काठमाडौं- टेलिकम कम्पनीको मुख्य व्यापार फोन कलबाट डेटामा परिणत भइरहेको छ। डेटाको व्यापार विस्तार गर्नु र आफ्नो उपस्थिति मजबुत बनाइराख्नु नेपाल टेलिकम र एनसेलका लागि चुनौतीपूर्ण छ। यही अवस्थामा विद्युतीय गाडीमा ‘एप चलाउन’ भन्दै अवैध रुपमा चिनियाँ टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर खुलेआम प्रयोग भइरहेको छ।
बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले चीनबाट त्यहाँको टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर बिक्री गर्दै आएको छ। बीवाईडीका गाडीमा प्रयोग गर्न चाइना मोबाइल हङकङ लिमिटेडको सक्रिय सिम कार्ड आयात गर्दै आएको हो। जसका कारण नेपाली टेलिकम कम्पनीहरुको वार्षिक करोडौँको प्रत्यक्ष व्यापार खोसिन पुगेको छ।
साइमेक्स इंकले एउटै सिम कार्डको मूल्य २३ सय चिनियाँ युआन चीन पठाएको छ। साइमेक्सले सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात गरेको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था गरेको छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।
साइमेक्सले एउटा सिम कार्ड २ हजार ३ सय चिनियाँ युआनमा खरिद गरेको बीवाईडी (एचके)को लिमिटेडले २९ अप्रिल २०२५ मा साइमेक्स इंक प्रालिका नाममा काटेको बिलबिजकमा उल्लेख छ। नेपालमा हालसम्म आयात भएको कुनैपनि सिम कार्डको मूल्य यति धेरै रहेको पाइएको छैन। सामान्यत: सिम कार्डको आयात मूल्य (करसमेत) प्रतिगोटा औषतमा ६० देखि ६२ रुपैयाँमा नेपाल भित्रने गरेको भन्सारको तथ्यांकले देखाएको छ।
साइमेक्सले एउटा सिम कार्डका लागि २ हजार ३ सय चिनियाँ युआन चीन पठाएको छ। त्यो सिम कार्डको मात्र त्यति धेरै मूल्य पर्छ भनेर पत्याउन सक्ने आधार देखिँदैन। सिम कार्डको एचएस कोर्डमा डेटाको पैसा पठाएको हुनसक्ने अनुमान गरिएको छ।
साइमेक्सले सफ्टवेर अपडेटका नाममा चीनको सक्रिय सिम कार्ड त्यो पनि महँगो मूल्यमा ल्याएर बिक्री गरिरहँदा नियामक निकाय मौन रहनु गम्भीर विषय हो। व्यक्तिगत प्रयोगनमा प्रयोग गर्न ल्याइने रोमिङ सुविधा डिलरकै रुपमा आयात गरेर बिक्री भइरहेको छ।
यसरी विदेशी कम्पनीको सक्रिय सिम कार्ड आयात गरेर बीवाईडीका गाडी चलाउँदा नेपाली टेलिमक कम्पनीको व्यवसाय खोसिएको छ। नेपाल टेलिकम तथा एनसेलको डेटा व्यापार प्रतिस्वर्धालगायत कारण कम हुँदै गएको छ।
नेपाली बजारमा बीवाईडीका करिब १५ हजार विद्युतीय सवारी आइसकेका छन्। उक्त संख्याका सवारीले मासिक २ सय रुपैयाँ नेपाली कम्पनीका सिम प्रयोग गरेर डेटामा खर्च गर्दा पनि वार्षिक करोडौँको व्यापार हुने थियो।
वार्षिक रुपमा बीवाईडीका ३ हजार विद्युतीय कार नेपाल भित्रिँदा हरेक वर्ष डेटाको व्यापार बढ्दै जाने थियो। तर नियाकम निकायले यसबारेमा हालसम्म कुनै एक्सन नलिँदा एकतिर करोडौँ चिनियाँ युआन सिम कार्डको करमा बाहिरिएको छ भने अर्कोतिर एनसेल र नेपाल टेलिकमको डेटा व्यापार खोसिएको छ।
अहिले नेपालकै टेलिकम कम्पनीहरू आम्दानी तथा व्यापारको हिसाबले चरम संकटमा छन्। थप पूर्वाधारमा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन्। उपभोक्ताबाट हुने आम्दानीमा अभूतपूर्व गिरावट एकातिर छ भने अर्काेतिर नयाँ क्षेत्रमा ब्यापार सिर्जना हुन सकिरहेको छैन।
वायरलेस सेवामा नयाँ सम्भावनाका रुपमा हेरिएको यस्तो व्यापारमा पनि विदेशी सिम कार्डको सम्भावना हुने तर त्यसमा विदेशी टेलिकमले कमाउने कुरा अस्वाभाविकमात्र होइन आपत्तिजनक पनि हो। यस्तो कुरामा सरकार र सरकारी निकायले तत्काल हेर्नुपर्ने एक टेलिकम कम्पनीका अधिकारीले बताए।
‘गाडी त सुरुवातमात्र हो। भविष्यमा मसिन टू मसिन कनेक्टिभिटी अनिवार्य हुँदै जान्छ। यस्तोमा सिम कार्ड अनिवार्य हुन्छ। आज गाडीमा विदेशी सिम आउला। भोलि अरु उपकरणमा आउला अनि नेपालका टेलिकमबाट राजस्व र रोयल्टीमात्र उठाउने तर व्यापार विदेश पठाउने कुरा व्यवाहरिक होइन,’ एक टेलिकम इन्जिननियरले भने, ‘अर्काेतिर डेटा प्राइभेसी पनि जोडिन्छ। नेपालकै टेलिकमको सिम कार्ड भएमा त्यसको डेटा भण्डारण नेपालभित्रै नियन्त्रण हुन्छ तर विदेशी हुँदा हामीले चाहँदा पनि नपाउने तर विदेशीले दुरूपयोग गर्दा पनि केही गर्न नसक्ने अवस्था आउने जोखिम छ।’
गाडी बिक्री गर्ने कम्पनीले सिम कार्ड नै आयात गर्न नपाउने व्यवस्था रहेकोमा डिलरझैँ गरेर विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड ल्याउन पाउने कुनै आधारै नभएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल चार महिनाअघि बिजनेस न्युजलाई बताएका थिए। त्यतिबेला उनले भनेका थिए, ‘गाडी आयात गर्ने कम्पनीले सिम कार्ड ल्याएको, त्यसमा पनि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आएको विषय हाम्रा लागि पनि नयाँ हो। विदेशी टेलिकम कम्पनीको सिम कार्ड नेपालमा ल्याएर बिक्री गर्न पाइने कुरा त हाम्रो कानूनले परिकल्पना नै गरेको छैन। यसबारेमा सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्छौँ।’
नेपाल दूरसञ्चार प्राधिकरणले हालसम्म साइमेक्स इंकले ल्याएको चाइना मोबाइल हङकङ लिमिटेड(सीएमएचके)को सक्रिय सिम कार्ड वैध हो वा अवैध, सिम कार्डको मूल्य त्यति नै पर्ने हो वा सिम कार्डका नाममा डेटाको पैसा पठाइएको हो, भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन। यसबारेमा बुझ्दा प्राधिकरणले अध्ययन नै भइरहेको र हालसम्म कुनै निष्कर्ष आउनु नसकेको बताएको छ।
चाइना मोबाइल हङकङ लिमिटेड
चाइना मोबाइल हङकङ कम्पनी लिमिटेड (सीएमएचके) चाइना मोबाइलको स्वामित्वमा रहेको कम्पनी हो। सन् १९९४ मा स्थापना भएर १९९७ को जनवरीदेखि सीएमएचकेले हङकङ दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ। सीएमएचके हाल हङकङको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको रुपमा रहेको छ।
सीएमएचकेले मोबाइल टेलिफोन इन्टरनेस सर्भिस र ब्रोडब्यान्ड सेवा उपलब्ध गराउँदै आएको छ। चाइना मोबाइल वा चाइना मोबाइल लिमिटेडको नाममा चिनिने यो कम्पनीको पूर्ण स्वामित्व चाइना मोबाइल कम्युनिकेसन्स ग्रुप कम्पनी लिमिटेडको नाममा रहेको छ। यो कम्पनी शतप्रतिशत चीन सरकारको हो।
चाइना मोबाइलको नेटवर्क चीन र हङकङमा रहेको छ। चाइना मोबाइल चीनको सबैभन्दा ठूलो वायरलेस क्यारियर हो। २०२१ को जुनसम्मको तथ्यांकअनुसार चाइना मोबाइलका ९४ करोड ५५ लाखभन्दा बढी सब्स्क्राइबर रहेका छन्।
चाइना मोबाइल सांघाई स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा सूचीकृत रहेको छ। यो कम्पनी प्रयोगकर्ता र आम्दानीका हिसाबले विश्वको सबैभन्दा ठूलो टेलिकम्युनिकेसन सेवाप्रदायक हो।
थप सामग्री -
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ
बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?
नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड
बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?
उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?
बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन
अवैधरुपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्