सोमबार, वैशाख १७ गते २०८१    
images
images

६०० वर्ष पुरानो धार्मिक विहार मासेर 'कम्प्लेक्स' बनाउन चलखेल

'श्रेस्ता नै कीर्ते गर्ने माफियासँग देखिन्छ गुठी संस्थानको तालमेल'

images
images
images
६०० वर्ष पुरानो धार्मिक विहार मासेर 'कम्प्लेक्स' बनाउन चलखेल

घडी घरको भुइँतलामा ५ सय वर्षभन्दा पुरानो अमिताभ बुद्धको मूर्ति रहेको छ। जसको पुरातात्विक महत्वबारे पुरातत्व विभागले अनुसन्धान नै गरिसकेको छ।

images
images

काठमाडौं- सम्पदाप्रेमी र स्थानीय बासिन्दाको निरन्तरको खबरदारीबीच पनि झण्डै ६ सय वर्ष पुरानो अशोक बृक्ष (क्वथुननी) विहार मासेर व्यापारिक कम्प्लेक्स बनाउन चलखेल भइरहेको छ। गुठी संस्थानकै समेत मिलेमतो देखिनेगरी 'घडी घर' भनेर चिनिने असन बजारको ऐतिहासिक ‘क्वथुननी धार्मिक विहार’ मासेर व्यापारिक कम्प्लेक्स बनाउन लागिएको हो। 

images
images
images

क्वथुननी विहार अर्को 'छायादेवी कम्प्लेक्स' बन्ने खतरा देखिएको भन्दै सम्पदाप्रेमीहरू निरन्तर विरोधमा छन्। ठूला झिल्के भवन समृद्धिको पहिचान ठान्ने माफियाको जालो अहिले सम्पदातिर बढेको देखिन्छ। ठमेलस्थित भगवान बहालको पूर्वतर्फ रहेको कमलपोखरी मासेर छायादेवी कम्प्लेक्स बनाउने काम विरोधका बाबजुद पनि रोकिन नसकेको यथार्थ देखिएकाले क्वथुननी धार्मिक विहारमा त्यस्तै हुने डर स्थानीयमा देखिन्छ। 

images

पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँगको करार सम्झौता बाँकी रहँदै त्यसलाई बेवास्ता गरेर गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेको छ। त्यसमा व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता भएपछि स्थानीयहरू सम्पदा बचाउ अभियानमा लागिरहेका हुन्।

images

लगातार खबरदारी गरिरहेका स्थानीयहरूले मंगलबार स्थानीय जनप्रतिनिधिलाई सत्यतथ्य जानकारी दिनुका साथै खबरदारी निरन्तर गरिरहेको भन्दै विरोधसभा गरे। 

images
images

घडी घरसँग सम्बन्धित रहेका १४ परिवारमध्येका एक सजीव बज्राचार्य 'आफूहरूसँगको करार सम्झौता हुँदाहुँदै थाहा नै नदिइ गुठी संस्थान समेतको मिलेमतोमा पुरातात्विक, धार्मिक महत्वको सम्पदा बेच्ने काम भएकोले त्यसलाई रोक्न आफूहरू निरन्तर लागिरहेको' बताउँछन्। 'हामीले यस विषयमा भनिरहेको धेरै समय भइसक्यो, हिजोमात्रै पनि गुठी संस्थानको ध्यानाकर्षण गराएर आएका हौँ। ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको सम्पदा मासेर पुस्तौँदेखि रेखदेख गरिरहेको परिवारलाई बेघर गर्दै कम्प्लेक्स बनाउने कुरा स्वीकार्य हुँदैन', उनले भने। 

ghadi ghar (2).jpg
घडी घरसँग सम्बन्धित रहेका १४ परिवारमध्येका सजीव बज्राचार्य।

नेपालको सांस्कृतिक केन्द्र असन बजार, नुनदेखि सुनसम्म पाउने थलो हो। जहाँ मल्लकालमा राजाहरूले विकास गरेको सबैभन्दा ठूलो व्यापारिक केन्द्र घडी घर अहिलेको सुपरमार्केट जस्तै ठूलो पसल थियो। नेवार समुदायको स्वामित्व रहेको उक्त घर पछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन गरेको जानकारहरू बताउँछन्।

रणबहादुरकै पालादेखि गुठी चलाउन तालुकदारहरू राखिएका थिए। तालुकदारको काम घरको रेखदेख गर्दै बसिरहेका परिवारसँग भाडा उठाउने हुन्थ्यो। सुसारेहरू त्यहीँ नै बस्थे। जसले दरबारमा कोही मरेमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजान्थे। वायु शान्तिको त्यस्तो प्रचलन त राजा वीरेन्द्रका पालासम्म नै थियो।

घडी घरको भुइँतलामा ५ सय वर्षभन्दा पुरानो अमिताभ बुद्धको मूर्ति रहेको छ। जसको पुरातात्विक महत्वबारे पुरातत्व विभागले अनुसन्धान नै गरिसकेको छ। जसले मूर्ति ६ सय वर्षभन्दा पुरानो रहेको देखिएको थियो। यसैले पनि यो घर सम्पदास्थल हो भन्ने देखिन्छ। जसलाई 'अशोक वृक्ष विहार क्वथुननी'को रुपमा आराधना गर्ने कामले त्यसको धार्मिक महत्वका साथै अमूर्त सम्पदासमेत देखिन्छ। त्यही स्थानमा नेवारहरूले पञ्चदानको अघिल्लो दिन पूजा होम गरी भोज खाने गुठी अहिलेसम्म छ।

आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा अहिले १३ वटा पसल छन्। सयौँ वर्षदेखि बस्दै आएका उनीहरूले नै अहिलेसम्म सबै रेखदेख गर्छन्। तर अहिले भने यसको धार्मिक तथा पुरातात्विक महत्वसमेत मासेर संरक्षणको जिम्मेवारी पाएको गुठी संस्थान नै व्यापारिक प्रयोजनका लागि बिक्री गर्न उद्धत देखिएको छ।

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको घडी घरको पुनर्निर्माण गर्ने भन्दै व्यापारिक कम्प्लेक्स बनाउन गुठी संस्थानले महानगरपालिकासमेतलाई मिलाएर चालेको कदम धर्म र सम्पदा मास्ने षडयन्त्र भएको असन क्वथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमी बताउँछन्। 'यसमा भइरहेको सत्यलाई बेवास्ता गरेर झुठो विवरण राखेर नक्सा पास गर्नेसम्मका काम भएका छन्। सम्पदा मासेर गर्न खोजिएको काममा हामी निरन्तर खबरदारी गरिरहने छौँ' उनले भने। 

आफ्नो ६ पुस्तादेखि नै यही घरमा बसेर संरक्षण गर्दै आएको सजीव बज्राचार्यले बताए। ‘धर्म लोप नहोस्, गुठी सञ्चालन भइरहोस् भनेर हामीले गुठी संस्थानमा बहाल बुझाउँदै आइरहेका छौँ। यसमा बाबुबाजेदेखि चलिरहेको रीतिस्थिति हामीसम्म पनि कायमै छ। तर, विरोध गरेकै यति लामो समय बितिसक्दा पनि कुनै निर्क्योल निस्केको छैन,’ उनले भने।

पहिले गुठी चलाउन रेशम विक्रम शाह, चित्र विक्रम शाह, लीला विक्रम शाह, यक्ष विक्रम शाह तालुकदार थिए। घरमा बस्नेसँग बहाल उठाएर दरबारमा मरेका मान्छेहरूको वायु शान्तिका लागि हनुमान ढोकामा पूजा लैजान उनीहरूकै नेतृत्वमा काम हुन्थ्यो। गुठी संस्थानमा तालुकदार खारेज भएपछि घरको जिम्मा लिएकाहरूले नै निरन्तर गुठी संस्थानमा बहाल बुझाउँदै आइरहेका छन्।

‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन भएपछि पनि काठमाडौं महानगरपालिका-२५ को कित्ता नम्बर १७६७ को ०-८-०-३ क्षेत्रफल रहेको जग्गामा अवस्थित घडी घरमा अहिलेसम्म रहेका १४ परिवारका पुर्खाहरूले भू-बहाल तिरेर नै बस्दै आएका थिए। जहाँ त्यही घरमा जन्मिएका सन्तानहरू अहिले घडी घर बचाउन रातदिन लागिरहेका छन्।

ghadi ghar (5).jpg
ऐतिहासिक घडी घर। जसको भित्रि भागमा अमिताभ बुद्धको मूर्ति रहेको छ।

‘बहाल तिरी घरमा बसिआएको देखिने व्यक्तिहरूको नाम कैफियत महलमा जनाइ जग्गाधनी महलमा गुठी संस्थानअन्तर्गत श्री ५ को वायु देवता गुठीको घरजग्गा भनि लेखाउन सम्बन्धित नापी शाखामा अनुरोध गर्ने’ भन्ने गुठी संस्थानको २०३५ सालको निर्णय बमोजिम नापीले गरेको कित्ताकाटमा घरमा रहेका पसलहरू सानो-सानो कित्तामा बाँडिएकाले नापीको असहजता हुँदा ‘फिल्ड बुक’ बनाएको देखिन्छ। जहाँ सन्तान दरसन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको भन्ने उल्लेख छ।

त्यसबेला नै एउटै कित्ताको उत्तरपश्चिम खण्डमा समान अवस्थामा रहेका एक जनालाई भने मोहियानी हक दिएको पाइन्छ। घडी घरका १४ परिवारलाई भने राज गुठीको जग्गामा मोहियानी हक नलाग्ने निर्णय सुनाइएको थियो। त्यसमा सर्वोच्च अदालतले पनि 'राजगुठीको जग्गामा मोहियानी हक लाग्ने ठहर हुँदैन' भनेर अन्तिम फैसला गरेको छ।

१९९० सालको भूकम्पमा घर पूर्णरुपमा क्षति हुँदा गुठीका तालुकदार समक्ष १४ परिवारले पुनर्निर्माणका लागि श्री ५ को वायु देवता गुठीका तालकुदारसँग कुरा गर्दा ‘तपाईंहरूकै सन्तानको भोगचलन रहने भएकाले पुनर्निर्माण जिम्मेवारी पनि तपाईंहरूकै हो’ भन्ने जवाफपछि आफ्ना पूर्खाले १९९३ सालमा जगदेखि नै पुनर्निर्माण गरेको सजीव बताउँछन्।

आफ्नै पुर्खाले आर्जेको थलोमा बस्दा पनि वर्षको ५० रुपैयाँदेखि बहाल तिर्न थालेका आफूहरूले अहिले वर्षको ७ लाख ८० हजार रुपैयाँ गुठीलाई बुझाउने गरेको सजीवले जानकारी दिए। अहिले भने तालुकदारले नै जग्गाधनी प्रमाणपुर्जामा साविक जग्गाधनी ‘श्री गुठी संस्थान’को नाम हटाएर ‘श्री ५ को वायु देवता गुठी’ मात्र उल्लेख भएको श्रेस्ता बनाएर विभिन्न निकायमा पेस गर्दै काम अगाडि बढाएको देखिन्छ। यसरी दर्ता श्रेस्ता नै कीर्ते गरी लागिपर्ने माफियाहरूलाई गुठी संस्थानले समेत नदेखेजस्तो गरिरहेको स्थानीय बताउँछन्। 

सम्पदा र संस्कृतिको बेवास्ता गर्दै २०७४ साल भदौमा बज्रयोगिनीका राजेन्द्र बहादुर गोर्खाली (राजु गोर्खाली)सँग गुठी संस्थानले सम्झौता गरेको छ। जसअनुसार त्यहाँ व्यापारिक कम्प्लेक्स बनाएर २५ वर्षका लागि भाडामा दिने उल्लेख छ। त्यसमा पनि ३० वर्षको सम्झौतामा तीन वर्ष निर्माण समय र दुई वर्ष सम्झौता गर्न सहयोग गर्ने तालुकदारले भाडा खाने सहमति भएको स्रोत बताउँछ। जसमा असनको केन्द्रमा रहेको भवनबाट गुठी संस्थानलाई वर्षको ८ लाख ४० हजार रुपैयाँ भाडा तिर्ने सम्झौता छ।

बज्रयोगिनीसँगको उक्त सम्झौतामा कानूनी अधिकार नै नभएका गुठी हेर्ने तालुकदारसहित भएको देखिन्छ। जसमा घरको बहाल तिर्दै रेखदेख गरिआएकालाई कुनै जानकारी नै गराइएको छैन। प्रथम पक्ष गुठी संस्थान, दोस्रो पक्ष राजु गोर्खाली र तेस्रो पक्ष वायु देवता गुठी तालुकदारका रुपमा लिला विक्रम शाह रहेर सम्झौता गरेको देखिन्छ। 

ghadi ghar (4).jpg
क्वथुननी विहारमा रहेको अमिताभ बुद्धको मूर्ति।

जब कि बहाल वृद्धि हुने समयअगावै २०७५ माघमा आफूहरू गुठी संस्थानमा गएर आफ्नो धर्म परम्परासँग जोडिएको घर भएकाले आफै पुनर्निर्माण गर्छौं भन्दा समय भएको छैन भनेर फिर्ता पठाएको सजीवको भनाइ छ। त्यसपछि बारम्बार ताकेता गर्दा पनि गुठी संस्थानले बेवास्ता गरेको उनी बताउँछन्।

व्यापारिक प्रयोजनका लागि अर्को पक्षसँग सम्झौता गर्ने र कुनै जानकारी नदिने भएपछि घरमा बसिआएकाहरूले काठमाडौं जिल्ला अदालतमा 'करारको पालना होस्' भनेर फिरादपत्र दिएका थिए। मुद्दा अदालतमा रहँदा पनि तीन दिनभित्र घर खाली गर्नु भनेर वडा कार्यालयमार्फत घरमा बसिरहेकालाई सूचनासमेत जारी भयो। घर भत्काउन डोजर लग्दा स्थानीयहरू उठेर विरोध गरे र विहार भत्कन पाएन। 

राज गुठीअन्तर्गतको छुट गुठीको जग्गालाई ‘रैकर’ भनेर उल्लेख गर्ने, खारेज भइसकेको तालुकदारमार्फत फर्जी लालपुर्जामा नक्सा पास गर्ने कामसमेत भएको प्रमाणहरू देखिएका छन्। सक्कली लालपुर्जामा ‘श्री गुठी संस्थान श्री ५ को वायु देवता गुठी असन’ उल्लेख भएकोमा फर्जी लालपुर्जामा ‘श्री ५ को वायु देवता’ मात्रै उल्लेख भएको देखिन्छ।

'गुठी संस्थान ऐन, २०३३' को दफा १९ मा 'सबै छुट गुठी राजगुठीमा परिणत भइ त्यस्तो छुट गुठीको चलअचल जायजेथा, देवमूर्ति सबैमा छुट गुठीको भइराखेको सबै अधिकार गुठी संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठीका गुठियार खान्गीदारको सबै अधिकार समाप्त हुनेछ' भन्ने व्याख्या रहे पनि तालुकदारमार्फत चलखेल हुनु घडी घरको लुकेको पक्ष हो। तीनै सरोकार नभएका तालुकदारले घर भत्काएर नयाँ घर निर्माणका लागि काठमाडौं महानगरपालिकामार्फत नक्सा पासको कामसमेत गर्नु ऐनविपरीत देखिन्छ।

घरमा बसिरहेका १४ परिवारले भू-बहाल तिरेर भोगचलन गर्न पाउने, बहाल रकम प्रत्येक ५ वर्षमा पुनरावलोकन हुने, घरको मर्मतसम्भारको दायित्व तथा जिम्मेवारीमा भोगचलन गर्नेहरूलाई प्राथमिकतामा राख्नुपर्नेजस्ता सर्तसहित २०७० फागुन ८ गते संस्थानसँग भएको सम्झौताको समेत बेवास्ता गरिएको छ। नयाँ सम्झौताका लागि विहारसँग सम्बन्धितलाई बेवास्ता गर्दै कम्प्लेक्स बनाउनेगरी व्यापारिक कम्पनीलाई जिम्मा लाइँदैछ। 

'त्यसअघि नै २०६२ जेठमा गुठी संस्थानलाई समेत जानकारी नदिइ खारेज भइसकेका तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रालिबीच भाडामा लिने-दिने सम्झौता भएको देखिन्छ। त्यस्तो सम्झौता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको साटो गुठी संस्थानसमेत त्यसैमा मिसिएर पछिल्लो समय त्रिपक्षीय सम्झौता हुनु दुखःद छ' सजीवले बताए। 

२०६२ फागुनमा नै तालकुदारले काठमाडौं महानगरपालिकाबाट छुट गुठीको जग्गालाई रैकर भनी कीर्ते लालपुर्जा पेस गरेर अस्थायी भवन निर्माण इजाजतपत्र लिएको देखिन्छ। त्यसैका विरुद्ध पनि घरमा बसिआएका १४ परिवारले भवन निर्माण स्वीकृति खारेज गर्न भन्दै मुद्दा दर्ता गरेका थिए। जसमा काठमाडौं जिल्ला अदालतको फैसलाले अधिकार नै नभएको तालुकदारलाई महानगरपालिकाले दिएको भवन निर्माण इजाजत खारेज गरिदिएको थियो।

तर, त्यसेबला पुनरावेदन अदालत ललितपुरले सन्तान/दरसन्तान बहाल तिरेसम्म बस्न पाउने भनिएको १४ परिवारको हैसियत बहालमा बस्ने मात्रै रहेकाले मुद्दा दर्ता प्रक्रिया नै गलत भएको भन्दै नक्सा पास बदर नहुने निर्णय गरिदिएको थियो। त्यसमा २०७४ फागुनमा सर्वोच्च अदालतले पनि गुठी संस्थानले कुनै आपत्ति नजनाएकोले नक्सापास बदर गर्नु नपर्ने निर्णय गरेको थियो। फर्जी विवरणका आधारमा भएको नक्सा पाससमेत सही ठहर्‍याउने गरी गलत फैसला भएको खबरदारी गरिरहेका सम्पदाप्रेमीहरू बताउँछन्। 

पछिल्लो त्रिपक्षीय सम्झौता हुँदा सर्वोच्चमा विचाराधीन मुद्दाको फैसलासमेत भएको थिएन। २०७४ भदौमा त्रिपक्षीय सम्झौता हुँदा सर्वोच्चबाट फैसला भइसकेको भनिए पनि सर्वोच्चको फैसला २०७४ फागुनमा मात्र भएको देखिन्छ। यसले पनि हतारोमा गरिएको सम्झौतामा गुठी संस्थानको गलत नियत रहेको स्पष्ट हुन्छ।

सर्वोच्च अदालतबाट नै २०६९ असोज ११ मा गुठी तैनाथी जग्गा भाडामा नदिनू भन्ने आदेश भएको देखिन्छ। यस्तै २०७३ फागुन २ गते गुठी अधिनस्थ जग्गा पनि भाडामा नदिनू भन्ने आदेश भएको छ। यिनै नजिरले पनि असनको धार्मिक विहार मासेर कम्प्लेक्स बनाउनु कानूनसम्मत देखिँदैन।

ghadi ghar (3).jpg
विहारबारे जनप्रतिनिधिहरूलाई जानकारी दिँइदै।

मंगलबार क्वथुननी बचाउ अभियानमा कांग्रेसबाट प्रदेशसभा सदस्य रहेकी हरिप्रभा खड्गीले पनि आफू सम्पदा बचाउन निरन्तर लागिरहेको हुँदा स्थानीयको साथमा सधैँ रहेको बताइन्। 'रानीपोखरीदेखि धरहरासम्म मास्ने चलखेल हुँदा निरन्तर उभिँदै आएको हो। अब पनि स्वार्थ नहुने वृहत्तर हितमा र सम्पदा बचाउने विषयमा म तपाईंहरूको साथमा छु, हामी संसदमा पनि यस विषयमा कुरा उठाउँछौँ' उनले भनिन्। 

यसअघि पनि धेरै नेता आए, बोले र गए। तर घडी घरको हबिगत अझै उस्तै छ। सम्पदाप्रेमी र स्थानीयहरू निरन्तर विरोधमा रहँदा अब महानगरको नयाँ नेतृत्वले झुठो विवरणका आधारमा भएको नक्सा पास सच्याइदेओस् भन्नेमा उनीहरू छन्। माफियाहरूले सम्पदा मास्न नसकुन् भन्नेमा आफूहरू रहेको उनीहरूले बताए। 

ghadi ghar original.jpg
साविक जग्गाधनी ‘श्री गुठी संस्थान’को नाम रहेको श्रेस्ता
ghadi ghar dublicate.jpg
साविक जग्गाधनी ‘श्री गुठी संस्थान’को नाम हटाएर ‘श्री ५ को वायु देवता’ मात्र उल्लेख भएको श्रेस्ता।
raikar.jpg
रैकर भनेर उल्लेख गरिएको।

images

प्रकाशित : मंगलबार, चैत १४ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस