बुधबार, मंसिर १९ गते २०८१    
images
images
विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी

५० किलोवाटको निटा भी : २६ लाख ७४ हजार ल्यान्डिङ कस्ट, बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ

छुटको बहानामा चर्को नाफा असुली

images
आइतबार, कात्तिक २५ २०८१
images
images
५० किलोवाटको निटा भी : २६ लाख ७४ हजार ल्यान्डिङ कस्ट, बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ

प्रस्ट रुपमा आयात लागत नै ४ लाख रुपैयाँ कम हुँदा सीजी मोटर्सले निटा भीको एमआरपी घटाएको छैन।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले निटा भी विद्युतीय कार आयातमा अस्वभाविक मूल्य निर्धाण गरेर उपभोक्तासँग अकुत नाफा असुलिरहेको पाइएको छ। ७० किलोवाट मोटर पावर भएको निटा भी बिक्री गर्दा कायम गरेकै मूल्यमा ५० किलोवाट मोटर पावर भएको निटा भी बिक्री गरिरहेको पाइएको हो। 

images
images
images

५० किलोवाट मोटर पावरमा आएको निटा भी भन्सार तिरेर नेपाल भित्रिँदा २६ लाख ७४ हजार ९ सय ४१ रुपैयाँ १८ पैसा सीजी मोटर्सको लागत परेको छ। कम्पनीले ५० किलोवाट मोटरमै आएको निटा भीको बिक्री मूल्य भने ३८ लाख ९९ हजार रुपैयाँ नै राखेको छ। 

images

सोही निटा भी ७० किलोवाटको मोटरमा आउँदा त्यसको ल्यान्डिङ कस्ट (भन्सारमा तिरिने सबै कर पछिको मूल्य) ३० लाख ५७ हजार ९ सय ५८ रुपैयाँ ७५ पैसा हुन्छ। ७० किलोवाट मोटर पावरलाई ५० किलोवाटमा झारेर निटा भी ल्याउँदा सीजी मोटर्सले सरकारलाई तिर्ने कर नै करिब ४ लाख रुपैयाँ कम पर्छ। 

images

प्रस्ट रुपमा आयात लागत नै ४ लाख रुपैयाँ कम हुँदा सीजी मोटर्सले निटा भीको एमआरपी घटाएको छैन। लागत मूल्य नै कम भएपछि स्वभाविक रुपमा वस्तुको मूल्य घट्नु पर्ने हो। तर सीजी मोटर्सले निटा भीको मूल्य घटाउनुको साटो केही ‘छुट अफर’ गरेर पुरानै मूल्य अर्थात ७० किलोवाट मोटरमा आएकोसरह नै निटा भीको मूल्य कायम गरेर गाडी बिक्री गरिरहेको छ। 

यसरी लागतभन्दा करिब दोबर मूल्य राखेको बारेमा सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाललाई जिज्ञासा राख्दा उनले त्यस्तो नभएको जिकिर गरे। ‘हामीले उपभोक्तालाई छुट दिएर गाडी बिक्री गरिरहेको हो, बाहिर आएजस्तो कुरा होइन,’ उनले भने। कर नै कम तिरेर आएको कारमा सुरुमै अधिक मूल्य राखेर ‘छुट अफर’मा गाडी बिक्री गरेको बारेमा भने उनले जवाफ दिएनन्।  

७० किलोवाटको मोटर ५० किलोवाटमा झारेर आयात गर्दा सिधा हिसाबमा १५ प्रतिशत कर कम लाग्छ। यसरी हेर्दा सीजी मोटर्सले ५० किलोवाट मोटरयुक्त निटा भी आयात गरेपछि ७० किलोवाट मोटरयुक्त निटा भीको तुलनामा १७/१८ प्रतिशत कम कर सरकारलाई तिरेको छ। त्यो भनेको सो कार १८ प्रतिशतसम्म कम मूल्यमा आयात भएको हो। 

करको स्ल्याब र लागतको हिसाब

पछिल्लो पटक २०२४ सेप्टेम्बर १३ मा रसुवागढी भन्सारबाट प्रज्ञापन पत्र नम्बर एम ७६०६ मार्फत आयात भएको ५० किलोवाट मोटरमा आएको निटा भीको सीआईएफ भ्यालु १४ हजार ५८ अमेरिकी डलर रहेको छ। सो दिन प्रतिअमेरिकी डलरको सटही दर १ सय ३२ रुपैयाँ ८५ पैसा थियो। 

योअनुसार भन्सार आइपुग्दा १४ हजार ५८ डलरको निटा भीको रुपान्तरित मूल्य १८ लाख ६७ हजार ६ सय ५ रुपैयाँ ३ पैसा हुन्छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार ५० किलोवाटसम्मको पिक मोटर पावर भएको निजी विद्युतीय कारमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तथा ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्ने व्यवस्था छ। 

यो करको स्ल्याबका आधारमा ५० किलोवाट मोटर भएको निटा भी १८ लाख ६७ हजार ६ सय ५ रुपैयाँ ३ पैसामा भन्सार नाकामा आइपुगेको छ। अब यसमा लाग्ने सबै कर र त्यसपछिको नेपाल भित्रिने मूल्य बारे हेरौँ। १८ लाख ६७ हजार ६ सय ५ रुपैयाँ ३ पैसामा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तथा ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लागेपछि २६ लाख ७४ हजार ९ सय ४१ रुपैयाँ १८ पैसा रहेको छ। यो मूल्यमा भ्याटसमेत समावेश भइसकेको छ। 

४ लाख ४८ हजार ५ सय ५७ रुपैयाँ भ्याट बापतको रकम हुन्छ। ३८ लाख ९९ हजार रुपैयाँमा भ्याट बापतको सो रकम जोडिएको छ। भ्याट बाहेक निटा भीको मूल्य ३४ लाख ५० हजार ४ सय ४३ रुपैयाँ हो। २६ लाख ७४ हजार ९ सय ४१ रुपैयाँमा ल्यान्डिङ कस्ट निस्कँदा सीजी मोटर्सले मुल सोर्स (भन्सार) २ लाख ९३ हजार २ सय ३२ रुपैयाँ भ्याट तिरिसकेको हुन्छ।

भ्याट अन्तिम उपभोक्ताले तिर्ने भएकाले ४ लाख ४८ हजार ५ सय ५७ रुपैयाँ उक्त सवारीको कुल भ्याट हुने र सीजी मोटर्सले उक्त कुल भ्याट मध्ये १ लाख ५५ हजार ३ सय २५ रुपैयाँ सरकारलाई बुझाउँछ। ४ लाख ४८ हजार ५ सय ५७ रुपैयाँ मध्ये २ लाख ९३ हजार २ सय ३२ रुपैयाँ भन्सारमै सीजी मोटर्सले तिरिसकेको हुन्छ। 

सीजी मोटर्सले २६ लाख ७४ हजार ९ सय ४१ रुपैयाँ १८ पैसा ल्यान्डिङ कस्ट भएको ५० किलोवाट मोटर भएको निटा भीको इन्ट्रोडक्टरी प्राइस (सुरुवाती मूल्य) ३८ लाख ९९ हजार रुपैयाँ तय गरिएको कम्पनीको आधिकारिक वेबसाइटमा राखिएको छ। यो हिसाबमा ५० किलोवाटको निटा भीमा सीजी मोटर्सले १२ लाख २४ हजार ५८ रुपैयाँ ८२ पैसा ग्रस मार्जिन राखेको छ। 

यही कार ७० किलोवाट मोटर पावरमा आउने हो भने २०८१/८२ को बजेटअनुसार २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्थ्यो। १३ प्रतिशत भ्याट र विद्युतीय कारमा मूल्यको ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर सबैमा अनिवार्य रुपमा लाग्ने व्यवस्था सरकारले गरेको छ। 

अब ७० किलोवाट मोटर पावरमा आएको भए निटा भीको लागत कति हुन्थ्यो हेरौँ। यहाँ ७० किलोवाटमा आउँदा र ५० किलोवाट मोटरमा आउँदा निटा भीको सीआईएफ भ्यालु भने एकै हुने हो। चीनबाट आउने सबैजसो विद्युतीय कारको खरिद मूल्य निरन्तर घट्दै गइरहेको तथ्यांकले पुष्टि गर्छ।

१८ लाख ६७ हजार ६ सय ५ रुपैयाँ ३ पैसा सीआईएफ भ्यालु हुँदा यसमा ७० किलोवाटको मोटर थियो भने २० प्रतिशत भन्सार, १५ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक मर्मत सम्भार दस्तुर लाग्थ्यो। १८ लाख ६७ हजार ६ सय ५ रुपैयाँ ३ पैसामा उल्लेखित सबै कर लाग्दा ३० लाख ५७ हजार ९ सय ५८ रुपैयाँ ७५ पैसा ल्यान्डिङ कस्ट पर्छ। 

यो हिसाबमा सीजी मोटर्सले ७० किलोवाट मोटरमा निटा भी ल्याएको थियो भने ल्यान्डिङ कस्ट ३० लाख ५७ हजार ९ सय ५८ रुपैयाँ ७५ पैसा पर्ने र बिक्री मूल्य ३८ लाख ९९ हजार रुपैयाँ हुँदा कम्पनीको ग्रस मार्जिन ८ लाख ४१ हजार ४१ रुपैयाँ २५ पैसा हुन्थ्यो। 

ग्रस मार्जिनमा सीजी मोटर्सको रसुवागढीबाट काठमाडौंसम्म ल्याउने लागत, ट्रान्जिट बीमा, ब्याजलगायत गरी प्रति सवारी १ देखि डेढ लाख रुपैयाँ खर्च हुन्छ। यो हिसाबमा ७० किलोवाट मोटरमा आएको निटा भीमा सीजी मोटर्सले करिब ७ लाख रुपैयाँ र ५० किलोवाटको निटा भीमा ११ लाख रुपैयाँ नाफा लिइरहेको छ। कम्पनीले उपभोक्ताले गर्ने बीमालाई समेत लागतमा गणना गर्न सक्छ तर त्यो कम्पनीको खर्च होइन। 

७० किलोवाटबाट ५० किलोवाटमा मोटर पावर घटाएर ल्याउँदा निटा भीको ल्यान्डिङ कस्ट नै ३ लाख ८० हजार रुपैयाँभन्दा बढी कम परेको छ। कम कर लाग्ने वर्गमा आयात भएको विद्युतीय कारमा समेत चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले बढी मोटर पावरकै सरह मूल्य लिइरहेको पुष्टि भएको छ। 

योभन्दा बढी मूल्यमा आएको निटा भी र ७० किलोवाट मोटरमा आउँदा त्यसको ल्यान्डिङ कस्ट स्वतः धेरै हुने भएकाले त्यसको हिसाब केलाइ रहनु आवश्यक देखिएन। सीजी मोटर्सले निटा भी कम मोटर पावरमा आउँदासमेत बढी मोटर पावरकै मूल्यका आधारमा एमआरपी निर्धारण गरेर कथित ‘छुट’ अफरको ‘लोभ’ देखाएर उपभोक्ताबाट चर्को नाफा असुल गरिरहेको बारेसमेत अध्ययन भइरहेको छ। यसपछि वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीको ध्यान खिच्ने छ।

निटा भीको आयात 

सीजी मोटर्सले पहिलोपटक नेपाल ल्याउँदा निटा भीमा ७० किलोवाट पिकपावर भएको मोटर जडान गरिएको थियो। सीजी मोटर्सले करिब २ वटा निटा भी ७० किलोवाट पिकपावर भएको मोटरमा ल्याएको थियो। कम्पनीले पहिलो पटक निटा भी २०७९ जेठमा नेपाली बजारमा सार्वजनिक गरेको थियो। 

पहिलेपटक २०२२ को अप्रिल २७ मा होजोनको सब ब्रान्ड निटा भी बिक्रेता कम्पनी नानिङ निङडा अटो एमएस एन्ड एस कम्पनी लिमिटेडले सीजी मोटर्स प्रालिलाई काटेको कमर्सियल इनभ्वोइसमा प्रति कार १६ हजार ५ सय अमेरिकी डलर मूल्य हुने र निटा भीमा ७० किलोवाटको मोटर जडान गरिएको उल्लेख छ। र यो कारमा ३८.५४ किलोवाट आवरको लिथियम आइरन ब्याट्री प्याक रहेको थियो। त्यसको केही महिनापछिबाट सीजी मोटर्सले निटा भीका कार १५ हजार ५ सय अमेरिकी डलर सीआईएफ भ्यालुमा आयात गर्न सुरु गरिसकेको थियो। 

२०२३ अक्टोबर २ मा रसुवा भन्सार कार्यालयबाट जाँचपास भएको निटा भी ७० किलोवाट पिकपावर मोटर जडित थियो। सो मितिमा आयात भएको निटा भीको सीआईएफ भ्यालु १५ हजार ५ सय ५८ अमेरिकी डलर थियो। 

यता सीजी मोटर्सले सोही ब्रान्डको सोही मोडल नेटा भीका कार २०२३ नोभेम्बर २८ मा आयात गर्दा ५० किलोवाट पिकपावर भएको मोटरसहित आयात गरेको छ। सो मितिपछि सीजी मोटर्सले सबै निटा भी ५० किलोावाट पिकपावर भएको मोटरसहित आयात गरिरहेको छ।

प्रज्ञापन पत्र नम्बर ८२२२ मा २०२३ नोभेम्बर २८ मा आयात भएको निटा भी विद्युतीय कार ५० किलोवाटको मोटर र ४०.७ किलोवाट आवर ब्याट्री प्याकमा आयात हुन थालेको हो। त्यसयता आयात भएका सबै निटा भी विद्युतीय कार ५० किलोवाट मोटर पावरयुक्त नै आयात भइरहेका छन्। 

विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी : निटा भी ७० किलोवाट र ५० किलोवाटमा ल्याउँदा बिक्रीमूल्य एउटै विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी : निटा भी ७० किलोवाट र ५० किलोवाटमा ल्याउँदा बिक्रीमूल्य एउटै


प्रकाशित : आइतबार, कात्तिक २५ २०८११६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend