काठमाडौं- नगद लाभांश वितरणका कारण प्राथमिक पुँजीकोषको दबाबमा परेको नबिल बैंक गत वर्षको अन्तिम लेखापरीक्षणमा १२.३२ प्रतिशतले खुद नाफा घटेपछि थप समस्यामा पर्ने भएको छ।
बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको अपरिष्कृत वित्तीय वितरणभन्दा अन्तिम लेखापरीक्षणमा खुद नाफा ८७ करोड रूपैयाँले घटेपछि बैंकको वित्तीय स्थिति चौतर्फी दबाबमा परेको हो।
आर्थिक वर्ष २०८०/८१ को अन्तिम त्रैमासमा नबिल बैंकले ७ अर्ब ६ करोड खुद नाफा रहेको दावी गरेकोमा अन्तिम लेखारीपक्षणका क्रममा ६ अर्ब १९ करोड मात्रै देखिएको छ।
लेखापरीक्षकले कर्जा तथा अन्य सम्पत्तिमा भएको नोक्सानी व्यवस्था (इम्पियरमेन्ट चार्ज) बापतको खर्च १ अर्ब ४१ करोड ३४ लाख रूपैयाँले बढी देखाएपछि बैंकको खुद नाफा घटेको हो।
अपरिष्कृत वित्तीय विवरणमा बैंकले ३ अर्ब २२ करोड ४३ लाख रूपैयाँ कर्जा तथा अन्य सम्पत्तिबापत खर्च देखाएकोमा अन्तिम लेखापरीक्षकले ४ अर्ब ६३ करोड ७७ लाख रूपैयाँ कायम गरिदिएको छ। जसको असर बैंकको वितरणयोग्य नाफामा परेको छ।
नाफा घटेसँगै नियमित प्रोभिजनिङ बाहेक खराब कर्जा नोक्सानी व्यवस्थामा बढी रकम छुट्याउनुपर्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८ करोडमा सीमित भएको छ। जबकी बैंकले आफ्नो अपरिष्कृत वित्तीय विवरणमा वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड रूपैयाँ ७४ लाख रूपैयाँ देखाएको थियो।
अन्तिम लेखापरीक्षणका क्रममा नाफा घटेपछि बैंक प्राथमिक पुँजीकोषको निकै ठूलो दबाबमा पर्ने देखिएको छ। मंसिर २७ गते बैंकले ४०औँ साधारणसभा आह्वान गर्दै १० प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ।
नगद लाभांश वितरणसँगै बैंकबाट २ अर्ब ७० करोड रूपैयाँ सञ्चित नाफाबाट लगानीकर्ताको हातमा जानेछ। राष्ट्र बैंकको सर्त उल्लंघन गर्दै अग्राधिकार सेयरका लागि आवेदन दिएकाले हालसम्म स्वीकृत हुनसकेको छैन।
नगद लाभांश वितरण र गत वर्षको वितरणयोग्य नाफामा आएको कमीले नबिल बैंकको पुँजीकोष अनुपात ९.०८ प्रतिशत हाराहारीमा आउने देखिन्छ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले ७ अर्ब ६ करोड खुद नाफा देखाएर वासेल रिपोर्टमा प्राथमिक पुँजीकोष अनुपात ९.६२ प्रतिशत देखाएको थियो। तर अन्तिम लेखापरीक्षणको क्रममा लाभांश वितरणभन्दा अगाडि वितरणयोग्य नाफा ३ अर्ब ८ करोड रूपैयाँसमेत समावेश गरेर प्राथमिक पुँजीकोष अनुपात ९.४७ मा आएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो वासेल रिपोर्टलाई आधार मान्ने हो भने बैंक दोस्रो त्रैमाससम्ममा पुँजीकोषको निकै ठूलो दबाबमा फस्ने निश्चितप्राय: छ।
गत वर्षको अपरिष्कृत वित्तीय विवरणमार्फत प्रस्तुत गरिएको खुद नाफा समावेश गरेर चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएपछि मात्रै नबिल बैंकले लाभांश घोषणा गरेकाले टायरवान क्यापिटल कागजीरुपमा बढी देखिएको हो।
१० प्रतिशत नगद लाभांशको रुपमा २ अर्ब ७० करोड रूपैयाँ वितरण गरेपछि बैंकको सञ्चित नाफा करिब ३८ करोड रूपैयाँ मात्रै बचेको हुनेछ। उक्त सञ्चित नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको वितरणयोग्य नाफा १ अर्ब १२ करोड जोड्दा बैंकसँग सञ्चित नाफा १ अर्ब ५० करोड मात्रै कायम रहन्छ। जबकी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वासेल रिपोर्टमा सञ्चित नाफा ४ अर्ब ९८ करोड रूपैयाँ गरेको छ।
नबिल बैंकले मंसिरका लागि वासेल रिपोर्ट राष्ट्र बैंकमा पेस गर्दा (प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र पठाउनुपर्ने व्यवस्था रहेकाले) सञ्चित नाफा ४ अर्ब ९८ करोड रूपैयाँ नभइ १ अर्ब ५० करोड रूपैयाँ देखाउनुपर्ने हुन्छ। जसले बैंकको टायरवान क्यापिटल करिब ३ अर्ब ४८ करोड रूपैयाँ घट्ने देखिन्छ।
अन्तिम लेखापरीक्षणका क्रममा खुद नाफा घटेका कारण बैंकको वैधानिक जेगडासमेत घटेको छ। उक्त जगेडाहरु बैंकले चालु आर्थिक वर्षको टायरवान क्यापिटलमा समायोजन गरेर बैंकले आगामी वासेल रिपोर्ट तयार पार्नुपर्ने देखिन्छ।
अन्तिम लेखापरीपणमा बैंकले प्रस्तुत गरेको वैधानिक जेगडाको तुलनामा करिब १७ करोड रूपैयाँले घटेको छ। बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा वैधानिक जगेडा १५ अर्ब ३३ करोड देखाएमा लेखापरीक्षणका क्रममा १५ अर्ब १६ करोडमा सीमित भएको छ। चालु आर्थिक पहिलो त्रैमासको खुद नाफाबाट बैंकले वैधानिक जगेडमा ४१ करोड रूपैयाँ थप गरेको छ।
बैंकले अपरिष्कृत वित्तीय विवरणलाई आधार मानेर चालु आर्थिक वर्षको वासेल रिपोर्टमा वैधानिक जेगडामा १५ अर्ब ७४ करोड ५२ लाख रूपैयाँ देखाएको छ। अन्तिम लेखापरीक्षण मार्फत कायम गरिएको वैधानिक जगेडामा पहिलो त्रैमासमा कायम गरिएको जगेडा जोड्दा करिब १५ अर्ब ५७ करोडमा सीमित हुने देखिन्छ।
बैंकको प्रस्तावित १० प्रतिशत लाभांश, नाफा १२.३२ प्रतिशतको कमी, अन्तिम लेखापरीक्षणपश्चात वितरणयोग्य नाफा र जेगडामा आएको परिवर्तनले बैंकको प्राथमिक पुँजीकोष अनुपात ९ प्रतिशत वा सोभन्दा तल आउने छ।
पहिलो त्रैमासकै वासेल रिपोर्टलाई आधार मान्नेर लेखापरीक्षण मार्फत गरिएको समायोजनलाई समावेश गर्ने हो भने बैंकको वास्तविक प्राथमिक पुँजीकोष ४५ अर्ब ७५ करोडको हाराहारीमा आउने देखिन्छ।
उक्त पुँजीकोषलाई बैंकले प्रस्तुत गरेको कुल भारित सम्पत्ति जोखिम ५ खर्ब ५ अर्ब ६१ करोडले भाग गर्दा प्राथमिक पुँजीकोष अनुपात ९.०४ प्रतिशतमा आउने देखिन्छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राथमिक पुँजीकोष ४९ अर्ब ४० करोड देखाउँदै प्राथमिक पुँजीकोष अनुपात ९.७७ प्रतिशत देखाएको छ। उक्त पुँजीकोषको गणनालाई बैंकको अन्तिम लेखापरीक्षणले अमान्य ठहर गरिदिएको छ।
नबिल बैंकले राखेको अग्राधिकार सेयरको प्रस्तावमा राष्ट्र बैंक सकारात्मक नदेखिएपछि बैंकले पुन: मर्ज वा विदेशी साझेदार भित्र्याउने रणनीतिमा लागेको छ।
आगामी साधारणसभामा बैंकले मर्जर तथा एक्विजिसनसँगै विदेश साझेदारी खोज्ने विशेष प्रस्तावमा प्रस्तुत गर्न लागेको छ। बैंकको उक्त प्रस्तावका कारण पनि बैंक पुँजीकोषको दबाबमा रहेको तथ्य बुझ्न गाह्रो छैन।
कुनै पनि आर्थिक वर्ष प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशतभन्दा तल आएमा बैंकले लाभांश वितरण गर्न नपाउने नियामकीय व्यवस्था रहेको छ। उक्त व्यवस्थाभित्र रहेर लाभांश वितरण गर्ने नीतिमा बैंक देखिन्छ।
यद्यपी बढ्दो खराब कर्जा र कर्जा नोक्सानी व्यवस्थाका कारण आगामी त्रैमासमा बैंक थप समस्यामा पर्ने निश्चित छ। पुँजीकोषमा दबाब पर्ने देखेकै कारण गत वर्ष करिब ४५ अर्ब कर्जा प्रवाह गरेको नबिल बैंकले यस वर्षको पहिलो त्रैमासमा ७ अर्ब मात्रै कर्जा लगानी गरेको छ।
नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर
नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने