सोमबार, वैशाख १७ गते २०८१    
धरहराको ओज बोकिरहेको एउटा 'टावर' [तस्बिर कथा]

धरहराको ओज बोकिरहेको एउटा 'टावर' [तस्बिर कथा]

काठमाडौं- इतिहासको 'गह्रौँ भारी' बोकेर झण्डै दुई शताब्दी ठडिएको धरहरा भूकम्पपछि विगत नामेट पारेर देखिने उही स्वरुपमा अहिले पुन: उभिएको छ।

images
images
images

गोलाकार अग्लाइको गुणमा सुन्दर देखिएको संरचनाले धरहराको पुरानै ओज बोकिरहँदा त्यसले इतिहासलाई भने बिर्सेको छ। भीमसेन थापाले बनाएका दुई धरहरामध्ये लगनटोलको उपल्लो धरहरा पहिले नै नामेट भयो। आजको पुस्ताले देखिआएको तल्लो धरहरा भने २०७२ बैशाखको भूकम्पपछि हरायो।

विस १८८१ मा तत्कालीन जनरल भीमसेन थापाले निर्माण गरेको उपल्लो धरहरा १८९० को भूकम्पमा जीर्ण भयो भने १९९० को भूकम्पपछि पनि पुनर्निर्माण गरिएन। १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीदेवीको आग्रहमा भीमसेनले बनाएको ११ तले तल्लो धरहरा १९९० को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलामा पुनर्निर्माण गरे।

dharahara (10).jpg

जुद्ध शमशेरले भीमसेनको कीर्ती देखाउने रहरलाई मेटाएनन्। जीर्ण भएको उही अवस्थाबाट बार्दली थपेर धरहरा पुनर्निर्माण गरे। ०७२ को भूकम्पपछि भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 'मेरो धरहरा मै बनाउँछु' अभियान घोषणा गर्दै भीमसेन स्तम्भको सम्पदा मेटेर नयाँ टावर बनाइदिए।

भूकम्पमा जिर्ण भएको धरहराको पुछार तला त्यतिकै छाडेर छेवैमा नयाँ टावर ठडिएको छ। २०७५ साल असोज १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत काम सुरु भएको थियो। जसको काम पूर्ण रुपमा नसकिँदै २०७८ बैशाख ११ गते प्रधानमन्त्री ओलीले हतारमै उद्‍घाटन गरे।

२०७२ फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने प्रधानमन्त्री ओलीको घोषणापछि २०७३ असार २९ गतेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गर्‍यो। व्यावसायिक कम्प्लेक्सको धरहरा निर्माणपछि ३० वर्षसम्म आफूले चलाउन पाउनुपर्ने टेलिकमको प्रस्ताव थियो।

dharahara (2).jpg

टेलिकमलाई दिने नदिने लामो रस्साकस्सीमा समय खेर गयो। अन्ततः टेलिकमले नबनाउने भएपछि सरकारले धरहरा निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको हो। २०७५ वैशाख ३१ गते आह्वान गरेको टेण्डरमार्फत ३ अर्ब ४५ करोड रुपैयाँमा जीआइइटीसी रमन जेभीले धरहराको नाममा व्यापारिक भ्यू टावर बनाउने ठेक्का लिएको हो।

ओलीकृत 'नयाँ धरहरा' बाहिरबाट ११ तले देखिए पनि भित्रबाट भूमिगत दुई तलासहित २५ तलाको रहेको छ। २२औँ तलामा पुरानै धरहरामा रहेको शिवलिङ्ग प्रतिस्थापन गरिएको छ। पुरानो गजुरमा बाहिर सुनको जलप लगाएर मर्मत गरिएको हो। तामाबाट बनेको नयाँ गजुर ३८० किलोको छ, जसमा ९५ तोला सुनको जलप लगाइएको छ।

धरहराभित्र दुईवटा लिफ्ट छन्। भूमिगत संरचनामा पार्किङको काम भइरहेको छ। वरपर ४२ रोपनी जग्गामा पार्क निर्माण गर्ने गरी काम भइरहेको छ। जहाँ पानीको संगीतमय फोहरा चलाउने योजनासमेत छ।

समयक्रममा फेरिएको शासकीय तेज देखाउने रहर र व्यापारिक लाभको खोजीले सम्पदाको महत्व मरिरहे पनि नयाँ धरहरा सहरको सुन्दरतामा उज्यालिएको छ। धरहराको उही नाममा नयाँ टावरले सहर हेर्नेलाई लोभ्याइरहेकै छ।

dharahara (4).jpg
dharahara (7).jpg
dharahara (5).jpg
dharahara (3).jpg
dharahara (6).jpg
dharahara (12).jpg
dharahara (8).jpg
dharahara (11).jpg
dharahara (13).jpg
dharahara (14).jpg
dharahara (15).jpg
dharahara (16).jpg
dharahara (9).jpg


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०७:२१

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार