बुधबार, पुस २४ गते २०८१    
बुधबार, पुस २४ २०८१
images
images

कानूनी छिद्रको फाइदा उठाउँदै चौधरी समूह, नबिलका निर्वाण र मलय श्रीलंकाको बैंकमा पनि सञ्चालक

images
शुक्रबार, पुस १९ २०८१
images
images
कानूनी छिद्रको फाइदा उठाउँदै चौधरी समूह, नबिलका निर्वाण र मलय श्रीलंकाको बैंकमा पनि सञ्चालक

सर्कुलर जारी गरेर भएपनि राष्ट्र बैंकले आफ्नो नियमनभित्र रहेका बैंकका सञ्चालकलाई एकै समयमा विदेशी बैंकको सञ्चालक बन्नबाट रोक्न सक्छ। तर राष्ट्र बैंक यस विषयमा मौन बस्नुले निक्षेपकर्ता तथा ऋणीको हित प्रतिकूल काम हुने सम्भावना बढेको छ।

images
images

काठमाडौं- कानूनी छिद्रको प्रयोग गर्न सिपालु डलर अर्बपति विनोद चौधरीले फेरि एकपटक नेपालको बैंकिङ कानूनलाई चुनौती दिएका छन्।

images
images
images

विगतमा आयकर ऐनमा रहेको छिद्रको दुरुपयोग गर्दै अन्तर्राष्ट्रियस्तरमा होटल तथा हस्पिटाली व्यवसाय विस्तार गर्न सफल चौधरीले यसपटक राष्ट्र बैंकको 'बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३' (बाफिया) मा रहेको कानूनी छिद्रको प्रयोग गरेर युनियन बैंक अफ कोलम्बोमा विवादस्पद सञ्चालक नियुक्ति गरेका छन्।

images

आफ्ना छोरा राहुल चौधरीलाई गैरआवासीय नेपाली बनाएर अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक छलाङ मार्न सफल भएका चौधरीले यसपटक नबिल बैंकका दुई सञ्चालकलाई युनियन बैंक अफ कोलम्बोमा पनि सञ्चालक बनाएका छन्। नबिल बैंकमा सञ्चालकसमेत रहेका विनोद चौधरीका छोरा निर्वाण चौधरीलाई युनियन बैंकको डेपुटी अध्यक्ष बनाइएको छ भने नबिल बैंकका अर्का सञ्चालक मलय मुखर्जीलाई युनियन बैंकको सञ्चालक बनाइएको छ।

images
images

यसअघि सिजी कर्पस् ग्लोबलका डाइरेक्टर तथा नबिल बैंकको सञ्चालक भएका नाताले निर्वाण चौधरीलाई युनियन बैंकको अध्यक्ष बनाइएको थियो। यस्तै मलय मुखर्जी सिजी कर्पस् ग्लोबलको प्रमुख साझेदार तथा नबिल बैंकको सञ्चालक भएकाले युनियन बैंकको पनि सञ्चालक बनाइएको बैंकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले नेपालमा एउटा बैंकको सञ्चालक अर्को बैंकमा सञ्चालक हुन नपाउने व्यवस्था गरेपनि विदेशी बैंक वित्तीय संस्थाको हकमा भने ऐन मौन छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को परिच्छेद ४ को दफा १४, १६ र १८ मा सञ्चालक समितिको गठन सञ्चालक योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था गरिएको छ। दफा १४ को (ग) मा सञ्चालकका लागि मनोयन दर्ता गर्दा एकभन्दा बढी बैंक वित्तीय संस्थामा मनोयन दर्ता गर्न नपाउने व्यवस्था गरिएको छ। यस्तै दफा १८ ‘ज’ मा ‘इजाजत प्राप्त संस्थामा बहाल रहेको व्यक्ति’ सञ्चालकका लागि योग्य नहुने व्यवस्था गरिएको छ।

उक्त व्यवस्थाका कारण नेपालका कुनै एक बैंक वित्तीय संस्थाहरूमा सञ्चालक रहेका व्यक्ति अर्को बैंक वित्तीय संस्थाको सञ्चालक हुन पाउँदैनन्। तर नेपाली सञ्चालक विदेशी बैंकको सञ्चालक हुन पाउने वा नपाउनेबारे बाफियाले केही पनि भनेको छैन।

बाफियाको दफा १६ मा विदेशी बैंकमा सञ्चालक भएर ५ वर्षसम्म काम गरेका व्यक्तिलाई नेपालका बैंक वित्तीय संस्थाको सञ्चालक हुन पाउने व्यवस्था गरेको छ। सञ्चालकको योग्यतासम्बन्धी दफा १६ (क) र (ख) मा विदेशी सञ्चालक भइसकेका व्यक्ति नेपालका बैंकहरूको सञ्चालक हुन पाउने व्यवस्था उल्लेख भएपनि नेपाली बैंकमा रहेका सञ्चालक विदेशी बैंकमा सञ्चालक हुन पाउने व्यवस्था छैन।

नेपाली बैंकका सञ्चालकहरू विदेशी बैंकमा सञ्चालक बस्न मिल्ने वा नमिल्नेबारे पर्याप्त कानूनी व्यवस्था नभएकाले राष्ट्र बैंक यस विषयमा मौन रहेको राष्ट्र बैंकका एक अधिकारीले बताए। 

‘नबिल बैंकका सञ्चालक रहेका व्यक्तिहरू नै युनियन बैंक अफ कोलम्बोको अध्यक्ष तथा सञ्चालक बनेको जानकारी राष्ट्र बैंकलाई छ। तर कानूनी अपर्याप्तताका कारण राष्ट्र बैंकले यसबारे केही भन्ने अवस्था छैन’, ती अधिकारीले भने।

घुमाउरो रुपमा नबिल बैंकमा विनोद चौधरीको नै युनियन बैंक अफ कोलम्बोमा प्रमुख लगानी रहेको देखिन्छ। नबिलले घोषणा गरेको लाभांश विनोद चौधरीले एनबी इन्टरनेशलनमार्फत विदेश लाने गरेको तथ्य छिपेको छैन।

राष्ट्र बैंकसमेत प्रत्येक वर्ष एनबी इन्टरनेशलनले नेपालबाट लाभांश लैजाने गरेको बताउँछ। राष्ट्र बैंकले स्वीकृत दिएकै कारण एनबी इन्टरनेशनलले नबिलबाट ठूलो मात्रामा लाभांश विदेश लिएर जाने गरेको छ।

२०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले एनबी इन्टरनेशलनको सेयर स्वामित्वबारे प्रश्न उठाएपछि दुई वर्ष लाभांश लैजाने क्रम रोकिएको थियो। तर पछि राष्ट्र बैंकमा नबिल बैंकले एनबी इन्टरनेशलको सेयर लगत बुझाएपछि विदेशी लगानीसम्बन्धी ऐन संशोधन गरेर लाभांश लैजाने प्रबन्ध गरिएको थियो।

आयरल्याण्डमा दर्ता भएको एनबी इन्टरनेशलको नाममा नबिल बैंकको करिब ३९ प्रतिशत सेयर रहेको छ। नबिलले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि एनबी इन्टरनेशलको सेयर ५० प्रतिशतबाट घटेर करिब ३९ प्रतिशतमा आएको हो।

नबिल बैंकले राष्ट्र बैंकमा बुझाएको सेयर लगतमा एनबी इन्टरनेशनलमा सिनोभेसनको ४९ प्रतिशत र साउद एसिया फाइनान्सियल कर्पोरेसनको ५१ लगानी रहेको उल्लेख छ।

सिंगापुरमा दर्ता भएको सिनोभेसनमा विनोद चौधरी र राहुल चौधरीको ९९.५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने साउद एसिया फाइनान्सियल कर्पोरेसनमा बंगलादेशी व्यवसायी अब्दुल मिन्टोको लगानी रहेको छ। नबिल बैंक निर्वाण चौधरीको ०.७ प्रतिशत सेयर स्वामित्व रहेको भन्दै उनलाई नबिल बैंकको सञ्चालक बनाइएको छ।

घुमाउरो माध्यमबाट चौधरीले खरिद गरेका थिए युनियन बैंक अफ कोलम्बो

युनियन बैंकमा सञ्चालक नियुक्ति जति विवादास्पद छ, त्यति नै विवादास्पद ढंगबाट चौधरी समूहले श्रीलंकामा बैंक खरिद गरेको थियो।

श्रीलंकामा डलर सञ्चिति रित्तिएको समयको फाइदा उठाउँदै विनोद चौधरी समूहले युनियन बैंक अफ कोलम्बो खरिद गरेको थियो। श्रीलंकाको स्टक एक्सचेन्जमा श्रीलंकाको मुद्रा १० रुपीमा लिस्टिङ भएको युनियन बैंकको सेयर मूल्य घटेर ५.५ रुपीको आसपासमा आएको बेला चौधरीले सेयर खरिद गरेका थिए।

चौधरी समूहले युनियन बैंकको सेयर खरिद सम्झौता श्रीलंकामा नभइ सिंगापुरमा गरेको थियो। दुबईमा मुख्यालय रहेको सीजी कर्प ग्लोबलका सिधै खरिद नगरी यसैअन्तर्गतको अर्को कम्पनी सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिको नाममा युनियन बैंकको सेयर खरिद गरेको देखिन्छ।

सन् २०२२ नोम्बर ३० मा सीजी कर्प ग्लोबलअन्तर्गत सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्राइभेट लिमिटेडले युनियन बैंकको प्रमुख साझेदार कल्चर फाइनान्सियल होल्डिङ्स लिमिटेडको ७०.८४ प्रतिशत सेयर खरिद गरेको थियो।

बैंकको प्रमुख साझेदार कल्चर फाइनान्सिङ होल्डिङको माउ कम्पनी टीपीजी एसिया भीआई एसएफ प्रालिको नाममा रहेको सम्पूर्ण सेयर सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्राइभेट लिमिटेडले आफ्नो नाममा खरिद गरेको कोलम्बो स्टक एक्सेन्चले कर्पोरेट डिस्कोलजर सार्वजनिक गरेको छ।

युनियन बैंक अफ कोलम्बोले स्वामित्व परिवर्तनसम्बन्धमा पठाएको कर्पोरेट डिसक्लोजर सार्वजनिक गर्दै एक्सचेन्जले सेयर खरिद बिक्री सम्झौता भएको उल्लेख गरेको छ। बैंकले पनि आफ्नो वेबसाइटमा सेयर खरिद सम्झौता भएको उल्लेख गरेको छ।

कल्चर फाइनान्सिङ होल्डिङको स्वामित्व सीजी ग्लोबल क्यापिटलमा आएको भन्दै युनियन बैंकले २०२३ डिसेम्बर १ मा श्रीलंकाको कोलम्बो स्टक एक्सेचेन्जमा पत्र पठाएको थियो।

कल्चर फाइनान्सिङ होल्डिङको स्वामित्व टीपीजी एसियाको भएको र आफ्नो नाममा रहेको कल्चर होल्डिङको सम्पूर्ण सेयर सीजी क्यापिटलाई बिक्री गर्ने सम्झौता भएको पत्रमा उल्लेख छ।

चौधरी समूहले सेयर खरिद गरेसँगै टीपीजी एसियाका तर्फबाट युनियन बैंक अफ कोलम्बोका तत्कालीन अध्यक्ष रहेका अतुल मल्लिक र सञ्चालकहरू पुनित भाटिया र जेओ हेनलोनले राजीनामा दिएका थिए। सञ्चालकबाट उनीहरूको राजीनामा दिएसँगै सीजीबाट निर्वाण चौधरीसहित तीन सञ्चालक नियुक्त गरेको सूचना युनियन बैंकले प्रकाशन गरेको थियो।

बैंक एक्वायर गरेपछि विनोद चौधरीका छोरा निर्वाण चौधरीलाई सीजी कर्प ग्लोबलका तर्फबाट युनियन बैंक अफ कोलम्बोको अध्यक्ष बनाइएको थियो। हाल उनी बैंकको डेपुटी अध्यक्ष छन्। यसअघिका डेपुटी अध्यक्ष रहेका तेरेभिन फरनानडोपु अवकास भएपछि गत डिसेम्बर ४ बाट निर्वाणलाई युनियन बैंकको डेपुटी अध्यक्ष बनाइएको हो।

२०२३ डिसेम्बर २१ मा निर्वाण चौधरी युनियन बैंक अफ कोलम्बोको अध्यक्ष भएका थिए। मलय मुखर्जी अक्टोबर २०२३ बाट युनियन बैंक अफ कोलम्बोका सञ्चालक छन्।

बैंकिङ क्षेत्रअन्तर्गत लेखापरीक्षण, जोखिम व्यवस्थापन र सूचना प्रविधिलगायतमा ४२ वर्षको अनुभव रहेको, भारतका विभिन्न बैंकहरूमा काम गरेको, नबिल बैंकको सञ्चालक भएको र सिजी कप्सको एक प्रमुख साझेदार रहेको भन्दै मुखर्जीलाई युनियन बैंक अफ कोलम्बोको सञ्चालक बनाइएको थियो।

२०२३ नोभेम्बरबाट सीजी कर्प ग्लोबलका तर्फबाट सञ्जय पोखरेल पनि युनियन बैंकमा सञ्चालक छन्।

निक्षेपकर्ता तथा ऋणीको सूचना बाहिने त्रास, राष्ट्र बैंक मौन

सीजी कर्प ग्लोबल प्रालिका तर्फबाट युनियन बैंक अफ कोलम्बोमा सञ्चालक बनेका साथै नबिल बैंकमा समेत सञ्चालक रहेका निर्वाण चौधरी र मलय मुखर्जीका कारण नेपाली निक्षेपकर्ता तथा ऋणीको सूचना बाहिरिने खतरा बढेको छ।

ठूला निक्षेपकर्ताको निक्षेप लिने र ठूला ऋणीलाई ऋण दिने निर्णय बैंकको सञ्चालक समितिबाटै हुने गर्दछ। चौधरी र मुखर्जी दुबै बैंकमा सञ्चालक बस्दा कतिपय गोप्य सूचनासमेत बाहिरिने र रणनीतिकरुपमा प्रयोग हुने खतरासमेत बढ्ने सम्भावना देखिन्छ।

नबिल बैंक नेपालको सबैभन्दा बढी नाफा कमाउने बैंक हो। २७ अर्ब रुपैयाँ पुँजी रहेको यस बैंकले ४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ८१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

सर्वसाधारण निक्षेप र कर्जाको संरक्षण गर्ने अधिकार पाएको राष्ट्र बैंकले कानूनको अभाव देखाएर स्वार्थ बाझिने गरी नेपाली बैंकका सञ्चालकलाई विदेशी बैंकमा सञ्चालक बन्न दिनु अनुचित देखिन्छ।

सर्कुलर जारी गरेर भएपनि राष्ट्र बैंकले आफ्नो नियमनभित्र रहेका बैंकका सञ्चालकलाई एकै समयमा विदेशी बैंकको सञ्चालक बन्नबाट रोक्न सक्छ। राष्ट्र बैंकले सम्बन्धित देशको केन्द्रीय बैंकसँग समन्वय गरी एकै समयमा दुई देशको बैंकमा सञ्चालक बन्न नदिन पहलकदमी लिन पनि सक्छ। तर राष्ट्र बैंक यस विषयमा मौन बस्नुले नेपालका निक्षेपकर्ता तथा ऋणीको हित प्रतिकूल काम भइरहेको देखिन्छ।


प्रकाशित : शुक्रबार, पुस १९ २०८१०७:२६
  • सम्बन्धित विषय:

  • # nabil bank
  • # nrb


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend