काठमाडौं- बीवाईडीले आयात गर्न लागेको 'सिलायन सेभेन' विद्युतीय कारमा चीनको सिमकार्ड प्रयोग गरेर ल्याइएको पाइएको छ। चाइना मोबाइल हङकङको ‘एक्टिभेटेड’ सिम कार्डसहित आयात गर्न अनुमति माग गरेको पाइएको हो।
सिम कार्ड आयात गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट लाइसेन्स वा आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको छ तर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले कुनै पनि नियामकीय निकायबाट सिम कार्ड आयातको अनुमति नलिइ आयात गरिरहेको फेला परेको छ।
नेपालमा सवारीसाधन आयात गर्न यातायात व्यवस्था विभागबाट अनिवार्य रुपमा आयात अनुमति लिनुपर्छ। विभागले सवारीसाधनलाई मेकानिकल उपकरणका रुपमा चिन्ने गरेको र आयात हुन लागेको सवारीसाधन मेकानिकल्ली आयातयोग्य छ वा छैन हेरेर अनुमति दिँदै आएको छ। तर साइमेक्सले बीवाईडीको सिलायन सेभेनको आयात अनुमति माग्दै विभागमा पेस गरेको काजगातमा सिम कार्ड पनि रहेको देखेपछि विभागका पदाधिकारी झस्किएका छन्।
अहिलेसम्म घोषित रुपमा सवारीसाधनमा सिम कार्ड प्रयोग गरेर कोही पनि आयात अनुमति माग्न नआएकाले विभागले यसबारे ठोस निर्णय लिन नसकेको जनाएको छ।
‘आयात अनुमतिका लागि पेस भएको कागजपत्रमा गाडीसँगै चार्जर र सिम कार्ड पनि उल्लेख गरिएको छ। यो कस्तो सिम कार्ड हो?, के काममा प्रयोग हुने हो?, गाडी ल्याउने कम्पनीले सिम कार्ड ल्याउने पाउने हो वा होइन?, हामी अन्यौलमा परेका छौँ,’ विभागका एक प्रविधिकले भने, ‘यो हाम्रा लागि नयाँ जटिलता हो। गाडी त मेकानिकल वस्तु हो यसमै सिम कार्ड हालेर ल्याएपछि त्यसबारेमा हामीले सम्बन्धित निकायसँग सल्लाह पो गर्नुपर्ने हो कि?’
सिम कार्ड आयात गर्न अनुमति दिने विषय विभागको क्षेत्राधिकार नरहेको प्रष्ट देखिन्छ। त्यसमा पनि साइमेक्सले बीवाईडीको गाडीमा प्रयोग गर्नेगरी ल्याएको सिम कार्ड चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना मोबाइलको हङकङ कार्यालयमा अर्थात चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड रहेको तथ्य पनि बिजनेस न्युजले फेला पारेको छ।
चाइना मोबाइल हङकङ पनि चाइना मोबाइलको पूर्ण स्वामित्वमा रहेको टेलिमक सेवाप्रदायक कम्पनी हो, जसले हङकङमा दूरसञ्चार सेवा दिँदै आएको छ।
गाडी आयात गर्ने कम्पनीले दूरसञ्चार प्राधिकरणबाट आयातको अनुमति नलिइ सिम कार्ड केका लागि ल्याएको हो, त्यसबारेमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाल आर्यालले बताए।
‘नेपालमा दूरसञ्चार कम्पनी र स्याटेलाइट अपरेटर रहेका छन्। हाम्रो नियमनले सिम कार्ड ल्याउने अनुमति पाउने भनेका यी अपरेटरमात्र हुन्। यसबाहेक अरु कुनै माध्यम र च्यानल रहेको छैन। रोमिङका लागि व्यक्तिगत रुपमा आउने सिम कार्डको कुरा अपरेटर आफैले हेर्ने कुरा भयो’ उनले भने, ‘गाडी कम्पनीले त्यो पनि विदेशी अप्रेटरको सञ्चालनमा रहेको सिम कार्ड आयात भएको विषय गम्भीर अनुसन्धानको विषय हो।’
गाडी आयातको अनुमति दिने निकायले सिम कार्ड आयातको अनुमति दिन नसक्ने प्राधिकरणले जनाएको छ।
भन्सार कार्यालय रसुवाले पनि साइमेक्स इंकले नेपाल दूरसञ्चार प्राधिकरणबाट सिम कार्ड अनुमति लिएको काजगात पेश नगरेको जनाएको छ।
भन्सारले यति गम्भीर विषयलाई सामान्य रुपमा लिएर विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आयात गर्न सजिलै अनुमति दिनु गम्भीर विषय भएको भन्सारका एक अधिकारीले बताए।
‘अब रसुवा भन्सार कार्यालयले उनीहरूले सिम कार्ड भनेर ल्याएका वस्तुको आयातको अनुमति लिनुपर्ने वा नपर्नेमा हामी दोधारमा थियौँ भनेर उन्मुक्ति पाउँनु हुँदैन,’ ती अधिकारीले भने, ‘यसमा आयातकर्ता र भन्सारबीच सेटिङको आभास भइसकेको छ। यसमा भन्सार विभागदेखि अख्तियारसम्म आकर्षित हुनुपर्छ।’
एउटा निकायले कमजोरी गरेको देखिसकेपछि अब विदेशी सक्रिय सिम कार्ड रहेको गाडी आयात गर्ने अनुमति दिने निकाय यातायात व्यवस्था विभागले सिम कार्ड लागेको गाडी ‘हामीले आयात अनुमति दिन मिल्दैन’ भने प्रष्टरुपमा त्यसलाई दूरसञ्चार प्राधिकरणमा पठाउनु पर्ने भन्सारका ती अधिकारीको भनाइ छ।
‘गाडी आयातकर्ताले विदेशी टेलिकमको सक्रिय सिम कार्ड नेपाल ल्याएर बेच्न पाउने कहीँ कतै कानून भएकोजस्तो मलाई लाग्दैन,’ ती अधिकारीले भने, ‘कमनसेन्स लगाउँदैमा थाहा हुने कुरा पनि नगर्ने, थाहा नभए सम्बन्धित निकायलाई सोध्नु पर्नेमा सिधै आयात अनुमति दिनुमा नियत नै देखिन्छ।’
साइमेक्सले सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात गरेको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यसहिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।
साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको बीवाईडी (एचके)को लिमिटेडले २९ अप्रिल २०२५ मा साइमेक्स इंक प्रालिका नाममा काटेको बिलबिजकमा उल्लेख छ। नेपालमा हालसम्म आयात भएको कुनैपनि सिम कार्डको मूल्य यति धेरै रहेको पाइएको छैन। सामान्यत: सिम कार्डको आयात मूल्य (करसमेत) प्रतिगोटा औषतमा ६० देखि ६२ रुपैयाँमा नेपाल भित्रने गरेको भन्सारको तथ्यांकले देखाएको छ।
साइमेक्सले एउटा सिम कार्डका लागि २ हजार ३ सय चिनियाँ युआन चीन पठाएको छ। त्यो सिम कार्डको मात्र त्यति धेरै मूल्य पर्छ भनेर पत्याउन सक्ने आधार देखिँदैन। सिम कार्डको एचएस कोर्डमा डेटाको पैसा पठाउको हो भने त्यो सरासर बदमासी हो।
साइमेक्सको गतिविधिबाट के अनुमान गर्न सकिन्छ भने साइमेक्सले गलत घोषणा गरेर ‘विदेशी मुद्रा निर्यात’ त गरिरहेको छैन? यसबारेमा नियामक निकायहरूले गम्भीर भएर अनुसन्धान गर्नुपर्ने देखिएको छ।
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ
साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन
सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र
आवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालय