बिहीबार , वैशाख ६ गते २०८१    
images
images

काष्ठमण्डपको पर्खाइ : नुन र तेलको एकै भाउ

images
images
काष्ठमण्डपको पर्खाइ : नुन र तेलको एकै भाउ
पुरानो काष्ठमण्डप (बायाँ), भूकम्पपछि पुन:निर्माण भइरहेको काष्ठमण्डप (दायाँ)
images
images

काठमाडौं- मरुटोलमा मरुहिटी, मरुगणेश, मरुसत्तल। हनुमानढोका दरबार क्षेत्रमा ठडिएको सबैभन्दा पुरानो सम्पदा हो- मरुसत्तल।

images
images
images

काष्ठमण्डपका रुपमा चिनिने मरुसत्तल २०७२ बैशाखको भूकम्पपछि ध्वस्त भएको थियो। काष्ठमण्डप अहिले पुन:निर्माण सकिने अन्तिम चरणमा छ, 'काष्ठमण्डप पुनःनिर्माण समिति'मार्फत।

images

काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँमा काष्ठमण्डप पुनःनिर्माण भएको समितिका अध्यक्ष राजेशकाजी शाक्य बताउँछन्। भूकम्पपछि पुरातत्व विभागले गरेको लागत अध्ययनअनुसार काष्ठमण्डप पुन:निर्माण गर्न १९ करोड ८० लाख रुपैयाँ लाग्ने बताइएको थियो। विभागको अध्ययनभन्दा ८ करोड ३० लाख रुपैयाँ कममा नै पुन:निर्माण सकिँदै छ।

images
kathamandap (1).jpg
सिंहसत्तल नजिकबाट देखिएको काष्ठमण्डप।

रानीपोखरीको पुन:निर्माणमा देखिएको कमजोरीका कारण पनि ठेकेदारमार्फत काष्ठमण्डपको पुन:निर्माण गर्न कठीन देखिएको थियो। जिम्मेवार निकाय अघि नसर्दा भूकम्प गएको दुई वर्षपछि स्थानीय बासिन्दाले आफ्नो सम्पदा आफै बनाउने भन्दै काष्ठमण्डप पुन:निर्माण अभियान सुरु गरे।

images
images

स्थानीयसँगको छलफलपछि तत्कालीन समयमा काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालसहितले हस्ताक्षर गरेर काष्ठमण्डप पुन:निर्माणको जिम्मा २०७४ वैशाख २९ गते काष्ठमण्डप पुन:निर्माण अभियानलाई दिए।

तर स्थानीय तहको निर्वाचनमार्फत विजयी भएर आएसँगै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले अभियानमार्फत काष्ठमण्डप निर्माण गर्न नसकेको आरोप लगाउँदै महानगर आफैले निर्माण गर्ने घोषणा गरे। तर त्यसपछि पनि एक वर्षसम्म पुनःनिर्माणको काम हुन सकेन।

kathamandap (2).jpg
काष्ठमण्डपभित्र बीचमा छोपेर राखिएको गोरखनाथको मूर्ति।

२०७५ वैशाख १८ गते काठमाडौं क्षेत्र नम्बर ८ का प्रदेशसभा सदस्य राजेशकाजी शाक्यको नेतृत्वमा ५५ सदस्यीय काष्ठमण्डप पुन:निर्माण समिति गठन भएर त्यसै वर्ष कात्तिक २२ गतेदेखि पुनःनिर्माणको काम निरन्तर भयो।

काष्ठमण्डपको पुन:निर्माणको काम ढिलो हुँदा केही महत्वपूर्ण अध्ययनको अवसर भने मिल्यो। जसले केही नयाँ तथ्यहरू बाहिरिए।  बेलायतको डुह्राम विश्वविद्यालय, स्टर्लिङ विश्वविद्यालय र नेपालको पुरातत्व विभागका पुरातत्वविद्ले काष्ठमण्डपको गहिरोसँग अध्ययन गर्न पाए।

यी अहिलेका अवस्थाबारेको कुराअघि काष्ठमण्डपलाई त्यसका केही पुराना कथन र केही प्रमाणका आधारमा हेर्नुपर्ने हुन्छ।  

old kasthamandap.jpg
सन् १९५२ मा काष्ठमण्डप।

हनुमान ढोका क्षेत्र अहिले खुम्चिएजस्तो साघुँरो लाग्ने क्षेत्र होइन। ३५ चोक र पटाङ्‍गिनी भएको क्षेत्रको विशालता अहिले बाँकी बसेका १२ चोकले देखाउन सक्दैन नै। जुद्ध सडक बनेपछि छुट्टिएका हनुमान ढोका दरबार क्षेत्रको कतिपय भागहरू छुट्टिएको छुट्टियै भए।

हनुमान ढोका दरबार क्षेत्र कुनै एक राजाले बनाएको समष्टी संरचना नभएर विभिन्न राजाले समय समयमा बनाएका सम्पदाको एक रुप हो। जहाँ काष्ठमण्डप पुन: उही स्‍वरुपमा उठ्दै छ।

गद्दी बैठकको अगाडि एक समय मरुसत्तलका रुपमा परिचित काष्ठमण्डप अहिलको काठमाडौं नामसँग नजिक देखिन्छ। नेपाली वास्तुकलामा अनुपम काष्ठमण्डप उपत्यकामा राजदरबारको बीच पनि तल्लो तहसँग जोडिएको सम्पदा हो। जसमा सबैले आफ्नो भएको अनुभूति र प्रयोग गर्न पाउँथे। यसको बनोट नै सत्तलका रुपमा छ। जहाँ आगन्तुकहरू बास बस्न सक्छन्।

kathamandap (3).jpg
काठमा बुट्टा कुँदिरहेका कामदार।

मल्लकालमा भारत र तिब्बत आउजाउ गर्ने मुख्य बाटो उपत्यका नै थियो। भारतबाट ल्हासा र ल्हासाबाट भारत जाने व्यापारिक मार्गको प्रमुख स्थानको रुपमा गुलजार थियो। त्यसरी बास बस्नका लागि मरुसत्तल जस्ता पाटीहरू नै उपयुक्त बासस्थान हुन्थे। (मेडिएभल नेपाल, भाग २)  

मरुसत्तलको भुँइतलामा गोरखनाथको मूर्ति छ। जहाँ ठूला काठका चार स्तम्भ छन्। माथिल्लो तलामा जाने उस्तै सुन्दर काठका भर्‍याङ छन्।  उबेलाको यो विशाल सत्तलमा पस्न चारैतिर ढोका छन्। पूर्वतिरको मूल द्वारमा प्रस्तरका दुई सिंह स्वागतमा रहन्छन्। यस्तो अनुपम काष्ठमण्डपबारे बुढापुरानामा प्रचलित एउटा कथा छ-

काठमाडौंमा राजा लक्ष्मीनरसिंह मल्लको पालामा मछिन्द्रनाथको लगन जात्राको दिन मानिसको रुप लिएर कल्पवृक्ष जात्रा हेर्न आइरहेका थिए। एकजना गुरुले कल्पवृक्षलाई चिनेछन् र च्याप्प समातेछन्। एउटा सिंगो रुखले एउटा सत्तल बनाइदिने प्रतिज्ञा नगर्दासम्म पुजारीले कल्पवृक्षलाई छाडेनछन्। त्यसको केही दिनमा कल्पवृक्षले एउटा सालको रुख पठाइदिए। राजासँगको अनुमतिमा पुजारीले त्यही एउटा सालको काठले सिंगो मरुसत्तल बनाए। एउटै रुखको काठ हुनाले त्यसलाई काष्ठमण्डप भनियो। (गौतमवज्र बज्राचार्य, हनुमानढोका राजदरबार, २०३३)

kathamandap (4).jpg
शिरान तलामा जाने बाटो।

यज्ञमान बज्राचार्यले २०६० सालमा लेखेको 'लीलाबज्र: काष्ठमण्डप निर्माता' पुस्तकलाई आधार मान्ने हो भने काष्ठमण्डप आठौँ शताब्दीमा बनेको केही कथनहरू छन्। माथिको जनश्रुतिमा प्रख्यात कथालाई आधार मान्ने हो भने कल्पवृक्षलाई वशमा पार्ने तान्त्रिक विद्याका धुरन्धर गुरु उनै लीलाब्रज भएको मान्न सकिन्छ।  

तर लोकमा चलेको यो कथाका आधारहरूमाथि प्रश्न पनि उठ्ने गरेका छन्। कथामा भएका राजा लक्ष्मीनरसिंह १७औँ शताब्दीको उत्तरार्धका हुन्। जब कि उनीभन्दा झण्डै पाँच शताब्दीअघि नै सहरको नाम काष्ठमण्डप भनेर रहिसकेको थियो। (इतिहास-संशोधनको प्रमाणप्रमेय)

काष्ठमण्डपभित्र पाइएको ताम्रपत्र पनि विक्रमको १४औँ शताब्दीको सम्म पाइएको थियो। कुराहरू धेरै आइरहे पनि काष्ठमण्डप यही समयमा यही व्यक्तिमार्फत बनेको हो भन्ने यकीन प्रमाण इतिहास अन्वेषकहरूले पाएका छैनन्।

kathamandap (5).jpg
दोस्रो तलामा जाने भर्‍याङ।

भूकम्पपछि नामेट भएको काष्ठमण्डपमा केही पुरातात्विक खोज पनि भए। जसमा त्यहाँ तल्लो जगको भित्री भागमा रहेको नौवटा मण्डप सातौँ शताब्दीमा नै बनेको प्रमाण भेटिए। त्यहाँ नै काठका थामहरूको अध्ययन गर्दा एउटा काठ पाँचौँ शताब्दीको भएकोसम्म खुल्यो। यसरी पाँचौँ शताब्दीदेखि ११औँ शताब्दीसम्मका प्रमाणहरू हेर्दा अहिले इतिहास अन्वेषकहरू काष्ठमण्डपको देखिआएको स्वरुप एउटै समयमा एउटै व्यक्तिमार्फत निर्माण नभइ फरक-फरक समयको समष्टी निर्माणका रुपमा लिन्छन्।

लिच्छवी राजाहरूको समयमा काठमाडौं सहर दक्षिणकोलिग्राम र कोलिग्राम गरी दुई भागमा विभाजित थियो। लिच्छविहरूको समयपछि काठमाडौंको दक्षिण भागलाई यङ्गल र उत्तरी भागलाई यम्बु भन्ने चलन थियो। त्यसबेलाको मरुसत्तल यङ्‍गलभित्र पर्दथ्यो। त्यहाँ भेटिएको ताम्रपत्रमा सत्तलको नाम 'यंग्रमण्डो' अर्थाल यङ्‍गलको मण्डप भनेर उल्लेख थियो। (इतिहास-संशोधनको प्रमाणप्रमेय)

सत्तल पाटी आदि सार्वजनिक प्रयोगका लागि भवन बनाइँदा सँगै एउटा धारा बनाउनु अनिवार्य जस्तै थियो। हुने सक्नेले सत्तलनजिक गहिरो गरेर ढुंगेधारा नै बनाउँथे। नसक्नेले पनि कुवा बनाएर पानी प्रयोग गर्न मिल्ने ढुंगे टुटेधारा हाल्ने चलन थियो।

त्यसको उद्देश्य पाटीमा बस्न आउने आगन्तुकले पानीका लागि दु:ख पाउनु नपरोस् भन्ने थियो। यसैले मरुसत्तलको पश्मितिर रहेको मरुहिटीको सम्बन्ध सत्तलसँग जोडेर हेरिन्छ।

kathamandap (6).jpg
काष्ठमण्डपभित्र एक कुनामा रहेको गणेशको मूर्ति।

निर्माण नै सार्वजनिक भवनका रुपमा रहेको काष्ठमण्डप सधैँ जनतासँग भने रहेन। विभिन्न समय राजकाजसँग नजिक रहेकाले त्यसको प्रयोग गरिरहे। अहिले आइपुग्दा पनि त्यसमा जनभावनाको कदर हुन मुस्किल भइरहेकै छ।

सार्वजनिक भवनको रुपमा निर्माण भएको काष्ठमण्डप मल्लकालमै केही योगीहरूको अखडाको रुपमा मात्रै विकास भयो। प्रत्येक वर्ष गोसाइँकुण्डमा मेला भर्न जाने योगीहरू त्यहाँबाट फर्केर काष्ठमण्डपमा नै चक्रपूरा गरेर भोज खाने गर्थे। काष्ठमण्डपमा गोरखनाथको मूर्ती पनि त्यहीसँग जोडेर हेरिन्छ। (योगी नरहरिनाथ, 'काष्ठमण्डप' संस्कृत सन्देश, २०१०)  

काष्ठमण्डपमा पहिलेको अवस्थाबाट त्यहाँभित्र रहेका मूर्तिहरु भने फेरिएका छन्। गोरखनाथसहित गणेशका पाँच पुराना मूर्तिको ठाउँमा नयाँ मूर्ति राखिएका छन्। भूकम्पपछि ती मूर्ति अहिले हनुमानढोका दरबार संग्रहालयमा राखिएका छन्।

'पुरानै मूर्तिलाई सुधार गरेर राख्न नसकिने भन्ने त थिएन तर धार्मिक मान्यतामा टुटेको मूर्तिलाई पूजा गर्न हुँदैन भन्ने विश्वासका कारण नयाँ मूर्ति बनाइएको हो', मूर्ति प्रतिस्थापन गरिएको बारे काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले प्रष्ट्याए।

kathamandap (7).jpg
मूलद्वारमा रहेको सिंहको मूर्ति।

काठैकाठको काष्ठमण्डपमा अहिले पुन:निर्माण गर्दा पहिले भनिएजस्तो एउटै रुखको काठ सम्भव नभए पनि बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ सङ्कलन गरेर ल्याइ पुनःनिर्माण सम्पन्न भएको समितिको भनाइ छ। त्‍यसमा भूकम्पअघि काष्ठमण्डपमा रहेका दुई काठको पुन: प्रयोग पनि गरिएको छ। जसमा एउटा १६ सय वर्ष पुरानो हो भने अर्को एक हजार वर्ष पुरानो काठ हो।

१९९० सालको भूकम्पले असर नगरेको काष्ठमण्डपको मर्मतमा ध्यान नदिँदा नै २०७२ को भूकम्पमा भने भत्कियो। अब पुरानो गल्ती नदोहोरियोस् भनेर समितिले पुन:निर्माण गरिनुपर्ने समयसमेत तोक्नेछ। जुन काष्ठमण्डप उद्घाटनका बेला सार्वजनिक गरिने छ।

काष्ठमण्डपमा पहिलेबाट चलिआएका कथाहरूमा अहिलेको पुन:निर्माणका एकदुई कथाहरू जोडिने नै छन्। कसरी स्थानीयले आफ्नो सम्पदामा चासो दिएर उही स्वरूप फर्काउन सके भन्ने कथा त्यसमा छुट्ने छैन नै। नामेट सम्पदाको पुनर्जीवनको कथा पछाडिका पुस्तामा पक्कै चाख हुनेछ। 

kathamandap (8).jpg
काष्ठमण्डपको छाना।

जनश्रुतिअनुसार पहिले पनि काष्ठमण्डपको निर्माण सम्पन्न भइसकेपछि गरिनुपर्ने प्रतिष्ठा पूजा भएको छैन। भनिन्छ, 'जहिले नुन र तेल एउटै भाउमा बेचिन्छ, त्यसैबेला मात्र यस मण्डपको प्रतिष्ठा हुन्छ' भन्ने आहान छ। यसलाई तान्त्रिक लीलाब्रज या अरू कोही एक मच्छिन्द्रनाथका पुजारीको उस्तै कथासँग जोडेर हेर्नेहरू तीनै गुरुले कल्पवृक्षलाई सधैँ राखिरहनका लागि नुन र तेलको भाउ एकै हुने समयमा मुक्ति दिने भनि सर्त राखेको पनि बताउँछन्।

अब पुन:निर्माण सकिँदा पूजा हुने नै छ। त्यसपछि पनि हनुमानढोका दरबार क्षेत्रमा बाँकी बसेका ९१ वटा सम्पदामा आफ्नो भिन्न कथा बोकेर काष्ठमण्डप जुगौँ जाने नै छ।

अब भने उसैगरी नुन र तेलको एकै भाउ पर्खिइने छैन। भूकम्पपछि पनि काष्ठमण्डपको कुनै कुनामा कल्पवृक्ष बसिरहेका भए अहिले त उनले पनि बुझिसके होलान्- आकाश छुन लागेको तेलको भाउसँग नुनको भाउ कहिले पो मिलोस्!

images

प्रकाशित : शनिबार, मंसिर ११ २०७८०६:३२
  • सम्बन्धित विषय:

  • # सम्पदा
  • # पुनर्निर्माण
  • # काष्ठमण्डप
  • # मरुसत्तल


  • प्रतिक्रिया दिनुहोस