सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

मल्ल राजाका गुप्त देवताले पाउने भए बास

३ करोड ७३ लाख ७९ हजार रुपैयाँमा बन्दैछ आगम छेँ

मंगलबार, वैशाख ३० २०८२
मल्ल राजाका गुप्त देवताले पाउने भए बास

आकारमा मात्रै याद हुने सम्पदापछिका कथाहरू, ययार्थहरू खोज्ने हो भने त्यसमा फेरिएका स्वरुप, नाम र आस्थाबारे थाहा हुन्छ। कुन राजाले के नाम दिए? त्यो नाम कसरी फेरियो? किन त्यसको स्वरुप उही रहेन भन्ने जान्न सम्पदाको बाहिरी पाटोले मात्रै बोलिदिँदैन।

काठमाडौं- मल्ल राजाहरूले गुप्तरुपले पूजा गर्ने आगमदेवता स्थापना गरिएको आगम छेँ मन्दिर पुनर्निर्माण हुने भएको छ। २०७२ को भूकम्पले जीर्ण भएको वसन्तरपुर दरबार क्षेत्रमा रहेको आगम छेँको पुनर्निर्माणको काम १० वर्षपछि अघि बढेको हो। 

आगम छेँ मन्दिर जीर्णोद्धार गर्ने कामका लागि डीआर/एरिसा/ग्रास जेभीलाई ठेक्का दिइएको पुरातत्त्व विभागले जनाएको छ। जसमा मूल्यअभिवृद्धि करबाहेक ३ करोड ७३ लाख ७९ हजार ६ सय २५ रुपैयाँमा कबोल गरिएको छ।  

‘केही समय विवाद भए पनि अब काम अघि बढेको छ, ठेक्का लागेसँगै आगम छेँको उही स्वरुप र शैलीमा पुनर्निर्माणको काम हुनेछ’ पुरातत्व विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले बताए। 

पुरातत्व विभागले जिर्णोद्धारको जिम्मा पहिले जापानलाई दिएको थियो। जसमा स्थानीयलगायत सम्पदा विज्ञहरूले विरोध गरे। स्थानीय सहभागितामै मन्दिर जिर्णोद्धार गरिनुपर्ने आवाज उठ्यो। त्यसपछि स्थानीय बासिन्दा, काठमाडौं महानगरपालिकालगायत सरोकारवालाको पटक-पटक छलफल भयो। आगम छेँ नेपाली सीप र शैलीमा पुनर्निर्माण गर्ने विषयमा सरोकार भएका कार्यालयबीच साझा मत भएपछि काम अघि बढेको हो।

aagam chhe (3).jpg

हनुमानढोका क्षेत्रको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) भूकम्पको कम्पनले जीर्ण बनाएपछि त्यसको जोखिमको अवस्थाका बारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अध्ययन गरेको थियो। 

आगम छेँको पहिलो तीन तला भवन र माथिल्ला तीन तला मन्दिर शैलीमा छ। भूकम्पपछि चार ठाउँमा उत्खनन गरेर जगको अवस्था अध्ययन गरिएको थियो। यसमध्ये तीन ठाउँमा इँटा र गारोको अवस्था राम्रो भेटिएको थियो। एक ठाउँमा ५० मिलिमिटर 'इन्क्लाइनेसन' भेटिएको थियो। त्यसमा माथिल्लो संरचना जोखिमयुक्त छ। पर्खाल चर्किएको र कतिपय छुट्टिएको छ।

aagam chhe (2).jpg

शाह राजाहरूसमेत नपसेको आगम छेँ

आकारमा मात्रै याद हुने सम्पदापछिका कथाहरू, ययार्थहरू खोज्ने हो भने त्यसमा फेरिएका स्वरुप, नाम र आस्थाबारे थाहा हुन्छ। कुन राजाले के नाम दिए? त्यो नाम कसरी फेरियो? किन त्यसको स्वरुप उही रहेन भन्ने जान्न सम्पदाको बाहिरी पाटोले मात्रै बोलिदिँदैन। त्यसका लागि भित्रि कथा बुझ्नुपर्छ।  

शाहकाल आरम्भ भएसँगै २ सय ५० वर्षदेखि बन्द रहेको आँगम छेँभित्र भूकम्पछि हेर्दा एउटा खड्गमात्र पाइएको थियो। भित्र धुलाम्य रहेको मन्दिरमा बज्रमा कोरिएका ठाउँठाउँका कला उप्काइएको भेटिएको थियो। आसन जस्ताको तस्तै थियो भने भोटे ताल्चा सहज रूपमा खुल्न सके पनि भित्री चुकुल खसेको अवस्थामा पाइएको थियो। 

पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौंमा आक्रमण गरेलगत्तै काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल काठमाडौं छाडेर भाग्ने क्रममा आगम छेँ बन्द गरिएको थियो। 

भूकम्पमा भत्किएपछि पुनर्निर्माणका लागि क्षमापूजा गर्ने भन्दै आगम छेँ खुला गरिएको थियो। आगम छेँ बीचमा नारायणहिटी दरबारको अधिनमा रहे पनि राजसंस्था हटेपछि मात्र सरकारको अधिनमा आएको थियो।

aagam chhe (4).jpg

कलात्मक आगम छेँ

वसन्तपुरमा हनुमानको मूर्ति रहेको पछाडि लामो बार्दली भएको घरको छानामा बुर्जाको रूपमा उठेको तीनछाने मन्दिर नै आगम छेँ हो। मोहनचोकको कुना-कुनामा बनेका भिन्न-भिन्न आकारका तीन बुर्जामध्ये एक बुर्जा आगम छेँको यो मन्दिर हो।  

आगम छेँ मन्दिरभित्र मल्ल राजाहरूको गुप्त तरीकाले पूजा गर्ने आगमदेवता स्थापना गरिएका छन्। प्रायः नेवार जातिका प्रत्येक वंशको आ-आफ्नो आगमदेवता हुन्छ तथा त्यस देवताको लागि भिन्नै कोठा अथवा मन्दिर छुट्याइएको हुन्छ। 

‘आफ्नै वंशका व्यक्तिबाहेक अरू कोही पनि त्यहाँ पस्न नपाउने कडा नियम हुन्छ। यसैले मल्लवंशी शासकहरूको अन्त्य भएदेखि यस आगम छेँको मन्दिरभित्र गएर पूजा गर्ने चलन छुट्यो र त्यस बेलादेखि मन्दिरको ढोका खुलेन’ हनुमान ढोका राजदरबारमा गौतमवज्र वज्राचार्यले उल्लेख गरेका छन्। 

aagam chhe (6).jpg
द्वारमाथिको तोरण।

मोहनचोकको निर्माण प्रतापमल्लले गराएका हुनाले त्यस चोकको एक अंगको रूपमा बनेको आगम छेँ मन्दिर पनि उनकै निर्माण हुनुपर्छ भन्ने अनुमान सम्पदा विज्ञहरूले गरेका छन्। माथि बुइँगलमा आगम छेँ मन्दिरको पूर्वीद्वारको सामुन्ने एउटा सानो घण्टा छ। त्यस घण्टामा अंकित अभिलेखअनुसार श्री ५ गीर्वाणयुद्ध र सुवर्णप्रभादेवीले वि. सं. १८५७ माघ सो घण्टा चढाएका थिए। योबाहेक यस मन्दिरसँग सम्बन्ध राख्ने अरू कुनै अभिलेख प्राप्त नभएको वज्राचार्यले उल्लेख गरेका छन्।

आगम छेँ मन्दिरको चार दिशामा नेपाली मन्दिरमा प्रयोग गरिने तोरणयुक्त कलात्मक द्वार छन्। द्वारको दायाँबायाँ चिटिक्क परेका याकुझ्याल दर्शनीय छन्। लामो बार्दली भएको घरको छानाले दक्षिणी र उत्तरी द्वार छोपिएका छन्। यसैगरी पूर्वीद्वार पनि नासलचोकभित्रको सीसाबैठकको छानाले ढाकिएको छ। प्राङ्गणतिर फर्केको पश्चिमपट्टिको द्वारमात्र टाढैबाट देख्न सकिन्छ। 

aagam chhe (7).jpg
आगम छेँ पुनर्निर्माण हुँदै।

आगम छेँ मन्दिरका टुंडालहरूमा शैवसंप्रदायका देवदेवीहरूको मूति अंकित गरिएका छन्। छानाको कुनाकुनामा मयूरको आकारसँग मिल्ने कुंपा प्रयोग भएका छन् तथा छानामुनि चार सुरमा दुईवटा कुंसल जोडेर हालिएका छन्।

मन्दिरको शीरमा रहेको गजूर पनि विशेष प्रकारको छ। यसको गजूर अरू साधारण मन्दिरको जस्तै कलशको आकारमा बनाइएको छैन। शिखरशैलीमा बनेको धातुको सानो देवल नै यस मन्दिरको गजूर बनेको छ। आगम छेँ मन्दिरभित्र महत्त्वपूर्ण भित्रे चित्र पनि छ। 

aagam chhe (5).jpg
कलात्मक टुँडाल।

धरहरामा सत्तासीनको नचाहिँदो कीर्ति मोह धरहरामा सत्तासीनको नचाहिँदो कीर्ति मोह सम्पदामा खेलाँची : ४५ लाख खर्चेर विश्वसम्पदा चाँगुनारायणमा झिल्के रंग सम्पदामा खेलाँची : ४५ लाख खर्चेर विश्वसम्पदा चाँगुनारायणमा झिल्के रंग पोखरीसहित टुँडिखेल मासेर बनेको हो रंगशाला, अझै कति मास्ने सम्पदा? कुम्ह: त्वले सिकाइरहेको सम्पदा जीवन्तता कुम्ह: त्वले सिकाइरहेको सम्पदा जीवन्तता आधुनिकतामाझ मौलिकताले उज्यालिएको दरबार आधुनिकतामाझ मौलिकताले उज्यालिएको दरबार जीवित सम्पदा शिल्प : सुनमा परापूर्व सीपको रंग जीवित सम्पदा शिल्प : सुनमा परापूर्व सीपको रंग इतिहास छोपिरहेको निर्लज्ज वर्तमान इतिहास छोपिरहेको निर्लज्ज वर्तमान ६०० वर्ष पुरानो धार्मिक विहार मासेर 'कम्प्लेक्स' बनाउन चलखेल ६०० वर्ष पुरानो धार्मिक विहार मासेर 'कम्प्लेक्स' बनाउन चलखेल काष्ठमण्डपको पर्खाइ : नुन र तेलको एकै भाउ काष्ठमण्डपको पर्खाइ : नुन र तेलको एकै भाउ धरहराको ओज बोकिरहेको एउटा 'टावर' [तस्बिर कथा] धरहराको ओज बोकिरहेको एउटा 'टावर' [तस्बिर कथा]


प्रकाशित : मंगलबार, वैशाख ३० २०८२१७:३३
  • सम्बन्धित विषय:

  • # आगम छेँ
  • # वसन्तपुर


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend