सोमबार, कात्तिक २६ गते २०८१    
images
images

विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी : निटा भी ७० किलोवाट र ५० किलोवाटमा ल्याउँदा बिक्रीमूल्य एउटै

सिधा १५ प्रतिशत कर घट्दा उपभोक्तामाथि मूल्यको भार

images
सोमबार, कात्तिक १२ २०८१
images
images
विद्युतीय सवारी आयातमा सीजी मोटर्सको बदमासी : निटा भी ७० किलोवाट र ५० किलोवाटमा ल्याउँदा बिक्रीमूल्य एउटै

सीजी मोटर्सले सोही ब्रान्डको सोही मोडल नेटा भीका कार २०२३ नोभेम्बर २८ मा आयात गर्दा ५० किलोवाट पिकपावर भएको मोटरसहित आयात गरिरहेको छ।

images
images

काठमाडौं- चीनबाट आयात भइरहेका विद्युतीय सवारीको मूल्य निरन्तर कम हुँदै गइरहेको छ। कुनै मोडलमा त अघिल्लो र पछिल्लो महिनामै मूल्य घटेर आइरहेको छ। यो अवस्थामा कतिपय आयातकर्ता निरन्तर सवारीको मूल्य घटाइरहेका छन्। तर यहाँ सीजी मोटर्सले भने विद्युतीय कारको किलोवाट नै कम भएर आउँदासमेत मूल्य नघटाएको फेला परेको हो। 

images
images
images

चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले ‘सीजी इभोलुसन’ ट्यागलाइन बनाएर विद्युतीय सवारीमात्र बिक्री गर्ने उद्घोष गरेर चिनियाँ स्टार्टअप कम्पनी होजोन अटोमोबाइलको सब ब्रान्ड निटा नेपाली बजारमा भित्र्याएको थियो। पहिलोपटक नेपाल ल्याउँदा निटा भीमा ७० किलोवाट पिकपावर भएको मोटर जडान गरिएको थियो। सीजी मोटर्सले करिब २ वटा निटा भी ७० किलोवाट पिकपावर भएको मोटरमा ल्याएको थियो। 

images

सीजी मोटर्सले २०७८ को अन्तिमतिर होजोन अटोमोबाइलसँग नेपालमा निटा ब्रान्डका विद्युतीय कारको आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। कम्पनीले निटाको पहिलो मोडल निटा भी २०७९ जेठमा नेपाली बजारमा सार्वजनिक गरेको थियो। 

images

पहिलेपटक २०२२ को अप्रिल २७ मा होजोनको सब ब्रान्ड निटा भी बिक्रेता कम्पनी नानिङ निङडा अटो एमएस एन्ड एस कम्पनी लिमिटेडले सीजी मोटर्स प्रालिलाई काटेको कमर्सियल इनभ्वोइसमा प्रति कार १६ हजार ५ सय अमेरिकी डलर मूल्य हुने र निटा भीमा ७० किलोवाटको मोटर जडान गरिएको उल्लेख छ। यो कारमा ३८.५४ किलोवाट आवरको लिथियम आइरन ब्याट्री प्याक रहेको थियो। त्यसको केही महिनापछिबाट सीजी मोटर्सले निटा भीका कार १५ हजार ५ सय अमेरिकी डलर सीआईएफ भ्यालुमा आयात गर्न सुरु गरिसकेको थियो। 

cgnn.jpg
                                              नानिङ निङडा अटो एमएस एन्ड एस कम्पनी लिमिटेडले सीजी मोटर्स प्रालिलाई काटेको कमर्सियल इनभ्वोइस।

२०२३ अक्टोबर २ मा रसुवा भन्सार कार्यालयबाट जाँचपास भएको निटा भी ७० किलोवाट पिकपावर मोटर जडित थियो। सो मितिमा आयात भएको निटा भीको सीआईएफ भ्यालु १५ हजार ५ सय ५८ अमेरिकी डलर थियो। 

निटा भी विद्युतीय कार सार्वजनिक गर्दा सीजी मोटर्सले यसको मूल्य ३८ लाख रुपैयाँ राखेको थियो। त्यसपछि गत वर्षको बजेटबाट विद्युतीय कारमा कर वृद्धि भएपछि सीजी मोटर्सले निटा भीको मूल्य बढाएर ३८ लाख ९९ हजार रुपैयाँ कायम गरेको थियो। 

यता सीजी मोटर्सले सोही ब्रान्डको सोही मोडल नेटा भीका कार २०२३ नोभेम्बर २८ मा आयात गर्दा ५० किलोवाट पिकपावर भएको मोटरसहित आयात गरेको छ। सो मितिपछि सीजी मोटर्सले सबै निटा भी ५० किलोावाट पिकपावर भएको मोटरसहित आयात गरिरहेको छ। प्रज्ञापन पत्र नम्बर ८२२२ मा २०२३ नोभेम्बर २८ मा आयात भएको निटा भी विद्युतीय कार ५० किलोवाटको मोटर र ४०.७ किलोवाट आवर ब्याट्री प्याकमा आयात हुन थालेको हो। त्यसयता आयात भएका सबै निटा भी विद्युतीय कार ५० किलोवाट मोटर पावरयुक्त नै आयात भइरहेका छन्। 

cgn.jpg
                                                     २०२३ नोभेम्बर २८ मा आयात गर्दा ५० किलोवाट पिकपावर भएको मोटरसहित आयात गरेको प्रज्ञापन पत्र।

आर्थिक वर्ष २०८१/८२ को बजेटले विद्युतीय कार आयातमा लाग्ने करका दरमा केही वृद्धि गर्‍यो। उक्त बजेटअनुसार ५० किलोवाटसम्म मोटर पावर भएका निजी विद्युतीय कारमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ। अघिल्लो आर्थिक वर्षमा ५० किलोवाटसम्म मोटर पावर भएको निजी विद्युतीय कारमा १० प्रतिशत भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था थियो। 

आव २०८१/८२ मा ५१ देखि १ सय किलोवाटसम्म पिकपावर भएको विद्युतीय कारमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरियो। त्यस्तै यही मोटर क्षमताका निजी विद्युतीय कारमा आव २०८०/८१ मा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो। 

आर्थिक वर्ष २०८०/८१ मै पनि सीजी मोटर्सले ७० किलोवाट पिकपावर भएको निटा भी आयात गरिसकेको थियो। चालु आर्थिक वर्षमा पनि ५० किलोवाटकै मोटर भएको निटा भी आयात गरिरहेको छ। 

७० किलोवाटको मोटर ५० किलोवाटमा झारेर आयात गर्दा गत आवमा र चालु आवमा पनि सिधा हिसाबमा १५ प्रतिशत कर कम लाग्छ। यसरी हेर्दा सीजी मोटर्सले ५० किलोवाट मोटरयुक्त निटा भी आयात गरेपछि ७० किलोवाट मोटरयुक्त निटा भीको तुलनामा १७/१८ प्रतिशत कम कर सरकारलाई तिरेको छ। त्यो भनेको सो कार १८ प्रतिशतसम्म कम मूल्यमा आयात भएको हो। 

cg neta.jpg
सीजीले आफ्नो वेबसाइटमा राखेको निटा भीको पछिल्लो मूल्य। यो स्किनसट गएको शुक्रबार लिइएको हो।

तर १८ प्रतिशतसम्म कम कर स्ल्याबमा आयात गरे पनि सीजी मोटर्सले पुरानै अर्था १८ प्रतिशतसम्म बढी कर स्ल्याबकै हिसाबमा निटा भीको अधिकतम खुद्राबिक्रीमूल्य (एमआरपी) राखेर बिक्री गरिरहेको पाइएको हो। अहिले पनि सीजी मोटर्स प्रालिको वेबसाइटमा निटा भीको ‘इन्ट्रोडक्टरी प्राइस’ ३८ लाख ९९ हजार रुपैयाँ पर्ने उल्लखे गरिएको छ। 

सोझो हिसाबमा पनि ७० किलोावाटबाट ५० किलोवाट मोटर पावरमा निटा भी आयात गरेपनि सीजी मोटर्सले उक्त कारको मूल्य १५ देखि १८ प्रतिशत कम गर्नुपर्ने थियो। तर कम्पनीले १ वर्षदेखि सरकारबाट कर सहुलियत लिएर उपभोक्तामा हस्तारन्तरण गरेको छैन। यानी सीजी मोटर्सले निटा भीको मूल्यमा बेइमानी गरिरहेको छ। 

२०७९ जेठमा निटा भी सार्वजनिक गर्दा ठूलै तामझामसहित सार्वजनिक गरेको सीजी मोटर्सले राम्रै संख्यामा बिक्री गर्ने बताएको थियो। सीजी मोटर्सले होजोन अटोमोबाइलसँग वार्षिक १ हजार वटा निटा भी बिक्री गर्ने प्रतिबद्धतासहित ब्रान्ड आफ्नो पक्षमा पारेको थियो। तर सीजी मोटर्सले निटा भी नेपाली बजारमा सार्वजनिक गरेको २ वर्ष ५ महिना भइसकेको छ। यो अवधिसम्म सीजी मोटर्सले १ हजार वटा पनि निटा भी आयात गर्न नसकेको तथ्यांक छ। 

cgcnn.jpg
        विभिन्न मितिमा ७० र ५० किलोवाट मोटर पावरमा आयात भएको निटा भीको तथ्यांक।

बिक्री बढाउने फन्डाका लागि सीजी मोटर्सले ५० किलोवाट मोटर पावरमा निटा भी आयात गरेको थियो। तर आयात भइसकेपछि कम्पनीले मूल्य घटाउनेभन्दा नाफा कुम्ल्याउनेमा केन्द्रित हुँदा बिक्री संख्या बढ्न नसकेको हो।  

निटा भी ७० किलोवाट मोटरमा आयात हुँदा र ५० किलोवाट मोटरमा आयात हुँदा त्यसको सीआईएफ भ्यालू, ल्यान्डिङ कस्ट, उपभोक्तामा मूल्य घटाएर हुनुपर्ने कर सहुलियत हस्तान्तरणलगायतको नालिबेलीले नियामकलाई सजग बनाउन सहयोगी हुनेछ। 


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend