काठमाडौं- अनन्तकालदेखि प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, सामाजिक स्वतन्त्रताको प्रत्याभूत गरिरहेको टुँडिखेल क्षेत्र पटक-पटक अतिक्रमण हुँदै साघुँरिएको छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका साथै विपद्को साथी टुँडिखेल खुम्चँदै जाँदा सहर निसास्सिएको छ। विभिन्न समयमा सरकारी तथा निजी अतिक्रमणका कारण साँघुरिँदै गएको टुँडिखेलको स्वतन्त्रता खोजी भइरहँदा अझै पनि खुम्च्याउने प्रयास भइरहेका छन्।
प्राकृतिक रूपमा काठमाडौंको स्वच्छ हावाको स्रोत, भूमिगत जल भण्डारको पुनर्भरणको स्रोत, महांकाल भैरव, दुई माजु, गुरु मापा जस्ता सयौँ मूर्त-अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल हो टुँडिखेल क्षेत्र।
सन् १९६७ मा नै ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको ‘अक्युपाइ टुँडिखेल’का अभियन्ताहरू बताउँछन्। अभियानमार्फत नै टुँडिखेलको स्वतन्त्रता खोजि गरिरहेको वर्षौं बितिसक्दा पुरानो अवस्थामा फर्काउनेभन्दा अझ मिच्ने काम नै बढिरहेको छ।
पछिल्लो समय टुँडिखेल क्षेत्रअन्तर्गतको खुलामञ्च अतिक्रमणको चपेटामा परिरहेको छ। खुलामञ्चलाई पहिलाको जस्तै घाँसे मैदान बनाउने हेतुसहित सुरू भएको खबरदारी अभियान खुलामञ्चमा फुटबल मैदान बनाउने काठमाडौं महानगरपालिकाको योजना बाहिरिएसँगै पुन: जुर्मुराएको छ। २०७६ कात्तिक २३ गते शनिबारदेखि सुरु भएको अभियानले निरन्तर खबरदारी गरिरहेको छ।
खुलामञ्चमा तीन तहको भूमिगत पार्किङ बनाउन डीपीआर तयार गर्ने निर्णय भएदेखि पुन: अभियन्ताहरूले विरोध गरिरहेका थिए। स्थानीय सरकारको सक्रियतासँगै अभियन्ताहरूले जनप्रतिनिधिलाई खुलामञ्चको मर्म बुझाएपछि भूमिगत पार्किङ निर्माण गर्ने प्रस्ताव कार्यान्वयन हुनबाट रोकिएको थियो। अहिले पुन: खुलामञ्च क्षेत्रमा दुईवटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको विषयको विरोध भइरहेको छ।
खेलमैदान काठमाडौंमा आवश्यकता भएपनि खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्व छ। खुलामञ्च सभासम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागि पनि महत्तवपूर्ण क्षेत्र र जीवनदायिनीसमेत हो। दुई वटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको सर्वव्यापी उपयुक्त प्रयोग नहुने अभियन्ताहरू बताउँछन्।
झट्ट हेर्दा टुँडिखेल अझै पनि खुला सार्वजनिक क्षेत्रजस्तै देखिन्छ तर सो क्षेत्र खुला सार्वजनिक क्षेत्रबाट विस्तारै सरकारी जग्गामा परिणत हुँदै गएको भन्दै ‘अक्युपाइ टुँडिखेल’का अभियन्ताले चिन्ता व्यक्त गरेका छन्।
हुन पनि सार्वजनिक जग्गा भन्नु र सरकारी जग्गा भन्नु फरक विषय हुन्। सार्वजनिक जग्गाको हकमा सरकार केवल ‘ट्रस्टी’मात्र हो र सरकारले त्यसको व्यवस्थापन मात्र गर्न सक्छ तर त्यसको मूर्त अमूर्त अस्तित्वमाथि असर पार्न सक्दैन। जुन विषय प्रतिपादित कानूनी सिद्धान्तबाट पनि देखिन्छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (क) (छ) मा नगर प्रहरीको प्रयोग गरी सार्वजनिक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण गर्नुपर्ने व्यवस्थापिकिय मनसाय रहेको देखिन्छ।
यसैले पनि फुटबल मैदानको विकल्पलाई सहजीकरण गर्न र टुँडिखेलको अभिन्न अंग रहेको खुलामञ्चमा केही निर्माण गर्नुभन्दा भिन्न तरिकाले बहुउपयोगी हुन सक्नेगरी व्यवस्थापनमा जोड दिन अभियन्ताहरूले आग्रह गरेका छन्। उनीहरूले खुलामञ्चमा दुईवटा फुटबल ग्राउण्ड बनाउने काठमाडौं महानगरपालिकाको योजना रद्द गराउनुपर्ने माग गरेका छन्।
वरिष्ठ सहरी योजना विषेशज्ञ प्रा. डा. भरत शर्मा रानीपोखरीदेखि रंगशालासम्म नै सम्पूर्ण टुँडिखेल जनताको सर्वसुलभ पहुँचमा हुनुपर्ने बताउँछन्। ‘टुँडिखेल भनेको सिंगो मुटु हो, जमलदेखि दशरथ रंगशालासम्म फैलिएको क्षेत्रमा आर्मीलगायतले बनाएको संरचना नै गलत हो। यस्तोमा चुप लागेर बस्नु हुँदैन। गलत काम सुधार गर्नुपर्छ। टुँडिखेल सरकारले बनाइदिएको होइन, नागरिकको सम्पत्ति हो’ उनले भने।
टुँडिखेल र पोखरी मासेरै बनेको हो दशरथ रंगशाला
कहाँदेखि कहाँसम्म हो टुँडिखेल? यसका ऐतिहासिक प्रमाणहरूका आधारमा रानीपोखरीदेखि दशरथ रंगशालासम्मको भाग टुँडिखेल क्षेत्रमा पर्ने देखिन्छ। यसमा अहिले केही भाग सेनाको नियन्त्रणमा छ। हेडक्वार्टर, परेड मैदान, खेल मैदान, पार्टी प्यालेसलगायतले ओगटेको क्षेत्र पनि टुँडिखेलकै भाग हो।
अहिलेको दशरथ रंगशाला रहेको ठाउँलाई उतिबेला देखे जानेकाहरू ‘सानो टुँडिखेल’ भन्थे। त्यहाँ कमलको पोखरी पनि थियो। मदन पुरस्कार पुस्तकालयमा रहेको एउटा तस्बिरमा उक्त पोखरी देख्न सकिन्छ। ‘लोटस पण्ड अफ द पेरेड ग्राउण्ड’ अर्थात् ‘टुँडिखेलको कमलपोखरी’। त्यसवरपर खेलेका पुराना खेलाडीहरूको सम्झनामा पनि त्यो मैदान अझै छ।
‘टुँडिखेल अहिलेको जस्तो सानो थिएन। रत्नपार्कमा एउटा सानो बाटो थियो। त्यसको छेउमा भक्तपुर जाने ट्रली रोकिराखेको हुन्थ्यो। त्यहाँदेखि अहिले दशरथ रंगशाला भएकोसम्म एउटै टुँडिखेल थियो। अहिलेको दशरथ रंगशाला रहेको ठाउँलाई हामी सानो टुँडिखेल भन्थ्यौं। त्यहाँ कमलको पोखरी पनि थियो’ आफूले फुटबल सुरु गर्दाका दिन सम्झँदै केही समयअघि ८२ वर्षीय पूर्वफुटबलर कोमल पाण्डेले सम्झिएका थिए।
सानो टुँडिखेलमा अहिलेको रंगशालाको आकार विस २०१३ सालमा बनेको हो। त्यसअघि पोखरीछेउको खुला चौरमा सार्वजनिक रुपमा खेलहरू खेलिन्थ्यो। रंगशालाको विकसित भनिएको स्वरुप केही २०२२ सालपछि र पूर्णरुपमा २०५५ सालपछि बन्यो।
खेलकुदकै लागि प्रयोग भइरहेको टुँडिखेलको उक्त भागमा अहिले देशको एकमात्र अन्तर्राष्ट्रिय भनिन सकिने रंगशाला छ। रंगशालामात्रै होइन खेलकुद परिषद्को भवनहरू पनि टुँडिखेलकै भागका बनेका हुन्। यस्तोमा फेरि टुँडिखेलकै भाग खुलामञ्च मासेर फुटबल खेल्ने ठाउँ नै बनाइनु अर्को अन्याय हुन जान्छ।
राणाकालमा पनि टुँडिखेलको ठूलो मुख्य भागमा जनताहरूको प्रवेश सहज थिएन। त्यसैले उनीहरू सानो टुँडिखेल भनिने अहिलेको दशरथ रंगशाला भएकै ठाउँमा फुटबल, क्रिकेटदेखि अन्य खेल खेल्थे। अहिले गणतन्त्रमा पनि टुँडिखेलको ठूलो क्षेत्र सेनाकै कब्जामा छ। जोगिएका अन्य केही भागसमेत विभिन्न नाममा मासिँदै छ।
टुँडिखेलको ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्बन्धको वृहत आयाम नबुझी यसमा अतिक्रमण भइरहनु दु:खद छ।
टुँडिखेलमा पहिले विभिन्न दिगु द्य: (कुल देवताहरू) र चैत्यहरूसमेत रहेको यसको सांस्कृतिक धार्मिक सम्बन्ध खोजेकाहरू बताउँछन्। विभिन्न समयमा त्यस्ता सम्पदाहरू स्थानान्तरण गरिएको उनीहरू बताउँछन्। हुन त अहिले पनि खुलामञ्चको पश्चिम कुनामा तलेजुसँग सम्बन्धित दुईमाजुको सानो मन्दिर र भद्रकाली महांकालको मन्दिर रहेको छ। गुरुमापासँग जोडिएको एउटा ठूलो रुख पनि टुँडिखेलमा अझै रहेकै छ।
अहिले माघी, उधौली, उभौली, ल्होसारजस्ता चाडपर्व मनाउने थलोसमेत रहेको टुँडिखेलले धार्मिक सामाजिक आस्थाका विभिन्न आयामहरूको साक्षीसमेत बनिरहेकै छ। जहाँ त्यसको महत्व नबुझे पनि या त बेवास्ता गरेर पनि हरेक प्रधानमन्त्री पुगेर भाषण गर्न भने भ्याउँछन्।
टुँडिखेलसँगै खुलामञ्चको राजनीतिक परिवर्तनका सम्बन्धहरू त धेरैमाझ ताजै छ। नागरिकले आवाज उठाउने थलोहरू सरकारले खुम्च्याउँदै गइरहँदा खुलामञ्च खुला हुनुपर्ने महत्व अझ वृहत भइरहेको छ। जहाँ नागरिक भेला हुन सकुन, आफ्ना कुरा राख्न सकुन्।
राजा महेन्द्रले विस २०१३ सालमा रानी रत्नको नामबाट रत्नपार्क निर्माण गराएसँगै दुई भागमा विभाजन भएको टुँडिखेल अझै पनि विभिन्न नाममा विभाजित बनाइरहनु नहुने यसलाई बचाउन लागिपरेका अभियन्ताहरू बताउँछन्।
कतै रत्नपार्क, कतै खुलामञ्च, सैनिक मञ्चसहित कतै सेनाको कब्जा, कतै दशरथ रंगशाला यस्तोमा खै त टुँडिखेल? शासन सत्तामा हुनेहरूको तारो बनिरहेको टुँडिखेलले आफ्नो स्वरुप यसरी गुमाइरहनु पर्ने हो त?