काठमाडौं- भौगोलिक रूपमा फरक र सडकको गुणस्तर खराब भएका बाटोका लागि ग्राउन्ड क्लियरेन्स धेरै भएका सवारी रोजाइमा पर्ने गरेको छ। ग्राउन्ड क्लियरेन्स कम भएका सवारी नेपाली बजारमा निकै कम मात्र उपभोक्ताको रोजाइमा पर्दै आएको छ।
त्यसैले कम ग्राउन्ड क्लियरेन्स भएका सवारी आयात गर्ने आधिकारिक बिक्रेताहरूले नेपाल ल्याएर कारको क्लियरेन्स बढाउने गरेका छन्।
यसरी उत्पादकको रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी)लाई नै चुनौती दिँदै बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले मनमौजी रुपमा ग्राउन्ड क्लियरेन्स बढाउने गरेको पाइएको छ। साइमेक्सले नेपाल ल्याएको सबै ई सिक्स सामान्य वर्कसपमा लगेर ग्राउन्ड क्लियरेन्स बढाएर उपभोक्तालाई बिक्री गर्ने गरेको छ।
बीवाईडी ई सिक्समा कम्पनीले प्रमाणिक गरेको ग्राउन्ड क्लियरेन्स १ सय ५५ एमएमभन्दा कम हो। तर सोही ई सिक्स नेपाल ल्याएर साइमेक्सले १ सय ७० देखि १ सय ८० एमएमसम्म ग्राउन्ड क्लियरेन्स बनाएर बिक्री गर्दै आएको छ। काठमाडौंकै एक सामान्य वर्कसपसँग समन्वय गरेर साइमेक्सले ग्राउन्ड क्लियरेन्स बढाएर उपभोक्तालाई कार दिने गरेको हो।
साइमेक्सले क्लियरेन्स बढाउनुका साथै उत्पादन कम्पनीद्वारा प्रमाणित टायरको साटो अर्कै टायर फेरेर थप असुरक्षित बनाएरसमेत ई सिक्स बिक्री गरेको पाइएको छ। उत्पादकले प्रमाणित नगरेको टायर फेर्दा पनि ग्राउन्ड क्लियरेन्स बढ्छ।
नेपालमा पनि विभिन्न मुलुकमा निर्मित विद्युतीय कार आयात भइरहेको छ। विद्युतीय कार उत्पादक कम्पनीहरूले नेपालको बाटो र यहाँको उपभोक्तालाई हेरेर गाडीको डिजाइन गरेका हुँदैनन्। विद्युतीय सवारीको ग्राउन्ड क्लियरेन्स पेट्रोलियम कारको तुलनामा कम छन्।
कारको डिजाइन गर्दा नै ग्राउन्ड क्लियरेन्स तय भइसकेको हुन्छ। त्यसैले आयात गर्ने मुलुक वा आयातकर्ता वा उपभोक्ताले त्यसमा परिमार्जन गर्न सक्दैनन्। त्यसरी परिमार्जन गरियो भने कारले दिने रेन्ज, कारको सेन्टर अफ ग्राभिटी नै परिवर्तन हुन्छ र दुर्घटनाको खोजिम बढ्छ।
बीवाईडी जस्तो विश्वव्यापी ब्रान्डले आफ्नै आधिकारिक बिक्रेता साइमेक्सले यस्तो अवैधानिक काम गर्दासमेत यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसले आधिकारिक बिक्रेतालाई भन्दा उत्पादक कम्पनीलाई दीर्घकालीन रुपमा बढी क्षति हुन्छ।
आरएन्डडी बिना नै सवारीको ग्राउन्ड क्लियरेन्स बढाउन सुरक्षाका हिसाबले अनुचित भएको एक प्राविधिकले बताए। ‘साइमेक्सले बीवाईडी ई सिक्समा जसरी ग्राउन्ड क्लियरेन्स बढाएको छ त्यो निकै संवेदनशील छ,’ ती प्राविधिकले भने, ‘एउटै गाडीमा २५ देखि ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स बढाउनु सरासर गलत छ। यसबारे उत्पादक कम्पनी र हाम्रो नियामक निकाय यातायात व्यवस्था विभागले तत्काल एक्सन लिनु पर्ने हो। तर त्यस्तो नहुनु दुःखद् छ।’
विद्युतीय कारको ब्याट्री प्याक च्यासिससँगै हुने भएकाले ग्राउन्ड क्लियरेन्स कम हुँदा ब्याट्रीले भुँइ छुने सम्भावना धेरै हुन्छ। त्यसैले उपभोक्ताको चाहना नहुँदा पनि आधिकारिक बिक्रेताले क्लियरेन्स बढाएर दिने गरेका छन्। यसरी ग्राउन्ड क्लियरेन्स बढाउन सरासर गैरकानूनी भएको बताउँदै आएको यातायात व्यवस्था विभागले हालसम्म कुनै कदम चालेको छैन।
उत्पादक कम्पनीले कुनै एउटा कार बनाउने गरी इन्जिनियरिङ डिजाइन तयार गर्न निकै ठूलो धनराशी खर्चिने गरेको र त्यसैका आधारमा गाडीको आधार, ग्राउन्ड क्लियरेन्सलगायत सबै कुरा निश्चित गरेको यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेल बताउँछन्। यसरी तय भएको सवारीको अवस्था उपभोक्ता वा आयातकर्ताले सहजै परिमार्जन गरेर आफूलाई चाहेजस्ता बनाउन नपाउने उनको जिकिर छ। मनमौजी रुपमा कारको ग्राउन्ड क्लियरेन्स बढाउँदा दुर्घटनाको उच्च जोखिम हुने बताउँदै आएको विभागले हालसम्म कारबाहीको कुनै प्रक्रिया अघि बढाएको छैन।
सवारी आयातकर्ता र उपभोक्ता दुवैले आफूलाई अग्लो कार चाहियो भन्दैमा बिनाअध्ययन र अनुमति ग्राउन्ड क्लियरेन्स बढाउन नहुने विभागका एक प्राविधिकले बताए। ‘कम्पनीले कारको डिजाइनका लागि त्यति धेरै लगानी गरेर रिसर्च एन्ड डेभलमेन्टमा समय खर्चिनु भनेको कारको लागि उपयुक्त तौल, आकार, माइलेजलगायतका विषय निश्चित गरेर उत्पादन बजारमा पठाएको हुन्छ,’ ती प्राविधिकले भने, ‘नेपाल ल्याएर त्यसरी ग्राउन्ड क्लियरेन्स बढाउनु सर्वथा गलत हो भन्ने थाहा हुँदा पनि नियामक निकाय मौन छ। यसको जवाफ कसले दिने?’
जर्मनीमा उत्पादन भएका कारहरूमा सिस्टमबाटै ५ देखि १० एमएमसम्म क्लियरेन्स बढाउन मिल्छ। उदाहरणका रूपमा अउडीले उत्पादन गरेको इ-ट्रोन विद्युतीय कारमा सिस्टमबाटै १० एमएमसम्म क्लियरेन्स बढाउन मिल्ने सुविधा दिइएको हुन्छ। तर चीनमा बनेका सस्ता कारमा त्यसरी क्लियरेन्स बढाउन मिल्ने सुविधा नभएर त्यो फिक्स हुने विभागको भनाइ छ।
कुनैकुनै कार उत्पादक कम्पनीको रिसर्च एन्ड डिभलपमेन्टले नै ग्राउन्ड क्लियरेन्समा निश्चित हदसम्म बढाउन दिएको हुनसक्ने एक अटोमोबाइल इन्जिनियरले बताए। ‘कार डिजाइन गर्दा नै आरएन्डडीबाट स्वीकृत गरेर केही कारको १० एमएमसम्म क्लियरेन्स बढाउन सकिने भनिएको हुन्छ,’ ती इन्जिनियरले भने, ‘तर नेपाल ल्याएर जथाभावी २० एमएमभन्दा बढी ग्राउन्ड क्लियरेन्स बढाइएको देखिन्छ। यहाँ ल्याएर कारको ‘सक’मा केही वस्तु राखेर अग्लो बनाउँदा त्यो कारको सेन्टर अफ ग्राभिटी के होला? त्यो कार गुडाउन कति सुरक्षित होला? अवस्था जटिल छ,’ उनले भने।
यसरी ग्राउन्ड क्लियरेन्स बढाउने प्रवृत्तिलाई रोक्न नियामक निकायले सक्रिय भएर काम गर्नु पर्ने हो तर नेपालमा त्यस्तो सम्भव नरहेको ती इन्जिनियरले बताए। आयातकर्ताले त झनै यस्तो गैरकानूनी र उपभोक्ताको ज्यान गोखिममा पार्ने काम गर्नै नहुने उनको भनाइ छ। ‘तर यहाँ नियामक निकाय कानमा तेल हालेर बसेको छ। आयातकर्तालाई गाडी धेरै बिक्री गरेर नाफा सुनिश्चित गर्नु मात्र छ,’ उनले भने, ‘यो परिस्थितिमा अब उपभोक्ता आफैँ सचेत हुने र जबरजस्ती क्लियरेन्स बढाउन पनि नभन्ने र त्यस्ता कार किन्दै नकिन्नु नै उपयुक्त हुने म देख्छु।’
यस्तो जटिल विषयमा आयातकर्ताले उपभोक्तालाई सचेत गराउनुको साटो आफैँले गैरकानूनी रूपमा ग्राउन्ड क्लियरेन्स बढाएर कार दिनु अपराध नै भएको अर्का एक मेकानिकल इन्जिनियरले बताए। ‘जुनसुकै गाडीमा पनि आरएन्डडीको सिफारिसबिना ग्राउन्ड क्लियरेन्स बढाउनु प्राविधिक रूपमा सुरक्षित मानिँदैन,’ ती इन्जिनियरले भने, ‘आफूखुसी क्लियरेन्स बढाउँदा यात्रुको ज्यान जोखिममा पर्नुका साथै त्यो कारले दिनुपर्ने जति पर्फमेन्स समेत दिन सक्दैन। यात्रुका लागि सुरक्षा र मर्मत खर्च दुवै कुराले जोखिमपूर्ण छ।’ बीवाईडी वा जुनसुकै कम्पनीले पनि यस्तो गर्नु गैह्रकानूनी भएको उनको भनाइ छ।
कसरी बढाइन्छ ग्राउन्ड क्लियरेन्स?
ग्राउन्ड क्लियरेन्स बढाउन विशेष गरि सस्पेन्सनमा परिमार्जन गर्ने, सस्पेन्सनको ज्वाइन्टमा किट थप गर्नेलगायत विधि प्रायोग हुँदै आएको छ। यो कारको डिजाइनका आधारमा फरक फरक तरिकाले गरिँदै आएको छ।
आयातकर्ताहरूले चीनबाट ल्याएका चिनियाँ ब्रान्डका विद्युतीय कार सवारी परीक्षण कार्यालय (भीएफटीसी)बाट परीक्षण गराउन्जेलसम्म ग्राउन्ड क्लियरेन्स नबढाई कम्पनीको ओरिजिनल डकुमेन्टअनुसार नै पास गराउने गरेका छन्। तर जब कानूनी प्रक्रिया पूरा हुन्छ त्यसलगत्तै क्लियरेन्स बढाउने गरेका छन्।
ग्राउन्ड क्लियरेन्स बढाउने विभिन्न विधिहरू प्रयोगमा छन्। त्यसमध्ये सबैभन्दा विश्वासिलो भनेको कारको इनविउल्ड सिस्टममै राखिने विधि हो। यो मुख्यगरि प्रिमियम कार उत्पादकहरूले विकास गरेको र कारमा राखेका हुन्छन्। जस्तै अउडी, मर्सिडिज, टेस्लालगायत कम्पनीका कारमा उपलब्ध हुन्छ। यसरी विकास गरिएको प्रणालीबाट बढीमा १० देखि १५ एमएमसम्म क्लियरेन्स बढाउन मिल्छ। यो अतिरिक्त जडान गर्ने व्यवस्था होइन जुन प्रमाणित रूपमै सुरक्षित हुन्छ।
कारमा बनाउँदा राखिएको भन्दा बाहेकको वस्तु राखेर ग्राउन्ड क्लियरेन्स बढाउने विधि तीन प्रकारका छन्। पहिलो हो टाइटानियम स्ट्राटस। यो ग्राउन्ड क्लियरेन्स बढाउन प्रयोग गरिने भरपर्दो र तुलनात्मक रूपमा सुरक्षित मानिने किट हो।
दोस्रो हो बुस थप्ने। कारका ४ वटै सस्पेन्सनमा बुस थप गर्नुपर्ने हुन्छ। यो प्रकारको बुस बजारमा सहजै पाइन्छ। तेस्रो हो चपिङ बोर्ड प्लेट। यो विधि निक्कै असुरक्षित हुन्छ। सामान्य चपिङ बोर्डको प्लेट बनाएर सस्पेन्सनमा राखिन्छ। यसरी क्लियरेसन्स बढाउनेमा केही ट्याक्सीहरू र सस्तोमा आएका साना चिनियाँ विद्युतीय कार हुन्। यो विधिबाट सामान्य वर्कसपले पनि क्लियरेन्स बढाइदिने गरेका छन्।
ग्राउन्ड क्लियरेन्स बढाउँदा हुने असरहरू
- ग्राउन्ड क्लियरेन्स बढाउँदा कारको सुरक्षा, यात्रुको आरामदायीपन र कार तथा पार्टको टिकाउमा गम्भीर असर पर्छ।
- स्टेरिङको जोमेट्रीमा परिवर्तन
- सस्पेन्सन बढी कडा हुने
- कारको सेन्टर अफ ग्राविटीमा परिवर्तन
- कारमा भाइब्रेसन बढ्नेरनियन्त्रणमा असन्तुलन बढ्ने
- उपभोक्ताले तिरेको मूल्यमा पाइने सहजपनमा सम्झौता गर्नुपर्ने हुन्छ। जसको परिणाम दुर्घटना बढ्ने र ज्यान गुमाउने सम्भावना धेरै हुन्छ।
- कारको नियमित मर्मत खर्च बढ्छ। समान कार क्लियरेन्स नबढाउँदा दिने माइलेज ग्राउन्ड क्लियरेन्स बढाएपछि स्वाभाविक रूपमा घट्छ। विद्युतीय कारले पनि क्लियरेन्स बढाए पनि पूर्ववत अवस्थामा जति नै रेन्ज दिँदैन। त्यसैले ग्राउन्ड क्लियरेन्स बढाउनु गैरकानूनी त हो नै त्यस्ता कार खरिद गरेर यात्रा गर्नुपनि जोखिमपूर्ण नै हो। यस्तोमा आधिकारिक बिक्रेताका साथै उत्पादक कम्पनीहरूले चासो दिएर यात्रुको सुरक्षित यात्रा सुनिश्चित गराउन लाग्नुपर्छ।
ब्रान्डप्रति विश्वस्त बीवाईडी उपभोक्ता आधिकारिक बिक्रेतासँग सधैँ सशंकित
बीवाईडी अटो इन्डस्ट्रीको चेतावनी - 'सर्भिस र बजार विस्तार नगरे पुनर्विचार गर्छौं'
ई-सिक्स : कबाडी कि अन्डर इनभ्वाइस? २०१९ मा ल्याउँदा ४० हजार, २०२२ मा १० हजार डलरमात्रै स्थानीय डिलर दिँदा ५० लाख धरौटी अनिवार्य, धमाधम बीवाईडी छोड्दै डिलरहरू २०१५ मै बनेको पुरानो ई सिक्स ल्याएको पुष्टि, तर २०२१ लेखेर बिक्री ई सिक्समा अधिक नाफा राखेकोबारे वाणिज्य विभागले थाल्यो अनुसन्धान ब्याट्रीको लागतभन्दा कम १० हजार डलरमा कसरी आयो ई सिक्स? सरकार र उपभोक्तालाई झुक्याउन हुँदै नभएको खर्च देखाएर ई सिक्सको मूल्य निर्धारण बीवाईडी बिक्रेता साइमेक्सको बदमासी : २२ लाखको ई-सिक्समा २८ लाख नाफा २०१७ मै ‘२०१६ मोडल’ को ई-सिक्स आउँदा २०१९ र २०२२ मा ‘२०१५ मोडल' किन आए?