मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने

बुधबार, कात्तिक १४ २०८१
नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने

पहिलो त्रैमासमा लाभांश घोषणा नगरी वितरणयोग्य नाफा बढी देखाएको यसले बैंकले आफ्नो वासेल रिपोर्ट सर्वसाधारणका लागि राम्रो देखाउने प्रयास गरेको छ।

काठमाडौं- नबिल बैंकले इतिहासकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ।

सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंकले लगानीकर्तालाई भने १० प्रतिशत मात्रै नगद लाभांश घोषणा गरेको छ। बैंकले कुल चुक्ता पुँजी २७ अर्ब ५ करोडको १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

गतवर्षको नाफाबाट करिब १४ प्रतिशत लाभांश दिने क्षमता भएपनि बैंकले १० प्रतिशतमात्रै नगद लाभांश घोषणा गरेको हो। पुँजीकोषमा दबाब भएका कारण अग्राधिकार सेयर जारी गर्न लागेको यस बैंकले आफ्नो सञ्चित नाफाबाट सम्पूर्ण रकम वितरण गर्दा बैंकको पुँजीमा थप दबाब बढ्ने देखिन्छ। 

पहिलो त्रैमासमा लाभांश घोषणा नगरी वितरणयोग्य नाफा बढी देखाएको यसले बैंकले आफ्नो वासेल रिपोर्ट सर्वसाधारणका लागि राम्रो देखाउने प्रयास गरेको छ। नगद लाभांश वितरण गरिएकाले आगामी त्रैमासबाट यस बैंकको वासेल रिपोर्टमा दबाब देखिने निश्चित छ। 

बैंकले राष्ट्र बैंकसमक्ष प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र वासेल रिपोर्ट पेस गर्नुपर्ने हुन्छ। नाफामा पहिलो नम्बरमा रहेपनि लाभांश वितरणका आधारमा नबिल बैंक विगत दुई वर्षयता निरन्तररुपमा पछि परिरहेको छ। गत आर्थिक वर्ष पनि यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

विगतका वर्षहरूमा अत्याधिक बोनस सेयर वितरण गर्नुका साथै नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेसँगै बैंकको चुक्ता पुँजी बढेकाले लाभांश क्षमता घटेको हो। गत आर्थिक वर्षयता बैंकको पर्फरमेन्समा समेत नकारात्मक असर परिरहेको छ।

बैंकको खराब कर्जा निरन्तररुपमा बढेको छ। जसको असर बैंकको प्रोभिजनिङमा परेको छ। प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा र पुँजीकोषमा दबाब परेको छ। 

पुँजीकोषको दबाब परेपछि नबिल बैंककै प्रस्तावमा राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्नेसम्बन्धी व्यवस्था गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षाबाट ल्याएको थियो। 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend