बिहीबार , मंसिर २७ गते २०८१    
images
images

नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर

नबिलको पुँजीकोष र व्यवसाय विस्तार संकुचित हुने

images
बिहीबार , मंसिर २० २०८१
images
images
नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर

२ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गरेपछि नबिल बैंकको सञ्चित नाफा २ अर्ब २८ करोड रुपैयाँमा सीमित हुनेछ। यसले बैंकको टायरवान क्यापिटलमा ह्रास ल्याउनुको साथै बैंकको कर्जा विस्तार गर्ने क्षमतामा ह्रास आउने देखिन्छ।

images
images

काठमाडौं- राष्ट्र बैंकले तोकेको सर्त नमानेपछि नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने योजनामा गम्भीर धक्का लाग्ने देखिएको छ। गत असार १२ गते जारी भएको एकीकृत निर्देशनभन्दा बाहिर गएर १० वर्षको अवधि तोकेर अग्राधिकार सेयर जारी गर्न खोजेपछि नबिल बैंकले अनुमति नपाउने निश्चितजस्तै छ। 

images
images
images

राष्ट्र बैंकले सर्तभन्दा बाहिर गएर अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति दिन नसकिने भएकाले सच्याएर आउन भनेपनि नबिल बैंकले अटेर गरिरहेको छ। नबिल बैंक जसरी पनि अग्राधिकार सेयरको रकम लाभांशसहित १० वर्षभित्र फिर्ता गर्ने योजनामा देखिन्छ। नबिल बैंकको उक्क योजनामा राष्ट्र बैंक कुनै पनि हालतमा सहमत हुने देखिँदैन।

images

बैंकहरूको पुँजीकोषमा कुनै पनि समस्या नहोस् र बैंकहरू बलिया हुन् भन्ने उद्देश्यका साथ अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएपनि नबिल बैंकले यसलाई आफ्नो लाभांश वितरणको विकल्पको रुपमा प्रयोग गर्न खोजेको बुझाइ राष्ट्र बैंकका अधिकारीहरूको रहेको छ।

images

आफूसँग भएको सम्पूर्ण रकम सञ्चित नाफा नगद लाभांशको रुपमा वितरण गरेर राष्ट्र बैंकको सर्त उल्लंघन गर्दै अग्राधिकार अनुमति माग गर्नु अनुचित हुने ठहर गर्दै राष्ट्र बैंकले हालसम्म नबिल बैंकलाई अग्राधिकार सेयर जारी गर्ने अनुमति नदिएको हो। 

राष्ट्र बैंकले अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्नसक्नेसम्बन्धी व्यवस्थाको पहिलो बुँदामा नै 'अविमोच्य असञ्चित अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न पाइने छैन' भनी प्रस्टरुपमा उल्लेख गरेको छ। तर नबिल बैंकको भदौ १७ गते बसेको विशेष साधारणसभाले राष्ट्र बैंकको उक्त सर्त लत्याउँदै अवधि तोकेर अग्राधिकार सेयरका लागि अनुमति माग्ने निर्णय गरेको छ। 

नबिल बैंकको उक्त विशेष साधारणसभाले अग्राधिकार सेयर जारी भएको १० वर्षपछि लाभांश रकमसहित अग्राधिकार सेयरको रकम फिर्ता गर्नसक्ने व्यवस्था राखेको छ। १० वर्षपछि राष्ट्र बैंकको अनुमति लिएर 'कल अप्सन'मार्फत अग्राधिकार सेयरको रकम फिर्ता हुने भनी विशेषसाधारण सभाले पारित गरेको छ।

विशेषसाधारण सभाले पारित गरेको अग्राधिकार सेयर सम्बन्धित व्यवस्था तथा सर्तहरूको लाभांश दर वा लाभांश भुक्तानी प्रक्रियाको बुँदा नम्बर (ज) मा अग्राधिकार सेयर भुक्तानीसम्बन्धी व्यवस्था राष्ट्र बैंकको सर्तविपरीत राखेको छ।

'यदि राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर जारी गरेको १० वर्षपछि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिइ कल अप्सन(बैंकले लगानीकर्ताहरूको लगानी फिर्ता गर्न सक्ने) प्रयोग गरेमा उक्त आर्थिक वर्षसम्मको धारण गरेको दिनसम्म समानुपातिकरुपमा लाभांश रकमसहित अग्राधिकार सेयर फिर्ता गरिने छ', उक्त बुँदामा भनिएको छ।

बैंकहरूको प्राथमिक पुँजीकोषमा दबाब भएको भन्दै राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्नसक्ने सुविधा गत आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षामार्फत अगाडि सारेको थियो। उक्त व्यवस्थाअनुसार राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै अग्राधिकार सेयर जारी गर्नका लागि विभिन्न १२ सर्तहरू अगाडि सारेको छ। उक्त सर्तहरूमार्फत राष्ट्र बैंकले अग्राधिकार सेयरलाई प्राथमिक पुँजीकोषको अभिन्न अंग बनाएको छ।

पुँजीकोषको अंग बनाएकाले यसलाई फिर्ता गर्न नमिल्ने तर लाभांशमा साधारण सेयरभन्दा पहिलो प्राथमिकतामा हुने प्रस्ट व्यवस्था राष्ट्र बैंकले गरेको छ। यसका साथै बैंकहरूको प्राथमिक पुँजीकोष (टायरवान क्यापिटल) ५.१२५ ट्रिगर पोइन्टभन्दा तल आउने अवस्था भएमा यसलाई साधारण सेयरमा परिणत गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। अग्राधिकार सेयरमार्फत बैंकहरूको पुँजीकोषमा राष्ट्र बैंकले स्थायित्व दिन खोजेको छ।

यस्तोमा नबिल बैंकले लाभांश वितरणको चाहानालाई प्राथमिकतामा राखेर राष्ट्र बैंकको उद्देश्यविपरीत अग्राधिकार सेयर जारी गर्न खोजेपछि निष्कासनको अनुमति नदिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। बैंकलाई धराशायी बनाएर लगानीकर्ताको मात्रै लाभांशको अभिष्ट पूरा गर्न दिने पक्षमा राष्ट्र बैंक नरहेको ती अधिकारीले बताए। 

'नबिल बैंकले आफ्ना लगानीकर्तालाई खुसी बनाउनेगरी अग्राधिकार सेयर जारी गर्ने चाहाना राखेको देखिन्छ। जुन राष्ट्र बैंकको उद्देश्य होइन। प्राथमिक पुँजीकोषको अंग बनाउन पाउने उद्देश्यसहित जारी गर्न अनुमति दिन लागिएको अग्राधिकार सेयर लाभांश वितरणको हतियार बनाउनु अनुचित देखिन्छ। नबिल बैंकले आफ्नो प्रस्ताव सच्याएर ल्याएमा अनुमति दिन सकिएला तर मर्मविपरीत गएर कसैले दबाब दिँदैमा अग्राधिकार सेयर जारी गर्न कसैले पाउनु हुँदैन भन्ने कुरामा राष्ट्र बैंक प्रस्ट छ', ती अधिकारीले बताए।

नबिल बैंकको व्यावसायिक योजनामा धक्का लाग्ने

नबिल बैंकले पछिल्लो समय आक्रामक ढंगबाट बैंकिङ विस्तार गर्दै आएको छ। नाफा कमाउने बैंकहरूको सूचीमा पहिलो नम्बरको ताज नखोसियोस् भन्ने उसको चाहाना छ। नबिल बैंकको चाहानामा कर्जा विस्तारले महत्वपूर्ण भूमिका खेल्छ। 

नबिल बैंकको आक्रामक कर्जा विस्तारमा पछिल्लो समय पुँजीकोष बाधक बन्ने देखिएको छ। गत आर्थिक वर्षको नाफाबाट २ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गरेपछि नबिल बैंकको पुँजीकोष करिब ९.७७ प्रतिशतबाट घटेर ९.२३ प्रतिशतमा आउने छ।

८ प्रतिशत लाभांश दिने गरी ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गरेर पुँजीकोष मिलान गर्ने रणनीतिमा नबिल बैंक देखिन्छ। तर नबिल बैंकले राष्ट्र बैंकको सर्त नमानी अगाडि बढ्न खोजेपछि नबिल बैंकको व्यावसायिक योजनामा असर गर्ने देखिन्छ। 

नबिल बैंकको पुँजीकोषमा दबाब आउन थालेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासबाटै कर्जा विस्तारमा कमी ल्याउन थालिसकेको छ। गतवर्ष करिब ४३ अर्ब कर्जा प्रवाह गरेको नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ अर्ब रुपैयाँमात्रै नयाँ कर्जा लगानी गरेको छ।

अग्राधिकार सेयर अनुमति नपाएमा टायरवान क्यापिटलमा हिट गर्ने र यसले लाभांश वितरण गर्न नपाउने त्रासमा नबिल बैंकले थप कर्जा विस्तार नगरेको नबिल बैंकका एक कर्मचारीले बताए। 

'अग्राधिकार सेयर अनुमति राष्ट्र बैंकले दिइसकेको छैन। गत वर्ष ४३ अर्ब कर्जा विस्तार गरेकोमा यस वर्ष ७ अर्बमात्रै कर्जा लगानी भएको छ। बैंक टायरवान क्यापिटलप्रति सजग छ। टायरवान क्यापिटल अपुग भएमा लाभांश दिन नपाउने नियामकीय प्रावधानका कारण आक्रामक कर्जा विस्तारमा कमी आएको छ', उनले भने।

कर्जा विस्तारमा आएको कमीसँगै खराब कर्जामा भएको वृद्धि र यसका लागि गर्नुपर्ने प्रोभिजनिङको दबाबमा नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेदेखि नै नबिल बैंक रहेको छ। 

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.६९ प्रतिशत रहेको नबिल बैंकको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४.२४ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब खुद नाफा गरेपनि नबिल बैंकको वितरणयोग्य नाफा र सञ्चित नाफा भने खासै बढ्न सकेको छैन।

२ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गरेपछि नबिल बैंकको सञ्चित नाफा २ अर्ब २८ करोड रुपैयाँमा सीमित हुनेछ। यसले बैंकको टायरवान क्यापिटलमा ह्रास ल्याउनुको साथै बैंकको कर्जा विस्तार गर्ने क्षमतामा ह्रास आउने देखिन्छ। 

बैंकको व्यवसाय संकुचित हुँदा नाफा पनि संकुचित हुने सम्भावना बढ्दै गएको छ। राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक वित्तीय संस्थाको नाफा बढ्ने गरी कुनै पनि नीतिगत सहजीकरण गरेको छैन।

यस्तै अर्थतन्त्र चलायमान भइनसकेको र राष्ट्र बैंकले निर्माण व्यवसायीको कर्जा पुनर्तालिकीकरणको म्याद थप नगरेकाले बैंकको खराब कर्जा थप बढ्ने देखिन्छ। जसको सिधा असर बैंकको खराब कर्जा, लोन लस प्रोभिजनिङ, वितरणयोग्य नाफा र पुँजीकोषमा पर्ने देखिन्छ।

नगद लाभांश वितरणपछि नबिल बैंकसँग राष्ट्र बैंकको गम्भीर असहमति, अग्राधिकार सेयरमार्फत गर्न खोजिएको सेटलमेन्टमा धक्का नगद लाभांश वितरणपछि नबिल बैंकसँग राष्ट्र बैंकको गम्भीर असहमति, अग्राधिकार सेयरमार्फत गर्न खोजिएको सेटलमेन्टमा धक्का

नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने


प्रकाशित : बिहीबार , मंसिर २० २०८१०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend