काठमाडौं- चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले डेटा चारी गरेको युरोपेली देश पोल्यान्डको सेनाले पनि ठहर गरेको छ। बीवाईडीका गाडी राम्रा भए पनि नियत भने ठीक नदेखिएको हो। पोल्यान्डको सेनाले हालै बीवाईडीका गाडीमार्फत चीनले डेटा चोरी गरेको र त्यसबाट सुरक्षा चुनौती बढेको भन्दै उक्त कम्पनीको गाडी प्रयोगमा प्रतिबन्ध लगाएको हो।
विद्युतीय सवारीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बीवाईडीले साना र कमजोर मुलुकमा सवारी निर्यात गर्दा केही घृणित काम गरिरहेको पाइएकोमा अब ठूला तथा शक्तिशाली देशमा पनि डेटा चारीको नियत राखेको निष्कर्ष युरोपेली देशले निकालेको हो।
बीवाईडीले चीनमा उत्पादित विद्युतीय कार निर्यात गर्दा त्यसमा चीनकै टेलिकम कम्पनीको सिम कार्ड राख्ने गरेको पाइएको छ। सिम कार्ड नराखेका गाडीमा टेलिमेटिक बक्समा कनेक्सन हुनेबित्तिकै त्यसबाट चीनमा डेटा जाने गरेको पत्ता लागेपछि पोल्यान्डको आर्मीले बीवाईडीका गाडी प्रयोगमा रोक लगाएको हो।
यसअघि इजरायली रक्षा मन्त्रालयलले पनि बीवाईडीका गाडी प्रयोगमा रोक लगाएको थियो। २०२५ को अक्टोबरमा इजरायली रक्षा मन्त्रालयले बीवाईडीका गाडीमार्फत चीनले डेटा चारी गरेको ठहर गरेको थियो।
पोल्यान्ड जनसंख्याका आधारमा युरोपेली युनियनको पाँचौ ठूलो मुलुक हो। पोल्यान्ड ईयूको प्रबुद्धशाली मुलुक भएकाले त्यहाँको सेनाले बीवाईडीका विद्युतीय कार प्रयोग नगर्ने निष्कर्ष निकाल्नुको अर्थ महत्त्वपूर्ण रहेको धेरैको बुझाइ छ। यसको प्रभाव क्रमिक रूपमा समग्र युरोपेली युनियनसम्म फैलिने देखिन्छ।
पोल्यान्डको सेनाले चीनमा बनेको बीवाईडीका निजी कार सैनिक अधिकारी र आर्मीका कार्यालयहरूमा प्रवेश रोक लगाएको मिलिट्री डटकमले लेखेको छ। राष्ट्रिय सुरक्षामा चुनौती थपिएको निष्कर्षसहित बीवाईडीका गाडी प्रयोगमा रोक लगाएको उक्त अनलाइनले पोलिस रेडियोलाई उद्धृत गर्दै लेखेको छ।
‘आधुनिक चिनियाँ गाडीमा बृहत् रूपमा डेटा संकलनका लागि विद्युतीय उपकरण जडान गरिएको पाइएको छ। यसरी राखिएका उपकरणले गाडीभित्रको मात्र नभई वरिपरिको समेत डेटा संकलन गर्ने देखिएको हो,’ आर्मीका प्रतिनिधीले भनेका छन्, ‘बीवाईडीका गाडीहरूले फोटो, भिडियो, आवाज तथा गाडी भएको स्थानको सबै डेटा चीन पठाउने रहेछ।’
बीवाईडीका गाडीले संकलन गरेर चीन पठाउने उक्त डेटा आवश्यक पर्दा वा नियमित रूपमा गुप्तचरी/जासुसीका लागि प्रयोग गर्ने ठहर पोल्यान्डले गरेको हो। पोल्यान्डको सेनाले लगाएको प्रतिबन्ध सैन्य इकाइहरूमा मात्र नभई कर्मचारी तथा आगन्तुकहरूले प्रयोग गर्ने नजिकैका पार्किङ स्थलहरूमा पनि लागू हुने समाचारमा उल्लेख छ।
बीवाईडीका गाडीमार्फत डेटा चोरी गरेको पाइएपछि त्यहाँको रक्षा मन्त्रालयले बीवाईडीका कार प्रयोग नगर्न निर्देशन दिएको थियो। बीवाईडीले इजरायल पठाएका गाडीमा ‘इन बिउल्ड’ सिम कार्ड राखेर पठाएको र त्यसबाट आफ्ना देशका नागरिकको प्रत्यक्ष डेटा जस्तैः लाइभ लोकेसन, अडियो तथा भिडियोलगायत सिधै चीन गइरहेको निष्कर्ष इजरायलको रक्षा मन्त्रालयको थियो। यसले नागरिक र सुरक्षा निकायका अधिकारिकहरूको डेटा चीन गइरहेकाले बीवाईडीका गाडी प्रयोग नगर्न रक्षा मन्त्रालयले भनेको हो।
चिनियाँ कम्पनी बीवाईडीका विद्युतीय गाडी प्रयोग नगर्न इजरायल रक्षा बल (आईडीएफ) ले निर्देशन दिएको थियो। बीवाईडीका गाडीमा जडान गरिएको सञ्चार प्रणाली र सेन्सरमार्फत संवेदनशील डेटा चोरी भएको हुन सक्ने र हुने जोखिमका कारण यस्तो निर्णय गरिएको इजरायली रक्षा मन्त्रालयको भनाइ थियो।
यसअघि साइबर सुरक्षा विज्ञहरूले पनि चिनियाँ बीवाईडीका गाडीहरू जासुसीका उपकरणका रूपमा प्रयोग हुन सक्ने चेतावनी दिएका थिए। इजरायली रक्षा मन्त्रालयले यसअघि नै सयौँ चिनियाँ गाडीहरू खरिद गरी आईडीएफका अधिकारीहरूलाई प्रयोग गर्न दिएको थियो। तर आईडीएफका लेफ्टिनेन्ट कर्नेल तहका अधिकारीहरूका लागि भनी ल्याइएका नयाँ बीवाईडी एट्टो थ्री गाडीलाई सुरक्षा संवेदनशील हुने ठहर गर्दै प्रयोग नगर्न निर्देशन दिएको थियो।
संवेदनशील डेटा चुहिने जोखिम कम गर्न यस्ता गाडीमा रहेको ‘ई-कल’ प्रणाली (आपतकालीन अवस्थामा स्वचालित रूपमा सेवा प्रदायकसँग सम्पर्क गर्ने सुविधा) बन्द गरिएको बताइए पनि विशेषज्ञहरूले यो पर्याप्त नभएको चेतावनी दिँदै बीवाईडीका गाडी नै प्रयोग नगर्न भनेपछि प्रयोगमा प्रतिबन्ध लगाइएको थियो।
बिजनेस न्युजले नेपालमा आयात भएका बीवाईडीका विद्युतीय कारमा पनि चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड राखेर ल्याएको तथ्य सार्वजनिक गरेको छ। यस्तै काम इजरायल तथा पोल्यान्डमा पनि भइरहेको पाइएको हो। नेपालमा बीवाईडीले प्रत्यक्ष रूपमा चीनकै टेलिकम नेटवर्कको सिम कार्ड ल्याएर प्रयोग भइरहँदा समेत नेपालका सुरक्षा अंगहरू र नियामक निकायहरू मौन देखिएका छन्। यो सुरक्षा संवेदनशीलता र नागरिकको डेटा गोपनीयतामा गम्भीर खेलबाड हो।
नेपालमा पनि सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरू, राजनीतिक नेताहरू, उच्चपदस्थ सरकारी कर्मचारीहरूले पनि चिनियाँ टेलिकम कम्पनी चाइना मोबाइल हङकङको सक्रिय सिम कार्ड प्रयोग भएका बीवाईडीका विद्युतीय कार चढ्दै आइरहेका छन्। जसका कारण उनीहरूको सम्पूर्ण डेटा ‘लाइभ’ चीन पुगिरहेको छ।
बीवाईडी विक्रेता साइमेक्स इंकले नेपालमा तेस्रो पक्षसँग भएको जीएसएम डिभाइस आयातको अनुमति देखाएर सिम कार्ड आयात गरी डेटा निर्यात गरिरहेको छ। साइमेक्स इंकले २०२४ मार्च २६ मा नेपाल दूरसञ्चार प्राधिकरणबाट एमटीसीएफ थ्री मोडल नम्बर उल्लेख भएको उपकरणको टाइप अप्रुभल स्वीकृति देखाएर सिम कार्ड आयात गरेको बारेमा पनि बिजनेस न्युजले समाचार प्रकाशित गरेको थियो।
उक्त स्वीकृति देखाएर बीवाईडी विक्रेता साइमेक्स इंकले चाइना मोबाइल हङकङको सिम कार्ड चीनबाट आयात गरेर नेपाली उपभोक्तालाई बिक्री गरिरहेको छ। जीएसएम डिभाइस आयातको स्वीकृति बीवाईडी बिक्रेता साइमेक्स इंकले नभई डेलकन कम्प्लायन्स प्राइभेट लिमिटेड र बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडबीच सम्झौता भएको दूरसञ्चार प्राधिकरणको स्वीकृति पत्रबाट देखिन्छ। यतिमात्र होइन साइमेक्स इंकले एउटा सिम कार्ड २३ सय चिनियाँ युआनमा नेपाल ल्याएको छ। विदेशी कम्पनीको सक्रिय सिम कार्ड त ल्याउनै पाइन्न र त्यसमा सिमको भन्सार महसुलमा डेटाको पैसा लगिएको हो भने त्यो झन् संवेदनशील भएको अर्थका अधिकारीहरूको भनाइ छ।
हाल नेपाली बजारमा बीवाईडीका १३ हजारभन्दा बढी विद्युतीय कार गुडिरहेका छन्। इजरायल तथा पोल्यान्डमा जस्तो डिभाइसबाट डेटा चोरी भइरहेको हो भने सिम कार्ड आयात गरेर बिक्री गर्नुपूर्वको बीवाईडी प्रयोगकर्ताको डेटा चीन गइरहेको छ।
साइमेक्सले सिम कार्ड आयात गरेर बिक्री गर्न थालेयता त सम्पूर्ण प्रयोगकर्ताको डेटा ‘साइमेक्स इंक प्रालि’को माध्यमबाट चीनले नै चोरी गरिरहेको छ। यसरी भइरहेको डेटा चोरीको मतियार सम्पूर्ण रूपमा साइमेक्स इंक हो।
थप सामग्री -
बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रूपैयाँ
बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?
नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड
बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?
उद्देश्यविपरीत सिम कार्ड आयात गर्न साइमेक्सले कसरी पायो विदेशी मुद्रा सटहीको सुविधा?
बीवाईडीले ‘डेटा चोरी’ गरेको इजरायलको ठहर, नेपालका सुरक्षा निकाय र नियामक मौन
अवैधरूपमा एउटै सिमलाई २ हजार ३ सय युआन खर्चिएर साइमेक्सले गरिरहेको छ ‘विदेशी मुद्रा निर्यात’
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्