मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बालेन सरकारका प्रवक्ता नै चढ्छन् चिनियाँ सिम कार्डसहितको बीवाईडी, नेतादेखि उच्च पदस्थको डेटा सिधै चीनमा

डेटा चोरी भएको भन्दै विभिन्न देशमा प्रतिबन्ध लाग्दा नेपालमा मौन

बुधबार, वैशाख १६ २०८३
बालेन सरकारका प्रवक्ता नै चढ्छन् चिनियाँ सिम कार्डसहितको बीवाईडी, नेतादेखि उच्च पदस्थको डेटा सिधै चीनमा

कार आयात गर्ने कम्पनीले सिम कार्ड आयात गर्नै पाउँदैन, त्यसमाथि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड बिक्री गर्नु गैरकानूनी हो। विदेशी मुद्रा अपचलनदेखि गोपनीयता ऐनसम्म ठाडै उल्लंघन भएको छ।

काठमाडौं- कार बिक्री गर्ने कम्पनीले खुलेआम चिनियाँ कम्पनीको सक्रिय सिम कार्ड ल्याएर बिक्री गरिरहेको छ। सरकारका मन्त्रीदेखि उच्चपदस्थ र सुरक्षा अधिकारीहरूले समेत निर्वाध उक्त सिमसहितको कार चढिरहेका छन्। त्यसले उनीहरूको डेटा सिधै चीन पुगिरहेको छ।

सार्वभौम देशमा खुलेआम विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आयात हुनु अनौठो हो। त्यसमाथि सरकारका मन्त्रीदेखि सचिवलगायत कर्मचारीसम्म त्यस्ता सिम कार्ड भएका कार चढ्नु गम्भीर विषय हो। महिनौँसम्म हजारौँ सिम कार्ड आयात गरेर बिक्री भइरहँदा सरकारले कुनै कदम नचाल्नु अर्को आश्चर्य हो।

तत्कालीन केपी ओली सरकारले संरक्षण गरेको अवैध सिम कार्ड आयातको विषयमा नयाँ सरकार आइसक्दा पनि अनुसन्धान सुरु भएको छैन।

कार आयात गर्ने कम्पनीले सिम कार्ड आयात गर्नै पाउँदैन, त्यसमाथि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड बिक्री गर्नु गैरकानूनी हो। विदेशी मुद्रा अपचलनदेखि गोपनीयता ऐनसम्म ठाडै उल्लंघन भएको छ। 

सुशासनको नारासहित चुनाव जितेर प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन) सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोख्रेलले पनि चिनियाँ सिम कार्ड भएको बीवाईडीको डलफिन गाडी चढ्दै आएका छन्।

उनले चढ्ने गाडीमा चिनियाँ टेलिकम कम्पनी ‘चाइना मोबाइल हङकङ लिमिटेड’ सिम कार्ड प्रयोग भएको छ, जसबाट गाडी चढ्दा त्यसभित्रका सबै गतिविधिको डेटा सिधै चीन पुग्ने गरेको छ।

सिम कार्ड भएका बीवाईडीका गाडी उच्चपदस्थदेखि हजारौँ नेपाली नागरिकको डेटा सिधै चीन गइरहँदा दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाली सेना, भन्सार विभाग तथा विदेशी मुद्राको सटही सुवधा दुरुपयोग हुँदा नेपाल राष्ट्र बैंकसम्म मौन छन्। 

साइमेक्स इंकले सिम कार्ड राख्ने डिभाइसको आयात अनुमति लिएर गैरकानूनीरूपमा सिमकार्ड नै आयात गरेको हो। जीएसएम-डिभाइस आयातको स्वीकृति पनि बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेडले लिएको थियो। यसरी उपकरणको अनुमति लिएर विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर साइमेक्सले नेपाली उपभोक्ताको डेटा र लाखौँ डलरबराबरको विदेशी मुद्रा ‘चीन निर्यात’ गरिरहेको छ। 

दूरसञ्चार ऐन २०५३ अनुसार कुनै पनि विदेशी वा अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाप्रदायकले नेपालमा सेवा दिँदा नियामकबाट अनुमति लिनुपर्नेदेखि नेपालमै सर्भर राख्नुपर्ने व्यवस्था गरेको छ। कानूनले सिम कार्ड र ई-सिम कार्डलाई एकैरूपमा हेरेको छ। साइमेक्स इंकले त चाइना मोबाइल हङकङको एक्टिभ सिम कार्ड नै आयात गरेर बिक्री गरिरहेको छ। 

वैयक्तिक गोपनियतासम्बन्धी ऐनले नेपाली नागरिकको गोपनियता सुरक्षाको ग्यारेन्टी गरेको छ। साइमेक्सले नेपाली नागरिकले प्रयोग गरेका बीवाईडीका गाडीको डेटा सिधै चीन पुग्दा वैयक्तिक गोपनियतासम्बन्धी ऐनको उल्लंघन भएको छ।

यसका साथै साइमेक्सले चीनबाट सिम कार्ड आयात गरेर बिक्री गर्दा दूरसञ्चार ऐनका अन्य प्रावधान तथा रेडियो ऐन २०१४ ले तोकेको व्यवस्थासमेत लत्याइएको छ। 

नेपाली बजारमा हालसम्म बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेका छन्। सुरुवाती समयमा आयात भएका गाडीमा पनि सिम कार्ड रहेकोमा पछिल्लोपटक आयात भएका बीवाईडीका विद्युतीय गाडीमा पनि सिम कार्ड आयात भएको पाइएको छ। बीचको केही समय सिम कार्ड आयात हुन नसकेकाले साइमेक्सले चीनबाट कम्तिमा पनि ५ हजारवटा भन्दा बढी चिनियाँ सिम कार्ड आयात गरेर बिक्री गरेको देखिन्छ। 

पोल्यान्ड र इजरायलको सेनाद्वारा बीवाईडी गाडी प्रतिबन्ध, नेपालका सुरक्षा निकाय मौन

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले डेटा चोरी गरेको युरोपेली देश पोल्यान्डको सेनाले ठहर गरेर प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ। बीवाईडीका गाडी राम्रा भए पनि नियत भने ठीक नदेखिएकाले पोल्यान्डको सेनाले बीवाईडीका गाडीमार्फत चीनले डेटा चोरी गरेको र त्यसबाट सुरक्षा चुनौती बढेको भन्दै उक्त कम्पनीको गाडी प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

इजरायली रक्षा मन्त्रालयलले पनि बीवाईडीका गाडी प्रयोगमा रोक लगाएको थियो। २०२५ को अक्टोबरमा इजरायली रक्षा मन्त्रालयले बीवाईडीका गाडीमार्फत चीनले डेटा चोरी गरेको ठहर गरेको थियो। त्यसलगत्तै इजरायली सेनाले बीवाईडीका गाडी प्रयोगमा प्रतिबन्ध लगाएको थियो। 

विद्युतीय सवारीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बीवाईडीले साना र कमजोर मुलुकमा सवारी निर्यात गर्दा केही घृणित काम गरिरहेको पाइएकोमा अब ठूला तथा शक्तिशाली देशमा पनि डेटा चोरीको नियत राखेको निष्कर्ष युरोपेली देशले निकालेको हो।

बीवाईडीले चीनमा उत्पादित विद्युतीय कार निर्यात गर्दा त्यसमा चीनकै टेलिकम कम्पनीको सिम कार्ड राख्ने गरेको पाइएको छ। सिम कार्ड नराखेका गाडीमा जुन देशको सिम कार्ड राखेपनि टेलिमेटिक बक्समा कनेक्सन हुनेबित्तिकै त्यसबाट चीनमा डेटा जाने गरेको पत्ता लागेपछि पोल्यान्डको सेनाले बीवाईडीका गाडी प्रयोगमा रोक लगाएको थियो। 

‘आधुनिक चिनियाँ गाडीमा बृहतरूपमा डेटा संकलनका लागि विद्युतीय उपकरण जडान गरिएको पाइएको छ। यसरी राखिएका उपकरणले गाडीभित्रको मात्र नभइ वरिपरिको समेत डेटा संकलन गर्ने देखिएको हो,’ पोल्यान्डको सेनाले प्रतिबन्धको निर्णय गर्दै भनेको थियो, ‘बीवाईडीका गाडीहरूले फोटो, भिडियो, आवाज तथा गाडी भएको स्थान वरिपरिको सबै डेटा चीन पठाउने रहेछ।’ 

बीवाईडीका गाडीले संकलन गरेर चीन पठाउने उक्त डेटा आवश्यक पर्दा वा नियमित रूपमा गुप्तचरी/जासुसीका लागि प्रयोग गर्ने ठहर पोल्यान्डले ती कम्पनीका गाडी सेनाको पार्किङमा समेत राख्न दिँदैन। 

बीवाईडीका गाडीमार्फत डेटा चोरी गरेको पाइएपछि इजरायलको रक्षा मन्त्रालयले बीवाईडीका कार प्रयोग नगर्न निर्देशन दिएको थियो। बीवाईडीले इजरायल पठाएका गाडीमा ‘इन बिउल्ड’ सिम कार्ड राखेर पठाएको र त्यसबाट आफ्ना देशका नागरिकको प्रत्यक्ष डेटा जस्तैः लाइभ लोकेसन, अडियो तथा भिडियोलगायत सिधै चीन गइरहेको निष्कर्ष इजरायलको रक्षा मन्त्रालयको थियो। यसले नागरिक र सुरक्षा निकायका अधिकारिकहरूको डेटा चीन गइरहेकाले बीवाईडीका गाडी प्रयोग नगर्न रक्षा मन्त्रालयले भनेको थियो। 

नेपालमा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायत महत्त्वपूर्ण सुरक्षा निकायका अधिकारीहरूले बीवाईडीका कार निर्वाध चढ्दै आएका छन्। यसबारेमा नेपाली सेनाको मिलिट्री इन्टेलिजेन्सी विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान तथा इन्टेलिजेन्सलगायतले यो विषय थाहा पाएरै मौन बसेका हुन् वा उनीहरू गुमराहमै रहेर यसबारेमा एक्सन लिन नसकेका हुन् यकिन छैन।

अवैध सिम कार्ड आयातको अस्वाभाविक मूल्य 

साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ।

साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमयदर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा करसहित ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ।

सिम कार्डमा सरकारले भन्सार नलाग्ने व्यवस्था गरेको छ। साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको छ।

सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।

नेपाल टेलिकम र एनसेलको डेटा व्यापार खोसिएर बीवाईडीमार्फत गयो चाइना मोबाइलमा नेपाल टेलिकम र एनसेलको डेटा व्यापार खोसिएर बीवाईडीमार्फत गयो चाइना मोबाइलमा

अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन? अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन?

साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन,  प्राधिकरण भने मौन साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन, प्राधिकरण भने मौन

अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’ अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’

बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन

उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा? उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता? बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : बुधबार, वैशाख १६ २०८३१७:२४
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend