काठमाडौं- नेपाली रुपैयाँ तथा विदेशी मुद्रा नेपाल भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धमा सरकारले लागु गरेको व्यवस्थाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत जानकारी सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले भारतीय रुपैयाँ, अमेरिकी डलर र अन्य विदेशी मुद्राको ओसारपसारसम्बन्धी व्यवस्था सार्वजनिक गरेको हो।
विभागका अनुसार नेपाली वा भारतीय नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको भारतीय रुपैयाँसम्म भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। सोभन्दा बढी रकम ल्याउनुपरेमा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ।
भारतीय नागरिकले नेपालबाट भारत फर्कंदा प्रति व्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य मुद्राभन्दा बढी नगद लैजान पाउने छैनन्। तर नेपाल प्रवेश गर्दा भन्सारमा स्वघोषणा गरी ल्याएको रकम भने सोही घोषणाको सीमाभित्र रहेर फिर्ता लैजान सक्ने व्यवस्था छ।
भारतीय रुपैयाँका नोटमध्ये भारु ५ सय र १ हजार दरका पुराना नोटको कारोबार तथा ओसारपसार गर्न पाइने छैन। त्यस्तै, हाल भारतमा चलनचल्तीमा रहेका भारु २ हजार दरका नोट पनि नेपालमा राख्न, ओसारपसार गर्न तथा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ।
यद्यपि, सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २ सय र ५ सय दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रति व्यक्ति अधिकतम भारु २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। भारु १ सय र सोभन्दा कम दरका नोट भने प्रचलित व्यवस्थाअनुसार जुनसुकै परिमाणमा ल्याउन, लैजान तथा सटही गर्न पाइनेछ।
त्यस्तै, नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान तथा अन्य मुलुकबाट नेपाल ल्याउन पाउने छैनन्।
विदेशी मुद्रा ल्याउँदा र लैजाँदा के छ व्यवस्था?
नेपाली तथा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। सोभन्दा बढी रकम ल्याउँदा भने भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था छ।
विदेशी नागरिकले नेपालबाट विदेश जाँदा प्रति व्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी नगद लैजान पाउने छैनन्। तर, नेपाल प्रवेश गर्दा भन्सारमा स्वघोषणा गरी ल्याएको रकम भने घोषणाको सीमाभित्र रहेर फिर्ता लैजान सक्नेछन्।
विदेश भ्रमणमा जाने नेपालीले कति डलर सटही गर्न पाउँछन्?
भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानी सुविधाअन्तर्गत प्रतिपटक अधिकतम अमेरिकी डलर ३ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा सटही गर्न पाउने व्यवस्था छ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि गन्तव्य मुलुकअनुसार विदेशी मुद्रा सटहीको सीमा फरक तोकिएको छ। जापान, दक्षिण कोरिया, युरोपेली मुलुक, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने नेपालीले अधिकतम अमेरिकी डलर ५ सय सम्म सटही गर्न पाउनेछन्। अन्य मुलुकमा वैदेशिक रोजगारीका लागि जानेले भने अधिकतम अमेरिकी डलर २ सय सम्म सटही सुविधा पाउनेछन्।
नेपाल सरकारले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) का आधारमा विदेश भ्रमणमा जाने नेपाली नागरिकले अमेरिकी डलर १ हजारसम्म सटही सुविधा प्राप्त गर्न सक्नेछन्।
नेपाली ५ हजार रुपैयाँ भन्दा बढी लैजान नपाइने
नेपाली तथा विदेशी नागरिकले नेपालबाट अन्य मुलुक जाँदा वा विदेशबाट नेपाल आउँदा प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजारभन्दा बढी नगद ल्याउन वा लैजान पाउने छैनन्।
विभागले सार्वजनिक गरेको व्यवस्थाले नेपालमा नेपाली रुपैयाँ, भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्राको नगद ओसारपसारलाई व्यवस्थित गर्न खोजेको छ। विदेश यात्रा गर्ने, वैदेशिक रोजगारीमा जाने तथा नेपाल आउने विदेशी नागरिकले नगद बोकेर यात्रा गर्दा यी सीमाको पालना गर्नुपर्नेछ।