काठमाडौं- लिच्छविकालीन नेपाली कलाको अद्वितीय नमूना भक्तपुरको चाँगुनारायण मन्दिरको फेरिएको स्वरुप देखेर सम्पदा बुझेकाहरू अहिले बेखुस छन्। झिल्के रंगका टल्किएको चाँगुनारायण ‘नसुहाउँदो सौन्दर्य’ले छोपिँदा विश्वसम्पदामाथि खेलाँची देखिएको छ।
चाँगुनारायण विकास समितिका अनुसार पुरातत्व विभागको अनुमति तथा चाँगुनारायण नगरपालिकासँग २०७९ असार २० मा सम्झौता गरी रंगरोगनको काम गरिएको हो। रंगरोगनको काम २०८० जेठमा सकिएको थियो। तर आफूहरूले सहमति दिएअनुसार काम नभएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने पक्षमा पुरातत्व विभाग रहेको छ।
सम्पदाहरूको रंगमा पोख्त मानिएका भक्तपुरका राजेन्द्र चित्रकारलगायतका कलाकारमार्फत प्राकृतिक रंगहरूको प्रयोग गरेर नै चाँगुनारायण रंग्याइएको समितिका अध्यक्ष तथा चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन्।
राजोपाध्यायले पोख्त कलाकारमार्फत काम भएको बताए पनि मन्दिरमा अनुसन्धानपूर्ण मिहीन काम भएको देखिँदैन। मन्दिर प्रांगणमा रहेका कलात्मक वस्तुहरू, विशेष प्रकारको काष्ठकला, तहतह परेको छानो, टुँडाल र तोरणको प्रयोग साथै इँटा र काठको रुचिपूर्ण संयोजन सबै नै अहिले नराम्रो झिल्के स्वरुपमा देखिएको छ।
पुरातात्विक सम्पदाका जानकारहरू भने प्राकृतिक रंग लगाएको भनिएपनि रंग्याउने काम परम्परागत स्वरुप बिगार्नेगरी भएको र चाँगुनारायणको टुँडालदेखि बाहिरी भित्तासम्म त्यसरी रंग पोतिनु यसको जीवन्त कला बिगार्ने काम भएको बताउँछन्। विश्वसम्पदा सूचीबाट हट्ने खतरा रहेको भन्दै उनीहरूले प्रश्न गरेका छन्- ‘चाँगुनारायणको मन्दिरमा रंगको आक्रमण भइरहँदा किन सबै मौन?’
सहमति दिएर अत्तो न पत्तोमा पुरातत्व
२०१८ सालमा राजा महेन्द्रको पालामा पनि चाँगुनारायण मन्दिरको रंगरोगन गरिएको र त्यही पुरानो रंग घामपानीका कारण खुइलिएर फोहोर देखिएकाले आफूहरूले पुन: पुरातत्वसँगको सहमतिमा नै रंगरोगन गरेको राजोपाध्याय बताउँछन्। तर पहिले अहिलेजस्तो टुँडालदेखि भित्तासम्म सबैतिर झिल्के रंग दलिएको थिएन। राजा महेन्द्रको पालामा रंग लगाइएको नै थियो भने पनि त्यो गल्ती पुन: दोहोरिनु गलत भएको सम्पदा जानकारहरू बताउँछन्।
रंगरोगनको काममा करिब ४५ लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ। जसमा करिब २८ लाख रुपैयाँ भक्तजनहरूबाट सहयोग संकलन भएको साथै १० लाख ८५ हजार ३ सय २० रुपैयाँ बागमती प्रदेश सरकारबाट प्राप्त भएको हो। चाँगुनारायण नगरपालिकाबाट बजेटको आश्वासन पाएको साथै प्रदेश सरकारले पनि २५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि विभिन्न लफडाबीच १० लाखमात्रै निकासा भएको राजोपाध्याय बताउँछन्।
पुरातत्व विभागसँगको अनुमतिमा नै काम भएको भए पनि टुँडालमा रंगरोगन गर्ने विषयमा मात्रै सहमति भएको तर अहिले सम्पूर्ण भागमा लगाइएको रंगका विषयमा सहमति नभएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन्। रंगरोगनको काम बिग्रिएकाले एक महिनाभित्र सुधार गर्न भनेको भए पनि सुधारको काम अहिलेसम्म नभएको विभागको भनाइ छ।
चाँगुनारायण विकास समितिका अध्यक्ष तथा चाँगुनारायण मन्दिरका मूल पुजारी राजोपाध्याय भने पुरातत्वसँगको अनुमतिमा कहाँ रंग लगाउने र कहाँ रंग नलगाउने भन्ने कुनै विषय उल्लेख नभएको र पुरातत्वका प्रतिनिधिकै रोहबरमा काम गरिएको बताउँछन्।
‘सबै काम सहमतिमा नै भएको हो। उहाँहरू बेलाबेला हेर्न पनि आउनुभएकै हो, सबै काम सकिएपछि अहिले आएर भएन भन्न मिल्छ त? नहुने काम थियो भने पहिले किन सहमति दिएको?’ उनले भने, ‘प्राकृतिक रंग बनाउँदादेखि सबै विषयमा उहाँहरूलाई जानकारी छ। सबै रेखदेख गरिरहनुभएकै थियो। नमिलेको भए बीचमा पनि परीक्षण गरेर काम रोक भन्नुपर्थ्यो।'
रंगरोगनको काम बिग्रिएको ठहर गर्दै पुरातत्वले समितिका पदाधिकारीसहित एउटा बैठक बसेर नै सुधारको काम गर्नुपर्नेमा छलफल गरेको थियो। तर त्यसयता आठ महिनासम्म पुरातत्वले त्यसविषयमा थप सोधखोज गरेको छैन। सुधारका लागि पनि काम अघि बढाएको छैन। उनीहरूले सहमति दिएको भनिएको टुँडालको रंगरोगन पनि त्यसरी गर्नू सम्पदा बिगार्ने काम भएको भन्दै आवाज उठिरहेको छ।
विकास समितिका पदाधिकारीहरू पनि भक्तजनसँग सहयोग लिएर लाखौँ खर्च गरेर गरिएको काम सुधार गर्न भनेर पुन: खर्च गर्ने अवस्था नभएको बताउँछन्। पुरातत्वका पदाधिकारीतर्फ इङ्गित गर्दै राजोपाध्याय भन्छन्, ‘उहाँहरूले गरेको काम भए जस्तो भए पनि हुन्छ, हामीले गरेको काम भएकाले अनेक बखेडा झिकिरहुनुभएको छ।'
आफूहरूको जात्रा, भजन र नाचजस्ता अमूर्त सम्पदाहरू लोप हुँदै जाँदा वास्ता नगरेको पुरातत्वले अहिले प्राकृतिक रंग प्रयोगगरी भएको सुधारको काममा प्रश्न उठाइरहेको समितिका पदाधिकारीहरू बताउँछन्। रंग नसुहाउँदो देखिएको विषयमा भने समितिका अध्यक्ष राजोपाध्याय प्राकृतिक रंग अझ राम्ररी रहोस् भनेर सल्लाको चोपलगायतका अन्य सामग्रीमार्फत बाहिरी लेपन गरिएकाले बढी टल्किएको हुनसक्ने बताउँछन्। यो रंग कम्तिमा १० वर्ष यस्तै रहने पनि उनले सुनाए।
विश्व सम्पदाको खतरासूची!
सांस्कृतिक, प्राकृतिक तथा मिश्रित सम्पदालाई तिनको विश्वव्यापी महत्त्वका आधारमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदाका रूपमा सूचीकृत गर्छ। त्यसरी सूचीकृत हुनुको महत्व वृहत छ।
संस्कृति वा प्रकृति अनुपम हुनु, पक्षराष्ट्रबाट उक्त सम्पदा संरक्षणको प्रत्याभूति गर्दै विस्तृत अभिलेखीकरण पेश गरिनु, सम्बन्धित पक्षबाट यसको मूल्याङ्कन हुनु र युनेस्कोको समितिबाट सूचीकृत हुनुजस्ता विशेषता र प्रक्रियाले विश्वसम्पदा निर्धारण गर्छ। यसरी निर्धारित सम्पदालाई कुनै पनि नाममा बिगार्ने अधिकार कसैलाई छैन।
लिच्छविकालीन परम्पराको प्रवाह र सम्पदाको जगेर्नामा त्यसपछिका समाजले पनि निरन्तर काम गरिरहेकाले चाँगुनारायणजस्तो गर्व गर्नलायक सम्पदा पुस्तौँपुस्ता रहिरहेको छ। काठमाडौं उपत्यकाका मूल्यवान सम्पदाहरू बहुजातीय समुदायका सांस्कृतिक परम्पराबाट विकसित भएर प्रतिबिम्बित भइरहेका हुन्।
सम्पदाहरूको संरक्षण गर्ने सन्दर्भमा नेपालले सन् १९७८ अगस्टमा विश्व सम्पदा महासन्धीमा हस्ताक्षर गरेको हो। यसपछि सन् १९७९ मा पशुपतिनाथ, खास्ती चैत्य (बौद्ध), स्वयम्भू महाचैत्य, पाटन दरबार, हनुमानढोका दरबार, भक्तपुर र चाँगुनारायणलाई विश्वसम्पदामा सूचीकृत गरियो।
विश्वसम्पदा सूचीसम्बन्धी निर्देशिकाको धारा ११ ले सूचीकृत सांस्कृतिक एवं प्राकृतिक सम्पदाको मौलिकता र प्रामाणिकतामा क्षति पुगेमा वा पुग्न सक्ने जोखिम देखिएमा तथा स्वरूप परिवर्तन भएमा तिनलाई खतराको सूचीमा राख्ने व्यवस्था गरेको छ। विभिन्न कारणले सम्पदाको अन्तनिर्हित विशेषताको क्षयीकरण भएमा खतराको सूचीमा राख्ने गरिन्छ।
यसअघि सन् २००३ मा विश्वसम्पदा महासंघको २७औं महासभाले उपत्यकाभित्रका सम्पदालाई खतरामा परेको सूचीमा राख्यो। यो सूचीबाट बाहिर आउन सरकारले सन् २००३ देखि २००७ को बीचमा युनेस्कोको सल्लाह र प्राविधिक सहयोगमा संरक्षणसम्बन्धी विभिन्न काम गर्यो।
पुरातत्त्व विभागले उपत्यकाका सातवटै विश्वसम्पदा क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि एकीकृत संरचना बनाएर लागू गर्यो। उक्त संरचनाले तोकेको मापदण्डअनुसार समन्वयात्मक कार्यसमिति गठन गर्यो। सातवटै विश्वसम्पदा क्षेत्रलाई केन्द्र र सन्निकट क्षेत्र गरी दुई भागमा बाँडेर संरक्षण कार्य गरिएको थियो। सम्पदा संरक्षणबारे प्रचारप्रसार, विभिन्न ऐन-नियम निर्माण, संशोधन र तिनको कार्यान्वयनको प्रतिबद्धतापछि युनेस्कोको ३१औं महासभाले काठमाडौं उपत्यकालाई विश्वसम्पदाको खतराको सूचीबाट हटायो।
सम्पदाहरू विश्व सम्पदामा रहिरहनका लागि विश्व सम्पदाको मापदण्ड उल्लंघन हुने कार्य गर्न हुँदैन। तर काठमाडौं उपत्यकालाई विश्व सम्पदाको खतराको सूचीको डर पटकपटक रहँदै आएको छ। सन् २०१५ मा भूकम्पले क्षति भएपछि पनि नेपालले सम्पदा पुनर्निर्माण नगरेको भन्दै खतराको सूचीमा राख्न प्रस्ताव भएको थियो।
सन् २०१९ मा अजरबैजानमा भएको विश्व सम्पदा समितिको ४३औँ सेसनमा पनि काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्न प्रस्ताव गरिएको थियो। तर त्यसबेला पनि नेपाल सूचीमा पर्नबाट भने जोगियो। पछिल्लो समय सम्पदा क्षेत्रमा भएका कामहरूले फेरि पनि विश्व सम्पदा समितिले काठमाडौं उपत्यकालाई खतराको सूचीमा पार्ने सम्भावना बढेको छ।
युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत हुने सम्पदाले विश्व पर्यटन बजारमा पहिचान स्थापित गरेको हुन्छ। यसमा युनेस्कोबाट प्राप्त हुने सहयोग पनि महत्वपूर्ण रहन्छ। तर फेरि पनि खतराको सूचीमा सूचीकृत भएमा त्यसबाट निसक्न काठमाडौं उपत्यकालाई मुस्किल पर्छ।
चाँगुनारायणमा खेलाँची
मूर्त-अमूर्त सम्पदाहरू धार्मिक आस्था र ऐतिहासिक सांस्कृतिक मूल्यका कारण मात्रै होइन, निर्माण शैली र परम्परागत शिल्पका कारण पनि विशिष्ट हुन्छन्। त्यसमा निहित मूर्त-अमूर्त परम्परा जोगाउन विशेष ध्यान दिनुपर्ने हुन्छ। अझ नेपाली कला, वास्तुकला र संस्कृतिको ठूलो भण्डारको रुपमा रहेको चाँगुनारायणमा खेलाँची गर्नु क्षम्य हुनु हुँदैन।
लिच्छविकालीन प्यागोडा शैलीको चाँगुनारायण इसापूर्व ३२३ मा राजा हरिदत्त वर्माले बनाएको इतिहास खोजिएका छन्। गोपालवंशावलीअनुसार चाँगुनारायणसहित प्रसिद्ध चार नारायणको स्थापना मानदेवभन्दा ९ पुस्ताअघिका राजा हरिदत्तले गरेको भेटिन्छ।
प्राचीन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायणमा लिच्छविकालकै राजा मानदेवले विस ५२१ मा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए। त्यहाँ नारायणमन्दिरको दाहिनेपट्टी कुँदिएर राखिएको अभिलेखले यो पुष्टी हुन्छ।
लिच्छविकालीन राजा अंशुवर्माले पनि विस ६६४ मा मुख्य देवताको सुनको कवच तथा गरुडको जिर्णोद्वार गराएका प्रमाणहरू भेटिएका छन्। जसमा ‘भगवान् नारायणको पहिलेको सुनको कवच र गरुड कालक्रमले जीर्ण भएको देखेर राजा अंशुवर्माले संवत् ३१ माघ शुक्ल त्रयोदशी आदित्यवार पुष्पनक्षत्रको दिन संसारको हित होस् भनी पुरानै नमूनाबमोजिम सम्पूर्ण जिर्णोद्वार गर्नुभयो’ भन्ने अर्थ लाग्नेगरी कवचको मुनी रहेको सुवर्णपत्रमा संस्कृतमा लेखिएको अभिलेख रहेको छ। (लिच्छविकालीन अभिलेख, २०३०, धनवज्र बज्राचार्य)
समय समयमा जिर्णोद्वार हुँदै आएको भए पनि चाँगुनारायणको स्वरुप बिगार्नेगरी यसअघि काम भएको थिएन। मध्यकालमा राजा शिव सिंहकी रानी गंगारानी र १८औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा पनि यसको जिर्णोद्वार भएको थियो।
भेटिएका प्रमाणहरूका आधारमा विस १५६४ मा राजा राय मल्लकी नातिनी देवकी देवीले पनि भूकम्पले भत्केको चाँगुनारायण मुख्य मन्दिरको जिर्णोद्वार गराएकी थिइन्। विस १७५१ मा ऋद्धिलक्ष्मी रानीले मन्दिरको जिर्णोद्वार गराइ सुवर्ण तोरण चढाएकी थिइन्।
आगलागी भइ बिग्रिएपछि विस १७६६ मा पनि मन्दिरलाई सुधार गरी सुवर्ण छानाले छाइएको थियो। विस १९९० को भूकम्पपछि पनि यसको केही भाग जिर्णोद्वार गरिएको थियो।
२०६६ सालमा गारो र छाना मर्मत भएको चाँगुनारायण मन्दिर २०७२ बैशाखको भूकम्पले क्षतिग्रस्त भइ जीर्णोद्धार भइसकेको छ। पछिल्लो समयमा भूकम्पपछि सुधारका काम गरेर नै यसमा रंगरोगनको काम पनि भएको हो।
चाँगुनारायण मन्दिर चातुष्कोण आकारको छ। यसको पेटी एक तलाको मात्र छ भने मन्दिर दुई तलाको रहेको छ। मन्दिरको तल्लो तलाको छाना टायलको र माथिल्लो छाना पित्तलको पाताबाट बनेका छन्। दुवै तलामा मझौला आकारका झ्याल छन्। दुवै तलामा ४० टुँडालहरू रहेका छन्। प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन्।
टुँडालका माथिल्लो तहमा रुख-लहरा, बीचमा विष्णु र शिवका अनेक स्वरूपहरु र तल्लो तहमा मानिस, पशुपक्षीका मूर्तिहरू कुँदिएका छन्। तल्लो तलामा गरुडवाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ। यो तलामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन्। प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरु बनाइएका छन्।
ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन्। ढोकाहरूको माथि धातुबाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरू कुँदिएका छन्। मन्दिरको निर्माणमा काठ र इँटको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ। धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ।
यस्तोमा यसको परम्परागत स्वरुप बिग्रनेगरी भएको काम सुधार गर्न अब सबै पक्ष एक भएर लाग्नुपर्ने सम्पदा जानकारहरू बताउँछन्। सम्पदामा नमिल्दो आधुनिक चेतको प्रयोग गरेर एकअर्कालाई दोष दिनुभन्दा पुरातत्व विभाग र चाँगुनारायण विकास समितिसहित सबै सरोकारवालाहरूले यसको सुधारका लागि काम गर्नुपर्ने उनीहरूको मत छ।
पोखरीसहित टुँडिखेल मासेर बनेको हो रंगशाला, अझै कति मास्ने सम्पदा? कुम्ह: त्वले सिकाइरहेको सम्पदा जीवन्तता आधुनिकतामाझ मौलिकताले उज्यालिएको दरबार जीवित सम्पदा शिल्प : सुनमा परापूर्व सीपको रंग इतिहास छोपिरहेको निर्लज्ज वर्तमान ६०० वर्ष पुरानो धार्मिक विहार मासेर 'कम्प्लेक्स' बनाउन चलखेल काष्ठमण्डपको पर्खाइ : नुन र तेलको एकै भाउ धरहराको ओज बोकिरहेको एउटा 'टावर' [तस्बिर कथा]