काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ बैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्यांक संकलन गरेको थियो।
'कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार' मूल नाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ संघीयतापछिको पहिलो कृषिगणना हो। बैज्ञानिक विधिबाट तीन लाख ३० हजार एक सय १२ कृषक परिवारहरू छनौट गरी प्रश्नावलीमार्फत कृषि तथा पशुपक्षीसम्बन्धी विस्तृत विवरण संकलन भएको कार्यालयले जनाएको छ।
कृषिगणनामा मूलतः संरचनागत तथ्यांक जस्तै स्थायी र अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल, कित्ता संख्या, जग्गाको उपभोग (स्वामित्व) एवं उपयोग, सिँचाइको अवस्था, कृषि औजार र सामाग्रीको प्रयोग, उमेर र जातअनुसार विभिन्न पशुपक्षीको संख्या, गैरआवासीय भवनको प्रयोग, कृषि कामदारसम्बन्धी विवरण, माछापालन, च्याउखेती, मौरीपालन, पुष्पखेतीजस्ता सहायक कृषि क्रियाकलापसम्बन्धी विवरणलाई समेटिएको कार्यालयले जनाएको छ।
कृषि गणना २०७८ का मुख्य चित्र
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ।
अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो। २०७८ को गणनाले कृषक परिवार र क्षेत्रफल दुबै बढेको हो। कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो।
कृषिगणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखाएको छ। अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४ सय १७ र ३.२ रहेको देखाएको थियो कृषि गणना २०७८ मा उल्लेख छ।
कृषिगणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ। यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ। तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो। यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो। कृषि गणना २०७८ अनुसार महिना सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ७९ हजार ५ सय ७० हेक्टर (७२.७ प्रतिशत) रहेको छ।
सबैभन्दा बढी क्षेत्रफल खाद्यान्न बालीमा
कृषि गणना २०७८ मा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको छ। कुल २५ लाख ८६ हजार १ सय ८३ हेक्टरमा खाद्यान्न बाली लगाइएको छ। अन्य बालीहरूमा क्रमशः कोसे/दाल बाली १ लाख ९९ हजार हेक्टर, तेल बाली १ लाख ८० हजार हेक्टर, तरकारी बाली १ लाख ७ हजार हेक्टर, कन्दमुल बाली १ लाख ४ हजार हेक्टर, मसला बाली ५६ हजार हेक्टर र नगदे बाली ४४ हजार हेक्टर क्षेत्रफलमा लगाइएको छ।
कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार हेक्टर, मकैको क्षेत्रफल ५ लाख ५९ हजार हेक्टर र गहुँको क्षेत्रफल ६ लाख ५४ हेक्टरमा रहेको छ।
कृषिगणना २०७८ अनुसार बाली सघनता दर १.९१ देखिएको छ। यो सूचकले नेपालमा कृषकहरूले वर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ। गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो।
स्थायी बालीमा बगैँचाको रुपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७ सय ८१.७ हेक्टर, केराको क्षेत्रफल ७ लाख ८ सय ९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ लाख ५ सय ४५. ३ हेक्टर, कागतीको क्षेत्रफल २ लाख ८ सय ६.९ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८०.२ हेक्टर हुन आएको देखिएको छ। यी सबै फलफूल बालीहरूको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको कार्यालयले जनाएको छ।
पशुपालन गर्ने कृषक परिवारको संख्या बढ्यो
नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार ८ सय ५७ बाट बढेर ३४ लाख ५ हजार १४ पुगेको छ। कृषि गणनाअनुसार राँगाभैँसीको संख्या करिब २९ लाख पुगेका छ भने गाईगोरुको संख्या करिब ४६ लाख, बाखा/खसी/बोका/च्याङ्ग्राको संख्या करिब १ करोड ४२ लाख, सँगुर/वंगुर /बदेलको संख्या करिब १४ लाख, कुखुराको संख्या करिब ४ करोड ५१ लाख हुन आएको देखिन्छ। यो गणनाले उन्नत गाई र भैंसीको संख्यामा उल्लेखीय वृद्धि भएको देखाएको छ।
कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ।
कृषि गणना अनुसार ४ लाख ७१ हजार २ सय ६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १ लाख १७ हजार ९ सय ९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ। यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८ लाख ५६ हजार २ सय ८३ बाट ५ लाख ९ हजार ८ सय २५ वटा हुन पुगेको देखिएको गणनामा उल्लेख छ।
कृषिगणना २०७८ ले ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। यसरी माछापालन गरिएका पोखरीहरूको कूल क्षेत्रफल १० हजार ३ सय ८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको छ। अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७ हजार १ सय ९१, पोखरीको संख्या २१ हजार २ सय ७७ र पोखरीको जम्मा क्षेत्रफल २ हजार ५ सय १९.७ हेक्टर देखाएको थियो। गणना अनुसार १७ हजार ५ सय ५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ।
गणनाको प्राप्त नतिजाअनुसार १ लाख ९६ हजार ८ सय ५४ कृषक परिवारले ५ लाख १० हजार ४ सय १४ वटा घारमा मौरीपालन गरेको पाइएको छ। अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १ लाख २४ हजार १ सय ५० रहेको थियो।
गणनाको प्राप्त नतिजा अनुसार १० हजार ३ सय ७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती/नर्सरीखेती गरेको देखाएको छ। कृषिगणना २०७८ अनुसार ४ लाख ८३ हजार २ सय ८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरू ८ लाख ३५ हजार ९ सय २१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो।
कृषिगणना २०७८ अनुसार १ लाख ८२ हजार ४ सय ४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९ सय ६२ (८४.४ प्रतिशत) कृषकका लागि बीमा गरेको बताएका छन्।
गणना अनुसार ३ लाख ८ हजार ५ सय १२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी १ लाख ४२ हजार ५ सय ७६ (४६.२ प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्।
कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ।
गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो।
गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए। कृषिगणना २०७८ अनुसार अधिकांश (८८प्रतिशत) कृषक परिवारको मुख्य कृषि उत्पादन/क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः तरकारी बाली (६प्रतिशत) र पशुपालन (३ प्रतिशत) रहेको देखिन्छ।
यसैगरी कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत, सबै विक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्यत घरायसी उपभोग र केहि बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको देखिएको छ।
जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यस्तो प्रतिशत १६ थियो।
बाँझो जग्गा दोबर बढ्यो १० वर्षमा तीन प्रतिशत जग्गामा मात्रै थपियो सिँचाइ सुविधा, मधेश प्रदेशमा सबैभन्दा बढी
आलु खेती गर्ने कृषकको संख्या बढ्दो, क्षेत्रफल भने घट्दो वर्षभर खान नपुग्ने कृषकको संख्या ५५ प्रतिशत, जसमा ६० प्रतिशतले ज्याला मजदूरी गरेर गुजारा चलाउँदै तरकारी खेती गरिने जग्गाको क्षेत्रफल बढ्दो, मकै खेती गरिने जग्गा घट्दो ४० प्रतिशत किसानसँग ट्याक्टर, उन्नत जातको बीउमाथिको पहुँचमा भएन सुधार किसानले महसुस गर्न थाले जलवायु परिवर्तनको असर : जग्गामा क्षति, उत्पादन घट्यो