शुक्रबार, जेठ ३० गते २०८२    
शुक्रबार, जेठ ३० २०८२
images
images

गार्मेन्ट र सिमेन्टको जगमा उभिएका बलिया राजेन्द्र, अस्पताल र होटलमा पाँच अर्ब लगानी थप्दै

images
बुधबार, जेठ २८ २०८२
images
images
गार्मेन्ट र सिमेन्टको जगमा उभिएका बलिया राजेन्द्र, अस्पताल र होटलमा पाँच अर्ब लगानी थप्दै

व्यावसायिकरूपमा बलियो बनेका राउत उद्योगी व्यवसायीका अभिभावक हुन्। उनीप्रति पूर्वका औद्योगिक घरानाको विश्वास र भरोसा उच्च छ।

images
images

विराटनगर- दिनभर व्यस्त र व्यवस्थित रहने राजेन्द्र राउत बिहानीको भरपुर उपयोग गर्छन्। बिहान व्यायाम, हिँडडुलदेखि साथीभाइसँगको संवादमा रमाउँछन्। शरीर र दिमागको स्फूर्तिले उनको दैनिकीलाई थप सहज र उपलब्धिमूलक बनाएको छ।

images
images
images

राउतको जीवन पनि सोही गतिमा उपलब्धिमूलक छ। राउत औद्योगिक घरानाका व्यवसायी होइनन्, परिवारमा औद्योगिक यात्राको थालनी उनैले गरेका हुन्। खेलकुदको रुचिका बाबजुद उनी व्यवसायमा लागे। केही चुनौती मोलेर नयाँ अवसरको खोजी गर्ने निधो गरे। त्यही चुनौतीको प्रतिफलस्वरूप सुरु भयो गार्मेन्ट उद्योग।

images
images

नेपालमा १९८४ देखि व्यावसायिकरुपमा गार्मेन्ट उद्योग खुल्न थालेको हो। अमेरिकाले त्यसबेला विभिन्न देशमा कोटा सिस्टमबाट गार्मेन्टको अर्डर गर्ने गरेको थियो। भारतलगायत मुलुकमा आउने कोटाबाट नेपालका उद्योग सञ्चालनमा आउँथे। भारतीय निर्यातकर्ताले नेपालका उद्योगमा उत्पादन गर्न लगाउँथे। नेपाली उद्योगले कलकत्ता, दिल्लीसम्म उत्पादित सामान पठाउने गर्थे।

images
images
images

अर्कातर्फ गुजराती मूलका दुई केन्याली दाजुभाइले आफ्नो वितरक कम्पनीलाई फाइदा पुग्ने गरी नेपाली व्यवसायीलाई उत्पादन गर्न लगाए। त्यसले नेपाली गार्मेन्ट उत्पादन विस्तार भयो। त्यही समयबाट उद्योगको क्षेत्रमा राउतको प्रवेश भयो। जसले उनलाई उद्योगको मालिकमात्र बनाएन औद्योगिक क्षेत्रको अभिभावकसमेत बनायो। 

राउतले गार्मेन्ट उद्योगबाट औद्योगिक ज्ञान र आर्थिक उपार्जनमा सफलता हात पारे। १५ सय जनालाई एकैपटक रोजगारी दिन सफल राउतलाई नयाँ आर्थिक प्रणालीले भिन्न मोडमा पुर्‍यायो। सन् २००४ मा मल्टी फाइबर एग्रिमेन्टः एमएफए अवधिको विघटन भयो। जसले गार्मेन्ट उद्योगमा धक्का लाग्यो। आन्तरिक रूपमा नेपालमा माओवादी द्वन्द्व फैलिँदै गएको थियो। यस्ता विभिन्न कारणले उनको उद्योगमा पनि असर पर्‍यो। 

गार्मेन्टपछि सिमेन्टमा उनको प्रवेश भयो। मारुती सिमेन्ट उद्योगमा चुनढुंगा सप्लाई गर्न थाले। सिमेन्टको कच्चापदार्थ ढुवानीमा उनको प्रभाव बढ्यो। सिमेन्टको बजार विस्तार भयो। उनी पनि पुलकित थिए। क्लिंकर र सिमेन्ट उत्पादन राम्रै चल्यो।

सिमेन्ट उद्योग विस्तार गर्दै उनले अन्नपूर्ण सिमेन्ट उत्पादन गरे। विराटनगरमै प्लान्ट स्थापना गरेर उत्पादन सुरु भयो। तर लामो समय उद्योग चल्न सकेन। केही वर्षअगाडि अन्नपूर्ण पनि बन्द भयो। सिमेन्टको खपत बढ्न सकेन, बजारमा प्रतिस्पर्धाको अवस्था नभएपछि उनले बन्द गर्ने निधो गरे।

rajendra Raut.jpg

सिमेन्टमात्र होइन निर्माण सामग्रीका सम्पूर्ण उद्योग समस्यामा पर्दै गएको राउतको बुझाइ छ। सरकारको पुँजीगत खर्च नभएको र ठूला निर्माण आयोजना नभएका कारण निर्माण व्यवसाय समस्यामा परेको उनी बताउँछन्। जसकारण रोजगारीका अवसर गुम्दै जाने र नयाँ लगानीकर्ता निराश हुने सम्भावना देख्छन् उनी।

यसबीचमा कोशी प्रदेशमा १६ वटामध्ये पाँचवटा मात्र सिमेन्ट उद्योग सञ्चालनमा रहेको सुनाउँछन् उनी। ‘पाँच सयमा सिमेन्ट बिक्री हुँदा किन सस्तो भयो भनेर कसैले सोधेन। अहिले केही भाउ बढ्दा आत्तिनुपर्ने अवस्था आयो। यो लागतअनुसारको मूल्य हो। उद्योगीले आफूलाई टिकाउन गरेको प्रयास हो। यसमा आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने।

अर्कातिर व्यावसायिक वातावरण बनाउन सरकारी तवरबाट चोरीपैठारीको नियन्त्रण पर्याप्त नभएको उनले बताए। सरकारले नीति र नियत सही बनाएर सोहीअनुसार कार्यान्वयन गर्दा व्यावसायिक हित हुने उनको बुझाइ छ।

उनले भने, ‘स्वदेशी मागलाई पूरा गर्न उत्पादन गर्न सकिन्छ भने त्यहीअनुसारको भन्सार नीति लिनुपर्छ। भन्सार टाइट गर्नैपर्ने भएको छ। हरेक दोकान अनुगमन गर्ने र कडाइका साथ चेकजाँच गर्नुपर्ने बेला भएको छ।’

समस्याका बीच सम्भावनालाई पनि नजिकबाट नियालिरहेका छन् राउत। पूर्वीनेपाल लगानीको हब भएको उनको मान्यता छ। लगानीको वातावरण बन्दै गएको र त्यसमा पनि साना उद्योगमा ठूलो सम्भावना देख्छन् उनी।

उनी भन्छन्, ‘पूर्वका आँखा अस्पताल उपचारको हब बनेका छन्। भारतबाट आँखाका बिरामीहरू नेपालकै अस्पतालमा आउँछन्। विराटनगर मेडिकल कलेज र होटलको हब भएको छ। यसलाई अवसरको रूपमा लिएर लगानी गर्ने हो भने रोजगारीको अवसर यहीँ छ नि!’

कृषि, पर्यटन र अस्पतालमा उनले ठूलो सम्भावना देखेका छन्। विराटनगर शिक्षाको पनि हब भएको हुँदा त्यसमा अझ राम्रो गर्न सकिने उनी सुनाउँछन्।

यस्तै पूर्वका महत्त्वपूर्ण पर्यटकीयस्थलमा पुग्ने सडक मार्ग व्यवस्थित गर्नसक्दा आर्थिक अवसरहरू बढ्दै जाने उनको बुझाइ छ। ‘एउटा कुरा के भने सरकारले खास योजना बनाउनुपर्‍यो। बिहार र पश्चिम बंगालका नागरिकलाई आउन सहज हुनुपर्‍यो। सिक्किम, पश्चिम बंगाल र बिहारमा नेपाली पर्यटनको प्रचार गर्नुपर्ने भएको छ,’ राउतले भने।

R R international hospital.jpg

सम्भावना चिनेका राउतले अस्पताल र होटलमा लगानी गरेका छन्। सुविधासम्पन्न ‘आरआर इन्टरनेसनल हस्पिटल' खोलेका उनी मुटु रोगको विशेष उपचारको केन्द्रित गर्ने योजनामा छन्। २०८४ को सुरुवातदेखि नै उपचार गर्ने व्यवस्थापन मिलाइएको छ।

मुख्यतः मुटु रोगको उपचारलाई ध्यान दिइएको बताउँदै उनले कोशी प्रदेशमा व्यवस्थित अस्पताल बनाउने योजना रहेको सुनाए। कार्डियोका बिरामीको लागि केन्द्रित गरेर अन्यभन्दा धेरै सुविधासम्पन्न अस्पताल हुने उनको भनाइ छ। बजारमा जुन माग छ त्यसलाई पूर्ति गर्न लागिएको उनको भनाइ छ।

विराटनगरमा एयरपोर्ट मोडमा ‘होटल रोयल्टन’ निर्माणाधीन अवस्थामा छ। भारतीय पर्यटकको हब बन्नसक्ने बुझेर हस्पिटालिटीलाई लगानीको उर्वर क्षेत्र मानेका छन् उनले। तीनतारे होटल र सुविधासम्पन्न अस्पतालबाट व्यावसायिक विस्तार गर्न चाहन्छन् उनी। उनको यो योजना विस्तारमात्र होइन नयाँ पुस्तालाई हस्तान्तरण पनि हो। होटलका लागि उनले लगानी सम्मेलनमार्फत प्रतिबद्धतासमेत जनाएका छन्।

royalton (2).jpg

हस्पिटल र होटल दुवै परियोजना कोशी प्रदेशको लगानी सम्मेलनमा प्रतिबद्धता जनाएका आयोजना हुन्। आरआर इन्टनेसनल हस्पिटल राजेन्द्र राउत स्वयमले हस्ताक्षर गरेर दुई अर्ब ३३ करोडको योजना सम्झौता गरे।

होटलको लागि छोरा प्रत्युस राउतले २ अर्ब ३० करोडको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। दुईवटा परियोजनामा पाँच अर्बभन्दा बढीको लगानी हुने राउतले बताएका छन्। दुई परियोजना दुई छोराहरू प्रतीक र प्रत्युसले सम्हाल्ने गरी जिम्मा लगाउने राउतको तयारी छ।

पूर्वको पर्यटकीय गतिविधि बढाउन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनैपर्ने उनको भनाइ छ। विमानस्थलको रनवे बढाएर तीन हजार मिटर बनाउन सके काठमाडौंको एयर ट्राफिकको व्यवस्थापन पनि हुने उनको बुझाइ छ।

royalton.jpg

व्यवसायीका अभिभावक 

व्यावसायिकरूपमा बलियो बनेका राउत उद्योगी व्यवसायीका अभिभावक हुन्। पूर्वका औद्योगिक घरानाको समेत उनीप्रति विश्वास र भरोसा उच्च छ। उद्योग वाणिज्य संघ कोशी प्रदेशको अध्यक्षसमेत रहेका उनलाई पुनः नेतृत्व गर्नुपर्ने दबाब छ। उद्योगी व्यवसायीहरू नै उनको नेतृत्वबाट प्रभावित छन्। 

व्यावसायिक संस्थाको राजनीतिकरणले संस्थागत विकास नहुने मान्यता राख्छन् उनी। कुनै दलमा नखुलेका राउतले कोशी प्रदेशमा राजेन्द्र राई मुख्यमन्त्री भएको बखत आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरे।

एमआरएफ टायरको आधिकारिक बिक्रेता उनी हेभी इक्विपमेन्टका खम्बा हुन्। हेभी इक्विपमेन्टमा उनको एकछत्र प्रभाव छ। हेभी इक्विपमेन्टको व्यापारलाई उनले नयाँ प्रविधिसँग जोडेका छन्। उनको व्यवसायमा अहिले पनि ८ सयले रोजगारी पाएका छन्। कामको व्यवस्थापन र वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने कुराले सफलता र असफलता निर्धारण गर्ने उनको विश्वास छ। 

‘हरेस खानुभन्दा पनि लक्ष्य निर्धारण गरेर बलियो हुनुपर्छ। सबै कुरामा सफल भइन्छ भन्नु मूर्खता हो। असफल भएकैले सफलताको रमाइलो महसुस गराउँछ,' उनी भन्छन्। टिमवर्कमा विश्वास गर्ने उनी व्यवस्थापनका कलाले जीवन सुन्दर हुने बताउँछन्।


प्रकाशित : बुधबार, जेठ २८ २०८२१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend