काठमाडौं- नबिल बैंकले मर्जर तथा एक्विजिसन र विदेशी साझेदार भित्र्याउने विशेष प्रस्ताव साधारणसभामा प्रस्तुत गर्ने भएको छ।
यसअघि नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरिसकेको नबिल बैंकले पुन: एकपटक मर्जर तथा एक्विजिसनको प्रस्ताव साधारणसभामा प्रस्तुत गर्नुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ।
नेपाल बंगलादेशको प्रमुख साझेदार आईएफआईसी नबिल बैंकको प्रमुख साझेदार रहेकै समयमा थप साझेदार खोज्ने प्रस्ताव गर्नुले पनि नबिल बैंकमाथि दबाब बढ्दै गएको रुपमा बुझ्न सकिन्छ।
१० प्रतिशत नगद लाभांश प्रस्ताव लिएर जान लागेको नबिल बैंकको साधारणसभा आगामी मंसिर २७ गतेलाई आव्हान गरिएको छ। उक्त साधारणसभामा नबिल बैंकले मर्ज तथा एक्विजिसन बाटो खुला गरेको विशेष प्रस्ताव पेस गर्नेछ।
साधारणसभाले पारित गरेमा नबिल बैंक पुन: एक पटक मर्जरमा जाने निश्चित देखिएको छ। नबिल बैंकले गत वर्षको नाफाबाट २ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गरेपछि बैंकको पुँजीकोषमा दबाब देखिने भएको छ।
अर्थतन्त्रले अपेक्षित गति लिन नसकेपछि नबिल बैंकको खराब कर्जा बढिरहेको छ भने पुँजीकोष पुर्याउनका लागि जारी गर्न लागेको अग्राधिकार सेयरसमेत राष्ट्र बैंकमा रोकिएको छ।
नबिल बैंकले राष्ट्र बैंकले तोकेको सर्तभन्दा बाहिर गएर अग्राधिकार सेयरको अनुमति माग गरेको भन्दै राष्ट्र बैंकले सच्याएर आउन भनेपनि नविल बैंकले अटेर गर्दै आएको छ।
लाभांश वितरणपछि नबिल बैंकको पुँजीकोष ९.२३ प्रतिशत नजिक आउने देखिएको छ। अर्थतन्त्र चलायमान भइ कर्जा विस्तार गर्नुपरेमा नबिलको प्राथमिक पुँजीकोषमा दबाब आउने भएकाले यस बैंकले साधारणसभामा मर्ज तथा प्राप्तिको प्रस्ताव अगाडी बढाएको हो।
नबिलको अग्राधिकार सेयर प्रस्तावमा राष्ट्र बैंक असहमत, भुक्तानी अवधि तोकेर निर्देशन उल्लंघन गरेको ठहर