शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन?

बिहीबार , पुस १७ २०८२
अवैध सिम कार्ड आयात गरेको बीवाईडी बिक्रेता साइमेक्सद्वारा नै स्वीकार : दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र राष्ट्र बैंक किन मौन?

सिम कार्डको अवैध आयात रोकेको साइमेक्सले अनुसन्धान निकायहरुलाई कुटनीतिक दबाब दिएर यसअघि आयात गरेको सिम कार्डको अनुसन्धान नगर्ने वातावरण बनाउन लागिपरेको छ।

काठमाडौं- बीवाईडी आयातकर्ता साइमेक्स इंकले अवैधरुपमा सिम कार्ड आयात गरेको स्वीकार गरेको छ। साइमेक्स इंकले चीनबाट अवैध रुपमा सक्रिय सिम कार्ड आयात गरेको तथ्यसहित बिजनेस न्युजले गएको असार १० गते समाचार प्रकाशित गरेको थियो। त्यसयता लगातार सिम कार्ड आयात गर्दै आएको साइमेक्स इंकले गएको अक्टोबरदेखि भने सिम कार्ड आयात गर्न छाडेको छ। 

साइकेक्स इंकले अवैध रुपमा सिम आयात गरेको र अनुृसन्धान निकायले चासो दिएपछि प्रज्ञापनपत्रमा 'सिम कार्ड' खुलाएर ल्याउन बन्द गरेको हो। सिम कार्डको अवैध आयात रोकेको साइमेक्सले अनुसन्धान निकायहरुलाई कुटनीतिक दबाब दिएर यसअघि आयात गरेको सिम कार्डको अनुसन्धान नगर्ने वातावरण बनाउन लागिपरेको छ। 

साइमेक्सले सिम कार्ड ल्याउँदा भन्सार नियम, दूरसञ्चार कानून तथा विदेशी मुद्रा सटही कानून उल्लंघन गरेको प्रष्ट छ। गाडी आयात गर्ने कम्पनीले सिम कार्ड आयात गर्न पाउँदैन। दूरसञ्चार प्राधिकरणबाट साइमेक्स इंकले कुनै पनि किसिमको उपकरण तथा सिम कार्ड आयातको अनुमति लिएको छैन। तेस्रो पक्षले दूरसञ्चार प्राधिकरणसँग जीएसएम डिभाइको टाइप अप्रुभल देखाएर साइमेक्सले सिम कार्ड आयात गरेको हो। 

आयात गर्ने कम्पनीले नै सिम कार्डको अवैध आयात स्वीकार गरिसक्दा नियामक निकायहरुले राम्रोसँग अनुसन्धान नगर्नुले गम्भीर आशंका उत्पन्न भएको छ। साइमेक्सको अवैध सिम कार्ड आयातमा पहिलो र प्रत्यक्ष सरोकार राख्ने दूरसञ्चार प्राधिकरणको भूमिका अझै बढी शंकास्पद देखिएको छ। 

सवारीसाधन आयात गर्ने कम्पनीले सिम कार्ड आयात गर्दा नै भन्सारको ध्यान आकर्षित हुनुपर्ने हो तर साइमेक्स इंकले भन्सार प्रणालीलाई नै चुनौती दिएर बिनाअनुमति सिम कार्ड आयात गर्दा भन्सार कार्यालय रसुवाले आँखा चिम्लिएर जाँचपास गरिदिएको थियो। साइमेक्सले हजारौँको संख्यामा सिम कार्ड आयात गरेको तथ्य फेला परिसक्दा बल्ल भन्सारले चासो देखाएको छ। 

दूरसञ्चार सेवाप्रयादक कम्पनीले मात्र सिम कार्ड ल्याउन पाउने स्पष्ट कानूनी व्यवस्था रहेको छ तर सवारीसाधन बिक्री गर्ने कम्पनी साइमेक्स इंकले पनि सिम कार्ड आयात गरेको तथ्य देखिन्छ। भन्सारको कागजातअनुसार साइमेक्स इंकले अहिलेसम्म हजारौँको संख्यामा सिम कार्ड आयात गरिसकेको छ। 

साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको बीवाईडी (एचके) लिमिटेडले २०२५ अप्रिल २९ मा साइमेक्स इंक प्रालिका नाममा काटेको बिलबिजकमा उल्लेख छ। नेपालमा हालसम्म आयात भएको कुनैपनि सिम कार्डको मूल्य यति धेरै रहेको पाइएको छैन। सामान्यतया सिम कार्डको आयात मूल्य (करसमेत) औषतमा ६० देखि ६२ रुपैयाँ हुने गरेको भन्सारको तथ्यांक छ। 

साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापनपत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको थियो। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको देखिन्छ।

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात गरेको हो। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको हो। 

भन्सार कार्यालय रसुवाले साइमेक्स इंकले नेपाल दूरसञ्चार प्राधिकरण र दूरसञ्चार सेवाप्रदायक (नेपाल टेलिकम र एलसेल) कुनै पनि निकायबाट सिम कार्ड अनुमति लिएको काजगात पेस नगरिकनै सिम कार्ड जाँचपास गरेको थियो। भन्सारका एक अधिकारीले भने, ‘उनीहरुले सिम कार्ड भनेर ल्याएका छन्, आयातको अनुमति लिनुपर्ने वा नपर्ने केही स्पष्ट नै नभइ जाँचपास भएको थियो। कार्यालयले के आधारमा बीवाईडी र साइमेक्स इंक प्रति सफ्ट कर्नर राखेको हो हामीले बुझ्न सकेका छैनौँ।’

साइमेक्सले ल्याएको सिम कार्डले आयात गर्न पाइने वा नपाइने, पाइने हो भने कसरी र के प्रयोजनमा प्रयोग हुने, रोमिङ लिएर चलाउने हो भने कति समयसम्म रोमिङ भनेरै चलाउन पाउने, व्यक्तिगत प्रयोजनमा प्रयोग हुने रोमिङ एउटा कम्पनीले ल्याएर व्यापार गर्न पाउने वा नपाउने, रोमिङको शुल्कमा लाग्ने कर सिम कार्डमा लागेको अन्तःशुल्क र भ्याटबराबर नै हुने वा धेरै लाग्ने, रोमिङका रुपमा वर्षौँ विदेशी सिम कार्ड चलाउँदा डेटा सुरक्षा कसरी हुने, उक्त सिम कार्ड टेलिकम्युनिकेसनमै प्रयोग भएको हो वा होइन, साइमेक्स इंक टेलिकम सेवाप्रदायक पनि हो कि गाडीको आधिकारिक बिक्रेता मात्र जस्ता प्रश्नको जवाफ खोज्नुपर्ने देखिन्छ। चीनबाट सिम कार्ड नै आयात गर्दा चिनियाँ टेलिकमको डिलरकै रुपमा साइमेक्सले काम गरिरहँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत कुनै चासो दिएको छैन।

साइमेक्स इंकले तेस्रो पक्षले २०२४ मार्च २६ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट एमटीसीएफ-थ्री मोडल नम्बर उल्लेख भएको उपकरणको टाइप अप्रुभल स्वीकृति देखाएर सिम कार्ड आयात गरेको देखिन्छ। यो उपकरणको टाइम अप्रुभल स्वीकृति देखाएर बीवाईडी बिक्रेता साइमेक्स इंकले चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरेर आफ्ना गाडी किन्ने उपभोक्तालाई बिक्री गरिरहेको छ। प्राधिकरणका उपनिर्देशक हिरण्यप्रसाद बास्ताकोटीले उक्त टाइप अप्रुभलको स्वीकृति दिएका थिए। 

जीएसएम-डिभाइस आयातको स्वीकृति पनि बीवाईडी बिक्रेता साइमेक्स इंकले नभइ ‘डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेड’ले लिएको छ। बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले उत्पादन गरेको जीएसएम डिभाइसको टाइप अप्रुभल पाँच वर्षको अवधिका लागि स्वीकृत गरिएको छ। यसरी उपकरणको अनुमति लिएर विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर साइमेक्सले नेपाली उपभोक्ताको डेटा ‘चीन निर्यात’ गरिरहेको छ।

थप सामग्री -

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

जीएसएम-डिभाइस आयातको अनुमति लिएर सिम कार्ड आयात, बीवाईडी चढ्ने नेतादेखि उच्चपदस्थको लाइभ डेटा सिधै चीन

उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?

बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन

अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’

साइमेक्सद्वारा चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड आयात : मन्त्रालय भन्छ- आयात गर्न पाइँदैन, प्राधिकरण भने मौन

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : बिहीबार , पुस १७ २०८२१६:५६
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend