आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयरमार्फत २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने

हिमालयनले ८० प्रतिशत र नेपाल पुनर्बीमाले १०० प्रतिशत हकप्रद जारी गर्दै

मंगलबार, साउन २७ २०८२
हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयरमार्फत २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने

नेपालका दुई पुनर्बीमा कम्पनीहरूले हकप्रद सेयर जारी गरी नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने तयारी गरिरहेका छन्।

काठमाडौं- नेपालका दुई पुनर्बीमा कम्पनीहरूले हकप्रद सेयर जारी गरी नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्ने तयारी गरिरहेका छन्। हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीले तोकिएको अवधिभित्र पुँजी वृद्धि गर्ने योजना अघि बढाइरहेका हुन्।

नेपाल बीमा प्राधिकरणले २०८० माघमा पुनर्बीमा कम्पनीका लागि २० अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न अनिवार्य गरेको थियो। तर पहिलो समयसीमा २०८१ माघ मसान्तसम्म पुँजी कायम नहुँदा प्राधिकरणले एक वर्ष थप गरी २०८२ माघ मसान्तसम्मको समय दिएको छ। प्राधिकरणका अनुसार कम्पनीहरूले यो अवधिभित्र पुँजी थप्ने तयारी गरिरहेका छन्।

नेपाल पुनर्बीमा कम्पनीको हाल १३ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ र सोही रकमबराबर शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। कम्पनीले २० अर्बभन्दा बढी चुक्ता पुँजी कायम गर्ने लक्ष्य राख्दै साउन १४ गते हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रक्रिया सुरु गर्नेछ। शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पुँजी २६ अर्ब रुपैयाँ हुनेछ।

अर्को पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सले भने ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ। साथै कम्पनीले अघिल्लो आर्थिक वर्षको ४.५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १० अर्ब ८६ करोड रुपैयाँ पुर्‍याइसकेको छ।

२०८० फागुन २० गते सम्पन्न हिमालयन रिइन्स्योरेन्सको वार्षिक साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको थियो। जसमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको सेयर जारी गर्ने व्यवस्था मिलाएको हो। यसरी हकप्रद सेयर निष्कासनपछि हिमालयन रिइन्स्योरेन्सको चुक्ता पुँजी १९ अर्ब १८ करोड ८० लाख रुपैयाँ पुग्ने छ। तर कम्पनीलाई अझै ८१ करोड २० लाख रुपैयाँ पुँजी थप गर्नुपर्ने अवस्था छ। कम्पनीले पहिले आईपीओ बिक्रीमा संकलित प्रिमियम रकमलाई पुँजीकरण गर्ने योजना बनाएको छ।

हिमालयन रिइन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ३ करोड कित्ता सेयर बिक्री गरेको थियो। उक्त प्रिमियम रकम ३ अर्ब १८ करोड रुपैयाँ पुगेको थियो तर यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकोले कम्पनीले आधिकारिक निर्णय लिन सकेको छैन।


प्रकाशित : मंगलबार, साउन २७ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend