काठमाडौं- चीनमै बीवाईडीको डिलर संकटमा परेको खबर गतमहिना बाहिरिएको थियो। पूर्वी चीनको सान्दोङ प्रान्तमा रहेको सबैभन्दा ठूलो डिलर बीवाईडी कम्पनीकै कारण बन्द हुन पुगेको थियो। यस्तै अवस्था नेपालमा पनि आएको छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सका कारण नेपालमा पनि स्थानीय डिलरहरूले धमाधम बीवाईडी छाड्न थालेका छन्।
केही वर्षअघि पनि बीवाईडीका नेपाली डिलर बन्द भएका थिए। त्यतिबेला सवारी मोडल कम भएर बिक्री नहुँदा डिलर संकटमा परेको भन्ने गरिएको थियो। अहिले अवस्था भिन्न छ।
फेरि पनि बीवाईडी बिक्रेता साइमेक्स इंकको स्थानीय डिलर छाड्ने अवस्था आउँदा अटोमोबाइल व्यवसायीहरूमै तरंग पैदा गरेको छ। तीनवटा मोडल उपलब्ध रहेको र अन्य मोडल आउने क्रममा रहेका तथा राम्रै बिक्री संख्या हुँदा पनि धमाधम डिलर छाड्दा सबै स्थानीय डिलरहरूमा संशय उत्पन्न भएको छ।
हालैमात्र पोखरमा रहेको बीवाईडीको डिलर प्लगइन अटोमोबाइल्स प्रालिले बीवाईडी ब्रान्ड छाडेको छ। आधिकारिक बिक्रेता साइमेक्स इंकले डिलरलाई अतिरिक्त दबाब दिँदै गएपछि पोखराको डिलरले बीवाईडीका कार बिक्री गर्न छाडेको हो।
त्यस्तै भक्तपुरस्थित बीवाईडीको डिलर पनि आधिकारिक बिक्रेताबाट अतिरिक्त दबाब झेल्न कठिन हुँदै गएकाले छाड्ने मनस्थितिमा पुगेको छ। भक्तपुरमा अहिले रहेको बीवाईडीको डिलर दोस्रो हो। बीवाईडीको पहिलो भक्तपुर डिलर जी ईभी नेपाल प्रालिले करिब दुई वर्षअघि नै बीवाईडीका कार बिक्री गर्न छाडेको थियो। इटहरी र विराटनगरका बीवाईडी डिलरले पनि ब्रान्ड छाडेपछि दोस्रो डिलर नियुक्त भएका हुन्।
बुटवल र धनगढीमा पनि यसअघिका बीवाईडी डिलरहरूले यो ब्रान्डको बिक्री छाडेका कारण साइमेक्स इंकले नयाँ डिलर नियुक्त गरेको थियो। पछिल्लो पटक फेरि भक्तपुरसँगै विराटनगर, बुटवल र ललितपुरको बीवाईडी डिलरले पनि साइमेक्स इंकको अतिरिक्त दबाबका कारण छाड्ने मनस्थिति बनाउन थालेका छन्।
कम्पनीले बिक्री हुनेभन्दा बढी संख्यामा स्थानीय एलसी खोल्न दबाब दिइरहँदा डिलरहरू संकटतर्फ धकेलिने अवस्था आएको हो। साइमेक्ससँग नजिक रहेका कारण पछिल्लो पटक सबैभन्दा धेरै दबाबमा पुल्चोक डिलर रहेको छ।
गतवर्ष बजेटअघि साइमेक्स इंकले १४ सय वटा कार आयात गरेको थियो। उक्त कारको इन्भेन्ट्री सक्न साइमेक्सले स्थानीय डिलरलाई एकैपटक १ सय ८० वटाभन्दा बढी गाडीको एलसी खोल्न लगाएको थियो। ९० दिनको पेमेन्ट साइकलमा खोलिएको उक्त एलसीको भुक्तानीको दबाब डिलरहरूले अहिले पनि झेलिरहेको एक डिलर प्रतिनिधिले बताए।
‘एक महिनामा काठमाडौंबाहिरको एउटा डिलरले औषतमा बिक्री गर्ने भनेको १०/१५ वटा कार हो। एकैपटक १ सय ८० वटासम्म कारको दबाब दिएर एलसी खोलाउने अनि ९० दिनमा सबै गाडीको भुक्तानी गर भन्ने। १०/१५ गाडी बिक्री गरेर त्यत्रो धेरै भुक्तानी कसरी गर्न सकिन्छ,’ ती डिलर प्रतिनिधिले भने, ‘फेरि अर्को महिनाबाट मासिक १०/१५ वटा गाडीको एलसी खोल भनेर दबाब दिने गरियो। यसरी त डिलर कसरी बाँच्न सक्छ? यही प्रवृत्ति रहे अबको केही वर्षभित्र साइमेक्स आफैँले देशभर डिलर बनाउनु पर्ने अवस्था आउनेछ उसको डिलर बन्न कोही पनि तयार हुने देखिँदैन।’
सन् २०२३/०२४ मा साइमेक्स इंकमार्फत २ हजार ७ सय ३९ वटा एटो थ्री आयात भएकोमा २०२४/२०२५ को १० महिनामा जम्मा ८ सय ३० वटा मात्रै आयात भएको भन्सार तथ्यांक छ। त्यस्तै २०२३/०२४ मा बीवाईडी डलफिन १ हजार २ सय ६० वटा आयात भएकोमा २०२४/०२५ को १० महिनामा ९ सय ३० वटा आयात भएको तथ्यांक छ। यसले पनि के देखाउँछ भने बीवाईडीको बिक्री घटेकाले डिलर टिकिराख्न कठिन अवस्था आइरहेको छ।
चीनमै पनि बीवाईडीको डिलर संकटमा परेको छ। बीवाईडीको सान्दोङ प्रान्तमा रहेको डिलरले सञ्चालन गरिरहेका कम्तिमा २० वटा स्टोरहरू गत महिना बन्द भए। चीनबाहिर आक्रामक विस्तारमा रहेको चिनियाँ विद्युतीय सवारी उत्पादन कम्पनी बीवाईडीको डिलर चीनमै संकटमा पर्नुले विश्वभर संशय पैदा गरेको छ।
उक्त डिलरले अप्रिल १७ मा एक पत्र प्रकाशित गर्दै बीवाईडीले आफ्नो डिलर नीतिमा गरेको समायोजनका कारण नगद प्रवाहमा ठूलो दबाब परेर बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ। कियानचेङको उक्त अवस्थाले चिनियाँ अटोमोबाइल बजारमै तरंग ल्याएको छ।
विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनीको डिलर स्वदेशमै संकटमा पर्दा चीनबाहिर राम्रो सन्देश नजाने भएकाले त्यसमा छिटो समाधान खोज्न सरकारी अधिकारीहरूले दबाब दिइरहेका थिए।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकको अतिरिक्त दबाबले यहाँ पनि डिलरले छाड्ने क्रम उल्लेख्य बढेको छ। यही अवस्था कायम रहेमा बीवाईडीले स्थानीय डिलर पाउनै मुस्किल हुनेछ।
स्थानीय डिलरले भोगेको समस्यामात्र होइन बीवाईडीको आयातमा करछलीदेखि उपभोक्ताले सर्भिसमा भोगिरहेको समस्याहरू पनि नेपालमा चर्को छ।
साइमेक्स इंकले बीवाईडी ई सिक्स कार आयात गर्दा करछली गरेको थियो। यस्तै पछिल्लोपटक सामान्य दुर्घटनामा परेको कारको मर्मत खर्च गाडीको मूल्य बराबर नै हुने कोटेसन दिएर सर्भिस स्पेयर पार्ट्स बिक्रीमा उपभोक्ताको ढाड सेक्ने काम साइमेक्सले गरिरहेको छ।
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।