिफाइ गरिएको थियो। तर यसमा लागत प्रमाणित हुन त कता कता उल्टो फोरजीको गुणस्तर सीमित पार्नेगरी काम भयो। स्मल सेल जडान हुवावेले नगर्दा गुणस्तर नै प्रभावित भएको छ।
स्मल सेल जडान गर्न नसेकको र यसअघिकै ठेक्काको अब्लिगेसन पूरा नभएको कम्पनी अर्को टेन्डरमा स्वाभाविक रुपमा अयोग्य हुनुपर्ने हो। तर बिलिङमा भने त्यसलाई पनि चोख्याउने काम निलम्बित एमडी संगीता पहाडीले गरेकी थिइन्। त्यस्तै अहिले कार्यबाहक भएकी सविना मास्केले त्यसैलाई अघि बढाएकी हुन्।
फोरजीमा गरेको बदमासी
चिनियाँ प्रविधि कम्पनी हुवावेको बद्मासीका कारणले नेपाल टेलिकमको फोरजी सेवाले अपेक्षित परिणाम दिन सकिरहेको छैन। नियामक निकाय दूरसञ्चार प्राधिकरणकै अनुसन्धान तथा उपभोक्ताको अनुभवमा टेलिकमको फोरजीको प्रदर्शन कमसल पाइएको छ।
चिनियाँ प्रविधि कम्पनी हुवावेको बद्मासीका कारणले नेपाल टेलिकमको फोरजी सेवाले अपेक्षित परिणाम दिन सकिरहेको छैन। नियामक निकाय दूरसञ्चार प्राधिकरणकै अनुसन्धान तथा उपभोक्ताको अनुभवमा टेलिकमको फोरजीको प्रदर्शन कमसल पाइएको छ।
कमसल सेवाका पछाडि चिनियाँ कम्पनी हुवावेको हात रहेको छ। फोरजी परियोजनाको अधिकांश उपकरण आपूर्ति तथा जडानको जिम्मा हङकङको कम्पनी 'सीसीएसआई'मार्फत लिएको हुवावेले पटकपटक सम्झौता उल्लंघन गर्दै कमसल उपकरण राखेको छ।
प्रविधिको गुणस्तर सुधार तथा दिगोपनका लागि के र कस्तो प्रविधि तथा उपकरण राख्ने भनेर तय भएको मापदण्ड र सोहीअनुसार भएको सम्झौता उल्लंघन गर्दै हुवावेले गुणस्तर कमजोर पार्दै आएको छ। १९ अर्ब रुपैयाँ लागतमा भएको परियोजनामा १७ अर्बको काम हुवावेले लिएको छ। यही काममा हुवावेले सुरुमै एन्टेनामा झेल गरेको थियो।
अमेरिका, क्यानडा, युरोप, फिनल्यान्ड र अस्ट्रेलियामा बनेको उपकरण प्रयोग गर्ने उल्लेख भए पनि एन्टेना अमेरिका तथा युरोपमा नपाएको बहाना झिक्दै हुवावेले चिनियाँ एन्टेना प्रयोग गरेको थियो। सम्झौताभन्दा बाहिर गएर जडान भएका उपकरणको विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीनसमेत गरिरहेको छ।
कुन देशमा बनेको र कस्तो प्रविधिको भन्ने कुराले प्रविधिको दिगोपनामा फरक पार्छ। युरोप अमेरिकामा बनेको एन्टेना प्रयोग गर्ने सम्झौता भएपनि हुवावेले विभिन्न बहना बनाउँदै चिनियाँ एन्टेना प्रयोग गरेको थियो। यस विषय तत्कालीन टेलिकम प्रमुखले स्वीकार पनि गरेका थिए। सम्झौताबाहिर गएर भएको त्यो कामको भुक्तानीमाथि अख्तियारले अहिले अनुसन्धान गरिरहेको छ।
पछिल्लो समय भने हुवावेले गुणस्तरमा प्रभाव पार्ने एउटा महत्वपूर्ण उपकरण अहिलेसम्म जडान गरेको छैन। एउटा टावरदेखि अर्को टावरसम्मको दुरी र भूसतह, कुना काप्चासम्म नेटवर्कको कभरेज बढाउनका लागि आवश्यक हुने 'स्मल सेल' नामको उपकरण हुवावेले अहिलेसम्म जडान गरेको छैन।
नेपाल टेलिकमको फोरजी विस्तारमा हुवावे मुख्य कम्पनी रहेको सीसीएसआईको मुख्य बद्मासी हो। कम्पनीले ६ हजार स्मल सेल उपकरण जडान गर्नु पर्नेगरी सम्झौता गरेको थियो।
यो कम्पनीले ७० करोड रुपैयाँ बराबरको काम नै नगरेको हो। जुन उपकरण जडान नहुँदा टेलिकमको फोरजी सेवाको गुणस्तर नै खस्किएको छ। ठूला टावरको अन्डरग्राउन्ड तथा पुछारको तलामा फोरजी सेवाले काम नगरेको विषय बाहिर आएको छ। अहिले कम्पनीले स्मल सेल नै जडान नगर्ने बताउँदै आएको छ।
टेलिकमको बिलिङ खरिद : हुवावेलाई पोस्न स्पेसिफिकेसनदेखि नै चलेखल, ह्वेलक्लाउडसँग हितको साँठगाँठ
हुवावेलाई नेपाल टेलिकमको बिलिङको ठेक्का सुम्पिन अभ्यासविपरीत मूल्यांकन समिति
नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम
टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी, सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै
फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै
नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी