काठमाडौं- संसारमा प्रिय तत्वमध्ये पर्छ सुन। शताब्दीयौँदेखि मुद्राको रूप, धनको प्रतीक, शक्तिको स्वरुप र सौन्दर्यको आधार बनेर यो धातुले साथ दिइरहेको छ। पूर्वीय सभ्यतादेखि प्राचीन सुमेरियन, इजिप्सियन, बेबिलोनियनसम्म हरेक ठाउँमा मानव संस्कृतिको हिस्सा बनेको छ।
सुनको चमक, प्राकृतिक सौन्दर्य, लचिलोपन र धुमिल नहुने गुणले मानव समाज यसप्रति आकर्षित छ। सुन्दर र दुर्लभ हुनुले शासकहरूका लागि आफ्नो शक्ति र सौर्य देखाउने माध्यमसमेत सुन नै बनिदियो। प्राचीन कालदेखि गहना, सिक्का, मूर्तिकला, भाँडा, भवन, मन्दिर र स्मारकहरूको सजावटमा यसको प्रयोग भइरहेकै छ। धातुहरूमा अधिक लचकदार सुनलाई नचुँडाइ नै एउटा मसिनो तारदेखि पातलो रिबनसम्म बनाउन मिल्छ।
हाम्रो धार्मिक र पौराणिक ग्रन्थहरू पनि सुनको सन्दर्भले भरिपूर्ण छन्। भगवान् श्रीकृष्णले गीतामा ‘धातुहरूमा म सुन हुँ’ भनेका प्रसंग होस् या सुनको लंकादेखि स्वर्णभष्मसम्मका विषय हुन्, सुन नेपाली समाजको चिन्तनमा बुझिने समयदेखि नै जोडिएको छ। सोम वंशकै समयमा पशुपति मन्दिर स्वर्णमय बनाएका विषयहरू इतिहास खोज्नेहरूले प्रस्तुत गर्ने गरेका छन्। पशुपतिमै लिच्छवी राजा शिवदेवले सुनको छाना हालेको पनि उल्लेख गरिन्छ।
धार्मिक र सांस्कृतिक सम्बन्धसँगै सुनको आर्थिक सामाजिक पाटो हेर्ने हो भने त यो अझै व्यापक देखिन्छ। धर्म संस्कृतिको अभिन्न अंगमात्रै होइन नेपाली समाजले उखान टुक्कादेखि गीत संगीतमा सुनलाई जोडेको वर्षौं भयो। जितको पुरस्कार र कीर्ति रक्षाको प्रमाणका रुपमा समेत सुनकै प्रयोग भइरहेका छन्।
जसो-जसो सभ्यताहरू विकसित हुँदै अघि बढ्यो उसै-उसै कला पनि विकसित हुँदै आयो। स्वर्ण शिल्पमा पनि ठीक त्यसरी नै दक्ष कारिगरहरूले आफ्नो कला निखार्दै आइरहेका छन्। यसको कला र पवित्रताको कथा अघि बढाउन मन्दिर र मूर्तिहरूमा सुनको शिल्प बढिरहेको छ।
यस्तै एक शिल्पी छन् - ज्ञानेन्द्र शाक्य, जसले वर्षौं पुरानो नेपाली कला सम्पदालाई जीवन्त बनाइरहेका छन्।
५५ वर्षका ज्ञानेन्द्रले ११ वर्षको उमेरदेखि बुबाको साथमा सुनको कला बुझे। मूर्ति र मन्दिरहरूमा कसरी सुनको लेपन लगाइन्छ भन्ने सिके। त्यसैमा निरन्तर अघि बढे। नेपालमा मात्र होइन चीन, भारत र भुटानका विभिन्न सम्पदाहरूमा आफ्नो कला देखाइसकेका उनले ललितपुर बुङमतीमा रहेको कार्यविनायक मन्दिरमा गएको हप्ता सुनको छाना र गजुर हाल्ने काम सम्पन्न गरे।
आगोमा पोल्दा पनि गुण बढ्ने सुनजस्तो पवित्र मानिएको धातुको कर्ममा ज्ञानेन्द्रको शिल्पतेज चम्किएको छ। यस्तो परम्परागत शिल्पको काम आधुनिक अन्य प्रविधिभन्दा बलियो र दीर्घकालीन रहेको जानकारहरू बताउँछन्। पुर्खाको सीपलाई अघि बढाइरहेका ज्ञानेन्द्रले सम्पदा जीवन्त राख्न ठूलो गुन लगाइरहेका छन्। सीता शाक्य, सुर्जमान शाक्य, राकेश शाक्य, राजु शाक्य, सपना शाक्य, प्रताप महर्जन र सहिश महर्जनले उनलाई यही कर्ममा सहयोग गरिरहेका छन्।
वर्षौंदेखि पित्तल, तामा वा काँसले बनेका छानाका पातामा पनि सुन पोत्ने चलनहरू देखिन्छ। यसको धार्मिक सामाजिक चलनसँगै सुनको प्रमाणित वैज्ञानिक गुणहरूले पनि यसको महत्व बढेको छ। अन्य धातुजस्तो सुन घामपानी र हावासँगको सम्पर्कले बिग्रँदैन। मन्दिर संरक्षणको उद्देश्य पनि लामो समयसम्म राम्रो होस् भन्ने नै हो। त्यही कारणले सानादेखि ठूला मन्दिरसम्म सुन पोत्ने चलन छ।
कार्यविनायक मन्दिरमा भएको कामलाई नजिकबाट नियालेका सम्पदा अभियन्ता तथा अध्येता आलोकसिद्धि तुलाधर पूर्वजहरूको ज्ञानलाई नयाँ पुस्तामा लैजान पनि उत्तिकै महत्व रहेको र यस्ता कामहरू सम्पदाको जगेर्नासँगै सीप जीवन्त बनाउन पनि महत्वपूर्ण हुने बताउँछन्।
‘अहिले भइरहेको काम नयाँ पुस्ताले पनि नजिकबाट नियालिरहेको छ, यसको ज्ञान अघि बढाउनका लागि साथै यसको अर्थ र महत्व बुझाउनका लागि काम कसरी हुन्छ, के-के प्रयोग हुन्छ भन्ने बुझ्न सक्नुपर्छ’ उनले भने, ‘एउटा परम्परागत सीप जोगाउने काम पनि भयो। यसमा भक्तजनले आफूसँग भएको धन राम्रो कर्ममा बदल्ने मौका पनि पाए। समुदायले एकदमै राम्रोसँग काम गरिरहेको देखेँ। एकजुट भएर सामाजिक भावनाले काम गरेका छन्।'
कालिगर ज्ञानेन्द्र यसलाई ‘जलप लगाएको’ भन्नेभन्दा पनि अझ वृहत रुपमा बुझाउन चाहन्छन्। स्थायी रुपमा नै पुरानो छाना, मूर्ति या गजुरमा बाहिरबाट सुन पातलो बनाएर छोप्ने कामका रुपमा उनी अर्थ्याउँछन्। ‘मेरो बुबा बाजेको काम पनि यही हो। बुबा पुस्ताले गरेको देखेर सँगसँगै काम गर्दै सिकेको हो। झण्डै नौसय वर्ष पुरानो विधि, शैली र ज्ञानले काम भइरहेको छ’ उनले सुनाए।
‘पारोसँग काम गर्दा अलिकति जोखिम पनि हुन्छ। पहिले पहिले सुनको काम अरूलाई देखाउन हुँदैन भनेर कोठाभित्र बसेर गर्दा जोखिम अझ बढी हुन्थ्यो। अहिले मैले चाहिँ खुला ठाउँमा नै बसेर गर्ने गरेको छु। पारो उडेको वाफले आफूलाई असर नगरोस् भन्ने तरिका सोच्नुपर्छ’ उनले भने।
ज्ञानेन्द्रले पुर्ख्यौली शैली र शिल्पमा केही भिन्नता पनि ल्याउँदै परिस्कृत गरिरहेका छन्। त्यसका लागी उनी आफैले सुन पेल्ने मेसिन पनि बनाए। बाबुबाजेले झैँ अन्तिमको रंग खुलाउने कामका लागि उनले ३२ प्रकारका जडीबुटी प्रयोग गरिरहेका छन्। त्यसबारे उनी भन्छन्, ‘यो रहस्य मैले गोप्य नै राखेको छु, गोबरदेखि सबै कुरा प्रयोग हुन्छ तर के-के हो अरूलाई भनेको छैन।'
उपत्यकामा नै पाइने ती जडीबुटीहरू पकाएको झोलमा सुनको लेपन लगाएका पाता डुबाउँदा रंग राम्ररी खुल्ने उनी बताउँछन्। ‘मन्दिर रहेको ठाउँको मौसम विचार गरेर पनि कस्तो जडीबुटी प्रयोग गर्ने भन्ने भिन्नता हुन्छ। पुरानो हुँदै जाँदा झन त्यसको रंग राम्ररी उज्यालिँदै आउने गरी काम गर्नुपर्छ’ उनले भने।
केही समयमा आफूले गोप्य राखेका विषयहरू पनि नयाँ पुस्तालाई सिकाउन प्रतिबद्ध छन् उनी। ‘अब यो सबै ज्ञान र सीप पछिल्लो पुस्तालाई दिन्छु, पुस्तौँ पुस्ता चलाउनुपर्ने काम मैले लिएर गएर काम पनि छैन’, उनी भन्छन्, ‘काम भइसकेपछि मन्दिरमा हेर्दा एकदमै खुसी लाग्छ। यहाँ पाइरहेको ज्याला पनि मन्दिरमा नै चन्दा दिएँ। मूर्ति पसलबाट कमाइरहेको छु। अरू काम गरिरहेको हुन्छु।'
कसरी बनाइन्छ मन्दिरमा सुनको छाना र गजुर?
नेपाल राष्ट्र बैंकको टक्सार शाखाबाट सुन ल्याएर कार्यविनायक मन्दिरमा छाना र गजुरको काम गरिएको छ। स्थानीय प्रशासन, प्रहरी, स्थानीय समितिका प्रतिनिधि बसेर सबै प्रमाणित गरेर, मुचुल्का उठाएर, भिडियो फोटोको रेकर्ड राखेर काम गरिएको कार्यविनायक मन्दिर पुजारी संघका कोषाध्यक्ष सुरेश तुलाधरले बताए।
टक्सार शाखाबाट किनेर ल्याएको २४ क्यारेटको सुनलाई मेसिनमा पेलेर रिबनजस्तो पातलो आकारमा ढालिन्छ। त्यसलाई कैँचीले काटेर सानो टुक्राहरू बनाइन्छ। त्यसमा तरल धातु पारो, सिसाका मसिना टुक्रा र पालुवा ईंटको धुलो हालेर सिलौटामा पिसिन्छ। मसिनोगरी पिसेपछि त्यसमा चुकसमेत मिसाएर लेदो बनाइन्छ।
लेदो पारिएको त्यही सुनको मिश्रणलाई मन्दिरको छानाको पाताहरू र गजुरहरू सफा बनाएर ब्रसले लेपन लगाइन्छ। पातामा दल्दा पारोसहित भएकाले चाँदीकै जस्तो रंग देखिएको हुन्छ। जसलाई तुरुन्तै ठीक तापमा आगोले तताएपछि त्यसबाट पारोहरू उड्छ र सुनको लेपनमात्र बाँकी रहन्छ, जसले सुनौलो रंग नै देखिन्छ।
यी सबैमा महत्वपूर्ण ज्ञान, सीप र शिल्प निरन्तरको कर्म र ज्ञानले नै सम्भव भएको कारिगर ज्ञानेन्द्र सुनाउँछन्। ठीक तापमा तताएर शुद्ध सुन बाँकी रहेपछि त्यसलाई अझ राम्रो टलक दिनका लागि ठूलो भाँडोमा ३२ प्रकारको जडीबुटी ३० घण्टा उमालेपछि त्यसमा डुबाइन्छ। त्यो डुबाएर निकाल्नेबित्तिकै सुनको रंग अझ खुल्छ। हिजोआज अझ सुरक्षित होस् भन्नका लागि बाहिरी भागमा ‘प्लास्टिक कोट’ गर्ने ‘वाटर प्रुफिङ’ हाल्ने चलन पनि छ।
यही प्रविधिबाट कार्यविनायक मन्दिरमा गरिएको काममा सबै गरेर १ करोड ५० लाख रूपैयाँजति खर्च भएको पुजारी संघका कोषाध्यक्ष सुरेशले बताए। ‘१ सय ८ तोला सुनमा १ करोड २० लाख र अन्य विविध खर्च हेर्दा १ करोड ५० लाखजति भएको छ’, उनले भने, ‘समुदायको सहभागितामा सबै भक्तजनको सहयोगले भएको काममा पारदर्शी होस् भनेर हामीले सबै प्रमाण टिपोट गरेका छौँ।'
कार्यविनायक अर्थात ‘गलय् द्यः’ बारेको कथन-
कार्यविनायकलाई स्थानीयहरू गलय् द्यः का रुपमा पनि सम्बोधन गर्छन्। गल भनेको नेपाल भाषामा जंगल भएको र जंगलमा रहेको देवता भएकाले गलय् द्यः भनिएको जानकारहरू सुनाउँछन्।
कार्यविनायकको कथन वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथसँग जोडिएको छ। रातो मछिन्द्रनाथको रथ यात्रा भक्तपुरका लिच्छवी राजा नरेन्द्रदेवले सुरु गराएका थिए। त्यो जात्रा सुरू हुनुअघिको लोकोक्तिसँग कार्यविनायकको सम्बन्ध रहेको यससँग जोडिएका स्थानीयहरू सुनाउँछन्।
वर्षा नहुँदा अनिकालको स्थिति आएपछि त्यसबाट छुटकारा पाउनका लागि भक्तपुरका राजा नरेन्द्र देव, काठमाडौंका तान्त्रिक ज्योतिष बन्धुदत्त आचार्य र ललितपुरका किसान रथचक्र मिलेर अहिले भारत आसाममा पर्ने कामरुपीठबाट लोकेश्वर नेपाल ल्याएको कथन छ।
योगी गोरखनाथ नागहरूको आसन बनाएर तपस्यामा बसेकाले पानी नपरेको हो र गोरखनाथलाई तपस्याबाट उठाएर नागहरू स्वतन्त्र बनाउन सके पानी पर्ने विश्वास भयो। गोरखनाथ उठाउन उनका गुरू लोकेश्वरलाई ल्याउनुपर्छ भन्ने ज्ञानपछि तीनजना कामरुपीठ जाने भए। त्यसरी आसाम जानुअघि बुङमती कर्णतीर्थछेउको कार्यविनायक क्षेत्रमा घना जंगल थियो। जहाँ उनै कार्यविनायक गणेशको आह्वान गरी पूजा गरेर जाँदा कार्य सम्पन्न भयो।
गुरु लोकेश्वर नेपाल आएको थाहा पाएपछि नागहरूलाई आसन बनाएर बसेका गोरखनाथ उठे र नागहरू स्वतन्त्र भएसँगै जलवृष्टि भएर अनिकाल अन्त्य भएको कथन छ। यसैले कार्यसम्पन्न गर्न कार्यविनायक गणेशको पूजा गरिने धार्मिक विश्वास रहिआएको छ।
भक्तजनको सहयोगमा कार्यविनायक मन्दिरमा फेरियो सुनको छाना र गजुर