काठमाडौं- भन्सार नाकामा सरकारलाई तिर्ने कर नै कम भएपछि आयातित मालवस्तुको मूल्य स्वतः घट्छ। कर कम लाग्ने भनेको सामानको लागत स्वभाविक रुपमा घट्नु हो, जसको प्रत्यक्ष प्रभाव मूल्यमा देखिन्छ। तर चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले भने चिनियाँ ब्रान्ड निटा भीको आयातमा १५ प्रतिशत कर कम हुँदा गाडीको मूल्य नघटाइ बिक्री गरिरहेको छ।
सीजी मोटर्सले जस्तै विद्युतीय कार आयात गरेर बिक्री गर्ने अन्य दुई कम्पनीले भने एकै मोडलको मोटर पावर घटेर आएपछि सो कारको मूल्य घटाइसकेका छन्। यता सीजी मोटर्सले भने विद्युतीय कारको मोटर पावर घटेर आउँदासमेत मूल्य नघटाइ बिक्री गरेकोबारे बिजनेस न्युजले तथ्य बाहिर ल्याएको हो।
७० किलोवाट मोटर पावरमा आइरहेको विद्युतीय कार ५० किलोवाट मोटर पावरमा आउँदा सिधा १५ प्रतिशत कर कम लाग्ने वर्गबाट जाँचपास हुन्छ। सीजी मोटर्सले जसैगरी विद्युतीय कार आयात गर्दै आएको अन्य दुई कम्पनीले आफूले बिक्री गर्दै आएको विद्युतीय कारको मोटर पावर घटेर आएलगत्तै उक्त कारको मूल्य घटाएका छन्।
सीजी मोटर्सले भने ७० किलोवाट मोटरमा आएको निटा भी एक वर्षभन्दा अघिदेखि ५० किलोवाट मोटरमा आयात गरिरहेको छ। तैपनि कम्पनीले हालसम्म मूल्य घटाएको छैन। मूल्य नघटाएर सीजी मोटर्सले सरकारले दिएको कर सुविधा आफैँ कुम्ल्याइरहेको छ।
ग्रेटवाल मोटर्सको विद्युतीय कार ओरा ०३ सुरुमा नेपाल आउँदा यसमा १ सय ५ किलोवाट मोटरमा आयात भएको थियो। १ सय ५ किलोवाट मोटरमा आयात भएको यो विद्युतीय कारको मूल्य ग्रेटवाल मोटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले ४७ लाख ४९ हजार रुपैयाँ तोकेको थियो।
पछिल्लो पटक कम्पनीले आरएन्डडी गरेरै ९९ किलोवाटको मोटर पावरमा ओरा ०३ नेपाली बजारमा पठाएको कम्पनीले जनाएको छ। ९९ किलोवाट मोटरमा आयात भएपछि ओरा ०३ एक सय किलोवाटसम्मको करको स्ल्याबमा जाँचपास भयो। सोही कारण अहिले कम्पनीले मोटर पावर ९९ किलोवाट भएपछि ग्रेटवाल ओरा ०३ को मूल्य ४२ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ। अर्थात १ सय ५ किलोवाट मोटरबाट ९९ किलोवाट मोटरमा आयात भएपछि ओरा ०३ को मूल्य सिधा ५ लाख रुपैयाँ मूल्य घटेको छ।
यसैगरी हालैमात्र हुन्डाईको विद्युतीय कार आयोनिक फाइभ पनि मोटर पावर घटेर नेपाली बजारमा आउने घोषणा आधिकारिक बिक्रेताले गरिसकेको छ। मोटर पावर घटेर आउने आयोनिक फाइभको मूल्य घटाएर बुकिङसमेत लिन थालिसकिएको छ। पछिल्लो पटक हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक फाइभमा १ सय २५ किलोवाटमा आयात गरिरहँदा सो कारको मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गरिरहेको थियो।
तर अहिले हुन्डाई मोटर कोरियाले आयोनिक फाइभ १ सय किलोवाट मोटर पावरमा समेत उत्पादन सुरु गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले १ सय किलोवाट मोटरयुक्त आयोनिक फाइभ मूल्य घटाएर नेपाल बिक्री गर्ने घोषणा गरिसकेको छ। १ सय किलोवाट मोटर पावरमा आएको नयाँ आयोनिक फाइभको नेपाली बजार मूल्य ९२ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
१ सय २५ किलोवाट मोटर पावरबाट १ सय किलोवाट मोटर पावरमा आयात हुँदा हुन्डाई आयोनिक फाइभको मूल्य ११ लाख रुपैयाँ घटेको छ। यो आयात गर्दा लाग्ने करको दर कम भएर स्वतः लागत कम हुँदा सरकारले दिएको छुट सहुलियत उपभोक्तामा हस्तान्तरण भएको हो।
ओरा ०३ र हुन्डाई आयोनिक फाइभका आयातकर्ताले सरकारले दिएको कर सहुलियत उपभोक्तामा ‘पासअन’ गरेको हालैको उदाहरण हुन्। तर यसरी नै कर सहुलियत लिएर विद्युतीय कार आयात गरिरहेको सीजी मोटर्सले भने निटा भी आयातमा खुलेआम मोलाहिजा गरिरहेको छ।
५० किलोवाट मोटरमा ल्याएपछि निटा भीको लागत स्वतः करिब ४ लाख रुपैयाँ कम भइसक्दा अन्य ब्रान्डले जसरी सीजी मोटर्सले यसको मूल्य घटाउनु पर्ने थियो। निटा भी ७० किलोवाटको मोटर ५० किलोवाटमा झारेर आयात गर्दा गत आवमा र चालु आवमा पनि सिधा हिसाबमा १५ प्रतिशत कर कम लाग्छ।
यसरी हेर्दा सीजी मोटर्सले ५० किलोवाट मोटरयुक्त निटा भी आयात गरेपछि ७० किलोवाट मोटरयुक्त निटा भीको तुलनामा १७/१८ प्रतिशत कम कर सरकारलाई तिरेको छ। त्यो भनेको सो कार १८ प्रतिशतसम्म कम मूल्यमा आयात भएको हो। तर निटा भीको एमआरपी भने सीजी मोटर्सले ७० किलोवाटमा ल्याउँदा जति थियो अहिले ५० किलोवाट बनाएर ल्याउँदा पनि त्यति नै अर्थात ३८ लाख ९९ हजार रुपैयाँ राखेर बिक्री गरिरहेको छ।
आदर्श व्यवसायको ‘स्पिच’ दिने अर्बपतिको ‘ब्याच’ पाएका बिनोद चौधरीको कम्पनीले उपभोक्तामाथि अन्याय गरेर अनुचित नाफा आर्जन गरिरहेको छ। यतिमात्र होइन चौधरी कानून बनाउने प्रतिनिधिसभामा सदस्यसमेत छन्।
विद्युतीय कारमा सरकारले आईसी इन्जिन कारको तुलनामा कम कर निर्धारण गर्दै आएको छ। सरकारले विद्युतीय कारको प्रवर्द्धनका लागि दिएको कर सहुलियत उपभोक्तालाई हस्तान्तरण नगरी सीजी मोटर्सले अकुत नाफा लिइरहेको छ।
आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार ५० किलोवाटसम्म मोटर पावर भएका निजी विद्युतीय कारमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था छ। अघिल्लो आर्थिक वर्षमा ५० किलोवाटसम्म मोटर पावर भएको निजी विद्युतीय कारमा १० प्रतिशत भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था थियो।
आव २०८१/८२ मा ५१ देखि १ सय किलोवाटसम्म पिकपावर भएको विद्युतीय कारमा २० प्रतिशत भन्सार, १५ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था गरियो। त्यस्तै यही मोटर क्षमताका निजी विद्युतीय कारमा आव २०८०/८१ मा १५ प्रतिशत भन्सार, १० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था थियो।
यसैगरी १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा ३० प्रतिशत भन्सार, २० प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था चालु आवको बजेटमा छ। बढी कर लाग्दा मूल्य धेरै हुने र कम कर लाग्दा लाग्दा कम मूल्य हुने न्यूनतम कुरालाई समेत चौधरी समूहको कम्पनीले अबलम्बन गरेको छैन।
सीजी मोटर्सको यस्तो अटेरीमा भन्सार विभाग र वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलगायतको ध्यान आकर्षण हुन जरुरी छ।
५० किलोवाटको निटा भी : २६ लाख ७४ हजार ल्यान्डिङ कस्ट, बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी : निटा भी ७० किलोवाट र ५० किलोवाटमा ल्याउँदा बिक्रीमूल्य एउटै