काठमाडौं- पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले राष्ट्र बैंकले तयार पारेको मोडालिटीमा अग्राधिकार सेयर अनुमति नदिएपछि नबिल बैंक दबाबमा परेको छ। धितोपत्र ऐनमा राष्ट्र बैंकले तयार पारेको मोडालिटिमा रहेर अग्राधिकार सेयर जारी गर्न अनुमति दिने व्यवस्था नरहेको भन्दै बोर्डले नबिल बैंकको अग्राधिकार सेयर प्रस्ताव दर्ता नलिएको हो।
राष्ट्र बैंकले अगाडि सारेको प्रस्तावअनुसार अग्राधिकार सेयरसम्बन्धी व्यवस्थाका बारेमा बोर्डमा छलफल चलिरहेकाले दर्ता नलिएको हुनसक्ने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए।
धितोपत्र ऐनसँग अग्राधिकारसँग सम्बन्धित उक्त विषय बाझिएकाले पनि तत्कालका लागि दर्ता नलिएको हो।
'राष्ट्र बैंकले भनेअनुसारको अग्राधिकार सेयर जारी गर्न दिने वा नदिनेबारे बोर्डमा छलफल चलिरहेको छ। धितोपत्र ऐनमा राष्ट्र बैंकले स्वीकृति दिएजस्तो अग्राधिकार सेयरसम्बन्धी व्यवस्था छैन। यसबारे बोर्डले छलफल गरिरहेकाले केही संस्थाहरूले दिएको आवेदन दर्ता नभएको हुन सक्छ', घिमिरेले बताए।
नबिल बैंकले अग्राधिकार सेयरलाई देखाउँदै राष्ट्र बैंकबाट नगद लाभांशको अनुमति प्राप्त गरेको थियो। नबिल बैंकले राष्ट्र बैंकले तोकेको सर्तविपरीत १० वर्षमा परिपक्व हुने व्यवस्था राखेर अग्राधिकार सेयर प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंकले आफ्नो सर्तभन्दा बाहिर गएर अग्राधिकार सेयर अनुमति दिन नसकिने भन्दै प्रस्ताव सच्याएर ल्याउन भनेको थियो। नबिल बैंकले प्रस्ताव सच्याएर लगेपछिमात्रै राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको थियो।
१०.५ प्रतिशत नगद लाभांश दिएसँगै नबिल बैंक पुँजीकोषको दबाबमा छ। खराब कर्जा बढेकाले बैंकको कर्जा नोक्सानी व्यवस्था बढिरहेको छ। जसले गर्दा बैंकको वितरणयोग्य नाफा बढ्न सकेको छैन।
अर्कोतर्फ नाफा बढाउने होडमा जथाभावी दिएका कर्जाहरूले समस्या पर्दा बैंकको खराब कर्जा ४.९३ प्रतिशतनजिक पुगेको छ। आगामी त्रैमासमा पनि बैंकको खराब कर्जा थप बढ्ने देखिएको छ।
बैंकले निर्माण व्यवसायीलाई दिएका कर्जाहरू समस्यामा छन्। यस्तै बैंकले विगतमा दिएका सहुलियतपूर्ण कर्जाहरूमा समस्या आएको छ।
नबिल बैंकको खराब कर्जा ग्राफ कति बढिरहेको छ भन्ने विषय ७५ जनाले फोन लोन नतिरेको भन्दै निकालेको सूचीबाट पनि प्रस्ट हुन्छ।
अग्राधिकार सेयर जारी गर्न बैंकले तत्काल अनुमति नपाएमा नबिल बैंकको आगामी त्रैमासबाट प्राथमिक पुँजीकोषमा उच्च दबाब पर्ने देखिन्छ। बैंकको दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष ९ प्रतिशतमा आएको छ।
नबिल बैंकसँगै कामना सेवा विकास बैंकको अग्राधिकार सेयर अनुमति रोकिएको छ।
आधुनिक 'साहुकार' बन्दै नबिल बैंक, व्यवसाय कब्जा गरेर भाडाका कन्सल्ट्यान्टबाट चलाउने जुक्ती खोज्दै
नबिल बैंकको अग्राधिकार सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा अस्वीकृत
कानूनी छिद्रको फाइदा उठाउँदै चौधरी समूह, नबिलका निर्वाण र मलय श्रीलंकाको बैंकमा पनि सञ्चालक
अन्तिम लेखापरीक्षणमा १२.३४ प्रतिशतले नाफा घट्दा दबाबमा नबिल बैंक, प्राथमिक पुँजीकोष ९ प्रतिशतमा आयो
नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर
नबिललाई संकटको डिलमा पुर्याउने गरी श्रीलंकाको युनियन बैंकमा चौधरी समूहको मोह किन?