सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

सीजी मोटर्सको अर्को करछली : १४ सिटे किङलङमा एउटा सिट थपेर १ करोड ४५ लाख रुपैयाँ कर छल्यो

९ प्रतिशत कम कर तिर्न माइक्रोलाई बनाइयो मिनिबस

images
मंगलबार, पुस २३ २०८१
images
images
सीजी मोटर्सको अर्को करछली : १४ सिटे किङलङमा एउटा सिट थपेर १ करोड ४५ लाख रुपैयाँ कर छल्यो

मिनिबसमा भने १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था आर्थिक ऐनमा छ। ९ प्रतिशत भन्सार महसुल छली गर्न सीजी मोटर्सले १४ सिटे माइक्रोबसलाई १५ सिट क्षमताको भनेर भन्सार जाँचपास गराएको हो।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले पुनः करछली गरेको पाइएको छ। चीनबाट केवाईसीका विद्युतीय भ्यान ल्याउँदा पटक-पटक करछली गर्दै आएको डलर अर्बपति विनोद चौधरीको कम्पनी सीजी मोटर्सले अर्को ब्रान्ड किङलङका माइक्रोबस आयात गर्दा पनि करछली गरेको पाइएको हो। 

images
images
images

चिनियाँ सवारी उत्पादक कम्पनी किङलङको नेपालका लागि आधिकारिक बिक्रेता रहेको सीजी मोटर्सले १४ सिट क्षमताको माइक्रोबसलाई मिनिबस भएको दाबी गरेर करछली गरेको तथ्य बिजनेस न्युजले प्राप्त गरेको छ।

images

सीजी मोटर्सले समान तौल र स्पेसिफिकेसन भएको किङलङको १४ सिटे माइक्रोबसलाई कुनै समय १४ सिटे र कुनै समय १५ सिटे मिनिबस भनेर आयात गरेको पाइएको छ। 

images
images
images

१४ सिट क्षमताको विद्युतीय माइक्रोबस आयात गर्दा १० प्रतिशत भन्सार महसुल लाग्छ भने १५ सिट भएपछि त्यो मिनिबस वर्गमा भन्सार जाँचपास हुन्छ। मिनिबसमा भने १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था आर्थिक ऐनमा छ। ९ प्रतिशत भन्सार महसुल छली गर्न सीजी मोटर्सले १४ सिटे माइक्रोबसलाई १५ सिट क्षमताको भनेर भन्सार जाँचपास गराएको हो। 

सीजी मोटर्सले सियामिन किङलङ युनाइटेड अटोमोटिभ इन्डस्ट्री कम्पनी लिमिटेडबाट आयात गरेको किङलङका विद्युतीय माइक्रोलाई एउटा मितिमा १४ सिट क्षमताको भनेर आयात गरेको र अर्को मितिमा सोही क्षमता र स्पेसिफिकेसनका माइक्रोबसलाई १५ सिट क्षमताका भनेर आयात गरेको थियो।

किङलङका विद्युतीय भ्यान आयात गरेर करछली गर्न सीजी मोटर्सले गरेका कामको तथ्यगत विवरण यस्तो छ :

सीजी मोटर्सले किङलङबाट ल्याएको माइक्रोबसको बिजकबमोजिम प्रतिगाडी २०,४९ घनमटिर (५३००-१७०००२२७५ एमएम) आयतन तथा प्रतिगाडी कुल तौल २०३२ किलोग्राम रहेको १४ सिट क्षमताको सवारी मोडेल ‘किङलङ एक्सएमक्यू ६५२०’ को ८० किलोवाट पीएमपी शक्तिको विद्युतीय गाडी प्रज्ञापन पत्र नम्बर ५४३९ मा २०२३ सेप्टेम्बर १५ मा ३० वटा प्रति भ्यान २२ हजार ४० अमेरिकी डलरमा आयात गरेको थियो। 

त्यस्तै सीजी मोटर्सले अर्को लटमा प्रज्ञापन पत्र नम्बर ९००८ मा २०२३ डिसेम्बर २८ मा ५० वटा किङलङका विद्युतीय माइक्रोबस प्रतिगोटा २२ हजार ४० अमेरिकी डलर, प्रज्ञापन पत्र नम्बर २१७ मा २०२४ जनवरी १७ मा ५० वटा किङलङका विद्युतीय माइक्रोबस २२ हजार ४० डलर प्रति गाडी र प्रज्ञापन पत्र नम्बर ११९०४ मा २०२४ मार्च २६ मा २५ वटा किङलङ माइक्रोबस प्रतिगोटा २० हजार ५ सय ५० अमेरिकी डलरका दरले १ सय ५५ वटा गाडी आयात गरेको थियो। 

किङलङका यी विद्युतीय सवारीसाधन एचएस कोड ८७०२.४०.३० को माइक्रोबस शीर्षकमा वर्गीकरण गरी भन्सार मूल्यमा महसुल दर १० प्रतिशत, मूल्यअभिवृद्धि कर १३ प्रतिशत र सड़क निर्माण दस्तुर २.५ प्रतिशतका दरले महसुल लागेर भन्सार जाँचपास भएका थिए। 

तर सीजी मोटर्सले नै सोही मोडेलको सवारी साधनलाई प्रज्ञापन पत्र नम्बर २१३६ मा २०२४ अप्रिल ४ मा २५ वटा प्रतिगाडी २० हजार ५ सय ५० डलर, प्रज्ञापन पत्र  नम्बर २४००५ मा २०२४ जुन ९ मा २५ वटा गाडी प्रतिगोटा २० हजार ७ सय ५० अमेरिकी डलरका दरले आयात गरेको थियो। ती सवारी साधनलाई सीजी मोटर्सले पहिले नै वर्गीकरण गरेको एचएस कोड ८७०२.४०.३० मा नभए सोभन्दा कम भन्सार दरबन्दी भएको एचएस कोड ८७०२.४०.२० मा जाँचपास गराएको पाइएको हो। मिनीबसमा वर्गीकरण गरिएको उक्त एसएस कोडमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था रहेको छ। 

सीजी मोटर्सले ल्याएको किङलङका विद्युतीय माइक्रोबसलाई १५ सिट देखाएकै भरमा मिनीबस भनेर १ प्रतिशत भन्सारमा जाँचपास गरिएको हो। मिनीबस हुनका लागि आवश्यक पर्ने प्राविधिक गुण र सिटको स्पेसिफिकेसनको जाँच नै नगरी १५ सिट छ भनेकै आधारमा मिनीबस शीर्षकमा वर्गीकरण गरी जाँचपास गरिएको थियो। 

आर्थिक ऐन २०८० को दफा २(१) सँग सम्बन्धित अनुसूची-१ को दफा १२ (५) बमोजिम शीर्षक ८७.०२ को प्रयोजनका लागि सिट संख्या गणना गर्नुपर्दा नियमित सिट संख्या र ड्राइभर सिट गणना गरिने तर कन्डक्टर सिट एवं अन्य अतिरिक्त सिट तथा फोल्डिङ सिटलाई गणना नगरिने व्यवस्था रहेको छ। तर सीजी मोटर्सले रसुवा भन्सार कार्यालयलाई गुम्राहमा पारेर बढी सिट देखाएर कम भन्सार महसुल लाग्ने एचएस कोडमा किङलङका विद्युतीय भ्यान जाँचपास गराएको थियो। 

आर्थिक ऐनका साथै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४ अनुसार चार टनदेखि दश टनसम्म वजन भएको मिनीबसलगायतका मझौला सवारीमा र सोही ऐनको दफा ५ अनुसार चार टनभन्दा कम्ती वजन भएको कार, जीप, भ्यानलगायतलाई सानो सवारीमा वर्गीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। 

यात्रीबाहक मिनीबसका लागि ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनको लागि सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १८(१) (घ) बमोजिम सिटको लम्बाई, चौडाई र उचाइ कम्तीमा १५ इन्च, पिठ्यूँको उचाइ कम्तीमा २२ इन्च र पंक्ति बढीमा २/२ हुने, सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ इन्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी १३ इन्च, मिनीबसको मित्री उचाइ ६४ इन्च र बसमा स्केप ह्याचसहितको संकटकालीन निकासको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ।

सीजी मोटर्सले आयात गरेको किङलङका विद्युतीय भ्यान प्रज्ञापन पत्र नम्बर २१३६ बाट आयात गरिएका गाडीको कुल तौल २ हजार ४० किलोग्राम उल्लेख भएको र कागजातमा प्रति गाडीको आयतन २०.७४ घनमिटर देखाएता पनि सवारी परीक्षण कार्यालयले गरेको परीक्षण बमोजिम १९.१८ घनमिटर (५३००/१६४५/२२०० एमएम) रहेको आधारमा ती गाडी मझौला सवारीअन्तर्गत नपर्ने प्रष्ट रुपमा देखिन्छ।

त्यस्तै कानूनबमोजिम अतिरिक्त सिट र फोल्डिङ सिट गणना गर्न नमिल्ने उक्त गाडीमा १४ सिटको सो मोडेलमा १ सिट थप गरेता पनि कानूनबमोजिम निर्धारित स्पेसिफिकेसन बमोजिम अतिरिक्त सिट गणना गर्न नमिल्ने र मिनीबस हुन सिटको पंक्ति र आकार, आन्तरिक उचाइ तथा संकटकालीन निकासको व्यवस्थासमेत रहेको पुष्टि नभइकनै जाँचपास भएको थियो।

किङलङको उक्त विद्युतीय माइक्रोबस एचएस कोड ८७०२.४०.२० को मिनीबसमा वर्गीकरण गर्न कानूनी र प्राविधिक व्यवस्थाअनुरुप नमिल्ने देखिएको छ। एचएस कोड ८७०२.४०.३० को वर्गीकरणमा परेको विद्युतीय भ्यान १४ सिट क्षमताको हुने र उक्त शीर्षकमा १० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ। तर किङलङको उक्त माइक्रोबस एचएस कोड ८७०२.४०.२० को वर्गीकरणमा आएकाले करिब डेढ करोड रुपैयाँ राजस्व छली भएको छ। 

भन्सार महसुल कम लाग्ने शीर्षकमा जाँचपास हुँदा त्यसमा लाग्ने लाग्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुरसमेत घटी हुन जान्छ। सोहीकारण सीजी मोटर्स आयात गरेको ५० वटा किङलङका विद्युतीय माइक्रोबस १० प्रतिशत भन्सार लाग्ने एचएस कोडमा छुट्नु पर्नेमा १ प्रतिशत भन्सार लाग्ने एचएस कोडमा छुटेको हो।

यसरी सीजी मोटर्सले नियतबस करछली गर्ने उद्देश्यले एकै तौल स्पेसिफिकेसनको भ्यान कम कर लाग्ने एचएस कोडबाट जाँचपास गराएकाले छली भएको भन्सार महसुल १ करोड २५ लाख ४१ हजार रुपैयाँ, दस्तुर बापतको ३ लाख ५४ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) बापतको १६ लाख ७६ हजार रुपैयाँ करछली भएको छ। सीजी मोटर्सले ल्याएको ५० वटा किङलङको माइक्रोबसमा सबै गरेर कुल १ करोड ४५ लाख ७२ हजार रुपैयाँभन्दा बढी करछली भएको छ। 

एकै मोडेलको र समान स्पेसिफिकेसन भएका सवारीसाधनका लागि समान हार्मोनाइज्ड कोड लागु हुनुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ। आर्थिक ऐन २०८० को दफा २(१) लाई कार्यान्वयन गर्न तय गरिएको अनुसूची-१ मा सबै कुराको सामाञ्जस्य हुने गरी आयातित मालवस्तुको दर्ताका लागि प्रचलित कानूनले मापदण्ड तोकेको छ भने सोबमोजिम हुने गरी मालवस्तुको हार्मोनाइज्ड कोड निर्धारण गरी भन्सार मूल्यमा महसुल निर्धारण गरी कर असुल गर्न सहजीकरण गरिदिएको छ। तर सीजी मोटर्सले करछली गर्नकै लागि भन्सार अधिकृतहरूलाई गुमराहमा पारेर एकै प्रकारका विद्युतीय माइक्रोबस आयात गर्दा केहीलाई कम कर लाग्ने भनेर करछली गरेको पाइएको हो। 

यतिमात्र होइन सीजी मोटर्सले आयात गर्दै आएका सवारीसाधन एल्लो लेनबाट जाँचपास हुँदै आएको छ। यसअघि पनि सीजी मोटर्सले चीनबाट ल्याएको अर्को विद्युतीय भ्यान ब्रान्ड केवाईसी (पछि सीजी केवाईसीमा परिणत भएको) मा पटक-पटक करछली गरेको पुष्टि भइसकेको छ। भन्सार कार्यालयले करछली भएको बताएर छली भएको कर तिर्न आग्रह गर्दा सीजी मोटर्सले उच्च अदालतमा आफूले करछली नगरेको भन्दै मुद्दा हालेको थियो। तर सीजी मोटर्स हालेका दुवै मुद्दा उसले हारेर छली गरेको कर तिरिसकेको छ। 

त्यस्तै सीजी मोटर्सले आयात गरेको निटा भी पनि शंकाको दायरामा छ। यसका साथै सीजी मोटर्सले चीनबाट आयात गरिरहेका सीजी केवाईसी, किङलङ, निटा भीका साथै जीएसीको आयोन, स्मार्ट, रिडारा, अवतार, एक्सपाङ, डायुन ब्रान्डका सवारीमा समेत करछलीको आशंका गरिएको छ। 

करछली गरेर वित्तीय अपराध गर्ने सीजी मोटर्स र एनईभी नेपाल कसरी योग्य भए जीजीजीआईको परियोजनामा करछली गरेर वित्तीय अपराध गर्ने सीजी मोटर्स र एनईभी नेपाल कसरी योग्य भए जीजीजीआईको परियोजनामा

सीजी मोटर्सको विद्युतीय सवारी आयात शंकास्पद, ‘एल्लो लेन’बाट हुन्छ जाँचपास सीजी मोटर्सको विद्युतीय सवारी आयात शंकास्पद, ‘एल्लो लेन’बाट हुन्छ जाँचपास

सीजी मोटर्सद्वारा विद्युतीय सवारी आयातमा बारम्बार करछली, मुद्दा हारेपछि तिर्‍यो करोडौँ कर र जरिवाना सीजी मोटर्सद्वारा विद्युतीय सवारी आयातमा बारम्बार करछली, मुद्दा हारेपछि तिर्‍यो करोडौँ कर र जरिवाना

मोटर पावर घटेपछि अन्य ब्रान्डले घटाए मूल्य, सीजी मोटर्सले निटा भीमा किन घटाएन? मोटर पावर घटेपछि अन्य ब्रान्डले घटाए मूल्य, सीजी मोटर्सले निटा भीमा किन घटाएन?


प्रकाशित : मंगलबार, पुस २३ २०८११२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend