आइतबार, पुस ७ गते २०८१    
images
images

धरहरामा सत्तासीनको नचाहिँदो कीर्ति मोह

हराएको भीमसेन स्तम्भसामु ओलीले ठड्याएको व्यापारिक सेतो टावर

images
बिहीबार , मंसिर २७ २०८१
images
images
धरहरामा सत्तासीनको नचाहिँदो कीर्ति मोह

भीमसेन थापाले बनाएका दुई धरहरामध्ये लगनटोलको उपल्लो धरहरा पहिले नै नामेट भयो। आजको पुस्ताले देखिआएको तल्लो धरहरा भने २०७२ बैशाखको भूकम्पपछि अब नउठ्नेगरी हरायो।

images
images

काठमाडौं- विगतको वृत्तान्त नै बिर्साउनेगरी नामेट भएको भीमसेन थापाको धरहरासामु प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कीर्ति झल्काउने ‘झिल्के टावर’ ठड्याएर सहरमा पैसा भए टहल्न मिल्ने ठाउँ दिएका छन्। 

images
images
images

अतीतका स्मृतिहरूबारे बडो बेजोड भाषणकला भएका ओलीले भीमसेनको इतिवृत्त मेटेर आफ्नो सुनाम राख्न गरेको प्रयासमा प्रशंसा र आलोचना बराबरजस्तै देखिन्छ। ओलीको टावर मोहले भीमसेनको स्तम्भलाई छोपे पनि भूकम्पले ढलेको धरहरा नै ठडिएको झुटो कथा सहरमा बिकिरहेकै छन्।      

images

इतिहासको गह्रौँ भारी बोकेर झण्डै दुई शताब्दी ठडिएको धरहरा भूकम्पपछि विगत नामेट पारेर देखिने उस्तैजस्तो स्वरुपमा अहिले पुन: उभिएको छ। गोलाकार अग्लाइको गुणमा सुन्दर देखिएको संरचनाले धरहराको पुरानै ओज बोक्न नसक्दा त्यसले इतिहासलाई भने बिर्सेको छ। 

images

भीमसेन थापाले बनाएका दुई धरहरामध्ये लगनटोलको उपल्लो धरहरा पहिले नै नामेट भयो। आजको पुस्ताले देखिआएको तल्लो धरहरा भने २०७२ बैशाखको भूकम्पपछि अब नउठ्नेगरी हरायो।

विसं १८८१ मा तत्कालीन जनरल भीमसेन थापाले निर्माण गरेको उपल्लो धरहरा १८९० को भूकम्पमा जीर्ण भयो भने १९९० को भूकम्पपछि पनि पुनर्निर्माण गरिएन। विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीदेवीको आग्रहमा भीमसेनले बनाएको ११ तले तल्लो धरहरा १९९० को भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलामा पुनर्निर्माण गरे।

जुद्ध शमशेरले भीमसेनको कीर्ति देखाउने रहरलाई मेटाएनन्। जीर्ण भएको उही अवस्थाबाट बार्दली थपेर धरहरा पुनर्निर्माण गरे। २०७२ को भूकम्पपछि भने तत्कालीन समयमा पनि प्रधानमन्त्री रहेका ओलीले 'मेरो धरहरा मै बनाउँछु' अभियान घोषणा गर्दै भीमसेनकालीन सम्पदा मेटेर नयाँ टावर बनाइदिएका छन्।

dharahara (7).jpg

भूकम्पमा जिर्ण भएको धरहराको पुछार तला त्यतिकै छाडेर छेवैमा नयाँ टावर ठडिएको छ। धरहरामा २०७५ साल असोज १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत काम सुरु भएको थियो। जसको काम पूर्ण रुपमा नसकिँदै सत्ताबाट बाहिरिनुपर्ने डरले २०७८ बैशाख ११ गते प्रधानमन्त्री ओलीले हतारमै उद्‍घाटन गरिदिएका थिए।

२०७२ फागुन ४ गते जनताको पैसाले धरहरा बनाउने प्रधानमन्त्री ओलीको घोषणापछि २०७३ असार २९ गतेको मन्त्रिपरिषद् बैठकले पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माण गर्ने जिम्मा नेपाल टेलिकमलाई दिएको थियो। टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि पुरातत्वले अस्वीकार गर्‍यो। व्यावसायिक कम्प्लेक्सको धरहरा निर्माणपछि ३० वर्षसम्म आफूले चलाउन पाउनुपर्ने टेलिकमको प्रस्ताव थियो।

टेलिकमलाई दिने नदिने लामो रस्साकस्सीमा समय खेर गयो। अन्ततः टेलिकमले नबनाउने भएपछि सरकारले धरहरा निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दियो। २०७५ बैशाख ३१ गते आह्वान गरेको टेण्डरमार्फत ३ अर्ब ४५ करोड रुपैयाँमा जीआईईटीसी रमन जेभीले धरहराको नाममा व्यापारिक भ्यू टावर बनाउने ठेक्का लिएको थियो।

ओलीकृत नयाँ धरहरा बाहिरबाट ११ तले देखिए पनि भित्रबाट भूमिगत दुई तलासहित २५ तलाको रहेको छ। २२औँ तलामा पुरानै धरहरामा रहेको शिवलिङ्ग प्रतिस्थापन गरिएको छ। पुरानो गजुरमा बाहिर सुनको जलप लगाएर मर्मत गरिएको छ। तामाबाट बनेको नयाँ गजुर ३८० किलोको छ, जसमा ९५ तोला सुनको जलप लगाइएको छ।

धरहराभित्र लिफ्ट र भूमिगत संरचनामा पार्किङसमेत रहेको छ। वरपर ४२ रोपनी जग्गामा पार्क निर्माण गर्ने काम भइरहेको छ। जहाँ पानीको संगीतमय फोहरा चलाउने योजनासमेत छ।

dharahara (4).jpg

समयक्रममा फेरिएको शासकीय तेज देखाउने रहर र व्यापारिक लाभको खोजीले सम्पदाको महत्त्व मरिरहे पनि नयाँ धरहरा सहरको सुन्दरतामा भने उज्यालिएको देखिन्छ। धरहराको उही नाममा नयाँ टावरले सहर हेर्नेलाई लोभ्याइरहेकै छ।

१९९ वर्ष पहिले मुख्तियार भीमसेन थापाले विशाल टुँडिखेल छेउमा मीनार बनाउँदा लोकले के कति बुझ्न सक्यो थाहा छैन। अहिले प्रधानमन्त्री ओलीले धरहराको नामले चिनिएको उही भत्किएको मीनारछेउ व्यापारिक टावर किन खडा गरे लोकले बुझेकै छ। आफू सत्तामा रहेको पालोका आधारमा जनताको पैसामा आफ्नो नाम बनाउने चाह शासकका लागि नौलो होइन। 

काठमाडौंमा चलिरहेको नेपाल प्रिमियर लिग क्रिकेटको ट्रफी अनावरण कार्यक्रम पनि धरहरा परिसरमा नै गरेर प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भिडियोसहित लेखे, ‘कालापत्थरबाट ल्याइएको शीलाजडित सुन्दर ट्रफी, अनि हाम्रा प्रतिभाशाली खेलाडीसँगै ऐतिहासिक धरहरामा हामी।' 

त्यसबाहेक पनि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा धरहराको फोटो भिडियो राखेर बेलाबखत केही न केही लेखि नै रहन्छन्। धरहरा बनाउन सकेकोमा उनको उत्साह बेग्लै देखिन्छ। ‘धरहरा चढ्नेहरूको घुइँचो लागेको समाचारहरू हेरेँ। आफू देशबाहिर रहे पनि यस्तो खबरले खुसी दिएको छ’ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका बेला प्रधानमन्त्री ओलीले भनेजस्तै अहिले नयाँ धरहरा चढ्नेको भिडभाड व्यापक नै छ। 

dharahara (1).jpg

यही मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको नयाँ धरहराबाट सातामै झण्डै १५ लाख रुपैयाँ राजस्व संकलन भइरहेको छ। धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट दिइएको छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ। 

धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ। व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ साथै फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ। धरहराको भूमिगत क्षेत्रमा पार्किङ गर्दा चारपांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपां‌ग्रेलाई १० रुपैयाँ तोकिएको छ।    

भूकम्पपछि धरहरा पुनर्निर्माण नगरी धरहराकै नाममा नवनिर्माण गरिएको सेतो टावरमा शासकमाथिको जयजयकार र प्रश्न सँगसँगै छन्। अंग्रेजको विस्तारवादी समयका मुख्तियार भीमसेन र अहिले सत्ता जोगाउन नै बढी लडिरहेका प्रधानमन्त्री ओलीको तुलना मिल्दैन नै। तर समयक्रममा यी दुई सत्ता सञ्चालकको उस्तै विषय के भने भीमसेनले एकै वर्षको फरकमा उस्तै मीनार नजिकै दुईवटा बनाएका थिए। अहिले ओलीले उस्तै टावर दुईवटै बनाए, काठमाडौं र झापामा।

dharahara (1).jpg

गएको आइतबार प्रधानमन्त्री ओलीले झापाको दमकमा व्यापारिक कम्प्लेक्स उद्‍घाटन गर्दै नयाँ टावर आधुनिक विकासको नमूना भएको बताए। प्रधानमन्त्री ओलीले एक सय मिटर अग्लो १८ तले कम्प्लेक्स सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। 

दमक बजार क्षेत्रमा आन्तरिक आम्दानी बढाउने प्रयोजनमा निर्माण भएका व्यापारिक कम्प्लेक्स नचल्ने अवस्था देखिइरहँदा बडेमानको नयाँ कम्प्लेक्स बेकामे हुने निश्चित नै छ। प्रधानमन्त्रीले जेजसो बताए पनि १ अर्ब ६३ करोड ५४ लाख ४६ हजार रूपैयाँ खर्चेर ४ बिघा १६ कठ्ठा जमिनमा फैलिएको टावरको उपयोगिता कम्तिमा अहिलेका लागि देखिँदैन।

सम्पदा मासेर काठमाडौंमा नयाँ बनेको धरहरामार्फत व्यापार बढ्ने देखिए पनि झापाको टावरमा भने व्यापारिक फाइदासमेत देखिँदैन। ओलीको टावर मोहबाट सिकेर गाउँका सिंहदरबारका अरु शासकहरूले आ-आफ्नो क्षेत्रमा ठड्याएका अनेक भ्यू टावर पनि बेकामे भइसकेका छन्। 

इतिहास, सम्पदा र प्रकृतिको ख्याल नगरी व्यापार र मनोरञ्जनका लागिमात्र टावर खडा गर्ने प्रवृत्ति घातक बनिरहेको छ। भीमसेनले राखेको कीर्ति धुलिमाटो भइसक्दा आजका शासकको अनुत्पादक कीर्ति पनि अनन्त पक्कै रहने छैन। 

dharahara (2).jpg

भीमसेन थापाले आफ्नो दरबारनजिकै विसं १८८१ मा पहिलो धरहरा बनाउन लगाएका थिए। त्यसमा रहेको अभिलेखमा यस्तो लेखिएको थियो- ‘स्वस्तिश्री शाके १७४६ सम्वत् १८८१ सालश्रावणकृष्णसप्तम्यां तिथौ रेवतिनक्षत्र शुक्रमयोग रविवासरे श्रीजनरल भीमसेन थापाले बनायाको धरहरा शुभम्।।’ (अभिलेख संग्रह १२)

त्यो समय भीमसेन थापा शक्तिशाली थिए। राजकाजको सम्पूर्ण जिम्मा उनैमा केन्द्रित थियो। राजा राजेन्द्र वीरविक्रम शाहलाई काखमा राखी महारानी ललित त्रिपुरासुन्दरीले राज्य चलाएकी थिइन्। जहाँ उनी पनि नाममात्रको शासक थिइन्। त्रिपुरासुन्दरी भीमसेन थापाका भाइ काजी नयनसिंह थापाकी छोरी भएकाले पनि उनीहरूको सम्बन्ध राजकाजमा भीमसेनलाई बढ्न सहज हुने वातावरण बनेको थियो।

त्यसैले हुनुपर्छ तत्कालीन समयको चलनभन्दा बाहिर रहेर ‘श्रीजनरल भीमसेन थापाले बनायाको धरहरा’ भनेर भीमसेनले आफ्नोमात्र नाम उल्लेख गरे। न त राजा राजेन्द्रविक्रमको नाम उल्लेख गरे न त अरु कुनै विषय लेखे। हुन पनि लिच्छविकालदेखिकै परम्परा हेर्दा शिलालेखमा तत्कालीन राजको नाम उल्लेख गरी फलाना राजाको ‘विजयराज्ये...’ इत्यादि लेखि आफ्नो नाम, थर राख्ने अभ्यास थियो। 

त्यही कारण हुनुपर्छ दोस्रो धरहराको जन्म भयो। पहिलो धरहरा बनेको एक वर्षपछि विसं १८८२ चैतमा महारानी ललित त्रिपुरासुन्दरीदेवीले अर्को धरहरा बनाउन लगाइन्। त्यसमा लेखियो- ‘श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललितत्रिपुरसुन्दरीदेवीले यो धरहरा बनाउनुभै तयार गरी गजुर चह्राउनुभयाको हो शुभम्।’

dui dharahara.jpg
बाघदरबार र भीमसेन थापाले बनाइको दुई मीनार (धरहरा) 

त्रिपुरासुन्दरीले बनाउन लगाएको भन्ने लेखोट रहे पनि त्यसलाई भीमसेनकै धरहराको रुपमा उही समयदेखि बुझिँदै, बुझाउँदै आइयो। सत्ता सञ्चालनको केन्द्रमा उनै भीमसेन रहेकाले त्यसो भएको हुनुपर्छ। त्यो समयको इन्जिनियरिङको गजब नमूनामध्येको एक धरहराको अरु सबै विषय विस्तार हुन पाएन। त्यसैले अहिलेसम्म आइपुग्दा त्यसको निर्माण र कलापक्ष गौण भएर यत्तिमात्र थाहा भयो- ‘भीमसेन थापाले बनाएको धरहरा।’

त्यो शासकीय चमकका कारण नै भीमसेन थापाले दुईवटा धरहरा बनाउन सकेका थिए। ‘उनले १८८१ मा बनाएको पहिलो धरहराको उचाइ १२४ हात थियो। जहाँ दोस्रो, १८८२ मा बनाएको धरहराको उचाइ ९० हात थियो।’ (गौतमबज्र बज्राचार्य, हनुमान ढोका राजदरबार)

त्यही धरहरालाई त्यो समय अंग्रेजहरुले भीमसेनको अहङ्कारका रुपमा लिएका थिए भन्ने लेखाइहरू अहिलेसम्म नै भेटिन्छन्। अंग्रेजको आँखाबाट भीमसेनको धरहरा जस्तो देखिए पनि त्यो समय उनका लागि अग्लो मीनार ठूलो कीर्ति थियो नै। उपत्यकामा नदेखिएको शैलीको निर्माणले धरहरा सबैको नजरमा पर्न सकेको थियो। पछिसम्म नै पनि काठमाडौं उपत्यका आउनेका लागि धरहरा विशेष स्थान छँदै नै थियो।

भीमसेनको समयमा बनाइएका दुई धरहरामध्ये एउटालाई उपल्लो धरहरा र अर्कोलाई तल्लो धरहरा भन्ने गरिएको इतिहास अध्येताहरुले उल्लेख गरेका छन्। जहाँ ‘पहिलो धरहरा बनेको ९ वर्षपछि १८९० मा आएको भूकम्पले जिर्ण भएको थियो भने दोस्रो धरहरा १९९० को भूकम्पसम्म १०८ वर्ष उही स्थितिमा रहन सकेको पाइन्छ।’ (चित्तरञ्जन नेपाली, जनरल भीमसेन थापा र तत्कालीन नेपाल)  

Juddha-Sadak.jpg
सन् १९२४ ताका जुद्ध सडक र छेउमा देखिएको धरहरा। 

१९९० को भूकम्पपछि बाँकी रहेको धरहरा पनि जिर्ण भएको थियो। त्यसलाई जुद्धशमशेरले बार्दलीसमेत थपेर पुनर्निर्माण गरे। त्यसको वर्णनमा यस्तो लेखिएको पाइन्छ, ‘सम्बत् १८८२ चैत्र सुदी १२ रोज ४ मा श्री श्री श्रीमल्ललितत्रिपुरसुन्दरी देवीबाट बनाइबक्सेको यो धरहरा विक्रम संवत् १९९० साल माघ २ गते (माघकृष्ण ३०) सोमबारको भीषण भूकम्पले भत्की बिग्री २ तलासम्म पुरानो बाँकी भएकोमा अरू तला उठाई बनाई श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाबाट विक्रम संवत् १९९२ सालमा जीर्णोद्धार गरिबक्सिएको।। शुभम्।।’

यसरी हेर्दा भीमसेन थापाले बनाएको धरहरा १८९० को भूकम्पमा नराम्रोसँग चर्किएर जिर्ण भएको थियो। १९९० सालमा फेरि अर्को ठूलो भूकम्प गयो। त्यसमा १८८१ मा निर्मित धरहरा नामेट भयो भने १८८२ मा निर्मित धरहराको पुछारको दुई तला बाँकी बसे। त्यसैलाई जुद्धशमशेरले १९९२ सालमा पुनर्निर्माण गरेका हुन्।

२०१३ सालमा योगी नरहरिनाथले प्रकाशित गरेको ‘देवमाला वंशावली’ मा भीमसेन थापाले धरहरा बनाउनुको कारण यस्तो उल्लेख गरिएको छ, ‘श्री कमाण्डर इन चीफ जनरेल भीमसेन थापाबाट देशी अंग्रेजहरू आउँदा इज्जत खातीर र दुष्टजन लाग्दा हेर्ना निमित्त आपतकालमा पल्टनहरू जम्मा गर्ना निमित्त बिकुली लाउना के समेत ठूलो परिश्रमले मजबुतसँग जग राखी बिक्रम सम्वत् १८८२ सालमा अति उचो धरहरा बनाई तयार गरी धन्ने कहलायो।’

old dharhara.jpg
विसं १९९० को भूकम्पअघिको धरहरा।

मल्लकालमा उज्यालिएको उपत्यकामा भीमसेनको धरहराले उपत्यकाबासी धेरैको आँखा बिझाएको पनि थियो। आजसम्म पनि धेरैले धरहराको स्वरुप माटो सुहाउँदो नभएको र शासकीय अहमको बिम्ब बनेको भन्दै त्यसलाई आफ्नो सम्पदा नमान्ने आवाज निकालिरहेकै छन्। भूकम्पपछिको पुनर्निर्माणको विषय उठ्दा पनि उपत्यकाका बुढा पुरानाले धरहराका लागि बोलेका थिएनन्। 

भीमसेनको समयमा धरहरा निर्माण हुनुको कारण र त्यसको आवश्यकता इतिहासमा स्पष्ट देखिँदैन। इतिहासमा भएका घटनाका आधारमा जोडिएका फरक ब्याख्याहरू धेरै छन्। त्यसैगरी वर्तमानले पनि ओलीको अनौठो रहरबाहेक पुरानो धरहरा नामेट पारेर नयाँ टावर खडा गर्नुको औचित्य पुष्टि गर्न सक्ने देखिँदैन। 

भिडियोमा हेर्नुहोस्


प्रकाशित : बिहीबार , मंसिर २७ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend